शासकहरूको चरित्र एउटै देखिँदै छ
- कार्तिक ४, २०८३
‘परपीडक’ शब्दको सरल अर्थ हो – अरूलाई दुःख दिने व्यक्ति, व्यक्तिहरू, समूह वा राजनैतिक दलहरूतिर समेत सङ्केत गर्छ ।
देशको राणाविरोधी सङ्घर्षदेखि प्रजातन्त्रको पुनःस्थापना, गणतन्त्रको निम्ति गरेको सङ्घर्ष र पछिल्लो २०८२ भदौ २३ र २४ को उपद्रव, ‘विद्रोह’, ‘आन्दोलन’ र विध्वंस (देशको अत्यधिक जिल्लाको सरकारी र जनताका भवनहरूमा आगो लगाउने र बम फाल्नेहरूबाट भएको विध्वंस) बाट आएको सरकारसमेत ‘परपीडक’ को लाममा पर्छ । कसरी ?
‘परपीडक’ शब्दमा दास–मालिक, सामन्तवर्ग (जमिनदार, मिटरब्याजी वा बढी ब्याज लिई ऋण दिने साहुकाजीहरू), आफ्नै जहान वा परिवारका सदस्यहरूलाई पीडा दिने घरमुली पनि एक प्रकारका ‘परपीडक’ हुन् ।
राजनैतिक आन्दोलनमा सरकारको आलोचना गर्ने तर चुनाव ‘बहिष्कार’ को नाममा सरकारका ‘परपीडकहरू’ लाई जिताउन ‘बहिष्कार’ र ‘वामपन्थी लुगा’ लगाउनेहरू प्रजातान्त्रिक आन्दोलनमा ५०० जना प्रदर्शनमा स्वयम्सेवक ल्याउने वाचा गरेर ५–१० मात्र स्वयम्सेवक ल्याई ५०० नै भएको दाबी गर्नेहरू पनि परपीडक हुन आउँछ ।
संयुक्त सरकारहरूमा परपीडकहरू घुस्ने र देखिने धेरै सम्भावना हुन्छ । तर, जनताको आँखा दूरबिन सरह भएकाले उनीहरूले टाढा टाढाका पनि परिणाम, वस्तु वा मानिस चिन्ने गर्छन् । आन्दोलन नबिथोलियोस् भनी सहेर बस्नु पनि कहिलेकाहीँ अवसरवादीहरूको निम्ति ‘चौतारी’ बन्न पुग्ने रहेछ । अहिले हिजोका आन्दोलनकारी दलहरूमा आपसमा नामै लिएर क–कसले इमानदारीपूर्वक काम गरे र क–कसले आन्दोलनलाई ‘पानी पोखरी’ बनाउन खोजेका थिए भन्नेबारे कुरा चल्दै छ ।
त्यस परिस्थितिबारे समयमै आलोचना र आत्मआलोचना भइदिएको भए जहिले पनि ‘उपप्रधामन्त्री, स्वास्थ्यमन्त्री वा गभर्नर’ को मनोनीतमा टाउको दुखाउनुपर्ने थिएन ।
यी त भए बितेको कुरा तर, आज पनि मानिसहरू जिउँदै हुँदा पनि भूमिसुधारको आन्दोलनमा जोताहा किसानको पक्षमा होइन विपक्षमा जानेहरू बढी ‘बहुमत जनता’ का पक्षपातीको रूपमा देखिएका छन् । त्यस्तै, व्यक्तिका छोरा नातिहरू आज अनेक कानुनी र गैरकानुनी जालझेल गरेर हजारौँ रोपनी जग्गाको करोडौँ र अर्बाैँ रुपैयाँ हसुरेर शासक दलहरूको धाप पाएर परपीडक भई रमाइरहेका छन् ।
यस्तो परिस्थितिबाट इमानदार र सरल जनतालाई जालसाजी वा विश्वासघात गरेर आफूलाई ‘वीर’ र ‘बहादुर’ दाबा गर्नेहरु धेरै पछि काठमाडौँ उपत्यका छिरेर राजनैतिक नेता बनेका व्यक्तिहरूले सच्चाइ के हो बुझेका छैनन् । उनीहरू ‘परपीडकहरू’ कै फन्दामा परेको देखिएका छन् ।
केन्द्रीय स्तरका नेताहरूले मनमा राखेका होलान् – लाखौँ कार्यकर्तामा ५–१० जनाको के मूल्य छ र ! तर, होसियार हुनुपर्ने एक गम्भीर प्रश्न ‘युक्रेन’ हो । बोल्शेविकहरूले समाजवादी क्रान्तिको बेला युक्रेन बनाउन ठुलो बलिदान चढाए । पछि आर्थिक र भौतिक उन्नति गर्न ठुलो जनधन खर्च गरे । तर, त्यहाँका जनताको धर्म, जात, संस्कृतिबारे ध्यान नदिँदा वा पद र भौतिक प्रगतिको सम्भावनाले ‘पुँजीवादी विचार धोइएला’ भन्ने सरलताले उल्टो काम ग¥यो । आजसम्म नाटो देशका सबै गुप्तचर विभाग जसरी ‘ट्रोत्स्कीवादीहरू’ लाई सहयोग गराउँदै छन्, दक्षिण एसियामा पनि तिनीहरू प्रबल रूपले सक्रिय छन् ।
सर्प र हिंस्रक पशुहरू जसरी घाँस र झारपातमा हुर्कने गर्छन् त्यस्तै ती ट्रोत्स्कीवादीहरू छद्म पार्टीको नाममा सक्रिय छन् र नेपालका पुराना कम्युनिस्ट र समाजवादको नाममा जात र धर्म, विद्यालय, सहकारी संस्था वा स्वास्थ्य केन्द्रहरूजस्ता साना–ठुला सबै संस्थाहरूमा सक्रिय छन् । तिनीहरू वास्तवमा ‘परपीडक’ को रूपमा देखिने छन् ।
Leave a Reply