भर्खरै :

शासक दलको कुकुरझगडा देशको दुर्भाग्य

हिजो आज सामाजिक सञ्जाल र सञ्चारमाध्यममा व्यङ्ग्यात्मक विरोध, आक्रोश र खबरदारीस्वरूप केही श्रव्यदृश्य भाइरल भएका छन् । ती हुन,् कुकुरहरूको झगडा र बाँदरहरूको झगडाको श्रव्यदृश्य । त्यसलाई हेरेपछि, देखेपछि कोही पेट मिचीमिची हाँस्छन् होला । कोही त्यतिका सञ्चारमाध्यमले व्यङ्ग्य र विरोध प्रहार गर्दा पनि किन यिनीहरू नचेतेका हुन् भनेर आँैला उठाउँदा हुन् । कसैले उनीहरूका कान, गैडाका छालाजस्ता बाक्ला भएका त कसैले उनीहरूलाई स्वदेशी विदेशीहरूले त्यस्तो बनाइदिएका हुन् भन्दा होला । देशलाई आत्मनिर्भर बनाउँछु भन्ने शासक दल र नेताको सधैँ कुकुरझगडा भइरह्यो भने देश कसरी विकास हुन्छ ? स्वदेशी र विदेशी दलालहरूले नेपाललाई विकास र स्वाधीन बन्न दिँदैनन्; नेपाललाई आफ्नै खुटटामा उभिएर देशको विकास गर्न दिँदैनन् ।
देशघाती स्वदेशी र विदेशी तत्वहरू शासक दल र त्यसका नेताका वरिपरि रहेका छन् भनेर समय समयमा आरोप लाग्दै आएको हो । तिनीहरूले नै शासक दलका नेताहरूलाई निर्देशन दिइरहेका छन् भनिन्छ । केही पत्रकार र सञ्चारमाध्यमले भनेका छन्, यी दल र नेताहरूलाई तिनीहरूले नुन खुवाएका छन् । तिनीहरूले देशघाती कार्यमा फसाएका छन् वा फसाउन बाध्य पारेका छन् । यदि उनीहरूले भनेबमोजिम गरेनन् भने उनीहरूलाई नाङगेझार बनाउने र हत्या गराउन पनि पछि पर्दैनन् । मदन भण्डारीको हत्या भएको खुब चर्चामा आयो । हत्यारालाई पत्ता लगाएर कठघरामा उभ्याउँछु , जेल हाल्छु भनेर सरकारको बागडोर हातमा लिएका एमाले, काङ्गे्रसले पनि केही गर्न सकेनन्, त्यसको अत्तोपत्तो आजसम्म छैन । भारत र अमेरिकाले आफ्नो स्वार्थ पूर्तिको लागि नेपाललाई सधैँ नियन्त्रणमा राखिरहेको घटनाक्रमले देखाइरहेको छ । देश र जनता एकढिक्का भएर यसको विरोधमा लाग्यो भने यो घेरालाई तोड्न सक्नेछ । त्यसपछि हाम्रो देश स्वाधीन हुनेछ ।
आज शासक दलको पद, पैसा र सुविधाको लागि भइरहेको कुकुरझगडाले सङ्घीय संसद्, सातै प्रदेश सरकारको अवस्था डाँवाडोल छ । उनीहरूले कहीँ पनि स्थिर सरकार बनाउन सकेका छैनन् । सबै ठाउँमा कुकुरझगडाझैँ भागबन्डाको झगडा भइरहेका छन् । देशमा एकआपसमा पछार्ने, ढाल्ने, फुटाउने, पद, पैसा सुविधा लिनका लागि फोहरी खेल भइरहेका छन् । समाज र देश बनाउने काममा उनीहरूको ध्यान पुगेको छैन । समाज र देश बनाउने उनीहरूको व्यवहार पटक्कै देखिँदैन । सङ्घीय र प्रदेश सरकार बनाउन,े गिराउने, बिगार्ने, ढाल्ने, दल फुटाउन लोभ देखाएर सांसद हातमा लिने घटनाक्रमले छर्लङ्ग पारेको छ । बहुमत जुटाउने नाममा अरु दलका सांसदहरूलाई लोभ प्रलोभन देखाएर हातमा लिने र अपहरण गर्ने कामसमेत भयो । उनीहरू सिद्धान्त र विचार तथा त्यसको भावना र आदर्शलाई एकातिर मिल्काएर जसरी भए पनि पद, पैसा र सुविधा लिनका निम्ति दल फुटाउने, सांसद किनबेच र अपहरणको काममा संलग्न भए ।
जेठ ७ गते प्रम पुष्पकमल दाहालले आफ्नोे कुर्सी जोगाउन विश्वासको मत लिए । यसको लागि उनले अर्काको पार्टी फुटाएर भए पनि मन्त्रीको लोभ दिए । यहाँ त नहुने काम आफूले गर्दा उपकार तर त्यही काम अरुले गर्दा बलात्कार हुने भएका छन् । उनीहरू सबै एउटै ड्याङका मुला हुन् । माओवादीका नेता एवं पूर्व राष्ट्रियसभाका एक सांसदले त सञ्चारमाध्यममा गठबन्धन सरकारमा विचार र सिद्धान्तको कुरा हुँदैन भागबन्डाको गणितीय हिसाब किताबको मात्र कुरा हुन्छ भनेका थिए ।
प्रजातान्त्रिक भनिएको देश भारतले तेस्रो ठुलो दल ३२ सीट पाएको माओवादीको गठबन्धन सरकारलाई समर्थन गर्नु नौलो कुरा भएन । प्रम दाहालको हातबाट नागरिकता विधेयक, भूमि अतिक्रमण, नदीनाला कब्जा गर्न र एमसीसी आदि पास गराइयो । नेपाली नागरिकलाई भुटानी नागरिक बनाएर अमेरिकामा बेचिएकै हो ।
संसद्मा यी शासक दल र त्यसका नेताहरूले प्रजातन्त्रकै नाम जपेर प्रजातान्त्रिक मूल्य, मान्यता र मर्मको हत्या गरिरहेका छन् । शासकहरूले आफ्नो धर्म निभाउन सकेका छैनन् । प्रमुख प्रतिपक्ष भनिएको काङ्ग्रेसका नेताहरूले पनि त्यस अनुकूल भूमिका निभाउन सकेका छैनन् । प्रजातन्त्रको मर्म र भावनाविपरीत पद, पैसा र सुविधाको लागि कुकुरझगडा नेपाली जनताले देखिरहेका छन् ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्को रोस्टमबाट नेपाली काङ्ग्रेसका नेता महामन्त्री गगन थापालाई विदेशीलाई सूचना बेचेको, त्रिचन्द्र कलेजको स्ववियु सभापति हुँदा बीसौँ लाख भ्रष्टाचार गरेको र बाख्रापालनको नाममा करोडौँ बराबरको राज्यको ढुकुटी स्वाहा गरेको आरोप लगाएका छन् । यदि साँचो हो भने कारबाही गरेर जेल हाल्नुपथ्र्यो । त्यस्तै गगन थापाले रवि लामिछानेलाई सहकारीको करोडौँ ठगी अपचलन गरेको आरोप लगाएका छन् । उनीहरू एक आपसमा गल हत्याउने कुरा गरिरहेका छन् । अनुसन्धान, छानबिन गरेर दुबैलार्इं कारबाही गरे भइहाल्यो नि । उनीहरूको झगडालाई जनताले नौटङ्कीका रूपमा जनताले लिएका छन् । नेपाली नागरिकलाई भुटानी नागरिक बनाई बेच्नेमा आरोप लागेकी आरजु देउवालाई जेल हाल्ला भन्ने देउवालाई चिन्ता छ भने रवि लामिछानेलाई सहकारी ठगी अपचलन गरेको कारण कारबाही गर्ला भन्ने पिर छ ।
यी शासक दलका नेताहरूले साँच्चिकै देशको विकास गर्ने, देशलाई आत्मनिर्भर बनाउन चाहेको भए सङ्घीय संसद् र प्रदेशहरूमा कुकुरझगडा हुने थिएन । उनीहरूले जनतालाई बढीभन्दा बढी निःशुल्क शिक्षा र स्वास्थ्य सेवा सहजरूपमा पु¥याउन तदारुकता देखाउँथे । त्यसको लागि सरकारले गाउँ ठाउँमा विद्यालय, कलेज, विश्वविद्यालय, वीर अस्पतालजस्ता अस्पतालहरू खोल्थ्योे । सरकार गाउँ बस्तीमा बाटो घाटो बनाउन लाग्थ्यो । कृषिप्रधान देशमा मल कारखाना खोल्थ्यो र कारखाना खोल्थ्यो । सरकारले आफ्नो घर खेत बेचेर बिदेसिएका नेपाली युवा विद्यार्थीहरूलाई यही काम र पढ्ने व्यवस्था गथ्र्याे । देशको सन्तुलित विकास हुन्थ्यो । तर त्यस्तो हुने कुनै छाँटकाँट कसैबाट देखिएको छैन । बरु उनीहरू महाकाली टनकपुर सन्धि, एमसीसीजस्तो देशघाती सन्धि सम्झौता गर्न, सबै नदीनाला भारतलाई सुम्पन प्रतिस्पर्धा गरिरहेका छन् । नाजायज स्वार्थको लागि भारत र अमेरिकाले दबाब र धम्की दिँदा पनि त्यसको विरोध र प्रतिवाद गर्न उनीहरू कसैले पनि हिम्मत गर्न सकेनन् ।
यसरी शासक दलहरूले देश निर्माण र रक्षाको लागि नभई पद, पैसा र सुविधाको लागि, आ—आफ्ना कर्तुतहरू छोप्नका लागि, कारबाही र जेल कोचिनबाट जोगिनको लागि कुकुरझगडा गर्नु देशको लागि दुर्भाग्य हो । शासक दलहरू कुकुरझगडामा नलाग्न, कसैको नाजायज दबाब र धम्कीको अगाडि नझुकिकन देश रक्षा र निर्माणमा लाग्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *