अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
पुँजीवादी सरकार छोड्नु पर्दा गर्जने, आक्रोश पोख्ने, देख्लास् भन्दै भैँसीको जत्रो आँखाले हेर्ने कम्युनिस्ट नेताहरूले समाजवादी मोर्चालाई सक्रिय बनाएर देशमा कम्युनिस्ट आन्दोलन अगाडि बढाउलान् ? सरकार छोड्नु पर्दा छटपटिने, पार्टी नै तहसनहस जस्तो हुने ठानी आक्रोश पोख्ने नेताहरूको अनुहार नुन खाएको कुखुरोझैँ भएकोमा के आश्चर्य ! सरकारमा बसिरहुञ्जेल समाजवादी मोर्चाबारे चासो नराख्ने र सत्ताबाट हटाइएपछि समाजवादीको चर्चा गर्ने दलका नेताहरू के साँच्चै कम्युनिस्ट होलान् ? समाजवादी आन्दोलन अघि बढाउने भन्ने कुरा कुनै नेताको लहैलहैमा हुने होइन । सत्ता छोड्नु परेको झोँकमा समाजवादी मोर्चालाई क्रियाशील बनाउने र कम्युनिस्ट दलहरू मिलेर जानुपर्ने कुरा लहडमा गर्ने होइन । सच्चा कम्युनिस्टहरू आफ्नो उद्देश्य पूरा नभएसम्म आमूल परिवर्तनको निम्ति जनताको घर आँगनमा पुगेर राजनीतिक शिक्षा दिनुपर्ने हो; जनतालाई सिद्धान्तबाट सुसूचित गरी सांस्कृतिक स्तर उठाउनुपर्ने हो ।
समाजवादी मोर्चाकै सन्दर्भलाई लिएर साउन ३ गतेको ‘कान्तिपुर’ दैनिकमा ‘प्रचण्ड सत्ताच्युतपछिको वाम आन्दोलन’, ‘प्रचण्डले किन सम्झिए समाजवादी मोर्चा ?’ शीर्षकका लेख र सम्पादकलाई चिठी छापिए । उक्त लेख र चिठीमा समाजवादी मोर्चालाई प्रचण्डले आफू सरकारमा हुँदासम्म कुरा नगरेको उल्लेख छ । राजनीतिक नैतिक बन्धन तोड्ने नेताहरूको अडान हुँदैन; उनीहरू सिद्धान्त र विचारको ख्याल गर्दैनन् । सरकारमा गएदेखि कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनको कुनै चासो नराख्ने, कुनै कम्युनिस्ट गतिविधि नगर्ने दलका नेताहरू विषम ज्वरोमा झैँ बर्बराएर कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्छ ? क्रान्तिकारी बाटो छोडेका माओवादी केन्द्रका नेताहरू कम्युनिस्ट पार्टीको बखान गरेर श्रमजीवीविरोधी देखिए, देशविरोधी देखिए । एमसीसी सम्झौता कुनै हालतमा नगर्ने भनी बाचा खाएका र सम्झौता गरेमा पार्टी नै छोड्ने वाचार गरेका माओवादी केन्द्रका नेताहरू कुर्सी मोहमा मौन रहे† सम्झौता गर्ने र सम्झौता पारित गर्ने नेताहरूसामु लत्रेर बसे ।
कम्युनिस्ट भनिने दलहरूकै नेतृत्वमा सरकार बन्दा जनताका आधारभूत खानेपानी निजीकरण गरियो । मोही कायम नहुँदै कृषकलाई मोही हकबाट वञ्चित गर्ने या जग्गाबाट निकाल्ने द्वैधस्वामित्व अन्त्य गर्ने नेकाको काममा एमालेले समर्थन गरेर किसानविरोधी काम ग¥यो । राजनीतिक पद र प्रतिष्ठालाई क्रय विक्रयको रूपमा लिने ती नेताहरूले बहुमत जनताको पक्षमा सेवा हुने नीति नियम बनाएर सेवा गर्लान् भन्ने विश्वास कसरी गर्ने ? कहिले काङ्ग्रेससँग र कहिले एमालेको काँधमा बुइँ चढेर सरकारको नेतृत्व गर्न पल्केका माओवादी केन्द्रका नेता दाहालमा इज्जत, प्रतिष्ठा र राजनीतिक चरित्रमा मात्र दाग लागेको होइन, उनमा कम्युनिस्ट गुण नै देखिँदैन । माओवादी केन्द्रका नेताहरू सच्चा कम्युनिस्ट हुन् भने समाजवादी गणतन्त्र स्थापना गर्न या आमूल परिवर्तनको बाटोमा लाग्नुपर्छ; कम्युनिस्टविरोधी भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवादको विरोधमा जनचेतना अभियान चलाउनुपर्छ । ल्याटिन अमेरिका, अफ्रिका र युरोपमा भइरहेको वामपन्थी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै युक्रेन र नरसंहारकारी युक्रेनको विरोधमा जुलुस, सभा, प्रदर्शन गरी जनतामा सुसूचित पार्नुपर्छ । वर्गसङ्घर्षविना देशमा आमूल परिवर्तन सम्भव छैन भन्ने वर्गीय भावना जगाउने र सिद्धान्तनिष्ठ बनाउने काममा कम्युनिस्टहरू जहिल्यै लागिरहनुपर्छ ।
सिद्धान्त र विचार तथा देश र जनताको सेवाभन्दा सत्ता प्यारो हुँदा एकपछि अर्काे सरकार बनिरहेको हो । सत्ता लोभले गर्दा नै अस्थिरता अघि बढ्दै गयो । सत्ता समीकरण बदल्न माओवादी केन्द्रका अध्यक्ष नै लागेका थिए । आफूले अर्काे दललाई विश्वासघात गर्दा अरुले भोगेको पीडा के पीडा होइन ? माओवादी केन्द्रले नेका र एमालेलाई धोका दिएकै हो । अब आफूलाई धोका दियो भनेर बर्बराएर हुन्छ ? कति राजनीतिक विश्लेषक र लेखकहरूले त माओवादी केन्द्रका अध्यक्ष दाहालको अभिमानी, अरुलाई तर्साएर प्रमको कुर्सी च्यापिरहने कुर्सीमोह र अडान फेर्ने प्रवृत्तिकै कारण यो नयाँ सत्ता समीकरण भएको अडकल गरेका छन् । माओवादी केन्द्रले सिद्धान्त र विचारको राजनीति नगरेको, क्रान्तिकारी बाटो छोडेको कुरा समाजवादी मोर्चामा रहेका अन्य दलहरूले बिर्सनु हुन्न । समाजवादी मोर्चामा रहेर पुँजीवादी सरकारमा नगई वर्गसङ्घर्षले मात्र आमूल परिवर्तन गर्न सकिन्छ भनी समाजवादी प्रचार अभियानमा लाग्यो भने नेपालको कम्युनिस्ट पार्टी र कम्युनिस्ट पार्टीको आन्दोलनमा टेवा पुग्नेमा शङ्का छैन । तर, कहिले पुँजीवादी सरकारको नेतृत्व गर्ने त कहिले समाजवादी मोर्चाको नेतृत्व गरेर द्वैधचरित्र बोक्ने होइन ।
Leave a Reply