न्यायालय पनि लामो समयदेखि दबाबमा बाँच्ने गरेको देखिन्छ
- बैशाख ७, २०८३
नेपालका ठुला भनिने दलहरू सिद्धान्त र विचारको आधारमा ठुला दल भएका होइनन् । सिद्धान्त र विचारको आधारमा ठुलो दल बनेको भए त्यो राम्रै मानिन्छ । हरेक राजनीतिक दल कुनै न कुनै दर्शन, सिद्धान्त र विचारबाट निर्देशित हुने हुँदा सिद्धान्त र विचार छोडेर राजनीति गर्नु गलत हो । नेपालका ठुला भनिने कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरूले सिद्धान्त र विचारको राजनीति गरेनन् । ती दलका नेता तथा कार्यकर्ताहरू जनतालाई हातमा लिन र निर्वाचनमा जनताको मत पाउन पैसा बाँड्छन्; लोभलालच देखाउँछन्; धाकधम्की दिन्छन्, अनेक जागिर दिने प्रलोभन देखाउँछन् । यसरी जनता र अरू दलका कार्यकर्ता हातमा लिन पैसा बाँड्ने, प्रलोभन देखाउने त उनीहरूको चरित्र नै भइसकेको छ । पार्टी फुटाउने, नेता कार्यकर्ता बेपत्ता पार्ने, पद र पैसाको लोभ देखाएर पार्टीमा भित्याउने, अपहरण गर्ने काम नेकाले मात्र होइन कम्युनिस्ट भनिने दलका नेताहरूले झन् गरिरहेका छन् । ती दलका नेताहरू आफ्नो दल ठुलो बनाउने निहुँमा मित्रशक्ति पनि भन्दैनन् । उनीहरू पार्टी फुटाएर नेता तथा कार्यकर्तालाई भड्काएर, झूट कुरा फलाकेर हातमा लिन्छन् ।
सच्चा कम्युनिस्ट नेताहरूले अर्काे कम्युनिस्ट पार्टी भड्काउने काम गर्दैनन्; अर्काे पार्टी फुटाएर आफ्नो दल बनाउने काम गर्दैनन् । यो कम्युनिस्ट पार्टीको चरित्र होइन । कम्युनिस्ट पार्टी टुक्रा गर्दै नेता कार्यकर्ता तानेर, निर्वाचनमा पैसाको खोलो बगाएर बनेको ठुलो दलले समाज परिवर्तन गर्दैन; गरिरहेको देखिँदैन । माओवादी अध्यक्ष पुष्पकमल दाहालले कार्यकर्ताहरूको प्रशिक्षणमा भनेका थिए, नेमकिपा फोड्ने, भड्काउने प्रयास भएकै हो तर सकिएन । एकीकृत समाजवादी दलको नेतृत्व गरेका अध्यक्ष नेपालले पनि पार्टी फुटाउने काम गरेका थिए । यसरी अरू दलको पार्टी फोडेर राजनीति गरेका ती नेताहरूको दल आफै अहिले समस्यामा छ । सरकारबाट हट्नेबित्तिकै ती नेताहरूको अनुहार निन्याउरो देखिएको छ ।
माक्र्सले भन्नुभएको थियो, “सिद्धान्तहीन एकताभन्दा फूट झन् राम्रो ।” सिद्धान्त र विचार नमिले पनि एकता गर्दा एकताको फल नपाउँदै टुक्रियो । निर्वाचनमा गठबन्धन भए पनि सरकार गठनमा अलग्ग भयो । माओवादी केन्द्रले क्रान्तिकारी बाटो छोडेकै कारण विप्लव र मोहन वैद्यको पार्टी अलगिएको हो । एमालेसहितको नेकपाबाट माओवादी केन्द्र र एकीकृत समाजवादी अलगिएको हो । अहिले पनि ती दलका नेताहरू पार्टी फुटाएर नेता तथा कार्यकर्ता तान्ने प्रयासमा छन् । ठुला दलका कम्युनिस्ट शासकहरू मित्र शक्तिलाई फोड्ने, भाँड्नेमा मात्र क्रियाशील हुँदैनन् । उनीहरूले आपराधिक क्रियाकलापमा संलग्न अपराधी, भ्रष्टाचारी, घुस्याहा, जालीफटाहाहरूलाई पनि हातमा लिइरहेका हुन्छन् । ठेकेदार, बिचौलिया मात्र होइन सामन्त, जमिनदार, पुँजीपति, शोषकहरू पनि उनीहरूकै साथमा हुन्छन् । कहिलेकाहीँ त्यस्तै ठुलठुला व्यापारी, सामन्त, जमिनदारको इसारामा कर घटबढ गर्छन्† कर मिनाहा दिन्छन्; उनीहरूसँगै चन्दा लिन्छन् । अनि तिनीहरू अपराध, अनियमितता र भ्रष्टाचारमा फसे पनि कारबाहीमा पर्दैनन्, कारबाहीमा परे पनि छुटाउँछन् । तिनै पार्टीको दबाबमा कहिले कसको उत्सव र दिवस भनी अपराधीहरू मुक्त हुन्छन् ।
देशको कुनाकाप्चामा, गाउँ–बस्तीमा प्रजातान्त्रिक अधिकार नपुगेरै, न्याय र समानता नभएरै, बहुमत जनताले राहत नपाएरै कम्युनिस्टहरू बढेका हुन् । तर, कति कम्युनिस्ट भनिने नेताहरू अहङ्कार भए, अभिमानी भए; आफूजस्तो अरू कुनै दल सही नभएको भन्दै चिच्याए । ठुला दल भनिएका कम्युनिस्ट दलहरू साँच्चै माक्र्सवाद–लेनिनवादलाई मार्गनिर्देशक मान्ने कम्युनिस्ट दल भएका भए, उनीहरू आमूल परिवर्तनको निम्ति लागेका भए देशको परिस्थिति अर्कै हुन्थ्यो; आमूल परिवर्तनको निम्ति बाटो बन्थ्यो । अहिलेको जस्तो अस्थिर राजनीति हुँदैनथ्यो† भ्रष्टाचार र अनियमितता हुँदैनथ्यो; देशको विकास योजना चुहावट हुँदैनथ्यो; सार्वजनिक संस्थान तथा सरकार उद्योगहरू निजीकरण हुँदैनथ्यो; ती उद्योगहरू डुब्दैनथ्यो । तर, आज देशको अवस्था भताभुङ्ग छ, विधि र सुशासनको कुरा नेताहरूको कण्ठमा मात्र झुण्डिएको छ । विगतका कमी कमजोरीको शिक्षा लिएर पुँजीवादी बाटोमा नफसी, विदेशी शक्ति राष्ट्रहरूको उठबसमा नबसी देशमा सन्तुलित विकासको पाइला चालेर आत्मनिर्भर बनाउनेतर्फ लागेमा मुलुकको अनुहार बदल्न सकिन्छ; भ्रष्टाचारको सूचीमा परेको मुलुकलाई स्वच्छ छविको नेपाल बनाउन सकिन्छ । के ती कम्युनिस्ट पार्टीहरू अबदेखि सरकारमा नगइकन कम्युनिस्ट आन्दोलन र समाजवादी आन्दोलन गर्न अघि सर्लान् ? आफूलाई साँच्चै कम्युनिस्ट हो भनी जनतालाई विश्वास दिलाउन सक्लान् ? होइन भने यो नेपाली जनतामाझ गरेको प्रपञ्चमात्र हुनेछ ।
Leave a Reply