ब्रिक एन्ड द बुल : द एकाउन्ट अफ हाँडीगाउँ’ किरातकालीन इतिहासको अन्वेषण
- कार्तिक २, २०८३
नेपालका वरिष्ठ राजनीतिज्ञ तथा नेमकिपाका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ एक असल अभिभावक तथा मार्गनिर्देशक हुनुहुन्छ । उहाँ नेपालको कम्युनिस्ट आन्दोलनका एक अथक योद्धा हुनुहुन्छ । कामदारवर्गका जनताको हकहितका लागि लड्नुहुने श्रद्धेय बिजुक्छेँको जीवनयात्रा पक्कै सहज छैन । उहाँ आज पनि अध्ययन, चिन्तन र लेखनमा सक्रिय हुनुहुन्छ । राजनीति, साहित्य र संस्कृतिको क्षेत्रमा उहाँको देन अतुलनीय छ । ९० वर्षको सङ्घारमा पुगिसक्दा पनि युवा विचार र दृढ मनका साथ नयाँ पुस्तासँगै हुर्कँदै हुनुहुन्छ । कम्युनिस्ट सिद्धान्त, माक्र्सवाद, लेनिनवाद र माओविचारधारा, समाजवाद र साम्यवादलगायतका राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयमा आफ्ना कार्यकर्तालाई प्रशिक्षित तुल्याउन उहाँ कहिल्यै थाक्नु हुन्न ।
देश र जनताको निःस्वार्थ सेवा गर्दै आउनुभएका श्रद्धेय बिजुक्छेँको साहित्यिक नाम हरिबहादुर श्रेष्ठ हुन् । साहित्यकार हरिबहादुर श्रेष्ठ हामी स्वयम्को निमित्त कुनै अपरिचित नाम होइन । साँच्चै उहाँ हामी सबैका प्रिय मार्गदर्शक तथा आदरणीय अभिभावक हुनुहुन्छ । सादा जीवन उच्च विचारका धनी व्यक्तित्व आदरणीय बिजुक्छेँको ‘स्कुलिङ’ पाउनु गर्वको विषय हो ।
उहाँका थुप्रै कविता, कथा, निबन्ध, समालोचनालगायतका लेख–रचनाहरू प्रकाशित छन् । उहाँ कवि, कथाकार, समालोचक पनि हुनुहुन्छ । सुपरिचित स्रस्टा हरिबहादुर श्रेष्ठको पहिलो कवितासङ्ग्रह ‘आकाश बाँधिएको छैन’ २०४२ सालमै प्रकाशित भएको थियो । अहिले भर्खरै २०८२ सालको माघ महिनामा अर्को कवितासङ्ग्रह ‘ए, मेरा रातहरू’ मजदुर दैनिकद्वारा प्रकाशित गरिएको छ ।
प्रतिष्ठित साहित्यकार हरिबहादुर श्रेष्ठको कलम यात्रा कहिल्यै सुस्ताएन । लेखन र अध्ययन उहाँको जीवनपद्धति हो भन्दा पनि फरक नपर्ला । उहाँका रचनाहरू सरल र सटिक छन् । उहाँ विभिन्न कविता, कथा र लेख रचनाहरूमा आम पाठकले बुझ्ने भाषाको प्रयोग गर्नुहुन्छ ।
सरकारमा बसेर देश र जनताको हितमा काम नगर्ने शासक दल र दलका नेताहरूको शासकीय प्रवृत्ति उदाङ्ग्याउने प्रयास कविले यस ‘ए मेरा रातहरू’ कवितासङ्ग्रहको माध्यमबाट गर्नुभएको छ । देशको राजनीतिक विकृति र विसङ्गतीलाई उक्त कवितासङ्ग्रहले चिर्ने प्रयास गरेको छ । कविले देशको वास्तविक समस्या र चुनौतिमाथि छलफल गरेर समाधानको बाटो पहिल्याउनुभएको छ । कामदारवर्गको स्वर्ग समाजवाद हुँदै साम्यवादी समाजको पक्षमा उभिन सारा नेपाली जनतालाई कवितामार्फत आह्वान गर्नुभएको छ ।
साहित्यकार हरिबहादुर श्रेष्ठद्वारा रचित ‘ए मेरा रातहरू’ कवितासङ्ग्रहमा जम्मा ३८ वटा लामा–छोटा समयसान्दर्भिक कविताहरू समावेश छन् । पुस्तकको आवरण सज्जा आकर्षक देखिन्छ ।
कवितासङ्ग्रहको सुरूमा ‘कवि र कविताबारे’ हरिबहादुर श्रेष्ठको महत्वपूर्ण रचना प्रस्तुत छ । जसमा भाषाको विकाससँगै गीत, सङ्गीत, नाटक, कथा, कविता र महाकाव्यहरूको जन्म भएको उल्लेख छ । साहित्यमा राजनीतिको प्रभाव हुँदै आएको कुरा उदाहरणसहित प्रस्तुत छ । त्यसकारण साहित्य राजनीतिबाट अलग हुन नसक्ने कुरा यस लेखले बताउँछ । बेलायती रोमानी कवि वाइरनको ‘मैले लगाएको काँडा’ शीर्षकको कविता यहाँ उद्धृत गर्न मन लाग्यो–
‘यो काँडा हो
जसलाई मैले आफैले
रोपेको थिएँ,
त्यसले आज मलाई
जताततै घाउ पा¥यो
रगताम्य बनायो ।
पहिले नै सोच्नुपर्ने थियो
मैले यो कुरा
जे बीउ छर्छाँै
त्यहीं फल पाउनेछौँ ।
यसबाट के थाहा हुन्छ भने हरेक देशको साहित्यमा राजनीतिको गाढा प्रभाव परेको हुन्छ । आफ्नै समयमा देखेका र अनुभव गरेका विषय लेख र कवितामा अभिव्यक्त गरेका हुन्छन् ।
सुरुको कविता ‘साथीहरूलाई पर्खँदा पर्खँदै’ अत्यन्त रुचिपूर्वक पढेँ । सङ्घर्षको यात्रामा कोही साथीहरू सँगसँगै हिँड्छन्, कोही पछाडि पर्छन्, कोही फर्केर जान्छन् या कोही निराश हुन्छन् । तर, आजुमा पुग्न जस्तोसुकै चुनौती सामना गरेर भए पनि एक्लै अगाडि बढ्नुपर्ने सन्देश यस कविताले यसरी दिन्छ :
‘पुराना साथीहरूलाई
पर्खँदा पर्खँदै
आफ्नो यात्रा थालेँ ।’
त्यस्तै रवीन्द्रनाथ ठाकुरलाई सम्झँदै उद्धृत गरिएको कवितांश यहाँ प्रस्तुत गर्नु उचित लाग्यो ।
‘साथीहरूलाई बोलाउँदा पनि
कोही आएन भने साथी,
तिमी एक्लै जाऊ
रक्तप्लवित गोडा लिएर साथी
तिमी एक्लै जाऊ ।’
अत्यन्त मर्मस्पर्शी यो कविताले मन छुन्छ । तरङ्गित बनाउँछ । आफैसँग वार्तालाप गर्छु । अनि भन्छु, जीवनमा अनेक कठिन मोडहरू आउँछन् तर हाम्रो बाटो रोकिनुहुन्न ।
दोस्रो कविता ‘आमासँग उत्तर थिएन’ मा बाढी र पहिरोले निम्त्याएको विकराल स्थितिको दोषी को हो ? भन्नेबारे आमा र छोरीको वार्तालाप कवितामा प्रस्तुत छ । आमा दैवी प्रकोपको कारण ईश्वरले दुःख दिएको भन्छिन् । तर, छोरी खोला र नदी मिचेर खेत बनाउने, ठुल्ठुला भवन निर्माण गर्ने, खोला किनारमा ग्यारेज र कारखाना बनाउने आदि कारणले गर्दा हामीजस्ता गरीबले दुःख पाएको तर्क राख्छिन् । बाढी पहिरोले बाल मस्तिष्कमा पारेको प्रभाव र उब्जेको प्रश्नबारे कविता बोल्दछ ।
देशका शासक दलहरूले समृद्धिको नारा लगाउने तर देशलाई भड्खालोमा पु¥याउनेजस्ता विषय ‘समृद्धिको साथी को हो ?’ कवितामा प्रस्तुत छ । तिनीहरूको मगन्ते प्रवृत्तिले देश भिखारी बनाउने परिस्थिति सिर्जना भएकोप्रति कवि यसरी दुखेसो पोख्नुहुन्छ :
‘मित्रहरूसँग माग्दामाग्दै तिमीले
माग्ने पात्रो र झोलासमेत माग्यौ
आफ्नो छोरा बेच्यौ, दास बजारमा
स्वास्नीमात्र होइन, छोरीसमेत बेच्यौ
आमा नै बेच्ने तिमीले समृद्धिको के नाटक गर्छौ ?’
‘युवाहरूका पौरखी हातहरूलाई
समुद्र पारमा, घर–खेत बेचाई
रगत र पसिना बेच्न कर ग¥यौ,
अनि मानिसबिनाको देशको समृद्धि
तिमी कोसँग माग्छौ ?’
शासक दलहरू देशलाई आत्मनिर्भर बनाउने सोच्दैनन् । माग्ने प्रवृत्ति यथावत छ । देशका युवाहरूलाई स्वदेशमै रोजगार उपलब्ध गराउनुको सट्टा विदेशमा श्रम बेच्न पठाउने ती तमाम व्यक्तिहरूप्रति कवि तीखो व्यङ्ग्य हान्नुहुन्छ ।
‘ए नेवार दाजुभाइ’ शीर्षकको कवितामा परम्परा र संस्कृतिको नाउँमा जाँड–रक्सी धेरै खाने र हो–हल्ला गर्ने नेवार दाजुभाइलाई देश र जनताको बारेमा सोच्न र शासक दलहरूको गलत राजनीतिक प्रवृत्ति, भ्रष्टाचारको विरोध गर्न, लाखौँलाख युवाहरूलाई विदेश पठाएर डल्लर कमाउनेहरूको विरूद्धमा लाग्न यो कवितांशमार्फत कवि अुनरोध गर्नुहुन्छ :
‘रक्सी र जाँडले मातेर होइन
भागबन्डाको विरोधमा सचेत भएर बढौँ
भ्रष्ट मन्त्रीहरूको विरोधमा सचेत भएर लागौँ ।
ए नेवार भाइहरू !
जात्रामा हो–हल्ला गर्ने होइन
नारा लगाऔँ जनताको हितमा’
जनताको भोटबाट जितेका जनप्रतिनिधिहरूले जनताको समस्या सम्बोधन गर्नुपर्छ । जनताको सानाभन्दा साना समस्यालाई मध्यनजर गर्दै समाधानतिर लाग्न सक्नुपर्छ । केही जनप्रतिनिधिहरू आफ्नो व्यक्तिगत स्वार्थको लागि पदको दुरूपयोग गर्छन् । आफ्नो फाइदा हेर्छन् । तर ‘ए, मेरा जनप्रतिनिधिहरू’ कवितामा कविले कर्मचारीतन्त्रबाट बच्न र नुनको सोझो नगर्न सचेत पार्दै भन्नुहुन्छ –
‘लडी मरौँ, दास नबनौँ पैसाको
कमारा नहोऔँ पद र मानको
नफालौँ गौरव र इज्जत
आफ्नै विचार र पौरखको
नुन नखाऔँ अरूको, खाऔँ आफ्नै फल
खाऔँ अन्न पानी आफ्नै देशको
सेवा गरौँ आफ्नै जनताको
तर ज्यू–हजूरी नगरौँ पराइको ।’
देशका सम्पूर्ण जनप्रतिनिधिहरूले यो पढ्नैपर्ने कविता हो । ‘म कस्तो नेता हुँ ?’ ‘नेपाली हामी कस्ता मूर्ख ?’, ‘झन्डा हाम्रो’, ‘ मन्त्री र बालुवा’ शीर्षकको कविताले पनि यस्तै भाव दिन्छ । पद र पैसाको निम्ति देश बेच्ने, नैतिकता बेच्ने, सार्वजनिक सम्पत्ति दुरूपयोग गर्ने, पैसा बाँडेर चुनाव जित्ने नेताहरूको पर्दाफास यी कविताले गर्दछ ।
‘आतङ्कवाद वा साम्राज्यवाद’ र ‘इरानमा आतङ्कवाद’ शीर्षकको कवितामा साम्राज्यवादको चरम आतङ्कबारे उल्लेख छ ।
‘डोको र मेरो देश’ कवितामा देशका नेताहरूले देशको गोप्यता भङ्ग गर्ने र आफ्नो ठाउँलाई अरूको बनाउन सजिलो बनाएको आरोप छ । देशको आन्तरिक तथा सुरक्षा मामिलाको सम्बन्धमा गम्भीरतापूर्वक लिनुपर्ने र देशको गोप्यता सम्बन्धित निकायले राख्नुपर्ने विचार कविताले व्यक्त गर्दछ ः
‘के लुकाउँछौ साथी तिमी,
देखिन्छ सबै यो डोकोमा
के राख्छौ तिमी पानी ?
जसमा एक थोपा पानी अडिँदैन
गुप्तता के रहला
पराइलाई नै आफ्नो सम्झियौ भने
छिद्रैछिद्र भएको डोकामा
के अट्ला गुप्तता ।
‘म नेपाली, म भक्तपुरवासी’ कविता अझ बढी चाखलाग्दो छ । शिक्षा, स्वास्थ्य, सरसफाइ, मठ–मन्दिर, पाटीपौवा, बाटोघाटोलगायतको निर्माण क्षेत्रमा भक्तपुरको योगदान अतुलनीय छ । सारा नेपाल र जनतालाई यो कुराको ज्ञात छ । भ्रष्टाचार शून्य छ । देश र जनताको इमानदारीपूर्वक निःस्वार्थ सेवा गर्दागर्दै पनि नेमकिपा र भक्तपुरको विरोध गर्दै आइरहेको कुरा हामीलाई थाहा छ । आजभोलि सामाजिक सञ्जालका वालहरूमा बकवास तर्कहरू राखेर नेमकिपाको विरोध गर्दै छन् । जो सुन्दै र हेर्दै आक्रोश पैदा हुन्छ ।
कवितामा उद्धृत एक कवितांश–
‘भक्तपुरको खोइरो खन्न छोडेको दिन
मैले रोजगारी पाउने छैन
नभुक्ने कुकुरलाई
के मालिकले पाल्ने मूर्खता गर्ला ?
……..
भक्तपुरेहरूले राम्रो गर्लान् भनी
यसकारण सराप मात्र दिन्छु
किनभने
सराप्नु पनि एउटा पेसा
प्रशंसाको निम्ति मैले
महिनावारी पाएको होइन ।’
सटिक जवाफ हो भक्तपुर र नेमकिपाको विरोध गर्ने पेसा अपनाएकाहरूलाई यो कविता । वर्गशत्रुहरू नेमकिपा तथा कामदारवर्गका जनता माथि उठेको चाहँदैनन् । तिनीहरू आफ्नो सत्ता टिकाउनका लागि यस्ता बकम्फुसे कुकुरहरू पाल्नमा अभ्यस्त हुन्छन् र विरोध गरिरहन्छन् । तर यसबारे हामी पाठक सचेत हुन जरूरी छ ।
नेपालमा अहिले पनि छाउपडी प्रथा, दाइजो प्रथा, धर्म र अन्धविश्वासको नाउँमा बोक्सीको आरोप लगाउने जस्ता विकृति विसङ्गति व्याप्त छ । आजको आधुनिक तथा वैज्ञानिक युगमा पनि बोक्सीको आरोपमा कुटपिट तथा हत्या भइरहेको छ । यसको दोषी को हो ? किन आज पनि गरीब तथा दलित महिलाहरू पीडित छन् । सरकारमा गएका शासक दलका महिला नेतृहरूले यसको विषयमा सोच्नुपर्ने हो तर तिनीहरू पुँजीवादी न परे । धेरै उच्च पदमा पुगे पनि धार्मिक अन्धविश्वासको विरोध गर्न सकिरहेका छैनन् । महिला मुक्तिको नाममा विदेशी पैसा असुल्ने र आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्ने पुँजीवादी चरित्रका कारण आज पनि सयौँ महिलाहरू बोक्सीको आरोपमा ज्यान गुमाइरहेका छन् । यसको विरोध गर्न ‘१० वर्षे बालकको बयान’ कविताले आग्रह गर्दछ ।
‘केही अनुभवहरू’ शीर्षक कवितामा एक अभिभावकले जीवनको विभिन्न चरणमा गर्नुपर्ने कामकुराबारे व्यक्त गरिएको छ । जीवनमा सधैँ राम्रो विचार आफूले सिक्ने र सिकाउने गर्न आवश्यक भएको कविताले बताउँछ । कवितामा ज्ञान, आदर्श, बानी, व्यवहार जीवनमा लागू गर्न भनिएको छ । जुन यसप्रकार व्यक्त छ–
‘छोरी, अरूको मात्रै लिने होइन
दिने पनि बानी बसाल
सहयोग गर्नेप्रति कृतघ्न नहुनू ।
छोरी, तिमी मगन्ते नहोऊ
तिम्रो बानी बिग्रन्छ
मुलुक बिग्रेजस्तै
तिमी आफ्नो खुट्टामा उभिऊ
छोरी, अरूको भर नपर
अरूको अगाडि लाज लाग्ने
काम नगर छोरी
अब तिमी ठुली भयौ ।’
‘नेमकिपाले लडाइँको मैदान छोड्दैन’ शीर्षकको कविताले कार्यकर्ता हौस्याउँछ । नेमकिपालाई हराउन शत्रुहरूले धेरै प्रयास गरे । नेमकिपाको जाज्वल्यमान दीप निभाउन प्रयास गरे । तर, नेमकिपाले संसद, सदन र सडकमा एक्लै भए पनि लडिरहेको इतिहास साक्षी छ । सभामुख महोदयलाई सम्बोधन गर्दै लेखेको यो कविताले समाजवाद स्थापनाको लागि नेमकिपा लडिरहन्छ भन्ने सन्देश दिन्छ ।
‘निर्भयसाथ नेमकिपा लड्नेछ
भित्र र बाहिर सदनको
आफ्नो कर्तव्य पूरा गर्नेछ
पद र पैसाको निम्ति होइन
जनताको विश्वासलाई शिरोपर गर्दै
धरती र आकाशलाई साक्षी राखी
नेमकिपा एक्लै अघि बढ्छ, एक्लै
……
हरेक रात आकाशमा
तारा चम्केजस्तै
नेमकिपा चम्कनेछ
नेमकिपाले लडाइँको मैदान छोड्दैन ।’
साँच्चै भन्ने हो भने अहिले हो–हल्लाको राजनीति छ । सिद्धान्त र विचार त परको कुरा, वैचारिक छलफलसम्म हुँदैन । अहिलेको यो स्थिति सिर्जना हुनुका पछाडि पहिलेका ठुला दल भनिएका शासक पार्टीहरू नै दोषी हुन् । पद र पैसा, दलीय स्वार्थको लागि राजनीतिको प्रयोग भयो । देश र जनताको सेवाभन्दा पनि उनीहरुले राजनीतिलाई पेसाको रूपमा अँगाले । तिनीहरू सिद्धान्तमा अडिग हुन सकेनन् । यद्यपि ‘सदन र सडक’ कवितामा कवि आफ्नो गुनासो पोख्नुहुन्छ–
‘हामीले आफ्नै सिद्धान्त छोड्यौँ
हामीले सिद्धान्तका पुस्तकमा
ह्वारह्वार्ती आगो लगायौँ,
पद र पैसामा लोभिएर
हामीले आफ्ना सबै
आदर्शहरू चटक्कै बिर्सियौँ ।’
‘ठुलो देशले काँध चढाएको भए’ कविता सटिक छ । ‘मेरो मृत्यु पर्खने साथीलाई’ कविताले प्रजातन्त्रमा सँगै लडेका साथीहरू प्रजातन्त्र पुनस्र्थापनापछि वैचारिक मतभेदका कारण अलग हुन परेको र सँगै हिँडेको साथीले आफ्नो अवसान पर्खिरहेको विषयलाई जोड्न खोजेको देखिन्छ ।
कवितासङ्ग्रहको शीर्षक कविता ‘ए मेरा रातहरू’ विछोड, दुःख, धैर्य, प्रकृति, साहस, सपना, भविष्य, लक्ष्य, जीवनबारेको गहिरो अर्थ दिने कविता हो । सुरूका कवितांशले भावविह्वल त बनाउँछ नै । आफ्नो प्रिय मान्छेको विछोडका कारण रात अनिँदो बितेको र दुःखका पल सँगालेर धैर्यका साथ आफूलाई सम्हाल्दै आफ्नो कर्तव्यप्रति उत्साह जगाउन गरेको प्रयत्न कवितामा प्रस्तुत छ । यी कविताका हरफहरूले शोभा मिसको सम्झना पुनः दिलायो ।
‘ए रात,
मैले मेरी मायालुलाई
छाँगा र छहरामा देखेँ
बग्दै गएको खोला नालामा
छमछम गर्दै बगेको सुनेँ,
सायद तिनी मलाई खोज्दै थिइन् ।
ए रात, मेरी मायालुलाई
कहाँ लुकायौ, ए मेरो रात ।
२
ए रात, तिमीले दुःख दियौ मलाई,
तिमी अँध्यारोमा लुक्यौ
मेरा आँखामा निन्द्रा बनी
सतायौ, अनि तिमी
सपना बनी हर रात आयौ ।
मेरो सपनालाई तिमीले चुँडाइ लग्यौ
मेरो कल्पनालाई छेक्यौ,
ए रात, तिमी निर्दयी नबन ।
ए रात,
तिमीले मलाई रूवायौ
मेरी प्रियालाई लुकाएर
तर त्यो दिन आउनेछ, एकदिन
…….
आँखै शीतल हुने, मनमा
रसिला भावहरू पलाउने
कृत्रिम प्रकाश स्वतः
छरिनेछ यो भूमण्डलमा ।
भविष्यमा योग्यताअनुसारको काम र कामअनुसारको ज्याला, उत्पादनका साधनहरू राष्ट्रियकरण, वर्गविहीन तथा आदर्श समाज जहाँ सबै मानिस समान हुन्छन् । वर्गविहीन समाजमा नाफाको निम्ति हानथाप हुनेछैन । त्यो समाज जहाँ बेरोजगार र गरिबीका कारण मृत्युवरण गर्ने छैन । समाजमा बहने आँसु हर्षको आँसु मात्र हुनेछ भन्ने आशासहित विकाररहित समाजको कल्पना यस कवितामा पाउन सक्छौँ ।
कविताको अन्त्यमा कवि भन्नुहुन्छ–
‘ए रात
तिम्रो अन्त्यसँगै
नयाँ युग सुरु हुनेछ ।
ती चराहरूले सोध्नेछन्
मेरा आँसुहरूबारे ।
म भन्नेछु
मेरा ती दुःखका दिन र
रातका आँसुहरू
नयाँ युगका अभिनेता र
कलाकारहरूको आँखामा
सबैले देख्नेछन् ।
Leave a Reply