मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
भारतमा नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण कार्यक्रममा सरिक नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण आपसी सम्बन्ध सबल बनाउन हो कि सत्ता जोगाउन हो भन्ने कुरा राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ । सत्तासीन दलका नेताहरूबिच असन्तोष र आशङ्का बढिरहेको बेला शपथग्रहणको नाउँमा प्रम मोदीको दर्शन गर्न पुगेका प्रम दाहालसँगको भेटवार्ता कतै सरकार टिकाउने यात्रा त होइन भन्ने आशङ्का पनि व्यक्त गरिएको छ । सीमा समस्याबारे द्विपक्षीय संयन्त्र सक्रिय बनाउने विषयमा केन्द्रित भएको भनिएको द्विपक्षीय सो वार्तामा साँच्चै देशको के सीमा समस्याबारे कुराकानी भयो ? त्यस कुराकानीमा भारतीय प्रम मोदीले के जवाफ दिए ? सदन र सडकमा जानकारी दिन आवश्यक छ । नेपाल भारतबिच धेरै ठाउँमा सीमा विवाद छ । धेरै ठाउँमा भारतीय पक्षले सीमा मिचिरहेको छ । नेपाली भूमि कालापानीमा भारतीय सेना राखिएको छ । सीमा अतिक्रमणको त लेखाजोखा गरेर साध्य छैन । त्यसको पहल नेपाल सरकारले गरिरहेको छैन । भन्ने बेलामा सम्बन्ध अझ राम्रो भएको र समस्या समाधानमा भारत सकारात्मक भएको फुक्छ । तर, त्यो कुरा भेटवार्तापछि स्वदेश फर्केको एक दुई दिनमै सेलाउँछ ।
विगतका सहमति र सम्झौता कार्यान्वयनको लागि द्विपक्षीय संयन्त्र सञ्चालन गर्न नेपालले पेस गरेको प्रस्ताव के हो ? त्यस प्रस्तावमा प्रम मोदीले के कुरा विश्वास दिलाएकोले उनको कुरा सकारात्मक रह्यो ? त्यसबारे सरकारले स्पष्ट गर्नुपर्छ । के अब भारतले नेपाली भूमि कालापानीबाट भारतीय सेना छिट्टै फर्काउँछ ? के अब भारतले लिपुलेक र लिम्पियाधुराबारे बोल्दैन ? यस्तो कुनै समस्या समाधान हुँदैन भने वार्ता कसरी सकारात्मक हुन्छ या दुई पक्षबिचको सम्बन्ध राम्रो हुन्छ ? भारतीय प्रमको शपथग्रहण कार्यक्रममा नेपालका प्रधानमन्त्री जान्नैपर्ने आवश्यकता के ? जान्नैपर्ने बाध्यता के ? के अब सीमा विवाद टुङ्गिने भयो ? सीमा विवाद टुङ्ग्याउन प्रम दाहालले के प्रस्ताव राखे ? भारतमा एनडीए गठबन्धनको सरकार बन्ने भएपछि हाम्रा विश्लेषकहरूले अब मोदीले आफ्ना एजेन्डा लागु गर्न सक्दैनन् भनी टिप्पणी गरे । तर, उनीहरूले भारतमा नेता परिवर्तन भए पनि नीति परिवर्तन हुँदैन भनेनन् । उनीहरू भारतले वरिपरिका देशलाई आफ्नो सुरक्षा छातामा राख्छन् या राख्न छोड्दैनन् भन्ने कुरा भुल्छन् । भारतले नेपालमा पटकपटक नाकाबन्दी गरेकै हो । नेपालको सरकार परिवर्तन गर्न र सरकारको नेतृत्व हेरफेर गर्न दबाब दिएको कुरा स्वयं शासकहरूको मुखबाट बरोबर प्रकाशमा आएकै हो । अनेक बहाना बाँडेर निर्वाचनमा जिती, सरकारमा गए पनि आफ्नो प्रतिबद्धता लागु गर्न शासकहरू अघि सर्दैनन् ।
नेपाल र नेपालीको अस्तित्वमा आघात पुग्ने खालको नागरिकता विधेयक पारित गर्न शासकहरू किन अघि सरे ? के यस काममा भारतीय सरकारहरूको दबाब नहोला ? देशघात र नेपाली जनताको अहित हुने काममा सही गर्ने या हस्ताक्षर गर्ने शासकहरू किन भारत र संयुक्त राज्य अमेरिकालाई खुसी पार्ने काम गर्छन् ? नेपालका शासकहरू बरोबर भारत पुग्छन्; नेताहरूसँग बातचित गर्छन् । बातचित सकारात्मक भएको र दुईपक्षीय सम्बन्ध राम्रो भएको कुरा सरकारले बारम्बार फुकेकै हो । सम्बन्ध सुदृढ भयो भनी फुकेको कुरा दशकौँ बित्यो । तर, हातलागे शून्य हुन्छ । शपथग्रहणमा सरिक प्रम दाहालले भारतीय प्रम मोदीसँग के के विषयमा वार्ता गर्ने भन्नेबारे सत्तासीन दलका नेताहरूबिच के छलफल भएको छ ? वार्तामा उठाउने कुराबारे के संसदमा सरकारले जानकारी दिएको छ ? सरकार प्रमुखबिचको बातचित आफ्नो मन खुसी गर्ने होइन । बातचितमा सरकार टिक्ने र टिकाउने भन्ने कुरा उठाउने होइन । सारमा, भारतमा जो शासकहरू आए पनि या नेतृत्वमा आए पनि दुई देशको सम्बन्ध स्थिर हुन सकेको छैन ।
नेपाल भारतबिचको यावत समस्याको समाधान भएको देखिँदैन । प्रम दाहालले अर्को प्रम मोदीलाई भेट्दैमा भारतप्रति नेपाली जनताको असन्तोष सेलाउँदैन । भारतीय एकाधिकार पुँजी कायम रहेसम्म र हस्तक्षेप भइरहेसम्म दुई देशबिचको मित्रताको सम्बन्ध घनिष्ठ भएको कसरी मान्न सकिन्छ ?
Leave a Reply