भर्खरै :

स्व. अखण्डप्रसाद धौभडेलको सालिक अनावरण

स्व. अखण्डप्रसाद धौभडेलको सालिक अनावरण

भक्तपुर, १३ जेठ । समाजसेवी एवम् शिक्षाविद् स्व. अखण्डप्रसाद धौभडेलको सालिक अनावरण तथा स्व. धौभडेलकी जीवन सङ्गिनी चन्द्रलक्ष्मी धौभडेल १०१ वर्ष पूरा गरी १०२ वर्षमा प्रवेश गरेको शुभ जन्मउत्सवको अवसरमा शताब्दी नारी अभिनन्दन कार्यक्रम आइतबार एक समारोहबिच सम्पन्न भयो ।
कार्यक्रममा स्व. अखण्डप्रसाद धौभडेलको सालिक अनावरण गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा जन्मेर देशको निम्ति महत्वपूर्ण योगदान गर्नुहुने अखण्डप्रसाद धौभडेल देशकै गौरव र प्रतिष्ठा भएको बताउनुभयो ।
तत्कालीन समयमा काठमाडौँको दरबार हाइस्कूलबाट एसएलसी र पटना विश्वविद्यालयबाट स्नातक उत्तीर्ण गर्नु निकै चुनौतीको विषय भएको बताउँदै उहाँले भक्तपुरको शैक्षिक परिवर्तनमा स्व. धौभडेलको योगदान अविस्मरणीय रहेको चर्चा गर्नुभयो ।
अखण्डप्रसाद धौभडेलको योगदानलाई कदर गर्दै भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा उहाँको जीवनी समावेश गरी भक्तपुरका विद्यार्थीहरूलाई अध्ययन अध्यापन गराउँदै आएको प्रमुख प्रजापतिले बताउनुभयो ।
देश र समाजको निम्ति गरेका महत्वपूर्ण कीर्तिहरूले मानिसलाई अमर बनाउने बताउँदै भक्तपुरमा जन्मेर देशकै निम्ति महत्वपूर्ण योगदान गर्ने उहाँका कीर्तिले उहाँलाई युगयुगसम्म अमर बनाउने प्रमुख प्रजापतिले बताउनुभयो ।
नागरिक शास्त्रभाग १ र २, नागरिक शास्त्र बृहत् तथा परिमार्जित, हाइस्कूल ग्रामार, गोल्डेन गाइड टु जनरल इङ्गलिस र कुखुरापालन कक्षा ९ र १० जस्ता महत्वपूर्ण पुस्तकहरू उहाँले लेख्नुभएको बताउँदै प्रमुख प्रजापतिले स्व. धौभडेलले आफूले प्राप्त गरेको ज्ञान र सीप भक्तपुरमै प्रयोग गरी शारदा माविको संस्थापक, विद्यार्थी निकेतन माविको प्रअ र अन्य थुप्रै विद्यालय स्थापनामा महत्वपूर्ण योगदान पु¥याउनुभएको स्मरण गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले स्व. अखण्डप्रसाद धौभडेल भक्तपुरको मात्र नभई देशकै महत्वपूर्ण व्यक्तित्वको रूपमा परिचित भएको बताउँदै उहाँको जीवनी प्रकाशनले नयाँ पुस्तालाई मार्गनिर्देश गरेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रोशनीमैँया धौबन्जारले कुनै पनि परिवारको सफलतामा अभिभावकको भूमिका महत्वपूर्ण रहने बताउँदै स्व. धौभडेल शिक्षा र समाजसेवाको माध्यमबाट आफूलाई उत्कृष्ट व्यक्तित्वको रूपमा स्थापित गराउन सफल व्यक्तित्व भएको प्रस्ट पार्नुभयो ।
इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले स्व. धौभडेलले आफ्नो जीवनकालमा गरेका योगदान अनन्तकालसम्म जीवन्त रहिरहने बताउनुभयो ।
उहाँले स्व. अखण्ड धौभडेलकी जीवन सङ्गिनी चन्द्रलक्ष्मी धौभडेल शताब्दी नारीको रूपमा अभिनन्दन हुने नेपालकै पहिलो महिला भएको र शताब्दी नारी अभिनन्दन नेपालको इतिहासकै अविस्मरणीय क्षण भएको उल्लेख गर्नुभयो ।
स्व. धौभडेलका जेठा सुपुत्र राजेन्द्रप्रसाद धौभडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्व. धौभडेलका भाइ अनन्तप्रसाद धौभडेल र कान्छा छोरा प्रकाशमोहन धौभडेलले स्व. अखण्डप्रसाद धौभडेलको व्यक्तित्व, देश र समाजको लागि पु¥याउनुभएको योगदानबारे चर्चा गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले चन्द्रलक्ष्मी धौभडेल १०१ वर्ष पूरा गरी १०२ वर्षमा प्रवेश गरेको शुभ जन्म उत्सवको अवसरमा शताब्दी नारी अभिनन्दन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *