भर्खरै :

त्रिवि उत्तरपुस्तिका गायब प्रकरण दोषीलाई कारबाही गर्न किन ढिलाइ ?

त्रिवि उत्तरपुस्तिका गायब प्रकरण दोषीलाई कारबाही गर्न किन ढिलाइ ?

काठमाडौँ । परीक्षा दिएर एक वर्षदेखि नतिजा कुरिरहेका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको नतिजाअगावै उत्तरपुस्तिका गायब पर्ने पदाधिकारीलाई कारबाहीका लागि सिफारिस गरेको एक महिना बित्न लाग्दा पनि विश्वविद्यालयले कारबाही प्रक्रिया सुरु गरेको छैन । दोषीमाथि कारबाही गर्नुको साटो बचाउने खेल भइरहेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।
मानविकी र शिक्षाशास्त्र सङ्कायका तीन सय ४२ विद्यार्थीले परीक्षा दिएर नतिजा कुरिरहेको समयमा त्रिवि परीक्षा नियन्त्रक कार्यालयबाटै उत्तरपुस्तिका हराएको थियो । समस्याबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले एक महिनाअघि त्रिविका उपकुलपति प्रा.डा. केशरजग बराललाई बुझाएको प्रतिवेदनमा परीक्षा नियन्त्रकसहित सातजनाले विद्यार्थीको भविष्यसँग खेलबाड हुने हदैसम्मको लापरबाही गरेकाले पदबाट हटाउनुपर्ने पर्याप्त आधारसहित कारबाहीको सिफारिस गरेको हो ।
त्रिविका पूर्वरजिस्ट्रार प्रा.डा. चन्द्रमणि पौडेलको संयोजकत्वमा गठित तीन सदस्यीय उच्चस्तरीय समितिले गत वर्ष वैशाख पहिलो साता परीक्षा दिएर नतिजा कुरिरहेका मानविकीतर्फका हेल्थ एन्ड पपुलेसन स्नातक तहका एक सय ५६ र शिक्षाशास्त्र सङ्कायतर्फका फाउन्डेसन अफ एजुकेसनतर्फका एक सय ८६ गरी कुल तीन सय ४२० विद्यार्थीको उत्तरपुस्तिका नतिजाअगावै धुल्याउन पठाएको निष्कर्षसहित परीक्षा नियन्त्रकसहित सातजनालाई दोषी ठहर गर्दै सबैलाई पदबाट हटाउने कारबाही सिफारिस गरेको हो । तर पनि त्रिविले किन कारबाही प्रक्रिया अघि बढाएन ?
राजनीतिक आडमा विभिन्न दलनिकटबाट नियुक्त भएका दोषी पदाधिकारीहरूले आफ्नो पद जोगाउने भन्दै शीर्ष नेता भेटघाटमा दौडधुप गरिरहेको रहस्य खुलेको छ । यही निहुँमा सोमबार अखिल (समाजवादी) विद्यार्थी सङ्गठनले परीक्षा नियन्त्रण कार्यालयमा पुगेर समितिले दोषी ठह¥याएका परीक्षा नियन्त्रकसहित सबै पदाधिकारीलाई कार्यकक्षबाट बाहिर निकालेको छ । उनीहरूलाई गेटबाटै बाहिर निकालेर प्रवेश निषेधसमेत गरेको छ ।
समितिका संयोजक प्रा.डा. पौडेलले बुझाएको छानबिन प्रतिवेदनले परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनिकसम्बन्धी नियम २०५० को परिच्छेद ५६ आकर्षित हुने र परिच्छेद ५७ का आधारमा पदबाट बर्खास्त गर्नुपर्ने सिफारिस गरेको छ ।
यसैगरी मानविकीतर्फका सहनियन्त्रक पवन बराल र शिक्षाशास्त्रतर्फका सहनियन्त्रक सुरेशजंग शाही, शाखा अधिकृत शम्भु दाहाल, मानविकीतर्फका शाखा प्रमुख दीपक पाण्डे, कर्मचारी चन्द्रप्रसाद जोशी र नारायणप्रसाद न्यौपानेलाई त्रिवि कर्मचारी सेवासम्बन्धी नियम २०५० को परिच्छेद ८२ अनुसार पदबाट हटाउने सिफारिस गरेको छ ।
अनुसन्धानमा उत्तरपुस्तिका हराएको नभएर धुल्याउन पठाएर चरम लापरबाही गरेको फेला परेको स्रोतले बतायो । “हामीले अध्ययन–अनुसन्धान गर्दा दोषी ठहर भएका नियन्त्रक, सहनियन्त्रक तथा कर्मचारीहरूले कति सहजरूपमा पुराना उत्तरपुस्तिका धुल्याउन पठाउँदा त्यससँगै विद्यार्थीको उत्तरपुस्तिका पनि मजदुरले उठाएर लगेछ भन्नुभयो”, स्रोतले भन्यो, “यता एक वर्षदेखि नतिजा कुरेर बसिरहेका विद्यार्थीको नतिजाअगावै उत्तरपुस्तिका धुल्याउनेसम्मको अपराध गोप्य शाखाबाट भएको रहेछ, तर जिम्मेवार पदाधिकारीले कति सहजरूपमा लिनुभएको रहेछ ।”
स्रोतले औँल्यायो, “दोष परीक्षा नियन्त्रण कार्यालयको भए पनि विद्यार्थीले पुनः परीक्षा दिनुपर्यो । चरम लापरबाही भएको पाइयो । समितिले दोषी ठहर भएकाहरूलाई पर्याप्त आधार खडा गरेर पदबाट हटाउन सिफारिस गरी प्रतिवेदन बुझाएको छ ।” गत वर्ष वैशाख पहिलो साता भएको परीक्षा पनिकाले उत्तरपुस्तिका नतिजाअगावै धुल्याइदिएपछि ती पीडित विद्यार्थीले २०८१ साल चैत २१ गते पुनः परीक्षा दिनुपरेको थियो ।
एकातिर समितिले पर्याप्त आधारसहितको कारबाही प्रतिवेदन उपकुलपतिलाई बुझाए पनि दोषी ठहरिएकाहरूलाई त्रिविले अझै कारबाही गर्न सकेको छैन भने अर्कातिर मुख्य दोषी ठहरिएका परीक्षा नियन्त्रक पुष्पराज जोशी काङ्ग्रेसनिकट सभापति शेरबहादुर देउवानिकट भएकाले उनलाई जोगाउन त्रिविमा चलखेलसमेत भइरहेको समाजवादी विद्यार्थी सङ्गठनका उपाध्यक्ष ललित सीले बताए ।
“त्रिवि कार्यकारी परिषद्ले गठन गरेको छानबिन समितिले नै पदबाट बर्खास्तसहितको आधार पुष्टि हुने गरी कारबाही सिफारिस गरिसकेका व्यक्तिलाई हामी विद्यार्थी पदमा बस्न दिँदैनौँ”, उपाध्यक्ष सीले नागरिकसँग भने, “काङ्ग्रेस, माओवादी र एमाले तीनै दलका पदाधिकारी कारबाहीमा परेका छन् । यी पदाधिकारी राजनीतिक सेटिङमा मिलाउन खोज्दै छन् ।”
उनले चेतावनी दिए, “विद्यार्थीको भविष्यसँग खेलबाड गर्नेलाई हामी कार्यालय प्रवेश निषेध गर्नेछौँ ।” परीक्षा नियन्त्रक जोशीको नियन्त्रक पद दोस्रो कार्यकाल हो । उनी नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवानिकट हुन् भने मानविकीतर्फका सहनियन्त्रक पवन बराल माओवादीनिकट हुन् । शिक्षाशास्त्रतर्फका अर्का सहनियन्त्रक सुरेशजंग शाही काङ्ग्रेसनिकट हुन् । रजिस्ट्रार प्रा.डा. केदार रिजालले समितिले बुझाएको प्रतिवेदन कार्यकारीमा छलफल भइरहेको बताए ।”
साभार : नागरिक दैनिक
१२ असार ०८१

Leave a Reply

Your email address will not be published. Required fields are marked *