भर्खरै :

चीनको नयाँ अनुहार

-सृजना सायजू
आज चीन विश्वको दोस्रो आर्थिक शक्तिको रुपमा उदाएको छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, विज्ञान, प्रविधि, उद्योग, शैन्यशक्ति, उत्पादन, वितरण आदिमा गरेको लोभलाग्दो विकासले विश्वलाई चकित पारेको छ । विश्व अर्थतन्त्रमा चीनको योगदान ३० प्रतिशत नाघेको छ । विगतका पाँच वर्षको आर्थिक समीक्षा गर्दा कुल ग्रार्हस्थ उत्पादन ५ नील ४० खर्बबाट बढेर ८ नील पुगी विश्वको दोस्रो स्थानमा पुगेको छ । चिनियाँ उत्पादनले विश्वका जनता अझ विकासोन्मुख देशहरुलाई महत्ववपूर्ण योगदान गरिरहेको छ । नेपालको सन्दर्भमा भारतमुखी नभई अब चीनसँगको सम्बन्ध विस्तार र व्यापक बनाउँदै गएमा देश आत्मनिर्भर र सार्वभौम हुने विश्लेषकहरुको ठम्याई छ  । समाजवादलाई चीनको माटोमा अझ बढी शक्तिशाली बनाउन र विश्वलाई समाजवादको अनुशरण गराउन चीनले अभ्यासहरु गरिरहेको छ । युरोप, एसिया र अफ्रिकालाई जोड्ने रेशम मार्ग, एक क्षेत्र एक सडक अगुवाईको अवधारणा विकास गरेको छ र विश्वलाई नै सेवा दिन सक्ने धरातल खडा गरेको छ । त्यसकारण साम्राज्यवादी अमेरिका पनि चीनको विकास र व्यवस्थाबाट आत्तिन्छ । आजको चीन निसन्देह इतिहासको उपज हो । हिजोका संघर्षका कथाहरुबाट आजको नयाँ, सुन्दर र ज्यादै चम्किलो चीनको जन्म भएको हो । माओ त्से तुङको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीको अगुवाइमा भएका जापानी साम्राज्यवाद विरोधी आन्दोलनहरु, मजदुर हड्तालहरु, किसान आन्दोलनहरु, शोषण उत्पीडन र थिचोमिचोका विरुद्ध भएका साना–ठूला विद्रोहहरु, कठिन लामो हिंडाइ, कष्टकर जीवन, देशभक्त चिनियाँहरुको आहुतिको मिठो फल आजको चीन हो । माओ त्से तुङदेखि सि जिङपिङसम्म आइपुग्दा चीनमा सामाजिक, आर्थिक, भौतिक, राजनीतिक परिवर्तनहरु भएका छन् तर सिद्धान्तको झण्डा कहिल्यै फेरिएन । भर्खरै चीनमा चिनियाँ कमयुनिष्ट पार्टीको १९ औं महाधिवेशन सम्पन्न भयो । उक्त महाधिवेशनमा सि जिङपिङ महासचिवको रुपमा पुनः निर्वाचित हुनुभयो । उहाँले व्यक्त गर्नुभएको तीन घण्टा लामो प्रतिवेदन आज विश्वमा चर्चित छ । देशलाई प्रेम गर्ने मानिसहरुका लागि र अन्तर्राष्ट्रिय भावना भएका मानिसहरुले खोजी खोजिकन अध्ययन गरिरहेका छन् । प्रतिवेदनमा नयाँ युगको चीन अब कता दोहोरिन्छ ? के समस्या छन् ? कसरी जाने ? चिनियाँ जनताहरुको जिम्मेवारी के भन्न विषयमा आफ्नो विचार प्रस्तुत छ । सी जिङपिङ विचारधारा अर्थात् ‘नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवाद’, माक्र्सवाद, लेनिनवाद र माओ त्से तुङ विचारधाराको जगमा उभिएको छ । सँगै प्रतिवेदनमा नयाँ र महत्वपूर्ण विषयवस्तुहरु सुन्दर तरिकाले अभिव्यक्त भएको अनुभव गरें । नयाँ अवधारणा, नयाँ विचार, नयाँ सिद्धान्तहरु प्रस्तुत गरिएको पाएँ । तीमध्ये नयाँ उपलब्धी, नयाँ युग, नयाँ यात्रा, नयाँ चाहना÷अनुरोध, नयाँ योगदान र नयाँ समूह – यी ७ नयाँले मेरो ध्यान आकर्षित गर्यो ।
नयाँ विचारधारा 
प्रतिवेदनको सबैभन्दा ठूलो र नवीन सृजना भनेको नयाँ युगको चिनियाँ विशेषता युक्त समाजवादी विचारधारा नै हो । यस विचारधारा विगतको विचाराहरुको जगमा नै उभिएको छ । यस विचारधारा पार्टी र जनताको व्यवहारिक प्रयोगको अनुभव एवम् सामूहिक ज्ञानको फल हो । चीनको पुनर्जागरण र संघर्षको कार्ययोजनाको रुपमा यो विचार अगाडि सारिएको छ । प्रतिवेदनमा इतिहासका राजनैतिक परिस्थितिहरुको विश्लेषणसँगै वर्तमान कार्यदिशा तय गर्नुपर्ने र नयाँ पुस्तालाई उक्त बाटोमा दोहो¥याउनुपर्ने आवश्यकताको चर्चा गरिएको छ । यो युगसँग मेल खाने र सम्पूर्ण चिनियाँ जनतालाई एकताबद्ध गर्ने नयाँ विचारधाराको रुपमा व्याख्या भएको छ ।
नयाँ उपलब्धी
सन् २०१२ मा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १८ औं महाअधिवेशनका पाँच वर्षमा भएका उपलब्धीहरुको सिंहावलोकन प्रतिवेदनमा समावेश गरिएको छ । कठिनाईका बाबजुद पनि अर्थतन्त्रको विकासमा स्थिरता कायम गर्नु, गर्न खोजेको सम्पूर्ण काम पूरा गर्नु, विकासको गतिले तीव्रता लिनु, चौतर्फी रुपमा १५०० भन्दा बढी सुधारको कदमहरु सफल हुनु सँगसँगै लोकतन्त्र, विधिको शासन, भ्रष्टाचारविरुद्धको अभियान, पर्यावरणीय संरक्षण जस्ता कार्यहरु ५ वर्षमा हासिल भएका केही उपलब्धीहरु हुन् । यसरी तीव्र गतिमा भएको अर्थतन्त्रको विकासलाई प्रतिवेदनले ऐतिहासिक नयाँ उपलब्धीको रुपमा चर्चा गरेको छ ।
नयाँ युग
प्रस्तुत प्रतिवेदनले चीन र चिनियाँ जनता नयाँ युगमा प्रवेश गरेको शंखघोष गरेको छ । विगतका कार्यहरुलाई निरन्तरता दिंदै नयाँ ऐतिहासिक अवस्थामा चिनियाँ विशेषता युक्त समाजवादको निम्ति संघर्ष गर्ने युग, मध्यम स्तरको आय गर्ने समाजको निर्माण गर्ने समाजवादको आधुनिकीकरण गरी शक्तिशाली देश निर्माण गर्ने युग, सबै जनताको एकसाथ समृद्धि प्राप्त गरी सुन्दर र सुखमय जीवन सिर्जना गर्ने युग, विश्वका सम्पूर्ण मानव जातिका लागि अझ बढी र ठूलो योगदान पु¥याउँदै चीनलाई विश्वको केन्द्र बनाउने युगको रुपमा नयाँ युगको चित्रण गरिएको छ । सन् १९५६ मा सम्पन्न पार्टी महाधिवेशनका प्रमुख अन्तरविरोध पिछडिएको उत्पादन सामग्री र समृद्धिबीचको हो । चिनियाँ समाजको मुख्य समस्या जनताको सुन्दर जीवनको चाहना र असन्तुलित तथा अपुग विकासबीचको अन्तरविरोधमा परिवर्तन भइसकेको र यही नयाँ समस्याले गर्दा चीन नयाँ युगमा प्रवेश गरेको निर्णय १९ औं महाधिवेशनले गरेको छ ।
नयाँ यात्रा
सन् १९७८ देखि १९९० सम्म चीनको खाने र बस्ने समस्याको समाधान र सन् १९९० देखि २००० सम्म जनताको स्तरोन्नति गर्ने र सन् २००० देखि २०२० सम्म चौतर्फी रुपमा समस्या समाधान गर्ने लक्ष्य लिइएको थियो । अहिले प्रस्तुत प्रतिवेदनमा  २०२० देखि २०५० बीचको ३० वर्ष दुई चरणमा साकार बनाउने लक्ष्य लिएको छ । सन् २०२१ देखि २०३५ सम्ममा समाजवादको आधुनिकीकरण पूरा गर्ने र सन् २०३६ देखि २०५० सम्ममा चीनलाई सम्पूर्ण रुपमा एक समृद्ध, प्रजातान्त्रिक, सभ्य, सुसंस्कृत, सामञ्जयस्यपूर्ण सुन्दर आधुनिक शक्तिशाली समाजवादी देशको रुपमा निर्माण गर्ने नयाँ यात्रा तय गरेको छ ।
नयाँ चाहना र अनुरोध
चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको उद्देश्यबाट जस्तोसुकै परिस्थति आए पनि कहिल्यै विचलित नहुनु र चिकपाका सम्पूर्ण कार्यकर्ताहरुलाई राजनीतिक र सैद्धान्तिक रुपमा बलियो र परिपक्व रहिरहन नेतृत्वले अनुरोध गरेको छ । पार्टी नेतृत्व सदा जनताप्रति इमानदार, कर्तव्यनिष्ठ हुनुपर्ने र नयाँ युगको नयाँ उपलब्धीका लागि शक्तिशाली र अनुशासित रहनुपर्ने आवशयकताबोध गराएको छ । पार्टीले पहिलोपटक राजनैतिक निर्माणलाई सबैभन्दा बढी महत्वकासाथ उल्लेख गरेको छ । पार्टी कार्यकर्ताहरुले पार्टीको कडा नियमभित्र रहेर जनताको सेवा गर्ने काम गर्न आह्वान गरेको छ । भ्रष्टाचारको नियन्त्रणका लागि कडा कानुनको बन्दोबस्त गरिएको छ । भ्रष्टाचार गर्ने र गराउनै दुवै अपराधीहरुलाई करबाही समेत गर्ने कुरा विशेष रुपमा प्रतिवेदनमा उल्लेख छ । चिनियाँ जनतासँगै विश्वका सम्पूर्ण मानव जातिको सुखमय जीवनको लागि चीनले महत्वपूर्ण भूमिका खेलेको छ । पञ्चशीलको सिद्धान्त पालना गरी विश्वको शान्ति र विकासमा योगदान पु¥याउने काम चीनबाट भएको छ । १९७८ देखि २०१६ सम्म आइपुग्दा ७३ करोड जनतालाई गरिबीको रेखामुनिबाट माथि उठाउनु र विश्वमा ठूलो अर्थतन्त्रको हैसियत बनाउनु पनि ठूलो योगदानको रुपमा लिन सकिन्छ । समाजवादको बाटोबाट देशको र अन्तर्राष्ट्रिय जगतको समृद्धिको बाटो कोर्न सकिन्छ भन्ने शिक्षा चीनले सम्पूर्ण मुलुकलाई दिएको छ । सँगसँगै आज चिनियाँ सपनाअन्तर्गतको एक क्षेत्र एक सडक अगुवाईले विश्वलाई एउटै मालामा उन्ने प्रयास गर्न खोजिएको छ । चीन आफूमात्र सम्पन्न नभई एसिया  युरोप र अफ्रिका जोडिने रेशम मार्गको ठूलो योजना पनि विश्वको निम्ति नयाँ योगदान सावित हुनेछ ।
नयाँ समूह
१९ औं महाधिवेशनले चिकपाको नयाँ केन्द्रीय समितिका सदस्यहरु छानेको छ । चिकपाका सदस्यहरुको क्षमता, आचरण, प्रतिभाका आधारमा सदस्यहरु नियुक्त गरेको छ । केन्द्रीय समितिमा मन्त्रीस्तरीय प्रमुखहरु, सेनाका प्रमुखहरु सरकारी व्यवसायी, विश्वविद्यालय, किसान र मजदुर प्रतिनिधिहरु छानिएका छन् । केन्द्रीय समितिमा सदस्यहरुको सरदर उमेर ५७ रहेको छ केन्द्रीय समितिमा ३० जना महिला र ३८ जना अल्पसंख्यक छानिएका छन् । नयाँ केन्द्रीय समितिका ९९ प्रतिशत सदयहरु विश्वविद्यालय शिक्षा उत्रीर्ण छन् । केन्द्रीय समितिको पूर्ण बैठकले सि जिङपिङलाई पार्टी नेतृत्वमा पुनःनिर्वाचित गरेको छ । यसरी हिजो माओको चीन जति रातो थियो उतिकै र फरक ढ·ले चीन आज पनि रातो छ । माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारा युग युगसम्म चीनको भूमिमा जीवित राख्न सि जिङपिङको नेतृत्व र चिनियाँ कम्युनिष्ट पार्टीले सफल रहनेछ भन्ने आशा एवम् विश्वास पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *