भर्खरै :

समाजवादी देशमा प्रजातन्त्र हुँदैन भन्नु झूट

देश र जनताको निम्ति लड्ने पार्टी कहिले पनि देशविरोधी र जनविरोधी हुँदैन । सच्चा कम्युनिस्ट पार्टीहरू त झनै हुँदैन । देश र जनताको ज्यानको बाजी राख्ने कम्युनिस्टहरू कसरी देशद्रोही र जनविरोधी हुन्छन् ? कम्युनिस्टहरू जनताको हक अधिकारको निम्ति लड्छन्; जीवन सुनिश्चित गर्न सङ्घर्ष गर्छन् । जनअधिकार र जीवन सुनिश्चित गर्न लड्ने, आन्दोलन गर्ने कम्युनिस्टहरू या समाजवादी देशका नेता, मन्त्रीहरू अरुलाई बोल्न नदिने, सङ्गठन गर्न नदिने, आयआर्जन गर्न नपाउने, बोलेमा कठोर यातना दिने भनी पुँजीवादी शासकहरू झूट बोल्छन् । ती पुँजीवादी नेता, लेखक र राजनीतिक विश्लेषकहरू समाजवादी देश या कम्युनिस्ट पार्टीहरूको देशमा प्रजातन्त्र, स्वतन्त्रता हुँदैन, व्यक्तिगत सम्पत्ति हुँदैन भन्नु दृष्टिदोष हो । प्रजातन्त्र, स्वतन्त्रता, हक अधिकार पुँजीवादी देशमा मात्र हुन्छ भन्ने पुँजीवादी नेता र पुँजीवादी लेखकहरूको भनाइ गलत हो । पुँजीवादी शासक या नेताहरू समाजवादी देशमा अरु दलले राजनीति गर्न पाउँदैन; अरु सङ्गठन खोल्न पाउँदैन; त्यहाँ एकदलीय शासन हुन्छ भनी फलाक्छन् र गलत सूचना प्रवाह गर्छन् ।
स्वतन्त्रता र प्रजातन्त्र भएको भनिएको प्रजातान्त्रिक देशमा हत्या हिंसा, आत्महत्या, बलात्कारको घटना अधिक भइरहेको हामी पाउँछौँ । भारत आत्महत्या र बलात्कार बढी हुने देश हो । संयुक्त राज्य अमेरिका हिंसात्मक घटना बढी हुने देश हो । भारत र अमेरिका जातीय राजनीति गर्ने या जनजातिको आधारमा पक्षपात गर्ने देशमा पर्छन् । श्रमजीवी जनताको श्रम र पसिनामा रमेर या शोषण गरेर शासन गर्ने सामन्त र पुँजीपतिहरू बहुमत जनताको पक्षमा लड्ने कम्युनिस्ट पार्टीको सरकार या समाजवादी देशमा प्रजातन्त्र, स्वतन्त्रता र व्यक्तिगत सम्पत्ति हुँदैन भनी भ्रम फैलाउने काम गर्छन् । जनवादी गणतन्त्र चीनमा कम्युनिस्ट पार्टीबाहेक ८ वटा राजनीतिक पार्टी रहेको बेलाबखत सञ्चारमाध्यममा आइरहेकै हो; यसबारे विभिन्न पुस्तकहरू प्रकाशन हुँदै आएको हो । जर्मनी गणतन्त्र या पूर्वी जर्मनीमा पनि पाँचवटा राजनीतिक दल रहेको कुरा तिनीहरू भुल्छन् या ढाकछोप गर्छन् । प्रजातन्त्र, स्वतन्त्रता र अधिकार भएको पुँजीवादी देशहरूमा अल्पमतले बहुमत जनतामाथि शासन गरिरहेको हुन्छ; जनतामाथि शोषण, दमन र अन्याय गरिरहेको हुन्छ । पुँजीवादी व्यवस्थामा भ्रष्टाचार र अनियमितता बढी हुन्छ; हत्या हिंसा हुन्छ; आपराधिक घटना बढी हुन्छ । अपराधीहरू कारबाहीमा पर्दैनन् । चोरी चकारी बढी हुन्छ । सिद्धान्त र विचारभन्दा बल र पैसाको राजनीति हुन्छ । इमान–जवान भन्ने कुरा हुँदैन । त्यहाँ पालैपालो सरकार चलाए पनि पुँजीपतिवर्गकै हितमा पक्षपोषण गरिएको हुन्छ ।
नेपालको सन्दर्भमा विशेषगरी नेकाले पुँजीपतिवर्गको प्रतिनिधित्व गरिरहेको छ । विडम्बना ! आफूलाई कम्युनिस्ट भनिने दलले पनि नेकाकै पछि लागेर पुँजीपतिवर्गको पक्षमा राजनीति गरिरहेको छ । कम्युनिस्ट भनिने दलका कति नेताहरू पनि व्यवहारतः कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार छोडेर पुँजीपतिवर्गको पक्षमा लागेका छन् । जनतामाथि हुकुम चलाउने, शक्ति र पैसाको भरमा राजनीति गर्ने या शासन गर्ने देशका शासकहरू यथार्थमा पुँजीपतिवर्गकै हुन् । भारत र अमेरिकाका प्रजातान्त्रिक भनिने पार्टीहरू पुँजीपतिवर्गको सेवा गर्ने पार्टीहरू हुन् । त्यहाँ प्रजातन्त्र र स्वतन्त्रता भनेको देखावटीमात्र हुन्छ या कागजमा मात्र सीमित हुन्छ । यसकारण, पुँजीवादी नेता, लेखक या राजनीतिक विश्लेषकहरूले समाजवादी वा कम्युनिस्ट देशमाथि लगाएको ‘एकदलीय तानाशाही’ को आरोप झूट हो । कम्युनिस्ट या समाजवादी देशमा आलोचना पनि गर्न पाउँदैन भन्ने कुरा होइन । वर्गीय र व्यवहारिकरूपले पुँजीपतिहरूको त्यो भनाइ गलत छ ।
कम्युनिस्ट पार्टीहरूमा जति आलोचना र प्रत्यालोचना अरु पार्टीमा सायद हुँदैन; पुँजीवादी व्यवस्थामा भन्दा समाजवादी देशमा आलोचना र प्रत्यालोचना बढी हुन्छ । सत्तामा पुगेर दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्ने, भ्रष्टाचार, अनियमितता गर्ने, शोषण, दमन गर्ने, अपराधीहरू लुकाउने कार्यको विरोध बढी कम्युनिस्ट पार्टीले गर्छ । आफ्नो देश र जनताको निम्ति चीन, रुस, क्युवा, प्रजग कोरिया, बोलिभिया, इराक, इरान, प्यालेस्टिन आदि देशमा स्थानीय जनता र पार्टीले सङ्घर्ष गरेकै हुन्; ज्यानको बाजी राखेकै हुन् । यसरी लडेर अधिकार प्राप्त गरेको देशमा प्रजातन्त्र, स्वतन्त्रता हुँदैन भन्ने कुरा अत्यन्त भ्रमपूर्ण छ; त्यो दृष्टिदोषमात्र हो । अहिले संसारमा पुँजीवाद र पुँजीवादी प्रजातन्त्रप्रतिको वितृष्णा बढेर समाजवादी विचारप्रति जनताको विश्वास बढ्दै गएको पाइन्छ । अहिले पुँजीवादी विचारप्रति घृणा र समाजवादप्रति आस्था र विश्वास बढ्दै छ । यो सकारात्मक पक्ष हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *