भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
विश्वभरि मनाइने विश्व वातावरण दिवसको सुरुवात सन् १९७३ मा मात्रै भएको थियो । त्यतिबेला स्वीडेनमा भेला भएका देशका प्रतिनिधि र वातावरणविद्हरूले वातावरण, जल, जमिन र अन्य प्राकृतिक तत्वहरूको संरक्षण गर्नुपर्छ भन्ने सोचे र अब उपरान्त प्रकृति र प्राकृतिक स्रोतहरू संरक्षण गर्ने निर्णय गरे । तर, निर्णय र सहमतिअनुसार संरक्षण भयो त ? झन्झन् प्रकृतिको दोहन बढेको छ, जैविक विविधतामा समस्या देखापरेको छ, जनावर जन्तु र रुखबिरुवाहरू लोप हुने गति बढेको छ; माटोको क्षयीकरणले सीमा नाघिसकेको छ; जलवायुमा अपूरणाीय क्षति पुगेको छ; वन फँडानी र डढेलोको घटना तात्विकरूपमा घटेको देखिन्न । सन् १९८० ताका संसारको जङ्गल क्षेत्र सबैभन्दा बढी फँडानी भएको देखिन्छ । त्यस ताका लगभग १५ करोड हेक्टर बराबरको वन क्षेत्र मासिएको थियो । सन् १९७० यता वनस्पति र जनावरको सङ्ख्या ६९ प्रतिशतले घटेको छ, सामुद्रिक प्रदूषण सन् १९८० भन्दा १० गुणा बढेको छ; संसारको ७५ प्रतिशत भू–भाग परिवर्तन (जङ्गल वा सिमसारबाट कृषि वा मानवीय बस्तीमा) भएको छ र ८५ प्रतिशत सिमसार लोप भइसकेको छ । सन् १९८० यता विश्वव्यापीरूपमा पानीको माग प्रत्येक वर्ष लगभग एक प्रतिशतले बढिरहेको छ । यसरी विश्वमा अनेक अनुसन्धान, परियोजना र योजनाहरू लागू भएका छन् । त्यसले केही सकारात्मक परिवर्तन देखापर्न थालेको छ, कालो बादलमा चाँदीको घेरामा भएजस्तै तर तात्विक सकारात्मक परिवर्तन भने देखिएको छैन र देश–दुनियाँ परिवर्तन ल्याउने दौडमा छ ।
एकातिर संसारमा वातावरणीय परिवर्तन ल्याउन अरबौँ खरबौँ डलर खर्च भइरहेको छ । नेपालमा शताब्दीयौँ अगाडिदेखि नै वातावरण संरक्षणका निम्ति सांस्कृतिक महत्वले ओतप्रोत विभिन्न पर्व र संस्कारहरू छन्, तीमध्ये सिथि नखाः एउटा पर्व हो । यस पर्वका अनेक महत्वहरू छन् । तर, यस लेखमा वातावरणीय पक्षको मात्र चर्चा गर्दै छु । सिथि नखाः पर्वको वातावरणीय महत्व असीमित छ । सामान्यतया यस पर्वमा ढुङ्गेधारा, पोखरी, इनार, खोल्सा–खोला, मुहानजस्ता पानीका स्रोतहरूको संरक्षण, संवद्र्धन र सरसफाइ गरिन्छ ।
काठमाडौँ उपत्यकामा ५७३ वटा ढुङ्गेधाराहरू छन् जसमध्ये आधीभन्दा कम (२२५ वटा) ढुङ्गेधाराहरूमा पानी बग्ने गर्दछ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले सन् २०१९ को प्रतिवेदनमा उल्लेख गरेको छ । ५७३ मध्ये ९४ वटा त लगभग लोप भइसकेका छन् । यी २२४ वटा ढुङ्गेधाराहरूको पानी विशेषगरी कम आय भएका जनताले खानेपानीको रूपमा पनि प्रयोग भएको प्रतिवेदनमा उल्लेख छ । केन्द्रीय वातावरण विज्ञान विभाग र अन्य दुई संस्था मिलेर सन् २०२१ मा गरेको अध्ययनअनुसार काठमाडौँ उपत्यकाका ढुङ्गेधाराहरूका पानीमा झाडापखाला रोग फैलाउने ई. कोली (E. coli), कोलिफर्म (Coliform) र नाइट्रेटको मात्रा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभन्दा बढी देखाएको थियो । त्यस्तै, कञ्चन थापालगायतका नास्टका वैज्ञानिकहरूले सन् २०१९ मा इनारको पानीको परीक्षणमा भने क्याल्सियम, म्याग्नेसियम, सोडियम र पोटासियमको मात्रा आवश्यकताभन्दा कम रहेको तर कोलिफर्मको सङ्ख्या मापदण्डभन्दा बढी भएको पुष्टि गरेका छन् । यी सबै परीक्षणबाट काठमाडौँ उपत्यकाका इनारका पानी पिउन योग्य नभएको साबित गर्दछ । यस्तै खालको नतिजा आएको थियो भर्खरै प्रकाशित सुनिता श्रेष्ठलगायतका नास्टका वैज्ञानिकहरूको अध्ययनमा पनि । ती वैज्ञानिकहरूका अनुसार उपत्यकाका ३८.३६ प्रतिशत पानीको नमुना ग्रेड ‘ङ’ मा पर्दछन् यसको अर्थ ती पानीका नमुनाहरू शुद्धीकरण गरेर मात्र पिउनयोग्य हुन्छ । अत्यधिक मात्रामा पाइएको आइरन र नाइट्रेटले गर्दा उपत्यकाका लगभग आधी जति इनारको पानी शुद्धीकरण गरेर मात्रै पिउन मिल्ने नतिजा प्रकाशन गरेका छन् । काठमाडौँ विश्वविद्यालयका विकास अधिकारीले सन् २०२० मा काठमाडौँ उपत्यकाका पोखरीको पानीको परीक्षणसम्बन्धी वैज्ञानिक लेख प्रकाशित गर्नुभएको थियो । उहाँका अनुसार पोखरीहरूमा आवश्यकताभन्दा अक्सिजनको मात्रा कम, क्लोरोफिलको मात्रा बढी र सबै पोखरीमा ई. कोली (E. coli) पाइएको छ । तर, भक्तपुर नगरपालिकाकेन्द्रित ख्वप कलेजका रोहिनी विश्वास मण्डललगायतका वातावरण विज्ञानको अध्येताहरूले गरेको अनुसन्धानमा भने फरक नतिजा देखाएको छ । विगतका अध्ययनहरूमा भक्तपुर नगरपालिकाबाट कम नमुना सङ्कलन गरिएको थियो भने सो मण्डलको समूहले भक्तपुर नगरपालिकाको २४ वटा इनारको बृहत् अध्ययन गरेको थियो । सन् २०२३ मा ख्वप जर्नलमा प्रकाशित सो लेखअनुसार अक्सर प्यारामिटरहरू मापदण्डअनुसार नै रहेको र खानपिनकै लागि भने अनुपयुक्त भएको पाइएको छ । तर, घरायसी कामकाजको लागि उपयुक्त भएको उल्लेख छ ।

यसरी सोलो–डोलोमा हेर्दा काठमाडोँ उपत्यकाको पानीको स्रोत (इनार, ढुङ्गेधारा र पोखरी) घरायसी कार्यबाहेक खानपिन गर्न हितकारी नभएको स्पष्ट छ । यो परिवेश हेर्दा सिथि नखाःको महत्व झन् बढेको देखिन्छ । जसरी मान्छे जन्मिएपछि एक दिन मर्छ त्यसरी पानी पनि एक दिन कुहिन्छ, फोहर हुन्छ । त्यसैले, वैज्ञानिक र वातावरणीय हिसाबमा असीम महत्व भएको सिथि नखाः मनाउनु आवश्यक छ । भक्तपुर नगरपालिकाले यस दिनलाई विशेष महत्व दिएर सम्पूर्ण नगरपालिकावासीलाई आह्वान पनि गर्ने गर्दछ । जनता सबेरै पानीका स्रोतहरू सफा गर्न भेला हुन्छन् र इनारको कुहिएको पानी हटाएर मनसुनसँगै आउने नयाँ पानी सङ्कलन गरेर पानीको समस्या निराकरण गर्न वा कम गर्न हौसिन्छन् । स्थानीयहरू एक हप्ता जति सफा गरेको इनार प्रयोग गर्दैनन् । एक हप्तापछि जम्मा भएको पानी, आवश्यकताअनुसार प्रयोग गर्छन् र इनारको दिगोरूपमा उपयोग गर्छन् । उपत्यकाको अन्य ठाउँभन्दा भक्तपुर नगरपालिकाको पानी तुलनात्मकरूपमा राम्रो देखिनुको कारण अनेक हुनसक्छ । नगरपालिकाको सक्रियता, मानिसहरूमा भएको उल्लास र वातावरणप्रति सचेतना, सिथि नखाःमा पानीको प्रत्येक स्रोतको सरसफाइ इत्यादि धेरै कारणमध्येका केही कारणहरू हुनसक्छन् ।
विश्वव्यापीरूपमा जतिसुकै वातावरण दिवस मनाए तापनि जलवायु र वातावरण प्रतिकूल गतिविधि झन्झन् बढेको कारणले वातावरणीय समस्या ज्यूँकात्यूँ छ तर भक्तपुर नगरवासीले मनाइरहेको मौलिक र सांस्कृतिक वातावरण दिवस (सिथि नखाः) ले गर्दा वातावरणीय समस्या कम भएको स्पष्ट छ । त्यसैले यो दिन र पर्वलाई नेपालको मौलिक स्वरूपको वातावरण दिवस घोषणा गर्नु आवश्यक देखिन्छ । सम्बन्धित निकायले यसतर्फ ध्यान दिएर संसारलाई नमुना प्रस्तुत गर्ने छ भन्ने आशा र भरोसा पनि छ ।
(लेखक केन्द्रीय वातावरण विज्ञान विभागमा उपप्राध्यापक हुनुहुन्छ ।)
Leave a Reply