बलले विचारलाई दबाउन नसकिने
- बैशाख २७, २०८३
कृषि
भाइ राजु र बहिनी दीपा,
तिमीहरूले आफ्नो पत्रमा कृषि क्याम्पसमा भर्ना हुन चाहने साथीहरूको इच्छाबारे लेखेका थियौ । हाम्रो देश कृषिप्रधान देश हो अर्थात् ८० प्रतिशत जनता कृषिमा आधारित छन् र देशको आम्दानीको एउटा भाग कृषिबाटै हुन्छ । घरको जग भूमिमै भएजस्तै देशको अर्थतन्त्रको जग कृषिबाटै सुरु हुन्छ । उद्योगको स्थापना भूमिमै हुन्छ; खाद्यान्न खाएरै उद्योगमा मजदुरहरू काम गर्छन्; उद्योगलाई चाहिने कच्चा माल खेतीपाती वा जमिनबाटै आउँछ; बहुमत जनताको जीवनस्तर बढेमा तिनीहरूको क्रयशक्ति बढ्छ अनि औद्योगिक उत्पादन देशमा खपत हुन्छ । खाद्यान्न र कृषिमा आत्मनिर्भर नभएमा नेपालजस्तो विकासशील एवम् गरिब तथा भूपरिवेष्ठित देशलाई अगाडि बढाउन सजिलो हुँदैन ।
तिमीहरूले तर्क गरौला – अहिले गलैँचा, तयारी पोशाक र अन्य सामानको विदेश व्यापारले विदेशी मुद्राको ठूलो राशि आम्दानी हुन्छ; विदेशमा गई काम गरेका नेपालीहरूले पठाएका विदेशी मुद्रा तथा विदेशी सहयोग वा ऋणले देश चलिरहेछ; कृषि र अन्नमा आत्मनिर्भरता पुरानो सिद्धान्त हो ।
विकसित देशबाट अर्थशास्त्र पढेर आएका केही नेपाली बुद्धिजीवीहरूको यस्तै दृष्टिकोण सुन्न पाइन्छ । वैदेशिक व्यापार त सामान किन्ने विदेशी सरकार र व्यापारीहरूको इच्छा तथा हितमा भर पर्छ । तिनीहरूलाई फाइदा भएन भने वा तिनीहरूको राजनीतिक उद्देश्यसँग मेल खाएन भने, तिनीहरूको राजनीतिक दबाब नेपालले मानेन भने तिनीहरूको एउटै नीतिले महिना दिनभित्र हाम्रो विदेश व्यापार तासको घरजस्तै ढल्नेछ । त्यतिमात्रै होइन, नजिकका छिमेकी देशहरू हिन्दुस्तान र पाकिस्तान वा ग्राहक देशहरूका छर–छिमेक वा दायाँबायाँका देशहरूमा अशान्ति र युद्ध भएमा हाम्रो विदेश व्यापार अवरुद्ध हुनेछ । हाम्रो कति गलैँचा र तयारी पोशाकको उद्योगमा विदेशी पुँजी लगानी छ । नाफाको ठूलो भाग विदेशमै जाने गर्छ तथा हाम्रो अति सस्तो ज्याला र कर सुविधाको फाइदा तिनीहरूले उठाइरहेका छन् ।
हाम्रो देश पनि विश्व व्यापार सङ्गठनको सदस्य भएको केही वर्ष भयो । विश्व व्यापार सङ्गठनका धेरै नियम र ऐन–कानुन वा सन्धि–सम्झौताहरू छन् । हामीसँग त्यसका जानकारहरूको अत्यन्त कमी छ । कुनै पनि बेला त्यसको नियमले हाम्रो सामानको गुणस्तर वा उत्पादन शैली र प्रविधिबारे खिचलो उठाएर दुःख दिनेछ र व्यापारमा रोक लगाउन सक्नेछ वा आर्थिक नाकाबन्दीसमेत लगाउन सक्नेछ ।
यही कुरा विदेशमा काम गर्ने नेपालीहरूलाई पनि लागु हुन्छ । तिनीहरूलाई फिर्ता पठाउने, मुद्दा लगाउने, भेदभाव गर्ने, आधा वा एक चौथाइमात्रै ज्याला र सुविधा दिने वा अनेक राजनीतिक उद्देश्यले नेपालमाथि दबाब दिएर आम्दानी घटाउने वा नेपालीहरू फिर्ता पठाउने अनेक अप्ठ्याराहरू तेर्सिने सम्भावना सदा ‘डेमोकल्सको तरबार’ जस्तै झुन्डिरहेको छ ।
त्यस्तै, विदेशी सहयोग कुनै पनि निहुँमा रोक्न सक्नेछन्, विदेशी ऋण त दिन दुई गुणा रात चौगुणा भई जाने पासोमात्रै हो । विदेशी मुद्रा र सुनको मूल्यमा आउने घटबढले मात्र पनि नेपालले एकै रातमा अरबौँ रुपियाँको घाटा बेहोर्नुपर्ने स्थिति आउँछ । विदेशी मुद्राको अत्यन्त ठूलो चाप बढ्दै गएमा नेपाली मुद्राको मूल्य घट्दै जाने डर सधैँ रहनेछ । यसकारण, वैदेशिक व्यापार र विदेशी मुद्राको भरमा बस्नुभन्दा खाद्यान्न र कृषिमा आत्मनिर्भर अर्थतन्त्र अति आवश्यक छ ।
तिमीहरूले भनौला, “नेपालभन्दा जनसङ्ख्या र आकारले साना देशहरूमा ३ प्रतिशत जनतामात्रै कृषिमा आधारित छन् र तिनीहरूको उत्पादनले ३ महिनालाई पनि पुग्दैन भने हामीमात्रै किन कृषिमै भर पर्ने ?” पुराना साम्राज्यवादी शक्तिहरूले एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका देशमाथि औपनिवेशिक शासन चलाइसकेको हुनाले आज पनि ती देशहरूबाट खाद्यान्न र कृषि उत्पादन एवम् आवश्यक कच्चा पदार्थ सस्तोमा आयात गरी महँगोमा आफ्नो तयारी मालसामान निर्यात गर्छन् । नेपाल स्वयम् बेलायती साम्राज्यवादको अर्ध–उपनिवेश बनेको र विकासशील भएको हुनाले हाम्रो स्थिति तिनीहरूको भन्दा फरक छ । आज पनि पूर्व–औपनिवेशिक शक्तिहरूले पूर्व–उपनिवेशहरूमा सेना राखेका छन् र ती देशलाई अनेक असमान सन्धिहरूले बाँधेका छन् ।
यी सबै कारणले पनि नेपाल अन्न र कृषिमा आत्मनिर्भर हुन आवश्यक छ । देशकै भूमिलाई आधार बनाएर तथा देशकै अन्न खाएर हामीले उद्योगधन्दा, बन्द व्यापार मात्रै गर्ने होइन, आवश्यक परे त्यसको भरमा देश र जनताको रक्षाको निम्ति सङ्घर्ष पनि गर्नुपर्ने हुन्छ । खाद्यान्नमा समेत अरूको भर प¥यौँ भने आर्थिक नाकाबन्दीबाटै पराइले हाम्रो देशको स्वतन्त्रता र सार्वभौमिकतामाथि धावा बोल्नेछ ।
जनतालाई खुवाउन, जगेडा राख्न, बढी भएको कृषि–उत्पादन बेचेर आवश्यक सामान भित्र्याउन, कृषि उत्पादनमा वृद्धि र विविधता ल्याउन तथा तुलनात्मकरूपमा कृषि उत्पादन बढाउन हामीसँग धेरै कृषि विशेषज्ञ चाहिन्छ । विभिन्न जिल्ला, दुर्गम क्षेत्र, हिमाल, पहाड, तराई र खोँचहरूको हावापानी एवम् माटोअनुसारको कृषि उत्पादनमा विविधता ल्याउन तथा उत्पादन वृद्धि गर्न कृषिमा विभिन्न खालका विशेषज्ञ हामीलाई आवश्यक छ ।
त्यसैले, हाम्रा भाइबहिनीहरूले कृषि विशेषज्ञ र प्राविधिक बन्न कृषि अध्ययन संस्थान वा क्याम्पसहरूमा अध्ययन गर्नु आवश्यक छ । चीनको क्रान्तिपछि हरेक चिनियाँ युवाहरूले कृषि विशेषज्ञ र प्राविधिक बन्ने इच्छा राख्थे भने प्रजग कोरियाका गाउँका हरेक सहकारी संस्था कृषि कलेजजस्तै छन् । त्यस्तै, क्युवाका पार्टी महासचिव एवम् राष्ट्रपति क्यास्ट्रो र अन्य नेताहरूको ध्यान उखु खेती तथा चिनी, सुर्ती र सिगारजस्ता उत्पादनहरूमा हुन्थ्यो । हामीले पनि कृषि अध्ययन र उत्पादनमा ध्यान दिनु अत्यन्त आवश्यक छ ।
हामीसँग केही कृषि वैज्ञानिक र विशेषज्ञहरू नभएका होइनन्, अझै अपुग छन् । हामीसँग राम्रा–राम्रा कृषि वैज्ञानिक र विशेषज्ञहरू हुँदाहुँदै पनि खाद्यान्नमा हामी आत्मनिर्भर नहुनु तरकारी र फलफूलसमेत विदेशबाट आयात गर्नुपर्ने स्थितिको वास्तविक कारण कृषिबारे सरकारको नीति, मन्त्रालय र विभागमा वर्षौँवर्ष काम गर्ने माथिल्ला कर्मचारीहरूको निकम्मापन हो ।
कृषि मन्त्रीहरू विदेशबाट रासायनिक मल झिकाउन अरबौँ रुपियाँको कमिसनमा ध्यान दिन्छन्; कृषि अनुसन्धान केन्द्रहरूबारे जानकारी राख्दैनन्; देशको बजेट बन्नुभन्दा पहिले कृषि वैज्ञानिक र विशेषज्ञ वा अनुसन्धान केन्द्रहरूसँग छलफल गर्ने गर्दैनन् । देशमा नक्कली, कमसल तथा म्याद नाघेको रासायनिक मल आयात हुन्छ र नक्कली मल–कारखाना बनाउन मन्त्रीहरू आफैँ संलग्न हुन्छन् ।
यस्तो स्थितिबाट देशलाई जोगाउन युवा कृषि वैज्ञानिक, विशेषज्ञ, प्राविधिक र कृषक कार्यकर्ताहरूको ठूलो खाँचो छ । त्यो खाँचो पूरा गर्न भाइबहिनीहरूले कम्मर कस्ने बेला आएको छ ।
पर्यटन
नेपाल विविध हावापानी, हिमाल, पहाड, तराई, खोँच, उपत्यका, वन–जङ्गल, ताल–तलैया र अनेक रमणीय स्थलहरूको सुन्दर देशमात्रै होइन; विविध भाषा, जाति र जनजाति एवम् चेपाङ, राउटे र कुसुन्डाजस्ता वन्य र घुमन्ते जातिहरूको कला, संस्कृति एवम् आ–आफ्ना विशेषता तथा मानव सभ्यताको विभिन्न स्तरमा अवस्थित समुदायहरूको पनि देश हो । त्यस्तै, विभिन्न धर्म र विश्वासको विकास भएका र विविध धर्ममा आस्था राख्ने जनताको देश हो । पाषाण युगदेखि २१ औँ शताब्दीसम्मका विकासका चरणहरूको स्थितिको जानकारी प्राप्त गर्न सकिने अनेकौँ उत्खनन क्षेत्रहरू भएको देश पनि हो ।
जुम्लामा खस राज्यका अवशेषहरू पाइन्छन् भने दैलेखमा भिन्नै संस्कृतिको राज्यका अवशेषहरू पाइन्छन्† त्यस्तै सुर्खेतमा काँक्रेविहारको उत्खनन र अध्ययन बाँकी छ भने लुम्बिनी र बौद्धकालका अनेक क्षेत्रहरू उत्खनन गर्न बाँकी नै छन् ।
त्यस्तै बुटवल, नारायणगढ, सिम्रौनगढ, जनकपुरको मिथिला संस्कृति तथा काठमाडौँका किराँतकाल, लिच्छविकाल र मल्लकालका विषयमा धेरै उत्खनन, अध्ययन र अनुसन्धान गर्न बाँकी छ । साथै, पूर्वी नेपालमा महाभारतकालका किंवदन्तीहरूमात्रै होइन, राई–लिम्बु, धिमाल र राजवंशीहरूको भाषा, रीतिरिवाज, कला र संस्कृतिको अध्ययन र अनुशीलनका धेरै फाँटहरू खाली छन् ।
नेपालका गुरुङ, मगर, तामाङ, राई, लिम्बू र नेपालभाषा (नेवारी) सँग तिब्बती, चिनियाँ, मङ्गोली र अन्य अस्ट्रो–एसियाली भाषाहरूको तुलनात्मक अध्ययनले आजसम्म अनुमानको गर्भमा रहेका अनेक तथ्यहरू उद्घाटित हुनेछन् ।
ती सबै कारण र विविधताले नेपाल पूर्व र पश्चिमका पर्यटकहरूको निम्ति एक गन्तव्यस्थल बन्दै छ । पर्यटन उद्योग नेपालको निम्ति अत्यन्त राम्रो सम्भावना भएको क्षेत्र हुँदा नयाँ पुस्ताको निम्ति होटल व्यवसाय, यात्रा र पर्यटनको अध्ययनको निम्ति एउटा ठूलो फाँट नै खुला छ । होटल व्यवसायको निम्ति पाकशास्त्र, सूचना प्रविधि, यात्रा बन्दोवस्त आदि विषयका प्राविधिक र ज्ञाताहरू आवश्यक छन् ।
युरोपियन पर्यटकहरूको सेवाका निम्ति अङ्गे्रजी, जर्मन, फ्रान्सेली र अरू भाषाका राम्रा दोभाषेहरू चाहिन्छ भने ल्याटिन अमेरिकी देशहरूको निम्ति ल्याटिन भाषाका दोभाषेहरू अति आवश्यक छन् । त्यसरी नै चीन र भारतजस्तो विशाल देशहरूका लाखौँ पर्यटकहरूका निम्ति चिनियाँ भाषा र भारतका विभिन्न प्रान्तका भाषाका जानकारहरू हामीसँग हुनु अति आवश्यक छ ।
जापान, थाइल्यान्ड, श्रीलङ्का, मङ्गोलिया, भियतनाम, कम्बोडिया, लावस, बर्मा (म्यानमार) जस्ता बौद्ध धर्म मान्ने देशहरूका पर्यटकलाई पनि स्वागत गर्न नेपाल तयार हुनैपर्छ ।
पर्यटकको अर्थ २–४ दिन वा एक दुई हप्ता घुमफिर गरेर जानेमात्र होइन, विविध विषयमा अनुभव र अनुसन्धान गर्न महिनाँै बस्ने गरी पनि आउँछन् । बौद्ध धर्मकै विषयमा अध्ययन गर्न चाहेमा पाली भाषाका ज्ञाताहरू पर्यटन उद्योग–व्यवसायीसँग हुनु आवश्यक छ । त्यस्तै, अरू विषय र भाषाका जानकारहरूको पनि त्यत्तिकै खाँचो छ ।
पर्यटकको मनोरञ्जनको निम्ति विभिन्न जाति र भाषा–भाषी, नाचगानलाई संरक्षण र सम्वद्र्धन गर्नु त्यत्तिकै आवश्यक छ भने त्यसबारे विदेशी भाषामै वैज्ञानिक ढङ्गले व्याख्या गर्ने पुस्तिकाहरूका निम्ति लेखकहरूको पनि त्यत्तिकै आवश्यकता खट्किन्छ ।
यस हिसाबले पर्यटन उद्योग नेपालको निम्ति एउटा ठूलो सम्भावना भएको व्यवसाय हो । यसका अनेकौँ हाँगाबिँगा भएको हुनाले स्नातक वा सोभन्दा उच्च शिक्षा हासिल गर्ने भाइबहिनीहरूले शिक्षाको अध्ययनमा विचार गर्नु पनि अत्यन्त लाभदायक हुनेछ । अहिले हाम्रा कति भाइबहिनी यस विषयको अध्ययन गर्न विदेश जाँदै छन् भने हामै्र देशमा पनि यसको अध्ययन र अध्यापन सुरु भइसकेको छ ।
भूगर्भशास्त्र
भाइ राजु र बहिनी दीपा,
तिमीहरूले भूगर्भशास्त्रको अध्ययन गर्न चाहने विद्यार्थीहरूबारे पनि लेखेका थियौ । त्यसबारे केही बताउन चाहन्छु । त्यसबारे चाख बढ्नु, जानकारी राख्न खोज्नु र अध्ययन गर्नु उत्तम कुरा हो । तिमीहरूलाई थाहै छ, नेपालका विभिन्न ठाउँमा अनेक प्रकारका चट्टान र खनिज भेटिएका छन् भने अझै पनि कति ठाउँ पत्ता लगाउन बाँकी नै छ ।
हाम्रा केही भूगर्भविद् र खनिज क्षेत्रका ज्ञाताहरूले यसबारे नेपालमा शून्यबाटै सुरु गर्नुपर्ने बताउँछन् । हाम्रो चुरे पहाडको पूर्वदेखि पश्चिमसम्म चुन ढुङ्गाका खानी छन् । ती चुन ढुङ्गाका पहाड ढुङ्गा नभई सुन हुन् भनी ती ज्ञाताहरू बताउँछन् । ती चुन ढुङ्गा खालि कीरा मार्न छर्ने औषधी, पानमा प्रयोग हुने मसला वा घरको लिपपोत गर्ने रङ्गमात्र होइनन्, औषधी (ट्याब्लेट) पनि चुनकै बन्छ । सालाखाला ती चक्कीमा ८० प्रतिशत चुन हुन्छ भने २० प्रतिशत अन्य औषधी वा रासायनिक वस्तु हुन्छ । वर्षको अरबौँ रुपियाँको हाम्रो चुन ढुङ्गा केही लाख वा केही करोड रुपियाँ शुल्क तिरेर भारत लगिन्छ र त्यसबाट उत्पादित अरबौँ रुपियाँको औषधी नेपालले किन्छ ।
त्यतिमात्रै होइन, चुन ढुङ्गाको कपडा पनि बन्छ । चुन ढुङ्गामा अरू रासायनिक वस्तुहरू मिलाएर कपासजस्तो नरम र चिप्लो वस्तु बनाइन्छ । त्यसैबाट धागो र कपडा बन्छ । उत्तर कोरियामा चुन ढुङ्गाबाट बनाइएको लुगा साह्रै प्रचलित छ ।
चुन ढुङ्गाले इँटा बनाउन सकिन्छ । अहिले काठमाडौँउपत्यकामा माटोको इँटा बनाउँदा एकातिर सयौँ वर्षमा बन्ने उर्वर माटो नास हुँदै छ भने अर्कोतिर कोइलाको धुँवाको प्रदूषणले मानिसको स्वास्थ्य, वनस्पति र वातावरणलाई दूषित पार्दै छ । चुन ढुङ्गाबाट इँटा बनाउने प्रविधि विकास गरे हाम्रो उर्वर माटोको क्षति हुँदैन† अन्न उब्जने खेत मासिन्न र प्रदूषण पनि हुँदैन । चुनलाई इँटाको साँचोमा ढालेर ‘मःमः’ र ‘योमरी’ जस्तै केही मिनेट बफ्याउँदा इँटा बन्छ† प्रदूषण २–४ प्रतिशतमा घट्छ । चुनको इँटामा किला ठोक्न र काठजस्तै करौँतीले चिर्न पनि सकिन्छ । भने अनुसारको आकार र रङमा त्यसको उत्पादन गर्न सकिन्छ । विशेषज्ञको भनाइअनुसार ग्रीस र रोमको सभ्यताका भवनहरू चुन ढुङ्गाकै हुन् र त्यसका अवशेषहरू आज पनि बाँकी छन् । नेपालमा सीसा बनाउने बालुवा पनि यत्रतत्र छ भन्ने सुनिन्छ ।
केही लाख रुपियाँ राजश्व तिरेर करोडौँ–अरबौँ रुपियाँको खरीढुङ्गा चरिकोटबाट भारत पु¥याइँदै छ । त्यही खरीढुङ्गाका बट्टा वा नेपालको भौगर्भिक बनोट साना सिसीका पाउडर र क्रिमजस्ता सामान भारतबाट ल्याई करोडाँै–करोड रुपियाँ नेपालबाट विदेश लगिन्छ । खरी ठूल्ठूला कारखानाका भट्टी र अन्य वस्तुमा पनि प्रयोग हुन्छ । सिंहमर्मरबारे सबैलाई थाहै छ । गोदावरीको सिंहमर्मर खानी पनि विदेशीकै हातमा छ ।
दुई–तीनवटा ढुङ्गाको त यस्तो महत्व र मूल्य हुन्छ भने नेपालमा सुन, चाँदी, हीरा, जवाहरात र अनेक मणि–माणक तथा अन्य धातुहरू पनि छन् । ती सबैबारे जान्ने व्यक्तिहरूको साह्रै कमी छ । पत्ता लगाउनुपर्ने अझै ठाउँ धेरै छन्† त्यत्तिकै सङ्ख्यामा भूगर्भविद्हरूको खाँचो छ । एकातिर ‘माल पाएर के गर्नु चाल पाए पो’ भन्ने उखानजस्तै हामी नेपालीले अप्ठेरो भोगिरहेका छौँ भने त्यसबारेका जानकारहरूको अभावमा सरकारको ध्यान त्यतातिर गइरहेको छैन । त्यसो त राणाकालमा समेत खनिजहरू भेट्टाइएको र उपयोग गरेकै कारण कति गाउँको नाम नै सीसा खानी र सुनखानी छन् । तामा खानी त यत्रतत्र भएको सबैलाई थाहा छ । त्यसैले, देशका हरेक जिल्ला र क्षेत्रमा भूगर्भ वैज्ञानिकको खाँचो छ ।
भूगर्भशास्त्रका पनि धेरै हाँगाबिगा छन् । तीमध्ये चट्टानहरूको स्वरूप, त्यसमा आउने परिवर्तन, नक्सा आदि विषयको निर्माणसम्बन्धी अध्ययन भूगर्भशास्त्रले गर्छ भने पृथ्वीको अध्ययन, भूकम्प, ज्वालामुखी, खोला–नाला, मरुभूमि तथा पृथ्वीको आन्तरिक र बाह्य स्वरूपको विस्तृत अध्ययन भौतिक भूगर्भशास्त्रले गर्छ ।
खनिज विज्ञानले के–कस्ता खनिज वा पत्थरहरू कसरी बन्छन्, के–कस्ता ठाउँमा पाइन्छन् र ती खनिजहरूको उपयोगबारे जानकारी दिन्छ । हीरा, जुहारात, मणि, पन्ना, सुन, चाँदी आदि सबै यही हाँगामा अध्ययन हुन्छ ।
भूगर्भशास्त्रको अर्को हाँगा जीवाश्म विज्ञान हो र यस विज्ञानमा जीवावशेषहरूको अध्ययन हुन्छ भने ऐतिहासिक भूगर्भ विज्ञानमा पृथ्वीको भौगर्भिक इतिहास, पृथ्वीको उत्पत्ति, हिमाल, पहाड आदिको उत्पत्तिको अध्ययन हुन्छ । यीबाहेक भूगर्भविज्ञानका अन्य हाँगा–बिँगा पनि छन् ।
बडो चाखलाग्दो र रमाइलो कुरा त के हो भने, नेपालको विस्तृत भौगर्भिक अध्ययन गर्ने वैज्ञानिक स्वीट्जरल्यान्डका टोनी हेगन थिए । उनी नेपालका मानार्थ नागरिक थिए ।
नेपालको भूगर्भको विषयमा व्यापक अध्ययन गर्ने पहिलो व्यक्ति उनी नै हुन् । ‘नेपाल’ भन्ने उनले एक अत्यन्त महत्वपूर्ण पुस्तक पनि लेखे । मनाङ र मुस्ताङ क्षेत्रमा शालिग्राम देखेर उनी दङ्ग परे किनभने शालिग्राम समुद्रमा मात्रै पाइने वस्तु हो । यसको अर्थ नेपाल कुनै युगमा समुद्रको भाग हुनुपर्छ भन्ने अनुमान छ ।
यसकारण, देशको विकास र सम्पन्नताको निम्ति हामीले खनिज वस्तुलाई उपयोग गर्न सक्छौँ । त्यसको जानकारी पाउन हाम्रा भाइबहिनीहरूले भूगर्भशास्त्रको अध्ययन गर्नु आवश्यक छ । यो विषय पनि विज्ञानकै फाँटमा आउँछ । म आशा गर्छु, भाइबहिनीहरूले गुरु र प्राध्यापकहरूसँग पनि सोधपुछ गरी जानकारी हासिल गर्नेछौ ।
Leave a Reply