भर्खरै :

कम्युनिस्ट

कम्युनिस्ट

कम्युनिस्ट हुनु भनेको
जनतालाई रैती ठानी
आफू मालिक बनेर हैकम चलाउनु होइन,
चोकको सालिक बनेर क्रान्तिको इतिहासमा
ढुङ्गाझैँ उभिनु पनि होइन ।

कम्युनिस्ट हुनु भनेको
महलको सपना देख्नु होइन,
कुर्सीकै लागि इमान बेच्नु होइन,
हावाको दिशा हेरी झण्डाको रङ्ग फेर्नु पनि होइन ।

कम्युनिस्ट हुनु त
आँधी हुनु हो
सडेर ढल्न ठिक्क परेका
वर्ग–विभेदका पुराना खम्बाहरू
एकै झट्कामा भत्काइदिनु हो ।

सपनाको बन्चरोले शोषणको जरा काट्नु हो,
अन्याय र अत्याचारको अँध्यारोमा
विद्रोहको आगो बाल्नु हो ।

कम्युनिस्ट हुनु भनेको
यो धर्तीको माटो,
यो नदीको बहाव,
यो कारखानाको धुवाँ र
श्रमिकका पसिनाका थोपाहरू
मुट्ठीभरका साहुहरूको खल्तीबाट
निकालेर सबैको साझा सम्पत्ति बनाउनु हो ।

मान्छेले मान्छेलाई रैती बनाउने
महलहरू भत्काएर,
श्रमिकको घाँटीमा कसिएका
अदृश्य साङलाहरू चुँडाल्नु हो ।

कम्युनिस्ट हुनु भनेको
आफ्नो सत्ता जोगाउन
बिचौलियाको छहारी खोज्नु होइन,
दलालहरूको मुस्कानमा क्रान्तिको
रातो रङ्ग बेच्नु होइन ।

मजदुरको पसिना चुसेर मोटाएकाहरूसँग
हात मिलाउनु,
बात मिलाउनु,
भाग मिलाउनु होइन ।

कम्युनिस्ट हुनु त
पुँजीवादको त्यो विषालु रुखलाई
जरैदेखि उखेल्नु हो
इतिहासले मागेमा त्यसको मूल्य
चुकाएरै भए पनि,
भोका पेटहरूका निम्ति
समाजवादको ढोका उघार्नु हो ।

बरु
आफ्नै शासनका विरुद्ध
आफै शासकका विरुद्ध
शिक्षित र सक्षम जनता जन्माउनु हो
शासकबिहीन साम्यवाद भित्याउनु हो ।

कम्युनिस्ट हुनु भनेको
बस–
‘म’ को सानो संसार भत्काएर,
‘हामी’ को विशाल आकाश
अन्माउनु हो ।

पृथ्वीसँग धैर्यताको बात मार्नु हो
समुद्रलाई गहिराइको पाठ सिकाउनु हो
चन्द्र सूर्यलाई समानता पढाउनु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *