यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
एउटै शीर्षकको निबन्धमा फरक–फरक स्रष्टाका भिन्न–भिन्न दृष्टिकोण, शैली र अभिव्यक्ति पाउनु मानिसको बाहिरी र भित्री व्यक्तित्व जत्तिकै स्वाभाविक हो । एउटै शीर्षकको कथा र कविताका अभिव्यक्ति पनि आ–आफ्नै शैली र अभिव्यक्ति उज्यालिएको हुन्छ । चित्रकला र फोटो वा किपाग्राफीमा पनि विविधतायुक्त दृष्टिको, समय र स्थानको सतही वा गम्भीरता लुकेको हुन्छ !
कलाकार सुरेशराज शाक्यका ‘किपाग्राफी’ फोटो कलाकारिता ‘झिगु ख्वप’ (हाम्रो भक्तपुर) का ‘सय वटा तस्बिरसङ्ग्रह’ या फोटो पत्रकारिताले बाजागाजा र नाचगानको राजधानीलाई थप सिँगार्ने काम गरेको छ ।
कुनै रमणीय पोखरीको एउटा मूर्ति, चट्टानको रूप र सौन्दर्य बिहान, दिउँसो र साँझको फरक दर्शन भएको कथाको लोकोक्ति सुन्दै आएका नेपालीहरूलाई भक्तपुरको लायकुको सूर्य उदय र सूर्यास्तको बेला घाम र वर्षाको बेलाको दर्शन (ग्लिम्स) मा अत्यन्त विस्मयकारी प्रतीत हुन्छ । मानौँ, मानिस र समाजको रूपरेखा, जीवन पद्धति र चिन्तन वा पुस्तान्तरणमा समानता नभएजस्तै !
मानिस र समाजको जीवन पद्धतिको अर्थ–दर्शन (धर्मप्रतिको समर्पण) सोअनुसारको रीतिरिवाज, उत्सव, पर्व, लवाइ–खवाइ र नाचगानबाट हुने अभिव्यक्ति गाईजात्रा, झ्याल–ढोका, पाटीपौवामा कँुदिएका मूर्ति, ढुङ्गेधारा र मन्दिर एवं बिहारमा देखिने चित्र पौभाहरू एवं मकुन्डो र मौसमअनुसारका ती नाच र पर्वहरू छोटोमा मूर्त तथा अमूर्त कला र संस्कृति नै निश्चित सभ्यताको जीवन्त निरन्तरताको प्रतीक हो ।
‘वर्षा आयो, वर्षा आयो, बगायो हिलो मैलो’ यो कुनै कविको अभिव्यक्ति थियो । अर्को कविले ‘वर्षाले बगायो गरिबको घरखेत, जनताले दुःख पाए भिर खस्नाले’ भनी फरक अभिव्यक्ति दिए ।
‘वसन्त आयो वसन्त’, ‘नयाँ पालुवा देखिए, हरियाली देखिए’ एक थरीको भनाइ सुनिन्थ्यो र पढिन्थ्यो । अर्काेले भने, ‘वसन्तको ऋतुले आँधी–बेहरी ल्यायो, छाना उडायो गरिबको छाप्रोको’, ‘जा वसन्त तिमी नआ जा !’
अङ्गेजी कवि शेलीले आफ्नो ‘पश्चिमी हावा’ लाई सम्बोधन गर्छ, ‘रुखका सुकेका पातहरूलाई तिमीले धेरै टाढा–टाढासम्म फैलायौ, हिउँमा पर्दा सबै भित्र पसे बीउसरि, हिउँ पग्लेपछि टुसो पलायो । ए, ‘पश्चिमी हावा’ ‘मेरो विचारलाई पनि तिमीले धेरै टाढा टाढा फैलाइदेऊ–आगाका फिलिङ्गोसरि !’
पानी पर्दा भक्तपुरको दृश्यले चिसो ओढ्ने ओढ्छ । वर्षा बन्द भएको क्षणभरमै खुलेको आकाशले अर्को सुन्दर भवन निर्माण गर्छ । पानीमा छायाँ
(किपा) नयाँ निर्माण कलाकारको भव्य निर्माण ! तर, क्षणिकमात्र तस्बिरमा अमर बनाउँछ – कविको कल्पनाको महाकाव्यजस्तै किपा कलाकारको अमर कलाकृति !
भन्ने गर्छन् मानिसहरू, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि !’ साधारण दर्शकको दृष्टि पुग्दैन जहाँ, त्यहाँ कलाकारको दृष्टि पुग्छ विविध आयाम बनी । बिहान, दिउँसो, साँझ र रात, सफा आकाश र बादलको घुम्टोमा, छिरबिरे रङ्ग र इन्द्रेणीमा – कागजमा मूर्तिमान गर्दै ! पाँचतले मन्दिर होस् वा कुनै वस्तु अनेक दृश्य (कोण) वा आयामले दर्शकलाई विस्मयमा पार्छ । जादुगरले चटक देखाएजस्तै ! हो, जादु पनि एक कला हो – हातको सफाइ !
कलाकारले एकछिनलाई मूर्तिमान बनाउँछ कागज वा क्यानभासमा ! हरेक कलाकारमा फरक–फरक विश्वकर्माका रूपहरू हुन्छन् ।
Leave a Reply