भर्खरै :

पन्ध्रदिने पाक शिक्षा तालिम शुभारम्भ

पन्ध्रदिने पाक शिक्षा तालिम शुभारम्भ

भक्तपुर, १२ असार । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को युवा उपसमितिको आयोजनामा पन्ध्रदिने पाक शिक्षा तालिम सिद्धि गणेश तालिम हल, खँचामा शुभारम्भ भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले संस्थाले बचत सेवा तथा ऋण सुविधाका साथै विभिन्न सीपमूलक तथा आयमूलक तालिमहरू निरन्तररूपमा सञ्चालन गर्दै आएको बताउनुभयो । अध्यक्ष लाखाले कुनै पनि तालिममा बस्दा सुशासित र अनुशासित नभए तालिममा बसेको औचित्य नरहने उल्लेख गर्दै अनुशासन नै सफलताको मर्म रहेको बताउनुभयो ।
“संस्थाप्रति सदस्यहरूको पूर्ण विश्वासका कारण संस्था कुनै पनि समस्यामा नपरेको धारणा व्यक्त गर्दै सामाजिक उत्थान र परिवर्तन गर्ने उद्देश्यका साथ संस्था अघि बढिरहेको छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा तालिमका प्रशिक्षक सुनिल सुवालले कुनै पनि काम गर्दा सुरुवातमा सङ्घर्ष नगरी सफलताको शिखर चुम्न नसक्ने कुरा औँल्याउनुभयो । कर्मप्रति निष्ठावान भएर निरन्तर लागिरहे बिस्तारै आफ्नो क्षमता र सीपमा निपुणता झल्किँदै जाने उहाँले बताउनुभयो । उहाँले नयाँ सिप र ज्ञानका लागि तालिम आवश्यक हुने बताउँदै पाक शिक्षामा आधारभूत ज्ञान भए विभिन्न परिकारहरू सजिलै बनाउन सकिने भन्नुभयो ।
कार्यक्रमका सभापति, युवा उपसमितिका संयोजक एवं संस्थाका उपाध्यक्ष विष्णुराम दुमरुले सहकारी संस्थाका सदस्यहरू संस्थाको मालिक हुन् भन्दै सहकारी संस्थाहरू सदस्यप्रति जिम्मेवार भई उनीहरूको आर्थिक, सामाजिक तथा बौद्धिक विकास गर्ने लक्ष्यका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक सञ्जालमा वैेदेशिक रोेजगारीका लागि गएका युवाहरूले दुःख भोग्नुपरेको थुप्रै सूचना देख्दा देख्दै पनि हाल युवाहरूमा वैदेशिक रोजगारीको रुचि बढिरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
उपाध्यक्ष दुमरुले आवश्यक तालिम लिई अत्मनिर्भर बन्न सके वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमै व्यवसाय सुरु गरी सफल बन्न सकिने बताउनुभयो ।
कार्यक्रममा उपसमितिका सचिव जसतारा कोजु, संस्थाका व्यवस्थापक शिला गोसाई र कार्यक्रम तथा प्रर्वद्धन अधिकृत बिमल लवजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *