भर्खरै :

एसईई दिएर बसेका भाइबहिनीहरूलाई सुझाव राजनीतिक चेतनाबाट सिञ्चित गर्दै जानु आवश्यक

एसईई दिएर बसेका भाइबहिनीहरूलाई सुझाव राजनीतिक चेतनाबाट सिञ्चित गर्दै जानु आवश्यक

एसईईमा राम्रो नतिजा ल्याएर उत्तीर्ण हुने विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई ज्ञापन तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु । विभिन्न विद्यालयका प्रधानाध्यापक, विषयगत शिक्षक साथी र विद्यालय परिवारहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु । आगामी दिनमा योभन्दा राम्रो नतिजाको निम्ति आजैबाट प्रयास थाल्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।
प्रारम्भमै विद्यार्थी भाइबहिनीहरूलाई एउटा सुझाव दिन्छु, अबदेखि एउटा कलम र एउटा डायरी बोक्ने बानी बसालौँ ! अनि केही टिप्ने बानी, राम्ररी धैर्यपूर्वक सुन्ने बानी, सङ्ग्रह गर्ने बानी गरौँ ! आफ्नो सिकाइ प्रक्रियालाई निरन्तर गति दिने प्रयास गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।
अङ्ग्रेजीमा भन्ने चलन छ, Know thyself अर्थात्, आफूले आफैँलाई चिन्नुहोस् । जो–जसले आफैँलाई चिन्नेछन् ती विद्यार्थी भाइबहिनीहरूले गल्ती कममात्र गर्नेछन् । जसले आफूलाई चिन्ने कुरामा कमजोरी देखाउँछ तिनीहरूले कहिले कस्तो दुर्घटना बेहोर्नुपर्ला, ठेगान हुँदैन । यो अर्ती तथा उपदेश होइन । यो संसारमा प्रचलित कुरा मैले सुनाएको मात्र हो । उच्च शिक्षामा विषय र कलेज छनोट गर्ने बेलामा यो भनाइलाई आत्मसात गर्नुहोला । त्यसको अर्थ आफ्नो क्षमता चिन्नु, आफ्नो अवस्था बुझ्नु र आफ्नो परिवेश चिन्नु भन्ने पनि हो ।
अर्को, ‘Honesty is the best policy.’ यदि आफूले आफैँप्रति इमानदार बन्न चुक्नुभयो, भुल्नुभयो भने गल्ती—कमजोरीहरू, असफलताहरू कति होलान् त्यो भन्न सकिन्न । त्यसकारण, इमानदार बन्नु सबैभन्दा राम्रो हो । यो अत्यन्त प्रचलित कथन हो । देश र समाजप्रति इमानदार बन्नका निम्ति आज आफैँप्रति आफू इमानदार बन्नुपर्छ ।
‘Self help is the best help.’ आफूले आफैँलाई सहयोग गर्नुहोस् । अब आउने दिनमा आफूले आफैँलाई सहयोग गर्नुभएन, अरूको भर र आशा गरिराख्नुभयो भने पछाडि परिनेछ । बुबाले गरिदिनुहोला, आमाले गरिदिनुहोला, गुरूबा–गुरूआमाहरू फेरि पनि एसईईमा जस्तै सँगसँगै आउने हुनेछ भनेर मनमा राख्नुभयो भने सा¥है ठुलो समस्या वा कमजोरी हुनेछ ।
आफूले आफैँलाई ‘टपर’ भनेर कहिले पनि विभूषित नगर्नुहोला र तपाईँभन्दा पनि फरक क्षमता र प्रतिभा भएका अरु धेरै हुने सम्भावना सधैँ रहन्छ ।
एसईईको बधाई कार्यक्रममा पुग्दा विद्यार्थीहरूमा एउटा अभाव महसुस गर्छु । त्यो हो ‘ग्राटिट्युड कल्चर’ अर्थात् आफ्ना गुरूजन, आफ्ना आमाबुबा, आफ्ना अग्रज तथा सहगोगीहरूप्रति आभार प्रकट गर्ने, कृतज्ञता ज्ञापन गर्ने विषयमा समस्या पाउँछु । आफूलाई त्यो ठाउँसम्म पु¥याउनको लागि सहयोग गर्नेप्रति ‘आभार’ को तीन अक्षर व्यक्त भएको कमैमात्र सुन्छु । त्यो गल्ती हामीले कहिले पनि नगरौँ ! यो संस्कारसँग सम्बन्धित कुरा पनि हो । जसले औँला समातेर तपाईँलाई हिँडाउनुभयो र लेख्न—पढ्न सिकाउनुभयो, ती सम्पूर्णप्रति, अग्रजहरूप्रति, आफूलाई सहयोग गर्ने सबैप्रति सम्मानभाव, आभार र कृतज्ञताको भाव तपाईँमा कम भयो भने तपाईँले पाएको शैक्षिक सफलताले अर्थ राख्दैन । तपाईँको व्यवहारमा एउटा ठुलो प्रश्न चिह्न खडा हुन्छ । यस विषयमा शिक्षक, प्रअ, विद्यार्थी र अभिभावकहरू सबै मिलेर काम गर्न आवश्यक छ भन्ने लाग्दछ । संस्कार भनेको एकैबाजी आउँदैन । त्यो रगत–रगतमा बग्नुपर्ने कुरा हो । व्यवहार, संस्कार, सु–संस्कृतिको कुरा किताबमा पढेर मात्र जानिने होइन । यो भनेको अभ्यास गरेर, कार्यक्षेत्रमा गएर सिक्नुपर्ने, मनैदेखि बुझ्नुपर्ने र लागु गर्नुपर्ने कुरा हो ।
अब आउने दिनमा व्यक्तित्वको विषयमा अलिकति सतर्क रहनुस् भन्ने म आग्रह गर्न चाहन्छु । सबै विद्यार्थी भाइबहिनीहरूले भित्री र बाहिरी व्यक्तित्वमा सन्तुलन मिलाएर अगाडि बढ्न सकेको खण्डमा सुनमा सुगन्ध हुनेछ ।
हामीलाई प्रकृतिले दुईवटा कान दियो । त्यसको अर्थ हो, धेरै सुन्नुस् । एउटा जिब्रो दियो । त्यसको अर्थ हो, कम बोल्नुस् । दुईवटा आँखा दियो । चारैतिर हेर्नुस्, बुझ्नुस् । हाम्रो समाजले दुईवटा आँखाले पुग्दैन, जीउभरि आँखा राखेर हिड्नुस् भन्छ । तपाईँहरूले अब आउने दिनमा पूर्वसावधानी र अत्यन्त होसियारीपूर्वक पाइला चाल्ने, होसियारीपूर्वक बोल्ने, होसियारीपूर्वक व्यवहार गर्नेजस्ता कुरा अगाडि बढाउनु आवश्यक छ ।
वर्तमान नेपाली समाजमा विशेषगरी नयाँ पुस्ताबिच सदाचार र शिष्टाचारमा समस्या देखियो भनी बरोबर चिन्ता व्यक्त गरिन्छ । हामीले विद्यार्थीहरूलाई सदाचार किन दिन सकेनौँ ? विद्यालय र शिक्षकले मनन गरौँ ! हाम्रो शिक्षा प्रणाली, विद्यालय, पाठ्यक्रम वा हाम्रो सामाजिक परिवेशमा कहाँनिर समस्या छ ? त्यो विषयमा हामीले ध्यान पु¥याउन आवश्यक छ । परीक्षाको नतिजामा धेरै–धेरै माथि पुग्ने तर व्यवहारमा निकै कमजोर ! त्यो एकप्रकारको असन्तुलन र समस्या हो । त्यो विडम्बना हो !
तपाईँले कति जीपीए ल्याउनुभयो त्यो ठुलो कुरा होइन । तपाईँलाई योभन्दा तीतो लाग्ला ! कक्षा ११ र त्योभन्दा माथिको चुनौती र सङ्घर्षमा त्यो जीपीएले थोरै मात्र अर्थ राख्नेछ । अबका दिनहरूमा आफैँले कति कडा मेहनत गर्नुहुन्छ, त्यसले अर्थ राख्नेछ । त्यसकारण, अल्बर्ट आइन्स्टाइनले एकचोटि भनेका थिए, “विद्यालय जीवनमा तपाईँले पढेका कुरा बिर्सिसकेपछि तपाईँसँग जेजति बाँकी रहन्छ त्यो नै शिक्षा हो ।” यो फरकखालको परिभाषा हो ।
तपाईँको जीपीएभन्दा पनि तपाईँको विवेक महत्वपूर्ण हुनेछ । तपाईँको जीपीएभन्दा पनि तपाईँको आचरण महत्वपूर्ण हुनेछ । तपाईँको जीपीएभन्दा पनि तपाईँको बुद्धिमत्तापूर्ण निर्णय क्षमता महत्वपूर्ण हुनेछ । तपाईँको मानसिक तथा शारीरिक स्वास्थ्यले धेरै कुराको छिनोफानो गर्नेछ ।
अर्को, Be true to yourself. असाध्यै गा¥हो काम यही हो । आफूले आफैँलाई नठग्नु, नढाँट्नु र आफूप्रति आफैँ इमानदार बन्नु भनेको सफलताको निम्ति आधार तयार पार्नु हो । आफ्नो काममा र लक्ष्यमा मनैदेखि समर्पित हुनुहोस् !
विद्यार्थीहरूसँग सधैँ दुईवटा चुनौती अगाडि हुन्छन् । एउटा ‘Inferiority complex’ बाट जोगिने र अर्को ‘Superiority complex’ बाट जोगिने । यी दुईवटै समस्याबाट हामी जोगिनैपर्छ । अहम् भाव र आफूलाई सा¥है तुच्छ ठान्ने, यी दुईवटै खतरनाक हुन्छन् । अहङ्कारी बन्नु पनि खतरनाक एवम् आत्मघाती हुन्छ र म त केही सक्दिनँ, म त केही जान्दिनँ, मसँग केही छैन भन्ने हिनताभाव, त्यो पनि खतरनाक हुन्छ । तसर्थ, सन्तुलनमा राख्न सकेमा हामी ठीक ठाउँमा ठीक समयमा पुग्न सक्नेछौँ ।
अहिलेको अर्को चिन्ताको विषय के छ भने हामी पुस्तक अध्ययन संस्कृतिमा पछाडि प¥यौँ । हामी जीपीएको होडबाजीमा लाग्यौँ । प्राविधिक अर्थात् येनकेन प्रकारेण परिणाम देखाउने भनी महत्वाकाङ्क्षी भयौँ । यो खतरा हो । एसईई उत्तीर्ण गर्नुभएका विद्यार्थी भाइबहिनीहरूले मनमा राख्नुहोला, १३ वर्षमा कतिवटा किताब हामीले पढ्यौँ ? कतिवटा हामीले गीत गायौँ ? कतिवटा नाच नाच्यौँ ? कतिवटा खेल खेल्यौँ ? कति ठाउँमा पुग्यौँ ? के के सीपको विकास ग¥यौँ ? सिर्जनात्मक क्षेत्रमा हामीले कति समय बितायौँ ? साहित्य अध्ययन तथा साहित्य लेखनको क्षेत्रमा कहाँ छौँ ? यो अत्यन्त गम्भीर विषय हो । खाली टेक्स्ट बुक, टेक्स्ट बुक, टेक्स्ट बुक ! त्यो टेक्स्ट बुकले मात्र पु¥याउँछ कहाँ ? भाषिक सुधार तथा अभिव्यक्ति कलाको विकासका निम्ति साहित्य अध्ययन, पुस्तक अध्ययन तथा सिर्जनात्मक गतिविधिमा हामी कतातिर छौँ ? आत्ममूल्याङ्कनको विषय छ । कहिलेकाहीँ कुरा उठ्छ । ४ जीपीए ल्यायो । ठिकै छ । ३.९५ ल्यायो, ठिकै छ । आपत्ति छैन । तर, ती विद्यार्थीले कतिवटा नाच नाचे ? कतिवटा खेल खेले ? कतिवटा कविता लेखे ? कतिवटा गीत गाए ? कति वटा बाजा बजाउन सिके ? कतिवटा गतिविधिमा सहभागिता जनाए ? सेवामूलक गतिविधिमा कति भाग लिए ? सबै कुरा ग्रेडसिटबाट प्रस्ट पार्न सम्भव नहोला । तर, महत्वपूर्ण कुरा यही हो । त्यसकारण, जीवनोपयोगी सीप र त्योखालको प्रतिभाको कदर हुन आवश्यक छ । त्यतातर्पm राज्यले ध्यान पु¥याएको देखिन्न । यद्यपि, हामीले विद्यार्थी भाइबहिनीहरूलाई त्यतातर्पm उत्प्रेरित गर्न अति आवश्यक छ । अन्यथा, हाम्रा विद्यार्थी भाइबहिनीहरूले धेरै पढ्न—लेख्न सक्लान् तर जीवनसङ्घर्षमा खर्रो उत्रन नसक्नेखालका बन्नेछन् । हामीले चाहेको नक्कली डाक्टर होइन । हामीले खोजेको भ्रष्ट इन्जिनियर होइन, घूसखोर न्यायाधीश होइन, विवेकहीन वकिल होइन, कर्तव्यच्युत शिक्षक खोजेको होइन, कामचोर कर्मचारी होइन । हामीले क्षमतासहितका असल नागरिक चाहेका हौँ ।
अहिले हाम्रो कर्मचारी प्रशासन भ्रष्टाचारको कारण बद्नाम हुँदै छ । अहिले करोडमा होइन, अर्ब–अर्बमा भ्रष्टाचार भइरहेको बरोबर खबर आउँछ । कसले ग¥यो ? हिजोकै विद्यार्थीहरूले । न्यायाधीशहरू घूस खान्छन् भनेर सुन्छौँ । हिजो कुन स्कूलबाट तिनीहरू पास भएका होलान् ? डाक्टरहरूले दिनै नमिल्ने औषधि लेखेर कमिसन लिन्छन् भन्ने गुनासा सुन्छौँ । तसर्थ, एसईईको राम्रो रिजल्टसँगै हाम्रा भाइबहिनीहरूलाई असल एवम् योग्य बनाएर समाजप्रति उत्तरदायी तथा देशप्रति जिम्मेवार नागरिक तयार गर्न आवश्यक छ ।
यो वर्षको एसईईमा हरेक १०० जनामा हाम्रा ५३ जना साथीहरू पास भएनन् । यो गम्भीर समस्या होइन ? त्यति धेरै विद्यार्थी भाइबहिनीहरूले किन उत्तीर्णाङ्क पाउन सकेनन् । एसियाली विकास बैङ्क, विश्व बैङ्क या विभिन्न दात्तृ निकायले हाम्रा केटाकेटीहरूलाई कसरी परीक्षणको वस्तु बनाउँदै छन् ? विदेशीका कुरालाई जस्ताका तस्तै लागु गर्ने लाचार शिक्षामन्त्रीहरू, लाचार प्रधानमन्त्रीहरू हामीले कसरी पायौँ ? हामीले किन निर्वाचित ग¥यौँ ? यो सा¥है चिन्ताको विषय हो ।
कुनै पनि देशको भविष्य नास गरिदिने हो भने शिक्षामा आक्रमण हुन्छ । विद्यालय शिक्षामा हमला हुन्छ । किन्डरगार्टनहरूमा हमला हुन्छ । हाम्रो देशमा एसईई रिजल्टको नाममा जुन हमला भयो त्यो स्वाभाविक खालको हमला होइन । यसमा शिक्षकमात्र दोषी म भन्दिनँ, विद्यालयमात्र दोषी पनि भन्दिनँ, प्रअमात्र दोषी पनि म भन्दिनँ । बृहत्तर ढङ्गमा यसलाई हेर्ने यो देशमा अहिलेसम्मका शिक्षामन्त्रीहरू दोषी छन् । अहिलेसम्म प्रधानमन्त्री बन्ने र सरकारमा जाने दलहरूले यसको जिम्मेवारी लिनुपर्छ । २ लाख ५२ हजार अनुत्तीर्ण हुँदा तिनीहरूलाई लाज लाग्नुपर्ने हो । अन्तर्राष्ट्रिय क्षेत्रमा कस्तोखालको सन्देश गयो होला ? कति परिवारले धिकारे होलान् ? यो विषयमा पनि विद्यार्थी र शिक्षकहरूले सोचौँ ! यस विषयमा व्यापक छलफल गरौँ !
विशेषतः सामुदायिक विद्यालयको वस्तुस्थितिबारे यहाँ धेरै कुरा सुन्यौँ । सामुदायिक विद्यालयको विषयमा हामीले सोच्नैपर्छ किनभने राज्यको ठुलो लगानी यसैमा छ । सामुदायिक विद्यालयहरू असफल भएको खण्डमा देश असफल हुने स्थितिमा जान सक्दछ । हाम्रो चिन्ता र पहिलो सरोकारको विषय हाम्रा सामुदायिक विद्यालयहरू हुन् । हाम्रा केही सामुदायिक विद्यालयहरूबारे छलफल हुँदा तीतो प्रतिक्रिया सुन्छौँ : ‘उत्कृष्ट हेडमास्टरको निकृष्ट परिणाम’ ! यस्तो आलोचना किन आयो थाहा भएन ! कुन–कुन विद्यालयको सन्दर्भ हो, त्यो पनि थाहा भएन ! हाम्रो विद्यालयको रिजल्टको जिम्मेवारी हामीले लिनुपर्छ । हाम्रो विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले सिंहावलोकन गर्नैपर्छ ।
गम्भीरतापूर्वक यसमा शल्यक्रिया गर्न आवश्यक छ र यो सोचनीय तथा गम्भीर विषय जरूर हो । कहाँनिर कमजोरी छ त्यो नखुलाइकन अब हामीले समाधान गर्न सक्दैनौँ । एकजना विद्यार्थी फेल भएसम्म मेरो जिम्मेवारी छ, म उतार्छु भन्ने प्रणका साथ हामी अगाडि बढ्नुपर्दछ ।
एसईई रिजल्टकै सन्दर्भलाई लिएर केही दिनअगाडि भक्तपुरका प्रधानाध्यापकहरूको भेला भएको सुन्यौँ । अहिलेको संविधानले ‘जिल्ला शिक्षा कार्यालय’ लाई अधिकार दिएको छैन । विद्यालयको नजिकको निकाय भनेको नगर शिक्षा शाखा हो, नगरपालिका हो । नगरपालिकालाई अवज्ञा या उल्लङ्घन गरेर कुनैपनि विद्यालयले काम गर्न मिल्दैन । यो कानुनी प्रावधान हो । कसैले ‘घोषणा’ भनेर सुनाउँदैमा त्यो घोषणा कोही सुन्नेवाला छैन । त्यस्तो घोषणाको कुनै अर्थ हुँदैन ।
सबैले आ–आफ्नो ठाउँबाट विद्यालय बनाउन मनवचन र कर्मले लाग्न आवश्यक छ । नगरले नगरगतरूपमा, विद्यालयले विद्यालयगतरूपमा प्रतिबद्ध भएर लाग्न सके प्रगति सम्भव छ । १७ वटा विद्यालयको संयुक्त परीक्षा समिति छ । त्यो परीक्षा समिति व्यवस्थितरूपमा लागेर गुणस्तर वृद्धिमा काम गर्न आवश्यक छ । उता संस्थागततिर इसान, एनप्याब्सन र प्याब्सन छन् । संविधानले नचिनेको संस्थालाई फेरि शक्ति प्रदान गर्ने षड्यन्त्र चल्दै छ, त्यसको खण्डन तथा विरोध गर्न आवश्यक छ । यो गम्भीर विषय हो । अहिलेको जिल्लाको शिक्षा प्रमुख को हुन् मलाई थाहा छैन । तर, ‘फुट गर र राज्य गर’ को नीति ल्याउन खोजेको हो कि अथवा भक्तपुरको शिक्षा क्षेत्रको सङ्घर्षबारे उनको अज्ञानता हो म जान्दिनँ । भक्तपुरमा ‘एक घर एक स्नातक’ को अभियान चलेको दुई दशक नाघिसक्यो । भक्तपुरले वास्तवमा कसैको मुख नताकी शिक्षाको क्षेत्रमा अगाडि बढेको हो । भक्तपुर आज शैक्षिक केन्द्र बन्दै छ । आज आएर कसैले बिनायोगदान जश लिन खोजिँदै छ ।
त्यो ‘घोषणा’ मा विद्यार्थीलाई ‘आनन्दित जीवन’ दिने भनेर लेखिएको रहेछ ¤ हाम्रो नेपाली समाजको अहिलेको आवश्यकता के हो ? विद्यार्थीहरूलाई नयाँनयाँ सङ्घर्षको निम्ति तयार गर्ने, प्रतिस्पर्धाको निम्ति तयार गर्ने, सेवाको निम्ति तयार गर्ने, इमानदार बनाउने हाम्रो उद्देश्य हुनुपर्छ । यो विषयमा पनि आदरणीय प्रधानाध्यापकहरूलाई अत्यन्त विनम्रतापूर्वक आग्रह गर्दछु । आगामी दिनहरूमा होसियारीपूर्वक पाइला चालौँ भनी म अनुरोध गर्दछु ।
हाम्रो अरू केही स्वार्थ छैन । हाम्रो स्वार्थ छ त हाम्रा नानीबाबुहरूलाई प्रतिस्पर्धामा उतार्ने, क्षमतावान बनाउने र सुयोग्य बनाउने । काठमाडौंका ठुला भनिएका स्कूलका विद्यार्थीहरूभन्दा हाम्रा विद्यार्थी कम नबनून् भन्ने भावना हामीमा हुनुपर्छ । अठोट हुनुपर्छ । त्यो सम्भव छ । प्रतिभा भनेको जन्मसिद्ध हुन्न । प्रतिभा भनेको विकास पनि हुँदै जान्छ । अवसरको कुरा हो । वातावरणको कुरा हो । त्यसको निम्ति उत्साहित गर्न र ऊर्जा दिन आवश्यक छ ।
अहिले यहाँ १७ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरू यहाँ उपस्थित छौँ । यी १७ वटा विद्यालयहरूले पनि अन्य धेरै शैक्षिक संस्थासँग मिलेर भक्तपुरलाई ज्ञान र विज्ञानको केन्द्र बनाउने उद्देश्यलाई मलजल गर्ने र टेवा पु¥याउने ढङ्गमा अगाडि बढिरहेका हौँ । मलाई थाहा छ, भक्तपुरका विद्यालयको एक प्रअज्यूले आफ्नो घरखेत धितो राखेर विद्यालयका लागि जग्गा किन्नुभयो । मलाई लाग्छ, त्यो सिपाडोलको एक विद्यालय हुनुपर्छ । त्यसरी बनाइएका र हुर्काइएका विद्यालय हुन्, हाम्रा । त्यसरी नै यो वागीश्वरी माविको इतिहासबारे मैले भनिरहनु पर्दैन । विसं २०१५ मा अरूबाट आश नगरी जनताले सुरू गरेको हो । जनताले नै यहाँसम्म पु¥याएको हो । त्यस्तै, यहाँ नजिकै समाज सुधार मावि छ । सबै विद्यालयहरू जनताद्वारा स्थापित, जनताद्वारा नै विकास गरिएका हुन् । त्यस्ता उदाहरण थुप्रै छन् । त्यस अर्थमा हामी बलियो सामाजिक जगमा उभिएका छौँ । हाम्रा आदरणीय प्रअलाई मेरो अनुरोध छ, हामीले रोेजेको बाटो भनेको तल्लो वर्गका विद्यार्थीहरूलाई माथि उठाउने वा गरीब, आर्थिकरूपमा विपन्न, पछाडि पारिएका विद्यार्थीहरूलाई राम्रो शिक्षा दिने, गुणस्तरीय शिक्षा दिनेनै हो । हाम्रो पहिलादेखिको उद्देश्य यही हो । त्यसबाट हामी विचलित नबनौँ ! सबैभन्दा ठुलो सेवाको काम के हो भने तल्लो वर्गका विद्यार्थीहरूलाई हरेक हिसाबले सक्षम बनाउने हो । शिक्षाको हिसाबले र जीवन सङ्घर्षमा खर्रो उत्रिन सक्ने बनाउने उद्देश्यमा हामी अगाडि बढौँ ! सबैभन्दा ठुलो धर्म त्यही नै हो । ठुलठुलाहरू, धनीमानी, नवसम्भ्रान्तहरूका छोराछोरीहरूलाई पढाउने, हेर्ने विद्यालयहरू त अरु छँदै छन् नि । तिनीहरूसँग हामीले सङ्घर्ष गर्ने हो । शिक्षा क्षेत्रको वर्गसङ्घर्ष भनेको यही नै हो । त्यो वर्गसङ्घर्षको निम्ति हामी तयार हुनुपर्छ । हाम्रा छोराछोरीहरूलाई तयार गर्नुपर्छ ।
शैक्षिक बिचौलियाहरूको यहाँ बिगबिगी छ । शैक्षिक बिचौलियाहरूबाट विद्यालयलाई जोगाऔँ ! शैक्षिक बिचौलियाको सिकार हुनबाट केटाकेटीलाई जोगाऔँ ! यो पनि सोचनीय विषय हो ।
अन्तिममा, पुनः एकपटक सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई आगामी दिनमा अझ मेहनत गरेर पढ्नुहोला भनी शुभकामना दिन्छु । मेरो समुदाय, मेरो देश, मेरा दाजुभाइ—दिदीबहिनीहरू र पछाडि पारिएका सबैप्रति ‘मेरो पनि जिम्मेवारी छ’ भन्ने भावका साथ पढ्नुहोला ! समय मिलाएर विभिन्न सिर्जनात्मक तथा चेतनामुलक गतिविधिमा भाग लिनुहोला ! आफैँलाई अलिअलि गरी राजनीतिक चेतनाबाट क्रमशः सिञ्चित गर्दै जानुहोला ! राजनीतिक चेतनाले विद्यार्थीहरूलाई जाँगरिला, फूर्तिला, कर्तव्यपरायण र असल नागरिक बनाउनेछ । राजनीतिक चेतना भएन भने हामी फेरि पनि पछाडि पर्नेछौँ । त्यसकारण, सम्पूर्ण भाइबहिनीहरू एकएक पाइला गरी देशलाई बुझ्ने, समाजलाई चिन्ने, आफ्नो कर्तव्य पूरा गर्नेखालको नागरिक बन्ने यात्रामा क्रमशः अगाडि बढ्नुहोला ! तबमात्र तपाईँको शिक्षाले थप सार्थकता पाउनेछ ।
(सार्वजनिक परीक्षा समिति, भक्तपुरद्वारा गत असार २८ गते आयोजित एसईईमा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले राख्नुभएको विचारको सम्पादित अंश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *