अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
पार्टीको जुनसुकै तहमा रहेका कार्यकर्ताहरू जनताका सेवक हुन् । कार्यकर्ताको काम जनताको सेवा गर्नु हो । राजनीतिक कार्यकर्ताहरू देश र जनताप्रति जिम्मेवार हुनुपर्छ । पार्टीको नीति, काम जनताको हितसित सम्बन्धित हुनुपर्छ र गल्ती भएमा सच्याउनुपर्छ । लडाइँमा हतियार महत्वपूर्ण हुन्छ तर निर्णायक होइन; निर्णायक त जनता हुन् । कुनै सरकार या दल विचार र सिद्धान्तको आधारमा चलेको हुन्छ । दलका सबै वर्गीय सङ्गठन, राजनीतिक गतिविधि सिद्धान्त र विचारअनुसारमा चलेको हुन्छ । यसकारण, मुख्य कुरा विचार नै हुन्छ । विचारमा खिया लाग्यो भने दल जतिसुकै ठुलो भए पनि त्यसले देशलाई दिशा निर्देश गर्नसक्दैन ।
जनता नै इतिहासका निर्माणकर्ता हुन् । वर्ग भएको समाजमा वर्गसङ्घर्ष स्वाभाविक छ । वर्गीय समाजमा नौला र पुराना, सत्य र असत्यबिचको सङ्घर्ष कहिल्यै अन्त्य हुनेछैन । हामीले प्रत्येक कुरामा होसियारीपूर्वक सधैँ आफ्नो दिमाग या बुद्धि खियाउनुपर्छ र विचार गर्नुपर्छ । भन्ने चलन छ, निधार खुम्च्याइएमा जुक्ति फेला पर्नेछ । राजनीति विचारको निम्ति हो । राजनीति गर्नु भनेको भागबन्डा, पद र पैसाको निम्ति होइन । राजनीति पेसा होइन । राजनीति मुनाफाको निम्ति गर्ने धन्दा होइन । यो देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने काम हो । कति राजनीतिक दलका नेताहरू राजनीति जोगी बन्न होइन भन्छन् । हो, राजनीति देश र जनताको सेवा गर्न हो । राजनीतिलाई आयआर्जन गर्ने पेसा या माध्यम ठानेसम्म त्यो शुद्ध राजनीति हुनेछैन । शुद्ध राजनीति नभएकै कारण राजनीतिप्रति जनताको विश्वास गुम्दै गएको हो ।
परिवर्तन गर्न र परिवर्तित समाज टिकाउन राजनीतिक चेतना र सांस्कृतिक स्तर महत्वपूर्ण हुन्छ । राजनीतिक चेतना भएन भने एकपटक बनेको ठुलो दल अर्कोपटक सानो हुुन्छ । शासकहरूले जनतालाई राजनीतिक चेतना नदिएकाले देशमा कहिले नेका, कहिले एमाले त कहिले माओवादी ठुलो दल बने । यसरी दलले प्राप्त गरेको सांसद या जनप्रतिनिधिको सीटमा धेरै थपघट हुनुको कारण जनतामा राजनीतिक चेतनाको कमी हो । जनतामा राजनीतिक चेतना नभएकै कारण कति सर्वसाधारण जनता लोभ र भोजमा भुल्छन् र आफ्नो वर्गशत्रुलाई मतदान गर्न पछि पर्दैनन् ।
नेमकिपाले सिद्धान्त र विचारलाई जोड दिँदै आएको यथार्थ हो† समाजवाद र पुँजीवादबिचको भेदबारे जनतालाई सुसूचित पार्दै आएको हो । नेमकिपाले नेपालको कम्युनिस्ट आन्दोलनमा देखिएको खोटा विचारको खण्डन त्यसबेलै गरेको थियो । सिद्धान्त र विचार ठीक या सही भयो भने देश सही ढङ्गले अघि बढ्छ; दल पनि ठीक ढङ्गले अघि बढ्छ । तर, सत्तासीन दलका नेताहरूले सिद्धान्त र विचारको ख्याल नै गरेनन् । देशलाई मार्ग निर्देश गर्ने दलका नेताहरू पद, पैसा र भागबन्डामा पल्केपछि देशमा कसरी सुशासनको अनुभूति हुन्छ ? देशको पक्षमा नेमकिपाको भूमिका कम छैन; नेमकिपाले नेपालको कम्युनिस्टलाई प्रकाशस्तम्भको रूपमा बाटो देखाइरहेको छ । कम्युनिस्ट पार्टीको भूमिका निर्वाह गर्ने काम नेमकिपाले गरिरहेको छ ।
समाजवादउन्मुख राज्य निर्माण गर्नेतर्फ सत्तासीन दलका नेताहरूको ध्यान गएन र लागु गर्नेतर्फ लागेको देखिँदैन । सिद्धान्तहीन चुनाव गठबन्धन र सिद्धान्तहीन गठबन्धन सरकार गठन सिद्धान्त र विचारमा अडान नहुँदाको परिणाम हो । जनतालाई राजनीतिक, वैचारिक, सैद्धान्तिक र सांस्कृतिकरूपमा सुसूचित बनाउन जिल्ला–जिल्लामा छलफल, बहस, अन्तरक्रिया र आन्दोलन गर्नु आवश्यक छ । सिद्धान्त र विचारमा ध्यान नपु¥याउँदा देशको सीमा असुरक्षित भइरहेको छ† विदेशीको भरमा विकास गर्ने कुरा भइरहेको छ । देशलाई राम्रो बनाउने, नबनाउने, विकास गर्ने, नगर्ने सबै काम विचारमा भरपर्छ । यसकारण, देशमा वैचारिक सङ्घर्ष या अभियान आवश्यक छ । सिंहदरबार तर्साउने भनेर सबै आन्दोलन या सङ्घर्ष काठमाडौँकेन्द्रित गर्नु बुद्धिमानी होइन । जिल्ला–जिल्लामा आन्दोलन भए त्यहाँका जनता क्रियाशील हुन्छन्; आन्दोलनमा सहभागी हुन्छन् र सुसूचित हुन्छन् । हरेक नेपालीमा देशभक्तिको भावना आवश्यक छ । जनता सचेत र सङ्गठित नभइकन व्यवस्था खोक्रो भए पनि, बदनाम भए पनि अन्त्य गर्न सकिँदैन । अतः सिद्धान्त र विचारको राजनीति गर्नुपर्छ र जनतालाई सचेत र सङ्गठित गर्नुपर्छ ।
Leave a Reply