भर्खरै :

बनेपामा रुसको डिसेम्बर विद्रोहबारे अन्तरक्रिया

बनेपामा रुसको डिसेम्बर विद्रोहबारे अन्तरक्रिया

काभ्रे, २३ असार । नेपाल क्रान्तिकारी युवा सङ्घ काभ्रेको आयोजनामा शनिबार नेपाल क्रान्तिकारी युवा सङ्घ, केन्द्रीय समितिबाट प्रकाशित ‘रुसको डिसेम्बर विद्रोह’ पुस्तकबारे अन्तरक्रियात्मक छलफल भयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ काभ्रेका अध्यक्ष ओम मानन्धरको सभापतित्वमा भएको उक्त अन्तरक्रियात्मक छलफलमा उक्त पुस्तक नेपाली युवाहरूले अनिवार्य पढ्नुपर्ने महसुस गरे ।
नेपालका युवाहरूलाई आफ्नो पक्षमा मतदाताहरूसँग प्रचार गर्न सहयोग माग्दा तत्काल युवाहरूले सोध्ने गर्छन्, मैले के पाउने, हामीले के पाउने ? यसरी प्रश्न गर्ने युवाहरूको लागि राम्रो शिक्षा दिइएको छ । कुलीन वा खानदान परिवारका युवाहरूले देशमा भूदास मुक्तिको लागि र निरङ्कुश जारतन्त्रविरुद्ध बलिदानी भावनाले गरेको विद्रोहबारे जानकारी पाउनेछ ।
विद्रोह सन् १८२५ डिसेम्बर २६ को दिन भएको हो । विद्रोह असफल हुन्छ । सन् १८२६ जुलाई २५ को दिन सर्गेइ मुराभ्योभ, पाभेल पेस्टेल, कोन्द्रान्ती रिलेत्, प्योतर काखोभ्स्की र मिखाइल बेस्तुजेभ रुमिनलाई फाँसी दिन्छ । अरु बाँकी १२१ जनालाई रुसको अत्यन्त चिसो पूर्व उत्तर साइबेरियामा कालापानीको सजाय सदाको लागि दिन्छ । तर, फाँसीमा चढ्ने र आजीवन कालापानीको सजाय पाउने अफिसर युवाहरूले आत्मसमर्पन गरेनन् । उनीहरूले देशको प्रगतिको लागि समर्पण गरे, बलिदान दिए ।
पुस्तक ‘रुसको डिसेम्बर विद्रोह’ ले तत्कालीन रुसको चित्र प्रस्टसँग देखाएको छ । यो पुस्तकले तत्कालीन रुसको समाज, शासन व्यवस्था, बाहिरी देशमा भएको क्रान्ति वा परिवर्तनले रुसमा कस्तो प्रभाव पार्यो आदिबारे जानकारी राख्न पाउँछन् ।
विद्रोहका सबैजसो नेता कुलीन परिवारका युवाहरू थिए । विद्रोह असफल भएमा के कस्तो सजाय दिन सक्छ भने उनीहरूलाई पहिल्यै थाहा थियो । त्यसको सबल पक्ष त्यसका अगुवाहरूको प्रभावशाली व्यक्तित्व, अकिञ्चित उत्सर्ग, उदान्त्त विचार र परिष्कृत व्यवहार थियो । प्रेम, भाइचारा, मित्रताजस्ता मानवीय मूल्यमा ती युवाहरूको असीम आस्था थियो । ती क्रान्तिकारी युवाहरू फ्रान्सेली राज्य क्रान्तिका ‘आदर्श सन्तान’ थिए ।
विद्रोह विफल हुनुको प्रमुख कारण सैद्धान्तिक थियो भने सहायक कारण साङ्गठनिक र रणनीतिक थियो । डिसेम्बर विद्रोहको अगुवाइ सैनिक अफिसरहरूको गुप्त समाजले गरेको थियो । सिनेट चोकमा विद्रोह भइरहँदा पिटर्सवर्गका कामदार जनता वरपर बसेर तमासा हेरिरहेका थिए । क्रान्तिको उद्देश्य भने तिनै जनतालाई सामन्ती थिचोमिचोबाट मुक्त गर्नु थियो । पीडितहरू नै सहभागी नभई उत्पीडनविरुद्ध लडिन्छ भने त्यसको उपलब्धि धेरै टिक्दैन । एक अगुवा लुनिनले यो कुरा सुरुमै सम्झाउन खोजेका थिए । उनको सल्लाह धेरैले बुझ्न सकेनन् ।
डिसेम्बर विद्रोहजस्ता अनेकौँ क्रान्तिकारी सङ्घर्षको शिक्षालाई आत्मसात गरेर नै सन् १९१७ मा रुसमा महान् अक्टोबर क्रान्ति सफल भयो । नेपाल क्रान्तिकारी युवा सङ्घ यो प्रकाशनले समाज परिवर्तन र सार्वभौमिकता रक्षाको सङ्घर्षमा कामदारवर्गका युवाहरूलाई सचेत, सङ्गठित र प्रयत्नशील बनाउने विश्वास छ ।
पुस्तकबारे का. रोहितले आफ्नो भनाइ राखी पुस्तक बुझ्न सरल बनाइदिनुभएको छ ।
रुसको डिसेम्बर विद्रोह’ पुस्तकको परिवेश भन्दै २०० वर्ष पहिले सन् १८२५ को डिसेम्बरमा रुसको राजतन्त्र अर्थात् जारतन्त्रको विरोधमा खान्दानी परिवारका युवा सैन्य जर्नेलहरूले गुप्त सङ्गठनहरूमार्फत गरेको सैन्य विद्रोह हो ।
त्यसबेला रुसका ८० प्रतिशत जनता भू–दास थिए । भूदासहरूलाई सामन्त र जमिनदारहरूले खेतको एक टुक्रा जमिन दिएर अन्य सबै खेत जोत्न लगाउँथे र घरको काम पनि विनाज्याला गर्न लगाउँथे ।
बेलायतमा सन् १६४९ मा राजतन्त्र र भूदासप्रथा समाप्त भएको थियो । अमेरिकी स्वतन्त्रता आन्दोलन (१७७५–८३) का कारण अमेरिका बेलायतबाट मुक्त भयो । तर, दासप्रथा उन्मूलन गरिएन । सन् १७८९ को फ्रान्सेली राज्य क्रान्तिमा राजा लुई १६ औँलाई ज्यान सजाय दिइयो । ‘समानता, स्वतन्त्रता र भ्रातृत्व’ त्यस क्रान्तिको नारा थियो । सन् १८१२ मा फ्रान्सको तानाशाही शासक नेपोलियनले रुसमाथि हमला गर्यो र मस्को कब्जा गरे । रुसका भू–दासहरूसमेत बहादुरीपूर्वक लडेर नेपोलियनको सेनालाई पेरिससम्म पु¥याइयो । युद्धमा १९–२० वर्षका सिपाही र सैन्य अफिसरहरूले नेपोलियनलाई लखेट्दै युरोपका विभिन्न देशमा पुगे । ती खानदानी युवा सिपाही र जर्नेलहरूमा दुईवटा प्रभाव पर्यो । पहिलो, रुसमा दास मुक्ति गर्नुपर्छ । दोस्रो, रुसको निरङ्कुश राजतन्त्रको ठाउँमा उदार राजनीतिक व्यवस्था भए युरोपमा जस्तै राजनीतिक र सामाजिकरूपले स्वतन्त्र एवम् शिक्षित हुन्थे ।
रुसका खानदानी वर्गका सन्तानहरू युरोपका विद्यालय र कलेजहरूमा पढ्थे । उनीहरू बेलायत, फ्रान्स र अमेरिकी स्वतन्त्रता आन्दोलनबाट प्रभावित भए । परिवर्तनको इच्छा राख्ने युवा सैनिक जर्नेलहरूले ‘मुक्ति सङ्घ’, समृद्धि सङ्घ, उत्तरी गुप्त समाज र दक्षिणी गुप्त समाजजस्ता सङ्गठनहरू स्थापना गरेका थिए ।
यस पुस्तकको महत्वबारे उल्लेख गर्दै का. रोहितले ती युवाहरूमा देशको परिवर्तनप्रतिको त्याग, समर्पण र बलिदानी भावना वर्तमान नेपालको निम्ति पनि आवश्यक पक्ष हो; रुसका डिसेम्बरवादीहरूले ज्यान सजाय पाउने, फासीमा झुण्डिनुपर्ने, जीवनभर कालापानीमा श्रम गर्न जानुपर्ने थाहा पाए पनि देशमा परिवर्तन ल्याउन र जनताको जीवन स्तर उठाउन आफ्नो कुनै व्यक्तिगत हितका कुरा गरेनन्; तिनीहरू आफै खानदानी वा सम्भ्रान्त परिवारका सदस्य वा जर्नेल–कर्णेल थिए । के हाम्रो नयाँ पुस्तालाई उहाँहरूको त्याग, तपस्या, बलिदान र समर्पणबारे नबताउने भनी प्रश्न राख्नुभयो ।
सन् १८२५ डिसेम्बर २६ को दिन सेन्ट पिटर्सवर्गको सिनेट चोकमा ३ हजार विद्रोही सेना उपस्थित थिए । तिनीहरूलाई जारका ९ हजार सेनाले घेरा हालेका थिए । आत्मसमर्पण गर्न पठाइएका दूतको लाश फिर्ता पठाइयो । विद्रोह दबाइयो । एक जर्नेल, १८ अफिसर र २८२ सिपाही मारिए । १२१ जनालाई सदाको लागि साइबेरिया पठाई कालापानीको सजाय दिइयो । अभियुक्त मानिएका क्रान्तिकारीहरू १२१ जनाको उमेर सालाखाला २७ वर्ष थियो ।
हिँडाएर लगिएका विद्रोहीहरू पिटर्सवर्गबाट गएको १ वर्षपछि मात्र पुगे । ती क्रान्तिकारीहरूमध्ये धेरैलाई सरकारी भेडागोठ र घोडाको तबेला सफा गर्न दिइन्थ्यो । अधिकांशले अत्याचारसामु हार मानेनन् । तिनीहरूले गाउँका जनताको निम्ति प्राथमिक विद्यालय स्थापना गरे ।
सम्भ्रान्त परिवारका क्रान्तिकारीहरूका परिवार, आमा र दिदीबहिनीहरू आफ्ना आफन्तहरूको हेरचाह गर्न साइबेरिया पुगेका थिए । एघार जना महिलाहरू आफ्ना पतिका लागि साइबेरिया बसाइँ सरे भने ७ जना क्रान्तिकारीहरूका आमा र दिदी–बहिनी पनि त्यहाँ पुगेका थिए । ती क्रान्तिकारी महिलाहरूको दुःख कष्टकर थियो । लेनिनको नेतृत्वमा क्रान्ति गर्न रुसी जनताले ७५ वर्ष पर्खनुपर्यो । सन् १९१७ मा लेनिनको नेतृत्वमा पहिलाको गल्तीहरूबाट ज्ञान लिएर व्यवस्थितरूपमा समाजवादी क्रान्ति गरी सारा कामदार जनताको स्वर्ग प्राप्त गरे ।
उक्त अन्तरक्रियात्मक छलफल कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य कृष्णकुमार वैद्य, नेमकिपाका केन्द्रीय वैकल्पिक सदस्य एनवी श्रेष्ठ, नेक्रायुसङ्घका केन्द्रीय कोषाध्यक्ष जगतराम धुख्वा, नेक्रायुसङ्घ काभ्रेका अध्यक्ष एवम् केन्द्रीय सदस्य ओमप्रसाद मानन्धर र नेक्राविसङ्घ, काभ्रेका राजु तामाङले सहभागिता जनाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *