न्यायालय पनि लामो समयदेखि दबाबमा बाँच्ने गरेको देखिन्छ
- बैशाख ७, २०८३
शिक्षण सिकाइ क्रियाकलापको मूल उद्देश्य विद्यार्थीहरूमा ज्ञान, सीप, अवधारणाको विकास गर्नु हो । त्यसका लागि विभिन्न विषयका पाठ्यपुस्तक अध्ययन–अध्यापन गराइन्छ । ती पुस्तकका माध्यमबाट सैद्धान्तिक र केही प्रयोगात्मक÷परियोजनात्मक कुरा पनि सिकाइन्छ । यसै सन्दर्भमा, विद्यार्थीमा प्रेरणा जगाउन पाठ्यपुस्तकमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिको जीवनी पनि राखिएको हुन्छ । त्यसअन्तर्गगत स्वदेशी र विदेशी व्यक्तित्वहरू पर्दछन् । यी कुराहरू अवश्य पनि राम्रा हुन् । तर तिनका अतिरिक्त सोही विद्यालयमा पढेर मेधावी, प्रतिभाशाली, अनुशासित र मिहिनेती विद्यार्थीका रूपमा परिचित विद्यार्थीलाई समेटेर एउटा छुट्टै जीवनीमूलक पुस्तक पनि पढाउने व्यवस्था मिलाउन सके सुनमा सुगन्ध हुने थियो ।
एउटा माध्यमिक विद्यालयबाट बर्सेनि थुप्रै विद्यार्थीहरू दशजोड दुई पास गरेर निस्कन्छन् । तीमध्ये कतिपयले उच्च शिक्षाका विभिन्न धारमा अध्ययनका लागि छात्रवृत्ति पाउँछन् । त्यस्ता विद्यार्थी अभिभावकका मात्र नभएर विद्यालयका पनि गौरव हुन् । त्यही भएर केही समयका लागि भए पनि विद्यालयले त्यस्ता विद्यार्थीको तस्बिर विद्यालय परिसरमा टाँगेको हुन्छ ।
विद्यालय परिसरमा तस्बिर टाँगिने ती विद्यार्थीहरूले पछि कुनै न कुनै क्षेत्रमा विशिष्टता हासिल गरेका हुन्छन् । कोही विशेषज्ञ डाक्टर भएर कुनै अस्पतालमा सेवा दिइरहेका हुन्छन् । कोही इन्जिनियरका रूपमा कार्यरत हुन्छन् । कोही पाइलट । कोही कृषिविज्ञ । कोही लेखक । कोही कलाकार । कोही खेलाडी । कोही गायक । कोही सङ्गीतकार । कोही स्वदेशमा । कोही विदेशमा । त्यसरी नाम कमाउने विद्यार्थीहरू, नाम टाँगिएमध्येकै पर्छन् भन्ने पनि छैन । स्मरणीय छ—जुनसुकै क्षेत्रमा होस्, नाम कमाउनअघि जोसुकैले पनि कठोर मिहिनेत गर्नुपर्छ । सुख र आराम त्याग्नुपर्छ । अभावसँग जुध्नुपर्छ । रमाइलोबाट टाढिनुपर्छ । त्यस्ता थुप्रै कष्टमय अनुभवहरू ती विद्यार्थीका धेरै हुन सक्छन् जो निश्चय नै अरुका लागि प्रेरणादायी बन्ने छन् ।
जुन विद्यालयमा पढेका विद्यार्थीले विशिष्टता हासिल गरेका हुन्छन, तिनलाई त्यस क्षेत्रका शिक्षक, विद्यार्थी तथा अभिभावकले चिनेका हुन्छन् । विभिन्न समयमा तिनको उदाहरणसमेत दिने गरिएको हुन्छ । अहिले त स्थानीय पाठ्यक्रम पनि कार्यान्वयन गरिएको छ । यो अवस्थामा, राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका जीवनीभन्दा तिनै प्रतिभाशालीमध्ये केही विद्यार्थीको जीवनी तयार पारेर सोही विद्यालयमा अध्यययन–अध्यापन गराउँदा एकदमै राम्रो प्रभाव पर्ने थियो । आखिर विद्यार्थीलाई प्रेरणादायी जीवनी पढाउनै छ भने किन स्थानीयकै जीवनी नपढाउने !
अर्को कुरा, विद्यालय विद्यार्थीको विभिन्न प्रतिभा प्रदर्शन गर्ने थलो पनि हो । त्यहाँ तिनले साप्ताहिकरूपमै भए पनि नाचगान, खेलकुद, अभिनय, क्विज, हाजिरीजवाफ प्रतियोगितामा रमाउन पाउँछन् । यसका साथै साहित्यिक प्रतिभा भएका विद्यार्थीहरूका लागि त्रैमासिक/अर्धवार्षिक रूपमै भए पनि एउटा पत्रिका प्रकाशन गर्ने व्यवस्थासमेत मिलाउन सके पठन संस्कृति र लेखक संस्कृतिको पनि विकास हुने थियो । के यसतर्फ सम्बन्धित विद्यालय र स्थानीय सरकारको ध्यान जाला ?
Leave a Reply