भर्खरै :

जनविरोधी शक्तिविरुद्ध एक्लै भए पनि लड्छु–प्रेम सुवाल

भक्तपुर, ५ पुस । मङ्सिर २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाल मजदुर किसान पार्टीको मादल चिन्हमा मतदान गरेकोमा मतदातालाई धन्यवाद ज्ञापन गर्न बुधबार चाँगुनारायण नपा वडा नं २ दुवाकोटमा प्रभातफेरी तथा सभा सम्पन्न भयो ।
बाजागाजा सहित सल्लाघारीबाट शुरु भएको प्रभातफेरी दुवाकोटका ठाउँ–ठाउँमा कोणसभा गर्दै कारखाना चोकमा पुगेर चोकसभामा परिणत भएको थियो ।
सो क्रममा आयोजित कार्यक्रममा बोल्दै नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले मादल चिन्हमा मतदान गरेकोमा मतदाताहरुलाई आभार व्यक्त गर्दै जनताले गरेको विश्वास पूरा गर्न सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले संविधान निर्माणको बखत व्यापक नेपाली जनताको हितमा बुँदा राख्न खोज्दा अस्वीकार गर्ने राजनीतिक दलले आगामी दिनमा पनि जनताको हितमा काम गर्न नसक्ने बताउनुभयो ।
उहाँले संसद सदस्यले जनताका मुद्दा सदनमा राख्ने र समाधानको लागि सरकारलाई दबाब दिने अनि तिनको कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको हुने धारणा राख्दै देशहित विपरीत र जनविरोधी काम गर्ने राजनीतिक शक्तिविरुद्ध एक्लै भए पनि लड्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष एवं भक्तपुर क्षेत्र नं १ (क) का उम्मेदवार नीरज लवजूले शासक दलहरुले समृद्धिको कुरालाई मात्र प्राथमिकता दिएर देशको सार्वभौमिकता जोगाउने कुरालाई छायाँमा पार्ने चालबाजीमा लागेको बताउनुभयो ।
मतदातालाई धन्यवादका क्रममा मङ्गलबार झौखेलमा पनि प्रभातफेरी तथा सभा भयो ।
सो क्रममा विभिन्न स्थानमा कोण सभा गरी मतदाताहरुलाई धन्यवाद ज्ञापन गरिएको थियो । साथै स्थानीय जनताले पनि ठाउँ–ठाउँमा विजयी उम्मेदवार प्रेम सुवाललाई सम्मान व्यक्त गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *