भर्खरै :

कक्षा ८ को अन्तिम परीक्षा भक्तपुर नपाले सञ्चालन गर्ने

भक्तपुर, १२ पुस । भक्तपुर नगरभित्रका विद्यालयहरूमा आधारभूत तहअन्तर्गत कक्षा ८ को अन्तिम परीक्षा भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने भएको छ । यसका लागि वडा अध्यक्ष प्रेमगोपाल कर्माचार्यको संयोजकत्वमा ८ सदस्यीय आधारभूत तहको परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको स्रोतले बताएको छ ।  परीक्षा समितिका पदाधिकारीहरूलाई नगरपालिकाका प्रमुख एवं भक्तपुर शिक्षा समितिका अध्यक्ष सुनिल प्रजापतिले गोपनियताको शपथ ग्रहण गराउनुभयो । त्यसक्रममा प्रमुख प्रजापतिले नगरपालिकाले २०५६ सालदेखि कलेजहरू सञ्चालन गरेर शिक्षा क्षेत्रकै नमुना कार्य गरिरहेको चर्चा गर्दै आधारभूत तहको परीक्षा नगरपालिका आफैले सञ्चालन गरेर अर्को नमुना कार्य सुरूवात गरेको बताउनुभयो ।  उहाँले परीक्षालाई व्यवस्थित र मर्यादितमात्र नबनाई समग्र शैक्षिक स्तरोन्नतिमा उल्लेखनीय भूमिका खेल्ने प्रस्ट पार्नुभयो । प्रमुख प्रजापतिले भक्तपुरका विद्यालयहरूमा अध्ययन गर्ने विद्यार्थीहरूलाई भक्तपुरको कला, संस्कृति, इतिहास र नागरिक भावना प्रवद्र्धन गर्ने हेतुले स्थानीय पाठ्यक्रम तयार गर्ने विषयमा पनि नगरपालिकाले गृहकार्य थालेको जानकारी दिनुभयो ।  भक्तपुर नगरका कूल ६३ वटा विद्यालयका २५७९ विद्यार्थीहरू यो वर्ष आठ कक्षाको परीक्षामा सहभागी हुँदैछन् । नगरमा दुईटा स्रोतकेन्द्रहरू रहेका छन् । वागीश्वरी स्रोतकेन्द्रका ३१ वटा विद्यालयहरूका कूल ११८९ विद्यार्थीहरू परीक्षामा सहभागी बन्नेछन् भन्ने पद्म स्रोतकेन्द्रका ३२ वटा विद्यालयहरूका कूल १३९० विद्यार्थीहरू परीक्षामा सामेल हुनेछन् ।  परीक्षा समितिका संयोजक प्रेमगोपाल कर्माचार्यले नवगठिन समितिमार्फत परीक्षा फाराम वितरण र प्रश्नपत्र निर्माणदेखि उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन र मार्कशीट वितरण र अभिलेख कार्यसमेत गर्ने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *