भर्खरै :

फोहरमैला व्यवस्थापन तथा कौसी खेतीबारे तीनदिने तालिम

भक्तपुर, १६ पुस । भक्तपुर नगरपालिकाको आयोजनामा एकीकृत फोहरमैला व्यवस्थापन तथा कौसी खेतीबारे तीनदिने तालिम आइतबारदेखि सुरू भएको छ ।  तालिमको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख सुनिल प्रजापतिले फोहरमैला व्यवस्थापन देशभरिकै चुनौती भएको र भक्तपुरमा नमुनाको रूपमा व्यवस्थापन गर्न खोजेकोले तालिम उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो ।  उहाँले तालिमबाट सिकेका कुराहरू व्यवहारमा प्रयोग गर्न तथा आ–आफ्नो टोल, छिमेक र वडामा जनतालाई सिकाउन आफै प्रशिक्षक बन्नुपर्नेमा पनि जोड दिनुभयो ।  प्रमुख प्रजापतिले भक्तपुरको समग्र विकासको लागि अध्ययन अनुसन्धानलाई जोड दिइरहेको चर्चा गर्दै नगरको फोहरमैला व्यवस्थापन, खानेपानी व्यवस्था, कला संस्कृति, कृषि, पर्यटन, सामाजिक जनजीवनलगायतका विभिन्न क्षेत्रमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई नगरपालिकाको तर्फबाट अनुदान दिने नीति रहेको जानकारी दिनुभयो ।  उपप्रमुख रजनी जोशीले कौसी खेती गर्दा घरको भार बहन क्षमताको विषयमा राम्रो जानकारी राख्नुपर्ने उल्लेख गर्दै प्राङ्गारिक खेती प्रणालीका आधुनिक प्रविधिहरूबारे जानकारी हासिल गर्न सकेमा थोरै जग्गाबाट धेरै उत्पादन गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।
वातावरण समितिका संयोजक एवं भनपा ९ नं. वडाका अध्यक्ष रवीन्द्र ज्याख्वले घरघरबाट नै कुहिने र नकुहिने फोहर छुट्याएर कम्पोष्ट मल बनाउने तरिका सिकाउन सकेमा फोहरमैला व्यवस्थापन सहज हुने बताउनुभयो ।  उहाँले तालिमको औचित्यबारे प्रस्ट पार्दै तालिममा सहभागीहरूले आ–आपूmले घरमा प्रयोग गरे नगरेको अनुगमन पनि गरिने बताउनुभयो ।  प्रशिक्षक शेषनारायण महर्जनले तालिममा सैद्धान्तिकमात्र नभई हाम्रो क्षेत्र सुहाउँदो प्रविधि प्रयोगको व्यवहारिक प्रशिक्षण पनि दिने बताउनुभयो ।  कार्यक्रममा कार्यपालिका सदस्य सरिना द्योलाले फोहरमैला व्यवस्थापनबारे नगरपालिकाले गर्दै आएको गतिविधिबारे जानकारी दिनुभयो । आइतबारदेखि सुरू भएको उक्त तालिममा कुहिने फोहरबाट कम्पोष्ट मल बनाउने तथा करेसाबारी वा कौसी खेती गर्ने विधिबारे विस्तृत जानकारी दिइनेछ । त्यस्तै मौसम अनुकूल बाली लगाउने तथा घरमै किटनाशक औषधि बनाउने तरिका पनि सिकाइने छ । यसका साथै बालीमा लाग्ने रोगहरूको नियन्त्रण गर्ने उपाय र आकासे पानी तथा घरबाट निस्किने फोहर पानीको उपयोग गर्ने सरल उपायबारे पनि प्रशिक्षण दिइनेछ । तालिममा प्रत्येक वडाबाट दुई दुई जना, ख्वप कलेजबाट दशजना र नगरपालिका स्यानिटेशन शाखाबाट तीनजना सहभागी भएको स्यानिटेशन शाखा प्रमुख दिलिप सुवालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *