भर्खरै :

वाग्मती प्रदेशका संस्कृति, पर्यटन, नागरिक उड्डयन तथा सहकारी मन्त्री बज्राचार्य भक्तपुरमा

वाग्मती प्रदेशका संस्कृति, पर्यटन, नागरिक उड्डयन तथा सहकारी मन्त्री बज्राचार्य भक्तपुरमा

भक्तपुर, १३ जेठ । वाग्मती प्रदेशका संस्कृति, पर्यटन, नागरिक उड्डयन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भादगाउँले टोपी र खादा ओढाई आइतबार भनपा सभाकक्षमा स्वागत गर्नुभयो ।
भेटमा मन्त्री बज्राचार्यले सम्पदा निर्माण र संरक्षणमा पुर्खाको योगदान अतुलनीय रहेको चर्चा गर्दै भक्तपुर नगरपालिकाले सम्पदा संरक्षणमा गरिरहेको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।
काठमाडौँ उपत्यकामा खेतीयोग्य जमीनको अभाव हुँदै गएको बताउँदै उहाँले सिमेन्टको आयु ५०–६० वर्षमात्र हुने भएकोले डण्डी सिमेन्टभन्दा माटो जोडाइको मौलिक शैलीको घर निर्माणमा जोड दिनु आवश्यक भएको बताउनुभयो । उहाँले मन्त्रालयका प्राविधिकहरूलाई सम्पदा संरक्षणसम्बन्धी जनचेतना र मौलिक शैलीमा सम्पदा संरक्षण गर्नेसम्बन्धी सचेतना आवश्यक भएको बताउनुभयो ।
उपत्यकाभित्रका पुनःनिर्मित सांस्कृतिक सम्पदाहरूमध्ये धेरैजसो विदेशीहरूको सहयोगमा पुनःनिर्माण गरिएको चर्चा गर्दै काठमाडौँ उपत्यकामा खेतीयोग्य जमीन र किसानहरूको सङ्ख्या घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा भनपाका प्रमुख प्रजापतिले विगत ७ वर्षको अवधिमा १५४ वटा सम्पदा पुनः निर्माण भइसकेको बताउँदै सम्पदा पुनःनिर्माणमा ठेक्का प्रथा उचित नभएको र हाम्रो सम्पदा संरक्षण गर्न हामी आफैँ सक्षम हुनुपर्ने बताउनुभयो । १२ करोड ८५ लाख लागत अनुमानको थन्थु दरबार पुनःनिर्माणको कार्य हाल सुचारु रहेको बताउँदै उहाँले सम्पदा संरक्षणमा दीर्घकालीन सोच राखेर काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाले पुरानौ शैलीमा घर निर्माण गर्ने नगरवासीहरूलाई मोहडामा लाग्ने काठ र इँटामा ३५ प्रतिशत अनुदान दिने व्यवस्था गरिएको बताउँदै प्रमुख प्रजापतिले उपत्यकाका सांस्कृतिक क्षेत्रहरूको संरक्षणको लागि उक्त ठाउँका घरजग्गाहरू काठमाडौँ बाहिरका व्यक्तिहरूले किन्न नपाउने व्यवस्थाको लागि कानुनी व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उपप्रमुख रजनी जोशी, लुम्बिनी विकास बोर्डका अध्यक्ष राजेश शाक्य, वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, पर्यटन शाखा प्रमुख गौतमप्रसाद लासिवा, प्रशासकीय अधिकृत दामोदर सुवाललगायतको उपस्थिति थियो ।
कार्यक्रमको अन्त्यमा प्रमुख प्रजापतिले मन्त्री बज्राचार्यलाई भनपाका प्रकाशन र भक्तपुरको प्रसिद्ध मयुर झ्याल मायाको चिनो स्वरूप हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रमपश्चात् मन्त्री बज्राचार्यको टोलीले भनपाद्वारा पुनःनिर्माण गरिरहेको थन्थु दरबार, भक्तपुर दरबार क्षेत्र, टौमढी क्षेत्र, तालाको क्षेत्रलगायतको अवलोकन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *