क्युवाद्वारा स्थानीय अर्थतन्त्रलाई निजी क्षेत्रका लागि थप खुला गर्न सुधारका योजनाहरू सार्वजनिक
- असार ५, २०८३
प्रजग कोरियाको लक्ष्य र उद्देश्य मुख्यतया तीन वटा देखिन्छ – देशको सुरक्षा, समाजवादको रक्षा र विकास तथा कोरियाको पुनः एकीकरण । यसको लागि प्रजग कोरियाले स्थापनादेखि आजसम्म कोरियाली मजदुर पार्टी, नेतृत्व, सरकार र जनता एकमनले लागिरहेका छन् । त्यसको विरुद्ध लाग्ने साम्राज्यवादका नाइके संरा अमेरिका, उसको कठपुतली दक्षिण कोरियाको सरकार, संरा अमेरिकाका पिच्छलग्गू जापानलगायत जोसुकैलाई दृढताका साथ भन्छन्, “वार्ता भए वार्ता, युद्ध भए युद्ध ।”
सन् १९५०–५३ को कोरिया युद्धदेखि कोरियाली प्रायःद्वीपमा युद्धको कालो बादल आजसम्म मडारिरहेको छ । नाकाबन्दीले प्रजग कोरियालाई निकै सकसमा पारिरहेको छ । तर, आफ्नो लक्ष्य र उद्देश्यमा कोरियाली मजदुर पार्टी, सरकार र जनता रत्तिभर हच्केका छैनन्, विचलित भएका छैनन् ।
साम्राज्यवादी अमेरिकाले झन्डै डेढ दर्जन मतियार देशको साथ लिएर प्रजग कोरियामाथि हमला गरेको थियो, तीन वर्षसम्म । प्योङयाङमा एउटा सङ्लो इँट बाँकी थिएन । प्योङयाङ सहरलाई पूर्ववत अवस्थामा ल्याउन सय वर्ष लाग्ने तिनीहरूले भविष्यवाणी गरेका थिए । तर, तीन–चार दशकमै प्योङयाङलाई विश्वकै एक उत्कृष्ट सहर बनाए भने समग्र प्रजग कोरियाको विकास निर्माण तीव्रगतिमा भयो । समाजवादी व्यवस्थाले देश र जनताको कल्याण कसरी गर्छ भन्ने एउटा सदृश्य प्रमाण प्रजग कोरिया भएको छ ।
समाजवादको विकासमा बाधा पु¥याउन साम्राज्यवादी अमेरिकाले दक्षिण कोरियामा विभिन्न हतियारसहित ठुलो सङ्ख्यामा सेना तैनाथ गरेको छ । विभिन्न सैनिक अभ्यास गर्दै प्रजग कोरियामाथि आक्रमण गर्ने धम्की र तयारी गरिरहेको छ । यस्तो जटिल परिस्थितिमा प्रजग कोरियाले समयमै प्रतिरक्षाको तयारी गरेन भने ठुलो दुर्घटना हुनसक्छ । यसैलाई दृष्टिगत गरी प्रजग कोरियाले आधुनिक र अत्याधुनिक हतियार विकास गर्न थालेको र सफल परीक्षण गरेको समाचार पत्रपत्रिकामा हामीले बरोबर पढेका छौँ । प्रजग कोरियाले हालै धेरै सङ्ख्यामा विस्फोटक पदार्थ बोक्न सक्ने क्षेप्यास्त्रको सफल परीक्षण गरेको समाचार हामीले पढेका छौँ । नाकाबन्दीबिच पनि देश, समाजवाद र जनताको रक्षाको लागि विभिन्न प्रकार र क्षमताको अस्त्र परीक्षणलाई तीव्रता दिएको छ । प्रजग कोरियाले विकास गरेको अस्त्रको क्षमतामात्र होइन प्रविधि पनि निकै विकास गरेको विज्ञहरू बताउँछन् । ती विज्ञका अनुसार सजिलै प्रक्षेपण गर्न सकिने तर शत्रुलाई त्यो पत्ता लगाउन कठिन हुने प्रविधिको छ । यसले क्षेप्यास्त्र प्रतिरोधी आक्रमण गर्न शत्रुलाई कठिन हुनेछ ।
त्यस्तै, प्रजग कोरियाले विकास गरेको क्षेप्यास्त्रको मार हान्ने क्षमता पनि निकै बढाएको छ । हाइपर सोनिक, क्रुज, पनडुबीबाट मार हान्ने, ह्वासङ आईसीबीएम आदि क्षेप्यास्त्रले सिउल, जापानमात्र होइन अमेरिकाको कुनै पनि स्थानसम्म मार हान्न सक्ने क्षमताका छन् । त्यसैले, प्रजग कोरियाका नेता किम जङ उनले देश, समाजवाद र जनताको रक्षाको लागि ‘अजेय सेना’ बनाउने प्रण गर्नुभएको छ ।

तेस्रो विश्वको, त्यसमाथि एक समाजवादी देशले रहरले होइन बाध्यताले गरेको सस्त्रअस्त्रको विकासलाई साम्राज्यवादी र पुँजीवादी देशहरूलाई असह्य भएको छ । यसमा संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्, आईएईएलगायतले चिन्ता व्यक्त गर्ने गर्छन् । तर, यो कुनै नौलो कुरा होइन ।
धेरै वर्षपहिले नै हामीले पढे–सुनेका थियौँ– पृथ्वीलाई ४० पटक ध्वस्त पार्न पुग्ने हतियार यही पृथ्वीमा छ । त्यति ठुलो परिमाणको हतियार विकासोन्मुख देशले होइन विकसित देशले नै थुपारेको हो । ती विकसित देश नै हतियार निर्माणमा प्रतिस्पर्धा गर्छन्, विकासोन्मुख देशमा आक्रमण गर्न प्रयोग गर्छन्, छिमेकी देशलाई भिडाएर हतियारको व्यापार गर्छन् र अकुत नाफा कमाउँछन् । अनि तेस्रो विश्वका देशले आत्मरक्षाको लागि हतियार निर्माण गरे ‘खतरा’ देख्छन् । त्यसमा पनि भारतले आणविक हतियार बनाए वक्तव्यमा चिन्ता व्यक्त गर्छन्, पाकिस्तानले त्यस्तै हतियार बनाए नाकाबन्दीको धम्की दिन्छन्, इरानले बनाए नाकाबन्दी लगाउँछन्, आफ्नो तखतमा नबस्ने इराकलाई आईएईएको झूटा रिपोर्टलाई आधार बनाएर हमला नै गर्छन् । यसरी विकसित देशले हतियार निर्माण गर्न हुने तर विकासोन्मुख र समाजवादी देशले निर्माण गर्न नहुने भाष्यलाई परिवर्तन गर्नुपर्छ । हतियार घातक वस्तु भएकोले कसैले पनि बनाउनु हुँदैन, निःशस्त्रीकरण धेरै हतियार भएका देशले पालना गरेपछि मात्र थोरै भएकाले गर्नुपर्ने मान्यता राख्नुपर्छ ।
हालै रुस र प्रजग कोरियाबिचको सम्बन्धले विश्व राजनीतिमा नयाँ आयाम थपेको छ । ती दुई देशले गरेको एकले अर्काेलाई सहयोग गर्ने सम्झौताले साम्राज्यवादी र पुँजीवादी देशहरूमा चिन्ता थपेको छ । ती दुई देशको सम्बन्धलाई खतरनाक सम्बन्धको संज्ञा दिइएको छ । युद्धरत रुसलाई प्रजग कोरियाले सहयोग गरेकोलाई मन नपराउनेहरू दक्षिण कोरियाले युक्रेनलाई सहयोग गरेकोलाई भने ‘स्वाभाविक’ ठान्दछन् ।
तर, साम्राज्यवाद र तिनका पिच्छलग्गूहरूलाई तह लगाउन भएको प्रजग कोरिया र रुसबिचको सम्बन्ध सुमधुर हुँदै जाओस्– हाम्रो कामना छ ।
(कोरिया जनतासँगको ऐक्यबद्धता समिति नेपालद्वारा शुक्रबार प्रजग कोरियाका महान् नेता किम इल सङको ३० औँ स्मृति दिवसमा आयोजित ‘स्मृतिमा किम इल सङ’ पुस्तक सार्वजनिकीकरण तथा प्रवचन कार्यक्रममा स्रष्टा समाजका अध्यक्ष लक्ष्मण जोशीद्वारा व्यक्त मन्तव्य–सं.)
Leave a Reply