अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
ललितपुर, १२ असार । नेपाल क्रान्तिकारी महिला सङ्घ, महालक्ष्मी नगर समिति ललितपुरको आयोजनामा मङ्गलबार सिद्धिपुरमा नेपाल क्रान्तिकारी महिला सङ्घका पूर्वकेन्द्रीय कोषाध्यक्ष तथा नेमकिपाका कर्मठ कार्यकर्ता शोभा प्रधानको स्मृति सभा सम्पन्न भयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले भन्नुभयो, “शोभा प्रधान एक कर्तव्यनिष्ठ र समर्पित कार्यकर्ता हुनुहुन्थ्यो । उहाँ रोहितलाई पार्टी गतिविधिमा लाग्न सहयोग गर्ने तथा पार्टी कार्यकर्ताहरूलाई सङ्गठनको कार्यमा लागिराख्न प्रेरित गर्ने व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ घरमा अभिभावक, विद्यालयमा कर्तव्यनिष्ठ शिक्षिका, महिलाहरूको माझ एक महिला नेतृको रूपमा परिचित हुनुहुन्थ्यो ।”
उहाँले शोभा प्रधान आफू स्तन क्यान्सरबाट मुक्त भएपछि अन्य महिलाहरूको स्तन क्यान्सर तथा पाठेघर क्यान्सरबाट जोगाउन भक्तपुर नगरको वडा–वडा, अन्य नगर र जिल्लामा नेपाल क्रान्तिकारी महिला सङ्घको आयोजनामा स्वास्थ्य शिविर राख्न नेतृत्वदायी भूमिकामा रहनुभएको प्रकाश पार्नुुभयो ।
कार्यक्रममा नेमकिपा वाग्मती प्रदेश समितिका सदस्य एन. महर्जनले शोभा प्रधान जीवन नै सङ्घर्ष र सङ्घर्ष नै जीवन हो भन्ने भावनाले सङ्घर्षसँग नडराई का.रोहितसँग विवाह बन्धन जोडिनुभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रधान माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधाराबाट प्रेरित भई जीवनमा आइपर्ने कठिन अवस्थाबाट विचलित नहुने धैर्यवान र साहसी व्यक्ति हुनुहुन्थ्यो । जेनी माक्र्स र क्रुप्सकायाको जीवनबाट पाठ सिकेर आफ्नो श्रीमान र पार्टीलाई मद्दत गर्नुहुन्थ्यो ।”
प्राध्यापक समाज नेपालका सदस्य कान्छा महर्जनले माक्र्सलाई माक्र्स बनाउन जेनी माक्र्सको योगदान भएझँै का.रोहितलाई एक समर्पित, त्यागी र बलिदानी भावनाले काम गर्ने देशभक्त नेताको रूपमा उदाउन शोभा प्रधानले योगदान गर्नुभएको स्मरण गर्नुभयो ।
उहाँले द्वन्द्वात्मक भौतिकवादी शिक्षाबाट प्रेरित भएर जीवनमा आइपर्ने विविध समस्या वा सङ्घर्षलाई सहजै स्वीकार गरी जीवनको अन्तिम घडीमा पनि हाँसीहाँसी उज्यालो अनुहारमा उहाँ अस्ताउनुभएको बताउनुभयो ।
नेपाल कानुन अध्ययन समाजका सदस्य एवं अधिवक्ता गंंगालक्ष्मी महर्जनले प्रधान एक समय परिस्थितिअनुसार आफूलाई ढाल्न सक्ने व्यवहारिक व्यक्तित्व भएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ महालक्ष्मी नगर समितिका अध्यक्ष सुनिता महर्जनले सभापतिको आसनबाट भन्नुभयो, “शोभा प्रधान सबै कार्यकर्ताको मन–मनमा सुवास छर्न सक्ने फूलको रूपमा रहनुभएको छ ।” उहाँले पार्टी र कामदार जनताको पक्षमा गर्नुभएको उहाँको योगदान सबै कार्यकर्ताले सदा स्मृतिको रूपमा राख्नेछ भन्नुभयो ।
उक्त स्मृति सभामा अनिष, बुद्धरत्न, चन्द्रराज, बिकी, सीता, शोभा, कृष्णराज र आशाराम महर्जनले देश र कामदार जनताको पक्षमा निःस्वार्थ भावनाले काम गर्ने व्यक्तिलाई मात्र समाजले सम्झने भएको हुँदा हामीले पनि देश र कामदार जनताको पक्षमा त्याग, तपस्या र समर्पणको भावनाले शोभा प्रधानले जस्तै कार्य गर्न जरुरी भएको प्रकाश पार्नुुभयो ।
Leave a Reply