भर्खरै :

टौमढी क्षेत्रमा सवारी प्रवेश निषेध गर्नु उपयुक्त छ ?

भक्तपुर, १६ पुस । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले आइतबार बुद्धिजीवीलाई सोध्नुभयो, ऐतिहासिक टौमढी क्षेत्रमा सवारी प्रवेश निषेध गर्नु उपयुक्त छ ?    ‘एक सहर एक पहिचान र टौमढी क्षेत्रमा सवारी प्रवेश निषेध’ विषयको छलफलमा सहभागी बुद्धिजीवीहरूबीच बोल्दै मेयर प्रजापतिले देकोचामा अत्याधुनिक अरनिको सभाभवन बनाउनेबारे तपाईंहरूको राय सुुझाव के छ भन्नुभयो ।    ‘भक्तपुर नगरपालिकाले कुनै पनि नयाँ योजना जनताबीच अनुमोदित भएपछि अगाडि बढाउने गरेको छ । भक्तपुरमा राम्रो खेलमैदान बनाउनेबारे होस् वा नगरको मुख्य बाटोमा ढुङ्गा छाप्ने विषय, नगरपालिकाले पर्याप्त छलफल गर्ने गरेको छ ।’ चरणवद्ध छलफलको क्रममा आइतबारको भेला आयोजना गरेको मेयर प्रजापतिले बताउनुभयो ।     आइतबारको छलफलमा जनप्रतिनिधिहरूको पारिश्रमिकबारेसमेत चर्चा भयो । ‘अहिलेसम्म कोही जनप्रतिनिधिले कुनै पनि पारिश्रमिक लिएका छैनन् । प्रदेशसभाले जनप्रतिनिधिको पारिश्रमिक तोक्ने ऐनको कारण अहिलेसम्म जनप्रतिनिधिको पारिश्रमिकबारे नगरपालिकाले कुनै पनि निर्णय गरेको छैन,’ मेयर प्रजापतिले बताउनुभयो ।     कार्यक्रममा सहभागीले टौमढी क्षेत्रमा सवारी निषेध गर्नु उपयुक्त भएर पनि जनसमर्थनको निम्ति पर्याप्त गृहकार्य गर्नुपर्ने धारणा राख्नुभयो । उहाँहरूले योजना सञ्चालन गर्दा उपभोक्ता समितिमार्फत काम गर्नु उपयुक्त हुने, नगरको बाटोमा ढुङ्गा छाप्नु राम्रो भएको, टुँडिखेलको खेलमैदान भक्तपुरका जनताले प्रयोग गर्न पाउनुपर्ने, अरनिको सभाभवन बनाउन थाल्नुपर्ने सुझाव दिनुभयो ।     सहभागीले जनप्रतिनिधिको पारिश्रमिकबारे छिटो निर्णय गरी उपलब्ध गराउनुपर्ने, आदर निकेतन र उच्चस्तरको अस्पताल बनाउनुपर्ने सुझाव दिनुभयो ।  त्यस्तै अनुसन्धानको आधारमा योजनाहरू अगाडि बढाउनुपर्ने, जैविक फोहरको व्यवस्थापनको निम्ति गड्यौला मल परियोजना उपयुक्त हुने, परम्परागत पेशाहरूको अध्ययन अनुसन्धान गरी स्थानीय पाठ्यक्रममा समावेश गर्नुपर्ने सुझाव उहाँहरूले दिनुभयो । त्यस्तै धुलो र धुवाँमुक्त गर्न ठोस योजना ल्याउनुपर्ने, कला र संस्कृतिको रक्षाको निम्ति अझ पहल गर्नुपर्ने सुझाव राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *