भर्खरै :

‘सय वर्षपछिको भक्तपुर’ पुस्तकले भक्तपुरको मात्र होइन, नेपालको भविष्यको रूप रेखा पनि कोरेको छ

‘सय वर्षपछिको भक्तपुर’ पुस्तकले भक्तपुरको मात्र होइन, नेपालको भविष्यको रूप रेखा पनि कोरेको छ

आज हामी ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकको तेस्रो संस्करणबारे परिचर्चा कार्यक्रम गर्दै छौँ । सर्वप्रथम यो पुस्तक नगरपालिकाको तर्पmबाट प्रकाशन गर्ने अनुमति दिनुभएकोमा लेखक एवं नेपालका वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ ।
यो पुस्तकको पहिलो संस्करण २०५९ असोजमा र दोस्रो संस्करण २०७४ असारमा सार्वजनिक भएको थियो । यसको अङ्ग्रेजी भाषामा पनि प्रकाशित छ । पुस्तकको आकार सानो भए पनि यसले राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय स्तरको महत्व बोकेको छ ।
‘नाचगानको राजधानी भक्तपुर’ का लेखक विद्वान जगदिश शमशेर राणाले भक्तपुरको सङ्गीतबारे मूल्याङ्कन गर्दै लेख्नुभएको छ–“सङ्गीतकारहरूको सङ्ख्या यो शहरको जनसङ्ख्याको औसतमा विश्वको कुनै शहरभन्दा ज्यादा छ ।”
जर्मन सम्पदाविद् निल गोत्सोले ५० वर्ष नेपालमा बिताएर स्वदेश फर्कने क्रममा भक्तपुरको वास्तुकलाको मूल्याङ्कन गर्दै भन्नुभयो, “भक्तपुर संसारकै जीवित सङ्ग्रहालय हो ।”
अर्का विद्वान् इ.ए. पावेलले “भक्तपुरको दरबार क्षेत्र घुम्नुमात्रै पनि विश्वको आधा संसार घुमेसरह हुन्छ” भन्नुभएको छ ।
यसरी देश र विदेशका संस्कृतिविद्, वास्तुकलाविद् तथा विभिन्न विषयका विद्वानहरूले समेत प्रशंसा गरेको भक्तपुरबारे लेखिएको अत्यन्त महत्वपूर्ण किताब हो– ‘सय वर्षपछिको भक्तपुर’ ।
भक्तपुर नगरको विषयमा नेपाल मजदुर किसान पार्टीमा अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले २०५६ सालमा ‘सय वर्षपछिको भक्तपुर’ शीर्षकमा लेख लेख्नुभएको थियो । विभिन्न लेखहरूसहितको सङ्ग्रहीत रूप ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकको रूपमा भने २०५९ सालमा मात्र प्रकाशित भयो । नेपाली र अङ्ग्रेजी भाषामा प्रकाशित भएपछि पुस्तकले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा चर्चा पाउँदै गयो । पुस्तकको माग धेरै तिरबाट हुन थाल्यो । भक्तपुरमा विभिन्न पालिकाका प्रमुख, उपप्रमुखज्यूहरू, सांसदहरू विभिन्न उच्चपदस्थ व्यक्तित्वहरू भक्तपुरको विकासबारे बुझ्न आउनुहुन्थ्यो । हामी भक्तपुरको विकासको मार्ग चित्र भएको यही पुस्तक उहाँहरूलाई दिने गर्छौ । पुस्तकको चर्चासँगै माग बढ्दै गयो । त्यसपछि हामी नगरपालिकाले नै पुस्तकको तेस्रो संस्करण प्रकाशन गर्ने निस्कर्षमा पुग्यौँ र आज यो पुस्तक यहाँहरू समक्ष प्रस्तुत गर्दै छौँ ।
यस पुस्तकले भक्तपुर नगरको सय वर्षपछिको रूप रेखा देखाएको छ । पुस्तकमा भक्तपुरको भविष्यको शिक्षा, स्वास्थ्य, सरसफाइ, पर्यटन, सम्पदा संरक्षण, यातायातलगायत सबै पक्ष समेटिएको छ र यहाँका जनता र जनप्रतिनिधिहरूलाई काम गर्न मार्ग निर्देश गरिएको छ । कसैले भक्तपुरको भविष्यबारे सोधेको खण्डमा हामी गर्वका साथ भन्न सक्छौँ–सय वर्षपछिको भक्तपुर नै हाम्रो लक्ष्य हो । हो, हामी त्यही सपनालाई साकार पार्न कतिबद्ध भएर लागिरहेका छौँ । बिचमा कुनै बाधा व्यवधान नआएमा धेरै अगाडि नै त्यो सपना साकार हुनेमा हामी विश्वस्त छौँ ।
अझ त्यसलाई अगाडि बढाउन २०५८ साल माघ २१ गते सम्पन्न “भक्तपुर जिल्लालाई पर्यटकीय गन्तव्य, शिक्षा र संस्कृतिको केन्द्र बनाउने” बारेमा भएको बृहत छलफल कार्यक्रममा अध्यक्ष बिजुक्छेँले “१५ वर्षभित्र भक्तपुर पहिलो साक्षर र प्रत्येक घरमा एक स्नातक वा सो सरहका नाचगान वा चित्रकलाका कलाकार, खेलाडी वा भाषाहरूका ज्ञाता, होटल व्यवस्थापन गर्ने, पर्यटक गाइड वा हस्तकालाका शिक्षक उत्पादन गर्न सकिने” विचार राख्नुभएको थियो । त्यो विचार नै भक्तपुरका जनता, राजनीतिक कार्यकर्ता र जनप्रतिनिधिहरूलाई विकासको लागि अगाडि बढ्ने ऊर्जा थियो ।
त्यहीबाट भक्तपुरले परिवर्तनको क्रान्तिकारी मोड लियो । भक्तपुर नगरपालिकाले २०५६ सालमा ख्वप उमावि, २०५८ सालमा ख्वप कलेज र ख्वप इन्जिनियरिङ कलेज, २०६० सालमा ख्वप बहुप्राविधिक अध्ययन संस्थान, २०६५ सालमा ख्वप कलेज अफ इन्जिनियरिङ, त्यसपछि शारदा कलेज/मावि हुँदै २०७९ सालमा ख्वप कलेज अफ लसमेत गरी ७ वटा शैक्षिक संस्थाहरू स्थापना र सञ्चालन गरी शिक्षामा आमूल परिवर्तनको बाटोमा अघि बढ्यो र बढिरहेको छ । साढे दुई दशकको यो शैक्षिक यात्रापछि भक्तपुर नगरपालिकालाई सरकारले अनुमति प्रदान ग¥यो वा विश्व विद्यालय सञ्चालन गर्न आवश्यक विधेयक पारित गरि दियो भने विश्व विद्यालय सञ्चालन गर्ने तयारीसम्ममा अगाडि बढेको छ ।
भक्तपुर एक घर एक स्नातक मात्र होइन, दुई हजारभन्दा बढी इन्जिनियरहरू भएको नगर बन्न पनि सफल भएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इ. कलेज र ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययन गर्ने नगरका इन्जिनियरहरूको सङ्ख्या मात्र पनि २०६७ पुगेको छ । अन्य कलेजहरूबाट उत्तीर्ण भएको सङ्ख्यासमेत हिसाब गर्ने हो भने त्योभन्दा धेरै छन् । क्षेत्रफलको आधारमा हेर्ने हो भने हामी नेपालको कुनै पनि जिल्ला र नगरको भन्दा बढी इन्जिनियरहरू भएको नगर भनेर भन्न सक्ने अवस्थामा पुगेका छौँ ।
आज भक्तपुर घर घरमा गएर स्वास्थ्य उपचार सेवा दिनेदेखि वडा वडामा स्वास्थ्य केन्द्र र १०० शय्याको ख्वप अस्पताल सञ्चालन गरेर स्वास्थ्य सेवा सहज उपलब्ध हुने ठाउँ वा स्वास्थ्य उपचारको केन्द्रको रूपमा विकास भइरहेको नगरको रूपमा परिचित हुँदै छ ।
२०७२ सालको भूकम्पले क्षत विक्षत बनाएको सबैजसो सम्पदाहरू पुनः निर्माण र जीर्णोद्धार गरी भक्तपुरलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने प्रयास भइरहेको छ । नेपाल आउने पर्यटकहरूमध्ये २५ देखि ३० प्रतिशत पर्यटकहरूले भक्तपुर घुम्ने गरेको रेकर्ड छ । गत आ.व. २०८१/८२ मा साढे दुई लाख पर्यटकहरूले भक्तपुर भ्रमण गरेका थिए । यो वर्ष भदौ २३ र २४ को आन्दोलन र विभिन्न अन्तर्राष्ट्रिय जगतमा भएको युद्धको कारण देशभित्र आउने पर्यटकहरू प्रभावित भएको छ । त्यसको असर भक्तपुर नगरलाई पनि परेको छ ।
अहिले सफा र सुन्दर नगर बनाउन भक्तपुर नगरपालिकाले मुख्य सडकहरूमा ढुङ्गा छपाइ र तार भूमिगत गर्ने कार्य गरिरहेको छ, खोला सफा गर्न हनुमन्ते र सल्लाघारीमा दुई वटा उपचार पोखरीहरू निर्माणाधीन अवस्थामा छन् । युवाहरूलाई विदेशी भाषाको तालिम, सीपमूलक तालिम दिएर शिक्षासँगै आत्मनिर्भर बनाउने कोसिस भइरहेको छ ।
यी सबै काम गर्नको निम्ति मार्ग निर्देश गरिएको पुस्तक हो ‘सय वर्षपछिको भक्तपुर’ । भक्तपुरबारे धेरैले विभिन्न पक्षमा अध्ययन र अनुसन्धान गर्नुभएको छ । सबैले आ–आप्mनो किसिमले भक्तपुरको बारेमा सुक्ष्म विश्लेषण गरी निष्कर्ष निकाल्नुभएको छ ।
त्यसरी भक्तपुरबारे विस्तृत अध्ययन गरी प्रतिवेदन तयार गर्ने २ जना लेखकहरू हुनुहुन्छ –मानवशास्त्रीहरू डा. सुरेश ढकाल र सञ्जिव पोखरेल । आजको यो कार्यक्रममा डा. ढकाल हाम्रो सामु उपस्थित हुनुहुन्छ । उहाँहरूले भक्तपुरमा भएको किसान आन्दोलन, राजनीति र रूपान्तरणबारे गहन अध्ययन गर्नुभयो । उहाँहरूले भक्तपुर कसरी बदलियो ? सरसफाई अभियान, भूमिसुधारको आन्दोलन, सार्वजनिक शौचालयको अवस्था, भक्तपुर नगरपालिकाको नेतृत्वबारे सूक्ष्म विश्लेषण गर्नुभयो र निष्कर्ष निकाल्नुभयो –आधुनिकीकरणतर्पm, प्रजातन्त्रतर्पm लक्षित सामाजिक रूपान्तरणको कार्यक्रमले आप्mनो लक्ष्य त्यतिबेला मात्र हासिल गर्न सक्छ जब त्यसले सम्बन्धित जनताको सामाजिक, आर्थिक र सांस्कृतिक अनुभवलाई ध्यान दिन्छ । भक्तपुरबारे अध्ययन अनुसन्धान गर्ने सबैप्रति हार्दिक धन्यवाद दिन्छौँ ।
सबैको संयुक्त प्रयासले आज ‘सय वर्षपछिको भक्तपुर’ का लेखक बिजुक्छेँले देख्नुभएको सपना पूरा गर्ने क्रममा भक्तपुर अगाडि बढ्दै छ । पुस्तकमा उहाँ लेख्नुहुन्छ–“भक्तपुर आश्चर्यजनक नगर हो । बिहान प्राचीन शहर जस्तो, दिउँसो विश्वविद्यालय जस्तो र राती साँची प्राचीन लुगा लगाएकी सुन्दरी वा नर्तकी जस्तो ।”
हो, भक्तपुरले आज स्वदेशी मात्र होइन, विश्वको ध्यान आकर्षित गर्न खोज्दै छ । भक्तपुरले आपूmसँग रहेका मूर्त र अमूर्त सम्पदाहरूको महत्वलाई बुझेर संरक्षण गर्दै विश्वकै एक हेर्न लायक नगरको रूपमा विकास गर्ने प्रयास गरिरहेको छ । यो पुस्तकमा केवल भक्तपुरको मात्र होइन, पचास वर्षपछिको नेपालको रूप रेखा पनि कोरिएको छ । यस पुस्तकलाई हामीले विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्वहरूसम्म पु¥याउने कोसिस गर्नेछौँ । यस्तो सुन्दर नेपाल र त्यसभित्रको भक्तपुर नगरको भविष्यको परिकल्पनाकार का. रोहितप्रति भक्तपुर नगरपालिकाको तर्पmबाट हार्दिक आभार व्यक्त गर्दछौँ ।
(भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चैत २९ गते नगरपालिकाको आयोजनामा भएको ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकको परिचर्चा कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्यको सार सङ्क्षेप)

Leave a Reply

Your email address will not be published. Required fields are marked *