भर्खरै :

महालक्ष्मीमा नेतृ क्लारा जेटकिनको स्मृति सभा

महालक्ष्मीमा नेतृ क्लारा जेटकिनको स्मृति सभा

ललितपुर, २३ असार । नेपाल क्रान्तिकारी महिला सङ्घ महालक्ष्मी नगर समिति ललितपुरको आयोजनामा अन्तर्राष्ट्रवादी नेतृ, महिला अधिकारकर्र्मी तथा मानव अधिकारवादी व्यक्तित्व क्लारा जेटकिनको १६७ औँ जन्म दिवसको अवसरमा एक स्मृति सभा सिद्धिपुरमा भयो ।
नेमकिपा ललितपुरका सदस्य महन्त महर्जनले प्रथम विश्वयुद्धको बेला काउत्स्कीले अन्धराष्ट्रवादी र संशोधनवादी मार्ग रोजेपछि क्लारा जेटकिन र रोजा लक्जेम्बर्गले उनको सशक्त विरोध जनाई सङ्घर्ष गर्नुभएको थियो भन्नुभयो ।
उहाँले भन्नुभयो, “यदि क्लारा जेटकिनहरूले महिला अधिकारको लागि सङ्घर्ष नगरेका भए, महिलाहरूले मत दिने अधिकार पाउँदैनथ्यो† पुरुषसरह ज्याला वा तलब, शिक्षा प्राप्त गर्ने सम्मान अवसर र निर्वाचनमा महिला उम्मेदवार वा सहभागिता पाउँदैनथ्यो ।”
नेपाल क्रान्तिकारी महिला सङ्घ ललितपुर जिल्ला समितिका सदस्य तथा नेमकिपा महालक्ष्मीका सदस्य रूपना महर्जनले महिलाहरू राजनीतिमा सहभागी नभएको अवस्थामा पुरुष र महिलाबिच लैङ्गिक भेद भएको समयमा क्लारा जेटकिनजस्ता नेतृहरूले सङ्घर्ष गर्नुभयो र धेरै अधिकार पाउन सफल भएको बताउनुभयो ।
उहाँले अन्धविश्वासमा लागेर छाउगोठ प्रथा, दहेज लिने प्रथा, देवकी प्रथा, गरिब महिलालाई बोक्सीको दोष दिने संस्कार अन्त्य गर्न क्लारा जेटकिनजस्ता नेतृहरूबाट शिक्षा लिएर महिलाहरू राजनैतिकरूपमा सक्रिय हुनु आवश्यक छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ महालक्ष्मीका अध्यक्ष सुनिता महर्जनले रुसको डिसेम्बर विद्रोह असफल भएपछि कालापानीको सजाय पाएर रुसको साइबेरियामा बन्दी जीवन बिताउने १२१ जना र आफ्ना श्रीमान् तथा आफन्तहरूलाई क्रान्तिकारी रुसी कुलीन परिवारका महिलाहरूले गरेको सेवा र सद्भावबाट महिला पनि क्रान्तिकारी बन्न सकिन्छ भने शिक्षा प्राप्त हुन्छ भन्नुभयो ।
उहाँले ती रुसी क्रान्तिकारी महिलाहरूको जीवन कठिनपूर्वक बिताए पनि निरास भएन† चिट्ठी पत्र लेखिदिने, औषधि उपचार गर्ने, कपडा सफा गरिदिने र स्थानीयवासीलाई समेत शिक्षा दिने, स्वास्थ्य उपचार गर्ने र नयाँ नयाँ बीउबिजनबाट खेती गर्न सिकाएको स्मरण गर्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ महालक्ष्मीका अध्यक्ष चन्द्रराज महर्जनले अहिले पनि महिलालाई पछाडि पार्ने महिला नै देखिएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा छोरीलाई पढाइबाट वञ्चित गर्न खोज्ने वा छोरा र छोरीमा भेद गरेर शिक्षा दिनेमा पनि महिला नै अग्रसर भएको पाइन्छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका मनशोभा महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा आशाराम महर्जन, इन्द्रराज महर्जन, बिकी महर्जन, कृष्णा महर्जन, अनिष महर्जन र एन. महर्जनले समाज परिवर्तनको लागि महिला पुरुष दुवै मिलेर राजनैतिकरूपमा सचेत र सङ्गठित भई लाग्न सक्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *