भर्खरै :

भक्तपुर नगरपालिकामा नेक्राशिसङ्घको सुझाव पेस

भक्तपुर नगरपालिकामा नेक्राशिसङ्घको सुझाव पेस

भक्तपुर, ४ असार । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिले भक्तपुर नगरपालिकाका प्रमुखसमक्ष आ.व.२०८१/०८२ का लागि समितिको तर्फबाट सुझावसहितको ज्ञापनपत्र मङ्गलबार पेस गरेको छ ।
समितिका अध्यक्ष गणेशराम थुसाको नेतृत्वको टोलीले सामुदायिक विद्यालयको विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम आउनुपर्नेमा जोड दिएको छ । स्थानीय बालबालिकालाई सामुदायिक विद्यालयमा आकर्षित गर्न विभिन्न छात्रवृत्ति, अनुदान तथा अन्य नीतिगत कार्यक्रमहरू ल्याउनुका साथै जनप्रतिनिधि, कर्मचारी, शिक्षकलगायत सार्वजनिक पद धारण गरेका व्यक्तिहरूका सन्तानलाई सामुदायिक विद्यालयमा अध्ययन गर्ने/गराउने नीतिलाई प्रेरित गर्नुपर्ने सुझाव दिएको छ ।
समितिले आ.व. २०८१/०८२ को नीति तथा कार्यक्रममा विद्यालय सहयोगी, विद्यालय कर्मचारी, ईसीडी शिक्षकलगायतलाई सरकारले तोकेको न्यूनत्तम पारिश्रमिक उपलब्ध गराउने नीति समावेश गर्नुपर्ने माग गरेको छ ।
भक्तपुर नगरपालिकालाई सामुदायिक विद्यालयको क्षेत्रमा पनि नमुना नगर बनाउन तथा विद्यालय शिक्षाको जगलाई बलियो बनाउन स्वयम्सेवक शिक्षकको बन्दोबस्त गर्नुपर्ने, शिक्षक तालिम तथा अनुगमन गर्नुपर्ने, शैक्षिक तथा भौतिक सुधारका लागि बजेट बन्दोबस्त गर्नुपर्ने माग गरेको छ ।
भक्तपुर नगरको समग्र शैक्षिक गुणस्तर वृद्धिका लागि सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरूलाई शिक्षक तालिम, अन्तरक्रियालगायतका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने, संस्थागत विद्यालयहरूमा नियमानुसार मात्र शुल्क निर्धारण गर्न दिनुपर्ने, सामुदायिक विद्यालयमा शिक्षक तथा प्रअ सरुवा गर्दा विद्यालय व्यवस्थापन समितिसँग आवश्यक छलफल गर्नुपर्ने, बिदा सुविधालाई स्वस्फूर्तरूपमा कम गर्न विद्यालयहरूलाई प्रेरित गर्ने, निश्चित बिदा योगदानको रूपमा शिक्षकहरूलाई दिन लगाउनेजस्ता कार्यक्रमहरू सञ्चालन गर्ने तथा बिदा कटौती गर्नुपर्ने अवस्थामा सो बिदाबापत सट्टा बिदा मिलान गर्ने वा वार्षिक परीक्षापछिको समयमा समायोजन गर्ने वा कटौती बिदाको सुविधा दिनेजस्ता विकल्पहरूमा समेत सहभागितामूलकरूपमा व्यापक छलफल गरी निचोड निकाल्ने नीतिलाई कार्यान्वयन गर्नुपर्ने माग समितिले गरेको छ ।
सुझावलाई ग्रहण गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सल्लाह गरेर अगाडि बढ्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *