भर्खरै :

इजरायली लडाकु विमानहरूको निशानामा अर्को संयुक्त राष्ट्र सङ्घीय विद्यालय

इजरायली लडाकु विमानहरूको निशानामा अर्को संयुक्त राष्ट्र सङ्घीय विद्यालय

गाजासिटी, ९ जुलाई (प्रेस टीभी) । इजरायली सेनाले मध्य गाजापट्टीको नुसेरात शरणार्थी शिविरमा संयुक्त राष्ट्र सङ्घीय शरणार्थी मामिला निकायद्वारा सञ्चालित अर्को विद्यालयलाई आक्रमणको निशाना बनाएको छ र आक्रमणमा परी धेरै जना हताहत भएका छन् ।
गाजापट्टीमा नरसंहारकारी युद्ध दसौँ महिनामा प्रवेश गर्दा संयुक्त राष्ट्र सङ्घीय शरणार्थी मामिला निकायले ठुलो सङ्ख्यामा विस्थापित मानिसहरूलाई शरण दिइराखेको विद्यालयमा मङ्गलबार बिहान विध्वंसक आक्रमण भएको थियो ।
प्यालेस्टिनी चिकित्सा स्रोतहरूले मध्यरातमा नुसेरात शरणार्थी शिविरको एक प्राथमिक विद्यालयमा इजरायली बमबारीमा १५ प्यालेस्टिनी सर्वसाधारणको मृत्यु भएको बताएका छन् ।
संयुक्त राष्ट्र सङ्घीय शरणार्थी मामिला निकायद्वारा सञ्चालित विद्यालय हमास लडाकुहरूले कमान्ड सेन्टरको रूपमा प्रयोग गरेको आरोप लगाउँदै इजरायली सेनाका लडाकु विमानहरूले ‘स्कूल कम्प्लेक्स’ मा आक्रमण गरेका थिए ।
यसैबिच, इजरायली लडाकु विमानहरूले गाजाका विभिन्न क्षेत्रमा आक्रमण गर्दा १६ प्यालेस्टिनीको मृत्यु भएको खबर वाफा समाचार एजेन्सीले जनाएको छ ।
इजरायली विमानले नुसेरात शरणार्थी शिविर नजिक रहेको फ्रेह परिवारको घरमा बमबारी गर्दा कम्तीमा सात जनाको मृत्यु भएको प्यालेस्टिनी सञ्चारमाध्यमहरूले जनाएका छन् । अन्य धेरै घाइते भएका छन् र केही व्यक्ति अझै बेपत्ता छन्, उनीहरू भग्नावशेषमुनि हराएको अनुमान छ ।
उत्तरी गाजा सहरको अल–घाफरी जंक्शन नजिकै जला स्ट्रिटमा रहेको एउटा घरमा अन्य ६ जनाको मृत्यु भएको छ । त्यहाँको भग्नावशेषबाट एक शिशुलाई जीवितै उद्धार गरिएको छ । उत्तरी गाजा सहरको लबाबिदी क्षेत्रमा अन्य तीन जनाको मृत्यु भएको छ ।
इजरायली तोपखानाले गाजा सहरको अल–शिफा अस्पताल र रफाह सहरको पश्चिमी भागमा पनि आक्रमण गरेको थियो ।
संयुक्त राष्ट्र सङ्घीय शरणार्थी मामिला निकायका विद्यालयमा मङ्गलबारको आक्रमण गाजामा संयुक्त राष्ट्र सङ्घको पूर्वाधारमाथि आक्रमणको पछिल्लो घटना हो, जहाँ अक्टोबरदेखि विश्व निकायद्वारा सञ्चालित ४५० भन्दा बढी भवनहरू आक्रमणमा परेका छन् ।
सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै संयुक्त राष्ट्र सङ्घीय शरणार्थी मामिला निकाय (UNRWA) ले संयुक्त राष्ट्र सङ्घका पूर्वाधारहरूमाथि कुनै पनि आक्रमणलाई ‘आश्चर्यचकित पार्ने’ र ‘अन्तर्राष्ट्रिय मानवीय कानुनको स्पष्ट उपेक्षा’ भनेर निन्दा गरेको छ ।
संयुक्त राष्ट्र सङ्घीय शरणार्थी मामिला निकायका कमिश्नर जनरल फिलिप लाजारिनीले आइतबार एक्समा एक पोस्टमा भन्नुभयो कि युद्ध सुरु भएदेखि, आधाभन्दा बढी (वा १७०) राष्ट्रसङ्घीय पूर्वाधारहरूमाथि प्रत्यक्षरूपमा बम हमला गरिएका छन् र परिणामस्वरूप धेरै बालबालिका र महिलाहरूसहित ५२० जना मानिसहरू मारिएका छन् । केही सुरक्षा खोज्दा मारिएका र लगभग १६०० जना घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *