भर्खरै :

सत्ता छोड्नु पर्दा माओवादी नेता दाहालमा छटपटी

पुँजीवादी सरकार छोड्नु पर्दा गर्जने, आक्रोश पोख्ने, देख्लास् भन्दै भैँसीको जत्रो आँखाले हेर्ने कम्युनिस्ट नेताहरूले समाजवादी मोर्चालाई सक्रिय बनाएर देशमा कम्युनिस्ट आन्दोलन अगाडि बढाउलान् ? सरकार छोड्नु पर्दा छटपटिने, पार्टी नै तहसनहस जस्तो हुने ठानी आक्रोश पोख्ने नेताहरूको अनुहार नुन खाएको कुखुरोझैँ भएकोमा के आश्चर्य ! सरकारमा बसिरहुञ्जेल समाजवादी मोर्चाबारे चासो नराख्ने र सत्ताबाट हटाइएपछि समाजवादीको चर्चा गर्ने दलका नेताहरू के साँच्चै कम्युनिस्ट होलान् ? समाजवादी आन्दोलन अघि बढाउने भन्ने कुरा कुनै नेताको लहैलहैमा हुने होइन । सत्ता छोड्नु परेको झोँकमा समाजवादी मोर्चालाई क्रियाशील बनाउने र कम्युनिस्ट दलहरू मिलेर जानुपर्ने कुरा लहडमा गर्ने होइन । सच्चा कम्युनिस्टहरू आफ्नो उद्देश्य पूरा नभएसम्म आमूल परिवर्तनको निम्ति जनताको घर आँगनमा पुगेर राजनीतिक शिक्षा दिनुपर्ने हो; जनतालाई सिद्धान्तबाट सुसूचित गरी सांस्कृतिक स्तर उठाउनुपर्ने हो ।
समाजवादी मोर्चाकै सन्दर्भलाई लिएर साउन ३ गतेको ‘कान्तिपुर’ दैनिकमा ‘प्रचण्ड सत्ताच्युतपछिको वाम आन्दोलन’, ‘प्रचण्डले किन सम्झिए समाजवादी मोर्चा ?’ शीर्षकका लेख र सम्पादकलाई चिठी छापिए । उक्त लेख र चिठीमा समाजवादी मोर्चालाई प्रचण्डले आफू सरकारमा हुँदासम्म कुरा नगरेको उल्लेख छ । राजनीतिक नैतिक बन्धन तोड्ने नेताहरूको अडान हुँदैन; उनीहरू सिद्धान्त र विचारको ख्याल गर्दैनन् । सरकारमा गएदेखि कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनको कुनै चासो नराख्ने, कुनै कम्युनिस्ट गतिविधि नगर्ने दलका नेताहरू विषम ज्वरोमा झैँ बर्बराएर कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्छ ? क्रान्तिकारी बाटो छोडेका माओवादी केन्द्रका नेताहरू कम्युनिस्ट पार्टीको बखान गरेर श्रमजीवीविरोधी देखिए, देशविरोधी देखिए । एमसीसी सम्झौता कुनै हालतमा नगर्ने भनी बाचा खाएका र सम्झौता गरेमा पार्टी नै छोड्ने वाचार गरेका माओवादी केन्द्रका नेताहरू कुर्सी मोहमा मौन रहे† सम्झौता गर्ने र सम्झौता पारित गर्ने नेताहरूसामु लत्रेर बसे ।
कम्युनिस्ट भनिने दलहरूकै नेतृत्वमा सरकार बन्दा जनताका आधारभूत खानेपानी निजीकरण गरियो । मोही कायम नहुँदै कृषकलाई मोही हकबाट वञ्चित गर्ने या जग्गाबाट निकाल्ने द्वैधस्वामित्व अन्त्य गर्ने नेकाको काममा एमालेले समर्थन गरेर किसानविरोधी काम ग¥यो । राजनीतिक पद र प्रतिष्ठालाई क्रय विक्रयको रूपमा लिने ती नेताहरूले बहुमत जनताको पक्षमा सेवा हुने नीति नियम बनाएर सेवा गर्लान् भन्ने विश्वास कसरी गर्ने ? कहिले काङ्ग्रेससँग र कहिले एमालेको काँधमा बुइँ चढेर सरकारको नेतृत्व गर्न पल्केका माओवादी केन्द्रका नेता दाहालमा इज्जत, प्रतिष्ठा र राजनीतिक चरित्रमा मात्र दाग लागेको होइन, उनमा कम्युनिस्ट गुण नै देखिँदैन । माओवादी केन्द्रका नेताहरू सच्चा कम्युनिस्ट हुन् भने समाजवादी गणतन्त्र स्थापना गर्न या आमूल परिवर्तनको बाटोमा लाग्नुपर्छ; कम्युनिस्टविरोधी भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवादको विरोधमा जनचेतना अभियान चलाउनुपर्छ । ल्याटिन अमेरिका, अफ्रिका र युरोपमा भइरहेको वामपन्थी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै युक्रेन र नरसंहारकारी युक्रेनको विरोधमा जुलुस, सभा, प्रदर्शन गरी जनतामा सुसूचित पार्नुपर्छ । वर्गसङ्घर्षविना देशमा आमूल परिवर्तन सम्भव छैन भन्ने वर्गीय भावना जगाउने र सिद्धान्तनिष्ठ बनाउने काममा कम्युनिस्टहरू जहिल्यै लागिरहनुपर्छ ।
सिद्धान्त र विचार तथा देश र जनताको सेवाभन्दा सत्ता प्यारो हुँदा एकपछि अर्काे सरकार बनिरहेको हो । सत्ता लोभले गर्दा नै अस्थिरता अघि बढ्दै गयो । सत्ता समीकरण बदल्न माओवादी केन्द्रका अध्यक्ष नै लागेका थिए । आफूले अर्काे दललाई विश्वासघात गर्दा अरुले भोगेको पीडा के पीडा होइन ? माओवादी केन्द्रले नेका र एमालेलाई धोका दिएकै हो । अब आफूलाई धोका दियो भनेर बर्बराएर हुन्छ ? कति राजनीतिक विश्लेषक र लेखकहरूले त माओवादी केन्द्रका अध्यक्ष दाहालको अभिमानी, अरुलाई तर्साएर प्रमको कुर्सी च्यापिरहने कुर्सीमोह र अडान फेर्ने प्रवृत्तिकै कारण यो नयाँ सत्ता समीकरण भएको अडकल गरेका छन् । माओवादी केन्द्रले सिद्धान्त र विचारको राजनीति नगरेको, क्रान्तिकारी बाटो छोडेको कुरा समाजवादी मोर्चामा रहेका अन्य दलहरूले बिर्सनु हुन्न । समाजवादी मोर्चामा रहेर पुँजीवादी सरकारमा नगई वर्गसङ्घर्षले मात्र आमूल परिवर्तन गर्न सकिन्छ भनी समाजवादी प्रचार अभियानमा लाग्यो भने नेपालको कम्युनिस्ट पार्टी र कम्युनिस्ट पार्टीको आन्दोलनमा टेवा पुग्नेमा शङ्का छैन । तर, कहिले पुँजीवादी सरकारको नेतृत्व गर्ने त कहिले समाजवादी मोर्चाको नेतृत्व गरेर द्वैधचरित्र बोक्ने होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *