भर्खरै :

नेपालका प्रम र चर्चित अर्थमन्त्रीहरू

नेपालका प्रम र चर्चित अर्थमन्त्रीहरू

काठमाडौँ, १९ असार । देशको अर्थतन्त्र दुर्गति हुनुमा सरकारका प्रधानमन्त्री र अर्थमन्त्रीहरू नै जिम्मेवार छन् । नीति निर्माण गर्ने मनोनीतहरूको तहबाट हुने गल्ती–कमजोरी र देशको अहित हुने काममा प्रधानमन्त्रीहरू जिम्मेवार हुन्छन् । राम्रो काममा यश पनि तिनीहरूले नै पाउँछन् । ठेकेदार, व्यापारी, उद्योगी, मारवाडी, कालाबजारी र अपराधीहरूसँग ठुलठुला रकम मागेर निर्वाचनमा बहुमत वा संसद्मा धेरै स्थान पाउने कामबाट राम्रो सम्झेर प्रमहरूलाई जनताले जस दिन्छन् । ‘मालसामानको भाउ बढेमा’, कमसल सामान देशमा भित्रियो, मिसावटको खाद्यान्नले समाजमा रोगी बढे र विकृति बढेमा प्रमहरूलाई दोष दिनु स्वाभाविक हो ।
नेपाली काङ्ग्रेसका रामशरण महत पनि बारम्बार अर्थमन्त्री बने । उनको कार्य भनेकै हरेक निर्वाचन क्षेत्रबाट २ सय युवाहरू श्रमिकको रूपमा विदेश पठाउने हो । त्यसको परिणाम आज ८० लाख नेपाली युवाहरू बिदेसिएको हुँदा देशका खेत–खलियान, पाखा, खेती एवं निर्माण कार्य र मर्मत–सम्भारका कार्यमा काम गर्ने युवकहरू पाउँदैनन् । स–साना हस्तकला र अर्धयान्त्रिक कलकारखानामा समेत मजदुर पाउन छोडे । स्कूल–कलेजमा राम्रा शिक्षक र सहप्राध्यापकसमेत छैनन् । त्यसको परिणाम कृषि उत्पादन, निर्माण कार्य र उद्योगहरू मात्र सुकेनन् स्कूल र कलेजहरू खाली हुँदै छन् । के यही हो योग्य अर्थशास्त्री वा अर्थमन्त्रीको सफलता ? हो, नेपाली बहुराष्ट्रिय कम्पनीहरूका हिस्सेदार केही नेपालीहरू विदेशमा नेपाली कामदारहरू सस्तोमा ज्यामी पठाएर करोडपतिबाट अरबपति भए । नयाँ गल्लावाल म्यानपावर कम्पनीहरूले बेहोर्ने आवतजावतको रकम आफ्नो खल्तीमा पारे । विदेश जाने युवाहरूसँग आवतजावत रकम र ज्यामी पठाएको कारण प्रत्येक युवाको आम्दानीको निश्चित एक ठुलो भाग पाउने नियमले गर्दा केही लाख जालीफटाहा र म्यानपावरका मालिकहरू सम्पन्न भए । यस्तै अपराधीहरूले देश–विदेश, राजधानी, पहाड र तराईमा महलहरू बनाए ।
भरतमोहन अधिकारी पनि एक अर्थमन्त्री थिए । ‘तीनखम्बे नीति’ भन्दै निजी, सरकारी र सहकारीको अर्थतन्त्रले देश स्वर्ग र समाजवाद बन्ने सिद्धान्त प्रचार गरी उनले चटकेले जस्तै झूट बोले । गर्मीमा लामखुट्टेको औषधि बेच्ने चटकेले डमरु बजाउँदै भन्थ्यो, “एक एक रुपैयाँले लामखुट्टे धपाउने अचुक औषधि लिनुहोस् ।” यो राति सुत्ने बेला मात्रै खोल्नुहोस् !” खोल्दा पुर्जीमा लेखिएको हुन्थ्यो, “झुल हालेर सुत्नू” ! भरत मोहनजीको ‘त्रिखम्बे नीति’ पनि ‘झुल हालेर सुत्ने’ पुरिया नै साबित भयो ।
प्रकाशशरण महत अर्का चर्चित अर्थमन्त्री बने, अन्ध समाजमा कानो राजाजस्तै । उनले भनेका थिए, “देशको अर्थतन्त्र माथि उठाउने आर्थिक सङ्कटलाई किनारा लगाउने ।” खोइ त उनले देशको सम्भावित आर्थिक सङ्कटलाई निमिट्यान्न पारेको !
प्रकाशशरण महतको अर्थनीति ‘मागेर’ देशलाई सम्पन्न बनाउने र देश बेचेर साम्राज्यवादी आर्थिक संस्थाहरूलाई धनी बनाउने हो । उनको नीति विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्राकोष र एसियाली विकास बैङ्कजस्ता अमेरिकी साम्राज्यवादको आर्थिक हतियार व्यक्तिलाई पोस्ने हो । अमेरिकी साम्राज्यवादकै कारण एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरूको आर्थिक स्थिति गिरेको हो । यसमा अमेरिकी साम्राज्यवादको राजनीतिक हस्तक्षेप र युद्ध नै जिम्मेवार छन् । विश्व बैङ्क र खोटपूर्ण आर्थिक नीतिकै कारण महादेशका देशहरू प्राकृतिक स्रोत र साधनहरूमा धनी भएर पनि विदेशी पुँजीको कारण दुई प्रतिशतमात्रै स्थानीय देश र महादेशहरूले आर्थिक लाभ लिन सकेका छन् । ती देशका सारा स्रोत साम्राज्यवादी देशहरूले लान्दैछन्† पुँजीको नाफा र ब्याज तिनीहरूले नै लान्छन् र त्यहाँका जनतालाई वायु प्रदूषण, गरिबी, बेरोजगार, अपराध र अराजकता छोडेर जान्छन् । प्रकाशशरण महतजी पनि त्यस्तै एक असफल अर्थमन्त्री हुन् – गरिबलाई चुस्ने धनीलाई पोस्ने !

Leave a Reply

Your email address will not be published. Required fields are marked *