भर्खरै :

नेपाली युवालाई ‘भाडाको सिपाही’ बनाउने गोर्खा भर्ती खारेज गर्नुपर्छ

नेपाली युवालाई ‘भाडाको सिपाही’ बनाउने गोर्खा भर्ती खारेज गर्नुपर्छ

उतिबेला भारतको लाहौरमा भारतीय पल्टनमा नोकरी गर्न गएका नेपाली सैन्य जवानलाई ‘लाहुरे’ भनिन्थ्यो । पछि वैदेशिक रोजगारमा गएका सबै युवालाई ‘लाहुरे’ भन्ने चलन चल्यो । गोर्खा भर्तीको नाममा ‘लाहुरे’ बन्न गएका नेपालीको इतिहासले नेपाललाई अहिले पनि गिजोलिरहेको छ ।
‘गोर्खा भर्ती’ को सङ्क्षिप्त इतिहास
पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार थाल्नुभन्दा अगाडिदेखि नै ‘इस्ट इन्डिया कम्पनी’ ले नेपालमाथि आँखा गाडेका थिए । सन् १७६७ सेप्टेम्बरमा कप्तान किलनक नेतृत्वको २४ सय फौजलाई सिन्धुलीको पौवागढीमा सेनापति वंशु गुरुङ र वंशराज पाँडेको टोलीले परास्त गरेपछि ब्रिटिसले नेपालमाथि आक्रमण गर्नुभन्दा नेपाली शासकहरूलाई तराईमा कमजोर बनाउने र गोर्खालीलाई आफ्नो सेनामा भर्ती गर्ने नीति लियो । जसबाट अङ्ग्रेजलाई नेपाल कब्जाबाट भन्दा बढी फाइदा हुन्थ्यो ।
सन् १८१४–१८१६ मा नेपाल र अङ्ग्रेजबिच युद्ध भयो । नेपालीको वीरता, सोझोपन, खुकुरी, तरबार, भालाजस्ता हतियार चलाउन सिपालु, जटिल परिस्थिति थेग्न सक्ने पहाडी रणकौशल भएको आकलन गरी युद्धकै क्रममा अङ्ग्रेजले गोर्खा पल्टनको सुरुआत गर्यो । मलाउको किल्ला ढलेपछि १५०० नेपाली युद्धबन्दी समेटेर सन् १८१५ अप्रिल २४ मा अङ्ग्रेजले तीन गोर्खा बटालियन (फस्ट नासिरी, सेकेन्ड नासिरी र सिरमुर) स्थापना गरे । त्यसैले सन् १८१५ ‘गोर्खा भर्ती’ को सुरुआती बिन्दु हो । अङ्ग्रेजसँग सन् १८१४– १८१६ को लडाइँ हारेपछि नेपाललाई सुगौली सन्धिमा हस्ताक्षर गर्न बाध्य पारियो । सुगौली सन्धिको प्रावधानअनुरूप बेलायती रेजिडेन्ट काठमाडौँ बस्न थाल्यो भने नेपालको आन्तरिक मामिलामा पनि हस्तक्षेप सुरु भयो ।
राणा शासन टिकाउन जङ्गबहादुरले अङ्ग्रेजको चाकरी गर्न थाले । सन् १८५७ को पहिलो भारतीय सैनिक विद्रोह दबाउन १२ हजार सेना लिएर जङ्गबहादुर आफै भारत गए । जङ्गबहादुरको नेतृत्वमा गएको नेपाली सेनाले अङ्ग्रेजलाई भारतको आजमगढ, लखनउ, गोरखपुर, जौनपुर आदि क्षेत्र कब्जा गर्न सहयोग गर्यो । सन् १८८५ मा ‘गोर्खा भर्ती’ लाई औपचारिक मान्यता प्रदान गर्नुभन्दा अगाडि नै भारतमा ८ वटा गोरखा पल्टन थियो । सन् १९०८ सम्ममा अङ्ग्रेजले २६ हजार नेपाली समेटेर १० रेजिमेन्ट खडा गरे । सुरुमा भारतको गोरखपुर र गुमपहाडबाट मात्र गोर्खा भर्ती गरिन्थ्यो भने सन् १९५२ पछि नेपालको धरान र तौलिहवाबाट पनि भर्ती सुरु गरियो ।
भारत ‘स्वतन्त्र’ भएपछि सन् १९४७ नोभेम्बर ९ मा नेपाल–भारत–बेलायतबिच ‘गोरखा भर्ती’ बारे त्रिपक्षीय सम्झौता भयो । मतवाली पल्टन भनिने (दोस्रो, छैटौँ, सातौँ र दसौँ) ब्रिटिसहरूको रोजाइमा पर्यो । बाँकी ६ वटा पल्टन भारतको भागमा पर्यो । त्यसबेलादेखि एउटा स्वतन्त्र राज्यको नागरिक दुई फरक देशको स्वार्थका निम्ति लड्दै छन् ।
मित्र देशविरुद्ध गोर्खा सेना
अङ्ग्रेजले सन् १९०४ सम्म गोर्खालीलाई अम्बेला, भुटान, अफगानिस्तान, मणिपुर, वाना, कारीगुरम र तिराहमा भएको युद्धको अग्रमोर्चामा लडायो । अङ्ग्रेजले लडेको हरेक युद्धमा नेपालीहरू अग्रस्थानमा हुन्थे । पश्चिममा मध्यपूर्व र ग्रीसदेखि युरोपको इटाली, साइप्रस र उत्तरी अफ्रिकाको ट्युनिसियासम्म र पूर्वमा बर्मा हुँदै मलाया (मलेसिया) र इन्डोनेसियासम्मको मोर्चामा बेलायतका लागि नेपालीहरूले लडे । पहिलो विश्वयुद्धमा ५६ लाख जनसङ्ख्या भएको नेपालको तर्फबाट दुई लाख नेपालीले बेलायतको तर्फबाट लडे ।
गोर्खा सेनाले मध्यपूर्वका प्यालेस्टिनदेखि मेसोपोटामिया र युरोपको फ्रान्ससम्म अग्रमोर्चामा रहेर लडे । इरान, इराक, कोसोभो, सियरालियोन, ग्रीस, इटाली, जापान, जर्मनी, सिङ्गापुर, इन्डोनेसिया, मलेसिया, बुनाई, अर्जेन्टिना आदि ठाउँमा नेपाली युवाले बेलायती साम्राज्यवादका निम्ति लडे ।
अर्जेन्टिनाको ‘फकल्यान्ड’ टापुमा नरसंहार मच्चाएको भनी हालसम्म अर्जेन्टिनी जनता नेपालीलाई घृणा गर्छन् । इन्डोनेसियाका कम्युनिस्टलाई दबाउन पनि गोर्खा सेनाको प्रयोग गरियो । हालसम्म ७०–७५ हजार नेपालीले बेलायतका लागि प्राण आहुति दिइसकेका छन् । लगभग दुई लाख पच्चीस हजार अङ्गभङ्ग गोर्खा सैनिक कहालिलाग्दो जीवन बिताउँदै दिवङ्गत भए र कतिपय अझै कष्टकर जीवन बिताउँदै छन् । दोस्रो विश्वयुद्धमा बेलायती साम्राज्यवादका लागि लडेका २ लाख ५० हजार नेपाली युवामध्ये ७ हजार ५४४ मारिए, १ हजार ४४१ बेपत्ता र २३ हजार ६५५ घाइते भए । जापानले बन्दी बनाएका ३५०० गोर्खा सैनिकमध्ये धेरैको अवस्था अहिलेसम्म अज्ञात छ ।
‘स्वतन्त्र’ भारतले पनि तेलङ्गनाको कम्युनिस्ट आन्दोलन दबाउन तथा सन् १९४९ मा हैदरावाद कब्जा गर्न गोरखा सेनाको प्रयोग गर्यो । चन्द्रशमशेरले भारतीय सीमा रक्षाका लागि १६०० नेपाली सेना पठाएका थिए । सन् १९६० मा भारतले चीनविरुद्ध गोर्खा सेनालाई प्रयोग गर्यो । सन् १९६२ को चीन–भारत सीमा युद्धमा पनि निरन्तर खटायो । जसमा एक बटालियन भन्दा बढी नेपाली युवा मारिनुका साथै चीनको युद्धबन्दीसमेत भए । विवादित क्षेत्र काश्मीरमा पनि भारतले नेपाली युवालाई प्रयोग गर्यो । सन् १९६५ को भारत–पाकिस्तान युद्धमा नेपाली युवाको प्रयोग भएपछि पाकिस्तानले नेपालमाथि प्रश्न उठाएको थियो । त्यस्तै, सन् १९७१ को भारत–पाकिस्तान युद्धमा २४६ जना नेपाली युवा मारिए भने ५८५ जना घाइते, ९१ जना बन्दी र २०० जना बेपत्ता भएका थिए । सन् १९७२ को पाकिस्तान र बङ्गलादेश विभाजनको लडाइँ, सन् १९८२ को फकल्यान्ड लडाइँदेखि कार्गिलको लडाइँ (सन् १९९९) मा नेपालीले विदेशीकै लागि लडे । हाल नेपाली युवा रूस, अमेरिका, फ्रान्स, ब्रुनाई, सिङ्गापुर, युक्रेन लगायतका देशका निम्ति पनि लड्दै छन् ।
गोर्खा सैनिकको राक्षसीकरण
विश्वमा निडर, आक्रामक र डरलाग्दो सिपाहीको रूपमा गोर्खा सेनालाई प्रचार गरियो । पत्रकार तथा लेखक जोन पार्करले ‘The GurkhasM The inside story of the world‘s most feared soldiers’ पुस्तकमा लेखेका छन्, “अङ्ग्रेजले गोर्खालीहरूको खुकुरी दापबाट निस्केपछि रगत नपिई फर्किँदैर अरूलाई काट्न नपाए आफ्नै हात काटेर भए पनि रगत दिनैपर्छ भन्ने हल्ला मच्चाए ।” एउटा सिनेमामा गोर्खा सेनालाई शत्रुको रगत मासु खाने जातिको रूपमा देखाइएको छ । त्यस्तै, ‘फ्ल्यास’ पत्रिका ‘डरलाग्दा गोर्खा’ हरू शीर्षकमा लेखियो, “यिनीहरू ड्रग्स खान खप्पिस छन् : बच्चा भेटाए भने खाइहाल्छन् अनि युद्धबन्दीलाई जिउँदो छाड्दैनन् ।” ब्रिटिस सरकारले युद्ध जित्न गोर्खा सैनिकको छविलाई ‘राक्षस’ को रूपमा प्रचार गर्यो । जसले नेपाल र नेपाली जनताका छविलाई विश्वसामु घृणित तुल्याएको छ । विदेशीहरूले नेपाललाई ‘भाडाका इमानदार सिपाही’ जन्माउने कारखानाका रूपमा हेर्छन् । सन् १९८० मा अमेरिकी राजदूतले संयुक्त राष्ट्र सङ्घको बैठकमा नेपाली गोर्खा सेनालाई ‘भाडाको सिपाही’ भनेर अवहेलना गरे ।
गोर्खा सेनामाथिको विभेद
बेलायती शासकका लागि आँटिला लडाकुको माग पूरा गर्न राणाहरूले राई, लिम्बु, गुरुङ, मगरलाई गोरखा सेनामा पठाइरहे । बेलायतले युद्ध सकिएपछि घाइते र अङ्गभङ्ग गोर्खाली सेनालाई बेलायती सेनासरह सुविधा र सम्मान दिनुको साटो खालिहात घर फर्कायो । घाइते, मारिने र बेपत्ता हुने गोर्खा सैनिकको स्थिति अहिलेसम्म सार्वजनिक गरिएन । बेलायती सरकारले गोरा सैनिकहरूलाई मात्र ‘परिवार बिछोड भत्ता’ (Family Separation Allowance) दिएको नेपालीहरूले धेरै पछि थाहा पाए । गोर्खा सैनिकले चित्त नबुझेका कुरा राख्न खोज्दा, ‘तिमीहरू कन्दमूल नै खान नपाएका भातेहरू आज यस्तो अवस्थामा पुगेर पनि गनगन गर्छौँ ? तिम्रो सरकारसँग हामीले तिमीहरूलाई किनेर ल्याएका हाँै ! त्यसै होइन । हामीसँग जोडिन पाउनु नै तिमीहरूको ठूलो भाग्य हो’ भन्ने जस्ता अनेकन गालीहरू सुन्नुपथ्र्याे । नेपाली युवा शत्रु सेनाको गोलीबाट बाँचे पनि गोरा सेनाको वचनले बारम्बार मर्थे ।
गेसो
गोर्खा सैनिकमाथि बेलायत सरकार र गोरा सैनिकबाट हुँदै आएको भेदभावको विरोध गर्न ‘गेसो’ (भूतपूर्व गोर्खा सैनिक सङ्गठन (Gorkha Army Ex–Servicemen’s oganization) GAESO को स्थापना भयो । गोरा सैनिकसरह समान सेवा, सुविधाको निम्ति गोर्खा भूतपूर्व सैनिक सङ्घ (गेसो) ले कानुनी सङ्घर्ष गर्दै छ । २००४ सेप्टेम्बर ३० मा टोनी ब्लेयर सरकारले १९९७ जुलाई १ अछि सेवानिवृत्तहरूलाई मात्र आवासीय भिसा र नागरिकता सुविधा दिने घोषणा गर्यो । त्यसविरुद्ध परेको मुद्दामा अदालतले सबै गोर्खालीलाई आवासीय भिसा दिन आदेश दियो । बेलायत सरकारले गोर्खा सैनिकका १८ वर्षमाथिका सन्तानलाई अत्यन्त महँगो शुल्क (रु. २,६८,४००) तिरेर आवेदन दिनुपर्ने तर भिसा नदिने, रकम पनि फिर्ता नगर्ने नीति अँगाल्यो । त्यसविरुद्ध गेसोले हालेको मुद्दामा १८ वर्षभन्दा माथिका सन्तानलाई पनि बेलायत जान पाउने आदेश २०१३ जनवरी २१ मा बेलायती अदालतले दिए पनि कार्यान्वयन गर्न बेलायत सरकारले चासो दिएको छैन ।
सन् २००१ को भियनामा भएको ५७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन तथा दक्षिण अफ्रिकामा सम्पन्न रङ्गभेदविरुद्धको अन्तर्राष्ट्रिय सम्मेलनमा ‘गेसो’ सहभागी भई बेलायतले गोरा बेलायती नागरिक र गोर्खाली सेनालाई गर्दै आएको विभेदको विरोधमा बोल्यो । गेसो गोरा बेलायतीसरह सेवा, सुविधा प्राप्तिको निम्ति आन्दोलनरत छ ।
‘गोर्खा भर्ती’ बापत नेपालले पाउने रोयल्टी खोइ ?
नेपालले सेना पठाई सहयोग गरेबापत युद्धपछि केही रकम पाउँदो रहेछ । सो रकम PWF (Post War Fund) मार्फत आउने रहेछ । तर, नेपाल आएको करोडौँ रकम कहाँ गयो, अत्तोपत्तो छैन ! न त गोर्खा भर्तीबापत नेपाललाई ब्रिटिस सरकारले दिने सलामी (Royalty) को पनि केही जानकारी र हिसाब किताब नै छ ।
‘गोर्खा भर्ती’ को विरोध
नेपालले वि.सं. २००९ साउनमा तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले बेलायतलाई पाँच वर्षको लागि धरानमा रिक्रुटिङ डिपो (भर्ती केन्द्र) र तौलिहवामा सिजनल डिपो खोल्न अनुमति दियो । जसका विरुद्ध विराटनगर, भैरहवा, महोत्तरी र वीरगञ्जलगायतका ठाउँमा जनताले विरोध गरेका थिए । त्यसयता पनि गोर्खा भर्ती खारेजीको माग धेरै उठ्ने गरेका छन् ।
विदेशीको लागि लड्दा बहादुरी प्रदर्शन गरेको भनेर गोर्खाली सेनालाई ‘परमवीर चक्र’, ‘महावीर चक्र’ जस्ता सम्मानले फुरुक्क पार्छन् तर नेपाली युवाले सबथोक गुमाएका छन् । भूतपूर्व गोर्खा सेनालाई पेन्सन बाँड्ने निहुँमा विदेशी सैनिक नेपाल आएर गुप्तचरी गरिरहेका छन् । नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप भइरहेको छ । नेपाली युवाले नेपालको निम्ति लड्ने हो; विदेशीको निम्ति लड्ने होइन । नेपाललाई ‘भाडाको सिपाही’ बनाउने कलङ्क मेटाउन ‘गोर्खा भर्ती’ खारेज गर्नैपर्छ ।
स्रोत : ‘द युथ बुलेटिन’ जेठ २०८१

Leave a Reply

Your email address will not be published. Required fields are marked *