भर्खरै :

चीनका प्रो. लि ताओको नेतृत्वमा आएको प्रतिनिधिमण्डल टोलीद्वारा भक्तपुर भ्रमण

चीनका प्रो. लि ताओको नेतृत्वमा आएको प्रतिनिधिमण्डल टोलीद्वारा भक्तपुर भ्रमण

भक्तपुर, १८ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग चीनको स–छ्वान विश्वविद्यालय दक्षिण एसियाली अध्ययन संस्थानका प्रो. लि ताओको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले भेट ग¥यो ।
प्रतिनिधिमण्डललाई भक्तपुर नगरपालिकामा स्वागत गर्दै नगर प्रमुख प्रजापतिले नेपाल–चीनबिचको सम्बन्ध अझ प्रगाढ र सुमधुर हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टी वैज्ञानिक समाजवादमा विश्वास गर्ने पार्टी भएको बताउँदै उहाँले नेमकिपाले सधैँ एक चीन नीतिलाई समर्थन गर्दै आइरहेको बताउनुभयो ।
नेपाल धर्मनिरपेक्ष देश भए पनि नेपालको धर्म, भाषा र संस्कृतिमा विदेशी हस्तक्षेप स्वीकार्य नभएको बताउँदै उहाँले मित्र देश चीनको आर्थिक, सामाजिक, सांस्कृतिक विकासबाट भक्तपुर नपाले सिक्न चाहन्छ भन्नुभयो ।
पछिल्लो जनगणनाअनुसार नेपालको कुल जनसङ्ख्यामध्ये नेवार जाति ४.६ प्रतिशत भए पनि भक्तपुर नगरमा ९५ प्रतिशतभन्दा बढी नेवार जातिको बसोबास रहेको बताउँदै उहाँले भक्तपुर नपाले स्थानीय जाति, भाषा, संस्कृति, परम्परागत सीप संरक्षणका लागि विभिन्न गतिविधिहरू गर्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेवार जाति सम्पदा र संस्कृतिमा अत्यन्त सम्पन्न जाति भएको, काठमाडौँ उपत्यकाको सम्पदा र संस्कृतिका निर्माताहरू पनि नेवारहरू नै भएको स्पष्ट पार्दै त्यसको संरक्षण र संवद्र्धनको लागि नगरपालिकाले निरन्तर कार्य गरिरहेको छ ।”
भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणलगायतका क्षेत्रमा गरिरहेका गतिविधिबारे अवगत गराउँदै प्रमुख प्रजापतिले काठमाडौँ उपत्यकालाई सांस्कृतिक केन्द्रको रूपमा विकास गर्ने कोसिस गर्दै आएको बताउनुभयो ।
भेटमा प्रो. ताओले भक्तपुरले गरेको न्यानो स्वागतप्रति कृतज्ञता ज्ञापन गर्दै नेपाल चीनबिचका सम्बन्धका आफ्नै मौलिक विशेषता रहेको बताउँदै नेपालमै गएर नेपालका विभिन्न विषयबारे अध्ययन अनुसन्धान गर्ने नीति चीनले अँगालेको बताउनुभयो ।
नेपाल–चीनबिच विकासको मामिलामा साझा उद्देश्य रहेको प्रस्ट पार्दै प्रो. ताओले नेपालको विकासलाई तीव्रता दिन चीन सरकार नेपाललाई सहयोग र साझेदारीको अवधारणाका साथ अगाडि बढ्न चाहेको बताउनुभयो ।
नेपालबारे अध्ययन अनुसन्धानको क्रममा नेपालका बुद्धिजीवीहरूसँग सुमधुर सम्बन्ध स्थापनाले आफ्नो अध्ययनलाई थप टेवा मिलेको उहाँले सोही क्रममा बताउनुभयो ।
भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय तथा मेडिकल कलेज सञ्चालनबारे जानकारी पाउँदा खुसी लागेको बताउनुभयो ।
स–छ्वान प्रान्त र भक्तपुरबिच पनि साझेदारीका धेरै सम्भावनाहरू भएको उल्लेख गर्दै उहाँले पछिल्लो समयमा नेपालको चेपाङ जातिमा क्रिश्चियन धर्मको प्रभाव व्यापकरूपमा फैलिरहेको आफूहरूको अध्ययनले पाएको बताउनुभयो ।
भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, वडाध्यक्षहरू उकेश कवां, रवीन्द्र ज्याख्व, योगेन्द्रमान बिजुक्छेँ, कार्यपालिका सदस्य रोशनमैँया सुवाल, युनान मिन्जु विश्वविद्यालयका प्रो सेन हाइमेइ, याओ यिजिआङ, डा. काओ लिआङ, छुइ जिअयु, विद्यावारिधिका विद्यार्थी निरज लवजु, याओ जिअतोङ, अनुवादक राजेन्द्र चवाल, पर्यटक सूचना तथा सेवा केन्द्र प्रमुख गौतमप्रसाद लासिवालगायतको उपस्थिति थियो ।
सोही क्रममा उहाँहरूबिच उपहार आदानप्रदान भएको थियो भने भेटपश्चात् टोलीले भक्तपुरको सांस्कृतिक र ऐतिहासिक सम्पदाहरूको स्थलगत अवलोकन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *