यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, ४ असार । वागीश्वरी माध्यमिक विद्यालयबाट अनिवार्य अवकाश प्राप्त गर्नुभएका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाको बिदाइ तथा पद हस्तान्तरण मङ्गलबार एक समारोहबिच सम्पन्न भयो ।
उक्त कार्यक्रममा वागीश्वरी कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अवकाश प्राप्त प्रअ कृष्णप्रसाद धन्छालाई सम्मानपत्रका साथ सम्मान तथा बिदाइ गर्नुभएको थियो । सोही क्रममा वागीश्वरी माविमा निमित्त प्रधानाध्यापकको रूपमा सहायक प्रअ कृष्णप्रसाद कर्माचार्यलाई नियुक्तिपत्र हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुरका शैक्षिक संस्थाहरूको गुणस्तर वृद्धिसँगै सिङ्गो भक्तपुरको सन्तुलित विकासमा नगरपालिकाले जोड दिँदै आएको बताउनुभयो ।
ख्वप विश्वविद्यालय स्थापना र सञ्चालनको लागि आवश्यक विधेयक पारित गराउन भक्तपुर नपाले निरन्तर पहल गर्दै आएको अवगत गराउँदै उहाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा विद्यार्थीहरूको माग र रुचिअनुसारका नयाँ नयाँ विषयहरू थप गर्दै अध्ययन अध्यापन गर्दै आएको स्पष्ट पार्नुभयो ।
वागीश्वरी मावि देशकै उत्कृष्ट सामुदायिक विद्यालय बन्न सफल हुनु सबैको लागि गौरवको विषय भएको बताउँदै यो विद्यालय समुदायमा आधारित, समुदायले अपनत्व ग्रहण गरेको विद्यालयको रूपमा परिचित छ भन्नुभयो ।
संस्था संस्थाबिच गुणस्तरीय सेवा प्रदान गर्ने विषयमा प्रतिस्पर्धा हुन जरुरी रहेको बताउँदै उहाँले वागीश्वरी बन्द, हडताल र तालाबन्दीजस्ता अवाञ्छित गतिविधिबाट मुक्त शैक्षिक संस्थाको रूपमा रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् वागीश्वरी मावि सञ्चालक समितिका अध्यक्ष एवम् भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले शैक्षिक संस्थालाई आत्मनिर्भरताको बाटोमा लैजाने प्रयास गरिरहेको बताउँदै विद्यालयको उन्नतिमा महत्वपूर्ण योगदान पु¥याउने पूर्वप्रअहरूमा उच्च सम्मान व्यक्त गर्नुभयो ।
उहाँले उमेर हदले अवकाश भएका प्रअ धन्छाको आगामी दिनहरू अझ क्रियाशील ढङ्गले व्यतीत हुने विश्वास व्यक्त गर्दै विद्यालयमा कार्यरत शिक्षक, शिक्षिका र कर्मचारीहरूले एकताबद्ध भई संस्थाको हितमा काम गर्नुपर्ने धारणा राख्नुभयो ।
अवकाश प्राप्त प्रअ कृष्णप्रसाद धन्छाले देश र समाज विकासमा शिक्षाको महत्वपूर्ण भूमिका भएको बताउँदै वागीश्वरीलाई आफ्नो जन्मभूमि र कर्मभूमिको रूपमा अपनत्व ग्रहण गर्न पाउँदा गौरवान्वित महसुस गरेको बताउनुभयो ।
नयाँ नेतृत्वले विगतमा झैँ आपसी समन्वयमा विद्यालयको हितमा नयाँ नयाँ कार्यहरू गर्दै जाने विश्वास व्यक्त गर्दै उहाँले वागीश्वरीसँग जोडिएर काम गर्न पाउनु जीवनकै ठुलो सफलता हो भन्नुभयो ।
पूर्व प्रअ मोहनप्रसाद प्रजापतिले विद्यालयको नेतृत्वले विद्यालयको सफलता निर्धारण गर्ने हुँदा असल र इमानदार नेतृत्व चयनतर्फ वागीश्वरी सदैव सचेत रहेको बताउनुभयो ।
उहाँले विद्यालयले विगतमा भोगेका आरोह अवरोहबारे प्रस्ट पार्दै विद्यार्थीको मनोभावना बुझेर अध्ययन अध्यापन गर्न सफल शिक्षकहरू नै विद्यार्थीहरूको नजरमा उत्कृष्ट शिक्षक हुने विचार राख्नुभयो ।
वागीश्वरी मावि प्लस टुका इन्चार्ज ज्ञानसागर प्रजापतिले विद्यालयका शिक्षकहरूमा पदको मोहभन्दा पनि विद्यालयको प्रगतिको लागि निरन्तर काम गर्ने इच्छाशक्तिले गर्दा वागीश्वरीले आजको सफलता हासिल गरेको बताउँदै कुनै पनि व्यक्तिले उमेरले भन्दा उसको विचारले उसलाई परिपक्व बनाउने धारणा राख्नुभयो ।
बिदाइ भएका प्रअ धन्छालाई दोसल्ला र ताम्रपत्रले सम्मान गरिनुका साथै मायाको चिनो प्रदान गरिएको थियो भने प्रअ धन्छाले नवनियुक्त प्रअ कृष्णप्रसाद कर्माचार्यलाई व्यवस्थापन समितिको निर्णय कापीसहित पदभार हस्तान्तरण गर्नुभएको थियो ।
वागीश्वरी माविका नवनियुक्त निमित्त प्रअ कृष्णप्रसाद कर्माचार्यले पदभार ग्रहण गर्दै विद्यालयको प्रगतिमा निरन्तर इमानदारिताका साथ लाग्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
वागीश्वरी कलेजका प्रअ धनकुमार श्रेष्ठ, विद्यालयका सहायक प्रअ उकेश सुवाल, पूर्वविद्यार्थी समाजका अध्यक्ष रत्नप्रसाद प्रजापति, शिक्षक प्रतिनिधि शोभा गोसाईं, शिक्षिका श्रेया पहिजु, शिक्षक गेहेन्द्रप्रसाद दाहाल, विद्यालय हित समिति कक्षा १० का विद्यार्थी प्रतिनिधि सुवान सुवाललगायतले अवकाश प्राप्त प्रअ कृष्णप्रसाद धन्छाको व्यक्तित्वमाथि प्रकाश पार्दै प्रअ धन्छा सरल, सानैदेखि नेतृत्व गर्ने खुबी भएको, अध्ययनशील, मिलनसार, सरल तरिकाबाट बालबालिकालाई अध्यापन गराउने एक कुशल शिक्षक हुनुहुन्छ भन्नुभयो ।
सोही क्रममा अवकाश प्राप्त प्रअ धन्छाले स्व. शोभा प्रधानको स्वास्थ्य उपचार कोषमा सहयोगस्वरूप रु. २ लाखको चेक हस्तान्तरण गर्नुभयो । प्रअ धन्छालाई विद्यालयका शिक्षक तथा कर्मचारीहरूले पुष्पगुच्छा र मायाको चिनो प्रदान गरी बिदाइ गरेका थिए ।
Leave a Reply