भर्खरै :

इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

इरानी राष्ट्रपति रायसीको निधनपछि उपराष्ट्रपति मोखबरले जिम्मेवारी सम्हाल्ने

तेहरान (इरान), २० मे (एएफपी) । इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएपछि देशको पहिलो उपराष्ट्रपति मोहम्मद मोखबरले कार्यवाहक राष्ट्रपतिका रूपमा पदभार ग्रहण गर्ने सर्वोच्च नेता आयातोल्लाह खामेनीले बताउनुभएको छ ।
इरानको संविधानले मोखबरको आन्तरिम नियुक्तिका लागि सर्वोच्च नेता खामेनीलाई अधिकार सुम्पिएको छ । उहाँ सबै राज्य मामिलामा अन्तिम निर्णायक हुनुहुन्छ ।
हालको अवस्थामा स्थायी उत्तराधिकारी छनोट गर्न ५० दिनभित्र राष्ट्रपतीय निर्वाचन गर्नुपर्ने प्रावधान इरानी संविधानमा रहेको छ र सभामुख, न्यायपालिकाका प्रमुख र उपराष्ट्रपतिले बनेको परिषद्लाई राष्ट्रिय मतदानको आयोजना गर्ने जिम्मा दिइन्छ ।
इरानले राष्ट्रपति रायसीलगायतका दुर्घटनामा दिवङ्गत भएका नेताहरूको सम्झनामा पाँच दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ ।
इरानी संविधानले ‘राष्ट्रपतिको मृत्यु, बर्खास्त, राजीनामा, अनुपस्थिति वा दुई महिनाभन्दा बढी बिरामी भएमा’ पहिलो उपराष्ट्रपतिले राष्ट्रपतिको पदभार ग्रहण गर्ने व्यवस्था गरेको छ ।
विदेश मन्त्री हुसेन अमिर–अब्दुल्लाहियन र अन्य अधिकारीहरूसँगै आइतबार दुर्घटनामा पर्नुभएको राष्ट्रपति रायसी आफ्नो चार वर्षीय पहिलो कार्यकालको अन्त्यतिर हुनुहुन्थ्यो ।
अगस्त २०२१ मा रायसीले कार्यभार सम्हालेपछि ६८ वर्षीय मोखबरलाई उपराष्ट्रपति नियुक्त गरिएको थियो ।
सन् २००७ देखि वर्षौँसम्म मोखबरले सन् १९७९ को इस्लामिक क्रान्तिपछि जफत गरिएका सम्पत्तीहरूको व्यवस्थापन गर्ने सरकारी सङ्गठन इमाम खोमेनीको आदेशको कार्यान्वयनको अध्यक्षता गर्नुभएको थियो । सन् १९८० को दशकमा स्थापना भएको यो सङ्गठन राज्यको प्रमुख आर्थिक समूह बनेको छ ।
सन् १९८० मा इस्लामिक गणतन्त्रको पहिलो मतदानपछि प्रत्येक चार वर्षमा इरानीहरूले राष्ट्रपति चुनावका लागि मतदान गर्दै आइरहेका छन् । संविधानले इरानी राष्ट्रपतिका लागि दुई कार्यकालको सीमा तय गरेको छ ।
प्रधानमन्त्रीको प्रावधान नरहेको इरानमा राष्ट्रपतिलाई विभिन्न उपराष्ट्रपतिहरूसँगको सहकार्यमा मन्त्रिपरिषद्को गठन र निर्देशनको जिम्मेवारी दिइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *