भर्खरै :

जति बढी पश्चिमेली हतियार उति नै बढी युक्रेनीहरूको हत्या

जति बढी पश्चिमेली हतियार उति नै बढी युक्रेनीहरूको हत्या

अमेरिकी रक्षा बजेटको सात प्रतिशत हुन आउने ६१ बिलियन डलरको विशाल रक्षा सहयोग युक्रेनलाई दिने अमेरिकाको निर्णयले संसारभरका जनताको युद्ध अन्त्य हुने आशा धुवाँमा परिवर्तन भएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले एउटै झटारोबाट दुईटा चरा मार्नेजस्तै गरेर युक्रेनलाई हतियार आपूर्ति गर्दै छ । एउटा रुसलाई कमजोर बनाउने र यसलाई नै देखाएर आसन्न चुनाव जित्ने । अमेरिकी अर्थतन्त्रको लागि युद्ध फाइदाजनक भएको देखाएर बाइडेन अन्तहीन युद्ध आवश्यक छ भनेर अमेरिकीहरूलाई सम्झाउँदै छन् । यदि बाइडेन पुनः निर्वाचित भएमा यो युद्ध अन्तहीन हुने निश्चित प्रायः देखिन्छ ।
नयाँ कानुनले अमेरिकासँग हाल रहेको पुराना गोली, ट्याङ्कका पार्टपुर्जादेखि मिसाइलजस्ता हतियारहरू युक्रेनमा पठाउनेछ र त्यसपछि अमेरिकाको लागि चाहिने नयाँ हतियार उत्पादन गरेर खाली भएको हतियार भण्डारण पुनः भरिने छ । युक्रेनलाई सहयोग गर्ने नाममा एकै समयमा पुराना हतियारको मौज्दात सकाएर अमेरिकाले आफ्नै औद्योगिक पुनर्संरचनामा लगानी गर्दै छ । युक्रेनलाई गरिने सैन्य सहायताले अमेरिकाभरका हतियार निर्माता समुदायलाई पुनरुत्थान गर्दै छ ।
युक्रेनलाई दिने धनराशी अमेरिकी अर्थव्यवस्थामार्फत प्रवाह हुने भनेर अमेरिकी जनतालाई सम्झाइरहेको छ । अमेरिकाले युक्रेनलाई दिइएको भनिएको ६१ बिलियन डलर अमेरिकाकै पुराना हतियार खरिद गर्न प्रयोग हुनेछ । खासमा युक्रेनले नाटोको लागि मात्र युद्ध लडिरहेको छैन । यसले अमेरिकी हतियार उद्योगका मालिकहरूलाई समृद्ध बनाउन मद्दत गरिरहेको छ । तर, यसबाट लाग्ने ऋणको ब्याज वार्षिक करिब ३ अर्ब ५० करोड पुग्नेछ । अर्को शब्दमा भन्नुपर्दा अमेरिकी जनताले यसको लागि प्रत्येक वर्ष स्थायीरूपमा कर तिर्नुपर्नेछ । अमेरिकामा एकातिर विद्यार्थीले पढ्नको लागि लिएको ऋण तिर्न सकिरहेका छैनन् भने अर्कोतिर करदाताले तिरेको पैसा हतियार कम्पनीलाई दिएर हतियार उत्पादन गराउँदै छ । अमेरिकी विद्यार्थीहरूले पढ्नको लागि लिएको ऋण माफीको माग गरिरहेका छन् । यसमा सरकारलाई वास्ता छैन तर युक्रेनको सीमाको कृत्रिम चिन्ता देखाइरहेको छ ।
युक्रेनलाई हतियार दिने विधेयक पारित भएपछि अमेरिकी संसद् भवनबाहिर युक्रेनी झन्डा फहराइएको थियो । यसबाट पनि अनुमान लगाउन सकिन्छ युक्रेनलाई गरेको सहयोगको पछाडिको आशय के हो भनेर । पछिल्लो समय हतियार उत्पादक कम्पनी लकहिड मार्टिन र जनरल डाइनामिक्सको त्रैमासिक आम्दानी निकै बढेको छ । अमेरिकी रक्षा विभागसँगको हतियार कम्पनीको सम्बन्धले कसरी हतियार कम्पनीको आम्दानीलाई बढाउँछ भनेर देखाएको छ । सबै कम्पनीको आम्दानी गत वर्षभन्दा ५ अर्ब डलर बढी भएको छ ।
अमेरिकी हतियार उत्पादनलाई प्रोत्साहित गर्ने उद्देश्यले अमेरिकाले अहिले युक्रेनलाई १०० बिलियनभन्दा बढी सहयोग दिइसकेको छ । विज्ञहरूका अनुसार युक्रेनलाई दिइएको हतियार सहयोगले अमेरिकी शस्त्रागारलाई अद्यावधिक र आधुनिकीकरण गर्न सहयोग पुग्नुका साथै अमेरिकी हतियार निर्माताहरू र कर्मचारीहरूलाई फाइदा पु¥याउनेछ । अमेरिकी सैन्य औद्योगिक परिसरले हतियारमा खर्च गर्न पैसा पाउनेछ । पहिला यो धनराशी सिधै रक्षा विभाग अनुबन्ध गर्ने कम्पनीहरूमा जान्छ । त्यसमध्येबाट सीईओले मात्र १०० मिलियन डलर बोनसको रूपमा पाउनेछ । त्यसपछि उही सीईओको ‘दान’ अभियानको पैसा आफ्ना नेता साथीहरूबिच भागबन्डा गरिनेछ । सैन्य औद्योगिक परिसरले राजनीतिज्ञहरूलाई सित्तैमा लाखौँ रकम दान गर्दैन । शान्ति उनीहरूको चाहना पटकै होइन ।
अहिले अमेरिकी सरकारको ३५ ट्रिलियन डलर ऋण लगभग सबै करदाताबाट उठाएको पैसाबाट तिरिन्छ । जसको ब्याजमात्र १ ट्रिलियन प्रतिवर्ष लाग्छ । लाजमर्दो कुरा सत्तामा बस्नेहरूबाट अर्कै देश सुरक्षित गर्ने नाममा अरबौँ खर्च गरिन्छ तर पनि सुरक्षित छैन । पुँजीगत लाभ कर ४४.६ प्रतिशतमा बढाए युक्रेनमा ६१ अर्ब पठाएको भन्ने अमेरिकी जनताको आरोप छ ।
अमेरिकी सरकारको उद्देश्य भनेको युक्रेनको माध्यमबाट संयुक्त राज्य अमेरिका र युरोपबाट पैसा बाहिर निकालेर अन्तर्राष्ट्रिय अभिजातवर्गको हातमा फिर्ता गर्नु हो । अमेरिकी लक्ष्य एक अन्तहीन युद्ध भएको छ । अर्थतन्त्रलाई जसरी घुमाए पनि यसको एक भाग अभिजातवर्गको खल्तीमा गएर अन्त्य हुन्छ । सरकारी ठेकेदारहरू र हतियार निर्माताहरू झन्झन् धनी हुँदै छन् । सिनेटर र काङ्ग्रेसका सदस्यहरूले ती कम्पनीका मालिकहरूबाट रकम पाइरहेका हुन्छन् । कतिपय पार्टीका नेताहरू त हतियार कम्पनीको मालिक नै हुन्छन् । घटनाक्रमलाई नियाल्दै जाँदा अमेरिकी अर्थव्यवस्था नै सैन्य औद्योगिक परिसरजस्तो भएको छ । तिनीहरूको व्यापार मोडेल अमेरिकालाई निरन्तर युद्धको अवस्थामा राखिराख्नु रहेको छ ।
युक्रेनलाई सहयोग गर्ने बहानामा काङ्ग्रेसले लुटपाटको औचित्य प्रमाणित गर्न चाहिरहेको छ । सिनेटर र काङ्ग्रेसीहरूको ती कम्पनीहरूमा ठुलो लगानी छ जसलाई ठेक्का प्रदान गरिन्छ । काङ्ग्रेसले पारित गरेको ठुलो धनराशी युक्रेन पुग्नुअघि अमेरिकी कम्पनीहरू वा सैन्य कम्पनीहरूमार्फत जान्छ । अमेरिकी जनताले तिरेको करले सहयोगको नाममा युक्रेनका उपल्लो दर्जाका व्यक्तिहरूलाई अमेरिकाकै हवाईमा थप घर किन्न सक्ने बनाएको छ । युक्रेनमा पठाइएको आधा पैसा कुलीनवर्गका लागि महल निर्माणमा जान्छ भनेर अमेरिकी जनता आफैँ गुनासो गरिरहेका छन् ।
युक्रेनलाई आपूर्ति गरिएको हतियारको सङ्ख्या र युक्रेनी मृत्युको सङ्ख्या घणात्मक छ । जति बढी हतियार आपूर्ति, त्यति नै बढी युक्रेनीहरूको हत्या । अहिले सक्रिय युक्रेनी सैनिकको औसत उमेर बढेर ४३ हुनुबाट कति धेरै युक्रेनी सेनाको मृत्यु भयो होला भनेर सजिलै अनुमान गर्न सकिन्छ । किस्ता किस्तामा उपलब्ध गराइएका हतियारले रूसलाई जित्न सकिँदैन । बरु यसको विपरीत, यसले थप युक्रेनीको मृत्यु निम्त्याइरहेको छ । युक्रेनी जीवनको मूल्यमा अमेरिकाले चरणबद्धरूपमा आफ्नो हतियार परीक्षण गरिरहेको छ । अमेरिकाले युद्ध समाप्त गर्न सक्ने हतियार कहिल्यै उपलब्ध गराउँदैन । अहिले अमेरिका युक्रेनीहरूको रगतको मूल्यमा वास्तविक युद्ध क्षेत्रमा रूसको वास्तविक आणविक क्षमताको बारेमा जान्न इच्छुक भएको हो कि भनेर शङ्का गर्न सकिन्छ । तर, युक्रेनी नेताहरूले यो वास्तविकता नबुझ्नु टीठलाग्दो कुरा छ भने अर्कोतिर रुसी नेताहरू भन्दै छन्, “विदेशी हतियार युक्रेन आउँदैमा रुसलाई आफ्नो सैन्य लक्ष्यहरू प्राप्त गर्नबाट रोक्न सक्दैन, केबल लडाइँलाई लम्ब्याउनेछ ।” यो पृष्ठभूमिमा युद्ध चाँडै अन्त्य होस् भन्ने चाहना राख्ने शान्तिप्रेमी आम जनता निकट भविष्यमै खुसी हुने लक्षण देखिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *