भर्खरै :

जर्मनीमा मजदुर आन्दोलन – ४

जर्मनीमा मजदुर आन्दोलन – ४

बिदा, अब बिदा, सधँै लडिरहने तिमी,
बिदा लौ, भिडन्त गरिरहने दलहरू

बारुदको धुवाँले कालो भएको लडाइँको मैदान,
भाला, बन्दुक र तरबारहरू तिमीलाई बिदा ।

बिदा भो, दाजु–भाइहरू, तर सधैँको निम्ति भने होइन,
हाम्रो उत्साहलाई तिनीहरूले दबाउन सक्दैनन् ।
हातहतियारहरू भिडाउँदै र सधैँ जस्तो बलियो भएर
एकदिन म फेरि फर्कने छु ।

शब्दले, खुकुरीले, डेन्युव र राइन नदीसँगै
दुःख–कष्टको बेलामा सधैँ एक सच्चा साथी
गद्दी म्हास्ने मेरा जनताको म हुनेछु
एक लडाकू, गैरकानुनी, एक विद्रोही ।

राइन प्रदेशमा प्रतिक्रान्तिकारी शक्ति बढ्दै थियो । तर, फ्रैङ्कफर्ट सभामा वामपन्थीहरूको धेरै प्रभाव थियो । प्रतिक्रियावादीहरू र उदारवादीहरूले सभा बहिष्कार गरिसकेका थिए । तर, जर्मनीको दक्षिण र पश्चिमी भागका जनताले हतियार उठाइसकेका थिए । सेना हल्लिरहेको थियो । अस्ट्रिया भने हङ्गेरीको सङ्घर्षमा फसिरहेको थियो । प्रसियामा स्थिति अझै स्थिर थिएन । यदि फ्रैङ्कफर्ट सभाले गहकिलो पाइलो चाल्यो भने स्थिति आफ्नै पक्षमा हुनसक्थ्यो ।
त्यसकारण, माक्र्स र एङ्गेल्सले फ्रैङ्कर्फट सभाका वामपन्थी प्रतिनिधिहरूलाई खुला विद्रोहको पक्ष लिन सल्लाह दिनुभयो । सबै ठाउँमा जनतालाई हातहतियार उठाउन आह्वान गर्न र सबै ठाउँको विद्रोही सशस्त्र शक्तिहरूलाई फ्रैङ्कफर्ट सभालाई सुरक्षा गर्न सूचना दिन सल्लाह दिनुभयो । राजा–महाराजा, मन्त्रीहरू र अरू प्रतिक्रियावादीहरूलाई गैरकानुनी घोषणा गर्न, गहकिलो र बलियो क्रान्तिकारी कार्य समिति बनाउन र किसानहरूलाई आफूतिर तान्न सामन्ती सेवाहरूलाई उन्मूलन गर्न सल्लाह दिनुभयो । सल्लाहलाई तिनीहरूले मानेको भए सारा जर्मनीमा एकैबाजी विद्रोह दन्किन्थ्यो । आफ्नो रक्षात्मक नीति छोडेर चर्को आक्रमक स्थितिमा पुग्दथ्यो ।
वाडेनले पनि सम्पूर्ण जर्मनीमा क्रान्तिकारी सङ्घर्ष छेड्नमा ठुलो काम गर्न सक्दथ्यो । कार्लसुहेमा सरकार बनाएको थियो । त्योसँग सेना, हातहतियार र पैसाको ढुकुटी थियो । तर, त्यस सरकारले कुनै खास काम गरिरहेको थिएन । त्यसकारण, माक्र्स र एङ्गेल्सले त्यहाँका सरकारका सदस्यहरूलाई भेट्नुभयो । उहाँले फ्रैङ्कफर्टतिर बढ्ने सल्लाह दिनुभयो । एङ्गेल्सले राम्रो योजना प्रस्तुत गर्नुभयो, वाडेनको चारैतिर विद्रोह गराउने, राम्रो र खास इलाका छानेर रक्षा र आक्रमण दुवै नीति लिने । त्यो गर्दा वाडेनको क्रान्तिकारी सेनाले जर्मन क्रान्तिकारी सङ्घर्षमा ठुलो काम गर्न सक्छ । वाडेन सेनालाई मुख्य बनाएर सङ्घर्षलाई फैलाउँदै उत्तरमा डार्मस्टाई, फ्रैङ्कफर्ट, नासांउ पु¥याउने र विर्टमवर्गमा प्रतिक्रान्तिकारी सेनालाई एक घातक मुक्का दिनेछ । उहाँले दक्षिण जर्मनीको सङ्घर्षलाई देशव्यापी सङ्घर्षमा बदल्न वाडेन र पालाटिनेट क्रान्तिकारी सेनालाई फ्रैङ्कफर्ट पठाउन सूचना दिन सभाका प्रतिनिधिहरूलाई भन्नुभयो । यसो हुनासाथै फ्रैङ्कफर्टस्थित फितलो सेना खतम हुनेछ र हेस–नास्वामा विद्रोह हुनेछ । प्रसिया र अस्ट्रियाले सेनालाई मैजमा सार्नु पर्दथ्यो । फ्रैङ्कफर्ट विजयले पूरै मुख्य उपत्यकामा विजय हुन्थ्यो ।
तर, फ्रैङ्कफर्ट सभाका प्रतिनिधिहरूले माक्र्स र एङ्गेल्सका गहकिला राजनैतिक र सैनिक योजनालाई स्वीकार गरेनन् । घटनाहरूलाई आफ्नै ढङ्गले विकास होस् भनेर छोडिदिए । तिनीहरूमा उत्साह, शक्ति, प्रखरता र अगुवाइपन थिएन । त्यसकारण, माक्र्स र एङ्गेल्स फ्रैङ्कफर्ट अर्थात् वाडेन पुग्नुभयो ।
वाडेनको कार्लसुहेमा सरकार बनाएको थियो । त्योसँग सेना, हातहतियार र पैसाको बन्दोबस्त थियो । वाडेनले पनि जर्मन क्रान्तिलाई अगाडि बढाउन ठुलो भूमिका खेल्न सक्थ्यो । तर, त्यहाँको सरकारले पनि कुनै खास काम गरिरहेको थिएन । माक्र्स र एङ्गेल्सले वाडेन आन्दोलनका नेताहरूलाई राष्ट्रियसभालाई प्रभाव पार्न फ्रैङ्कफर्टमा सेना पठाउन सल्लाह दिनुभयो । तर, आन्दोलनका स–साना पुँजीपति नेताहरूले माक्र्स र एङ्गेल्सका सल्लाहलाई अस्वीकार गरिदिए । यसकारण, माक्र्स र एङ्गेल्स वाडेन छोडेर पालाटिनेट पुग्नुभयो ।
पालाटिनेट प्रान्त राइनका दक्षिण र वाडेनको उत्तर–पश्चिममा पर्दछ । त्यहाँको आन्दोलन पनि पूरै स्थानीय र अलगिएको थियो । तर, त्यहाँको तल्लो पुँजीवादी सरकारमा कम्युनिस्ट लिगका एक सदस्य कार्ल द इस्टर पनि थिए । माक्र्स र एङ्गेल्सले कैलेस्र्लोटर्नमा अस्थायी सरकारका सदस्यहरूसँग कुराकानी गर्नुभयो । तर, वाडेनमा जस्तै कार्ल द इस्टरले आफ्ना अरू सदस्यहरूलाई मनाउन सकेनन् ।
उहाँहरू पालाटिनेटबाट विन्जेन (हेस–डार्मस्टाड) जानुभयो । मई महिनाको आखिरी समय थियो । बाटोमा उहाँहरू हेस अधिकारीहरूबाट विद्रोहीहरूको शङ्कामा पक्राउ पर्नुभयो । उहाँहरू डार्मस्टाड र त्यहाँबाट फ्रैङ्कफर्ट पठाइनुभयो । त्यहाँबाट उहाँहरू छोडिनुभयो र विन्जेन पुग्नुभयो । ३१ मई १८४९ मा उहाँहरूले ‘नयाँ राइन समाचार’ बाट आफूहरू पूर्णतया अलगिएको घोषणा गर्नुभयो । त्यहाँबाट माक्र्स पेरिसतिर लाग्नुभयो र एङ्गेल्स एक साधारण राजनैतिक प्रवासीको रूपमा बस्न कैसरस्लाउटर्न जानुभयो ।
पालाटिनेटको अस्थायी सरकारले एङ्गेल्सलाई अनेक नागरिक र सैनिक सेवाका पदहरू ग्रहण गर्न अनुरोध गर्यो । तर, उहाँले ती पदहरूमा बस्न स्वीकार्नुभएन तर सरकारी पत्रिकामा लेखसम्म दिन स्वीकार्नुभयो । ‘पालाटिनेट र वाडेनका क्रान्तिकारी विद्रोह’ भन्ने एउटा लेख स्वीकार गरिएको थियो । तर, अरू सम्पादकहरूले ‘गाली– गलौज’ भनेर स्वीकार गरेनन् । त्यसपछि एङ्गेल्सले लेख दिन छोड्नुभयो ।
त्यसैबेला पालाटिनेट सेना र प्रसियाली सेनाको बिचमा भिडन्त सुरु भयो । अगस्ट ब्रिलिच कम्युनिस्ट लिगका एक सदस्य थिए । उनी खास गरेर मजदुरवर्गको राजनैतिकरूपले अगाडि बढेको र साहसी लडाकुहरूको दलका नेता थिए । एङ्गेल्स उनकै सहयोगी बन्नुभयो ।
प्रसियाली सेनाको भिडन्तहरूमा पालाटिनेट सेनाले हार खानुपर्यो । पालाटिनेट क्रान्तिकारी सेना स्थानीय क्रान्तिकारी सेनासँग वाडेनमा पछि हट्यो । एङ्गेल्सले ब्रिलिच दलको निम्ति गोली–गठ्ठा तयार पार्ने र सैनिक तालिम दिने काम सम्हाल्नुभयो । फ्रेडरिक लेसनरले गुप्तरूपले कार्तुस बनाएर वाडेन पठाउँथे । वेकरगेर्मन गोली र बारुद्ध पु¥याउँथे । उनी कम्युनस्टि लिगका एक सदस्य र जर्मन जनताका लेखक थिए ।
यता ६ जूनको दिन प्रसियाली सरकारले एङ्गेल्सलाई धुइँधुइँती खोज्दै थिए । बाहिरबाट थप लडाकुहरू आइपुगे । त्यसमा एङ्गेल्ससँग चिनाजानी भएको इल्वेरफेल्ड विद्रोहका साथीहरू पनि थिए ।
२० जून १८४९ मा त्यो दल प्रसियाली सेनासँग भिड्न थाल्यो । एङ्गेल्स र ब्रिलिचले लडाइँको योजना बनाउनुभयो । गा¥हो र खतरनाक काममा उहाँहरू आफै निर्देशन दिनुहुन्थ्यो । एङ्गेल्सले हातहतियार र गोला–बारुद्ध यताउता लाने, अरू दलहरूसँग सम्बन्ध राख्ने र सैनिक गतिविधिको परीक्षण र अनुसन्धान गर्ने काम सम्हाल्नु हुन्थ्यो । पछाडि हट्दाखेरि उहाँ पछिल्लो सेनासँग रहनुहुन्थ्यो र मुख्य सेनाले ठाउँ छाड्दा त्यसलाई रक्षा गर्नुहुन्थ्यो । स–साना भिडन्तहरूबाहेक उहाँले ४ वटा ठुलठुला भिडन्तहरूमा भाग लिनुभयो । त्यसमध्ये रास्टाटको भिडन्त सबभन्दा महत्वपूर्ण थियो । लडाइँमा उहाँ हतारिनुहुन्थ्यो र खतरादेखि डराउनु हुन्नथ्यो । ठुलो अगुवाइ, साहस र कार्यदक्षतापूर्वक उहाँले काम गर्नुभयो ।
तर, रास्टाटको लडाइँ प्रसियाले जित्यो । ब्रिलिचको दल बिस्तारै पछि हट्यो । पछिल्लो सेनाले विद्रोही सेनालाई रक्षा गर्दै थियो । १२ जुलाई १८४९ मा विद्रोही सेनाको हार भयो र स्वीट्जरल्यान्ड पस्यो । वाडेन र पालाटिनेटको सेनाले पनि त्यही बाटो लियो । यसरी जर्मनको क्रान्ति हार भयो ।

 

जर्मन क्रान्तिका असफलताको कारण र शिक्षा
१६४८ को बेलायतको क्रान्ति र १७८९ को फ्रान्सेली क्रान्तिमा त्यहाँका पुँजीपतिवर्ग आन्दोलनको मोहदामा थियो । त्यसबेला सर्वहारावर्ग र पुँजीपतिवर्गको भिन्नै अथवा अरू वर्ग पनि पुँजीपतिवर्गको स्वार्थभन्दा फरक स्वार्थ राख्दैनथे । तिनीहरू त्यसबेला एक स्वतन्त्र र विकसित वर्गको रूपमा अगाडि आइसकेका थिएनन् । त्यसबेलाको बेलायती र फ्रान्सेली पुँजीपतिवर्गभन्दा जर्मन पुँजीपतिवर्ग सुस्त र डरछेरुवा थियो । जर्मन क्रान्तिको बेला जर्मन पुँजीपतिवर्ग सामन्तवाद र एकतन्त्रवादको धाकबाट डराउँथ्यो र पछाडिबाट सर्वहारावर्गको क्रान्तिकारी भेलबाट तर्सन्थ्यो । यसकारण, देशलाई एकीकरण गर्ने र सामन्ती र जमिनदारवर्गको विरोधको सङ्घर्षमा ऊ निर्बलियो र डरछेरुवा साबित भयो । ठुल–ठुला पुँजीपतिवर्ग र स–साना पुँजीपतिवर्गमध्ये धेरै दोधारे र चमेरे भइदियो । सारमा पुँजीपतिवर्गले जनता र क्रान्तिलाई विश्वासघात गरेको थियो ।
एकातिर पुँजीपतिवर्गले विश्वासघात गर्यो भने अर्कोतिर जर्मनीका सर्वहारा र किसानवर्ग सामन्तवादलाई उल्टाउन सक्ने गरी सङ्गठित थिएन । सामन्ती सरकारलाई उल्टाएर एक प्रजातान्त्रिक गणतन्त्र स्थापना गर्नसक्ने परिपक्वता सर्वहारावर्गमा आइसकेको थिएन । त्यसकारण, शासन सत्ता फेरि जमिनदार र सामन्तवर्गकै हातमा गयो । तर, यसले दुइटा मुख्य शिक्षा दियो–
१) पुँजीपतिवर्गले मात्रै क्रान्तिको नेतृत्व गर्नसक्छ भन्ने होइन,
२) क्रान्तिकारी वर्गलाई नेतृत्वको जिम्मा लिन सक्ने परिपक्व मजदुरवर्गले मात्र क्रान्तिलाई विजयसम्म लैजान सक्छ ।
स्रोत : विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *