भर्खरै :

माओवादीको अबको विकल्प…?

माओवादीको अबको विकल्प…?

असार २८ गते प्रधानमन्त्री प्रचण्ड विश्वासको मत लिन असफल भए । प्रस्तावको पक्षमा जम्मा ६३ मत मात्रै परेपछि उनी प्रधानमन्त्रीबाट बर्खास्त भए । उनको विपक्षमा १९४ मत परेको थियो । उनले विश्वासको मत लिँदै गर्दा एमाले अध्यक्षलाई लक्षित गर्दै ‘धोका र विश्वासघात गरेको’ भन्ने वाक्यांश पटक पटक दोहो¥याएका थिए ।
पुँजीवादी राजनीतिमा धोका, विश्वासघात, षड्यन्त्र र छलकपट सामान्य हुने गर्छ । बितेका डेढ वर्षभित्र प्रचण्डले पाँच पटक विश्वासको मत लिनुपर्ने अवस्था आउनु के धोका र विश्वासघातको परिणाम होइन ? नेका र एमाले नेताहरू प्रचण्डलाई विश्वासघाती भन्दै छन् । जनताको नजरमा सरकारको लागि एकले अर्कालाई धोका दिने नेका, एमाले र माओवादी नेताहरू सबै विश्वासघाती र धोकेबाज हुन् । एकले अर्कोलाई सिध्याउने षड्यन्त्रस्वरूप नै ३२ सीट भएको माओवादीले पटक पटक ठुला दलहरूको सहयोगमा सरकारको नेतृत्व गर्ने अवसर पाएको हो । २०७९ पुस २६ गते प्रचण्डले पहिलोपटक विश्वासको मत लिँदा २६८ को भारी मत प्राप्त गरेका थिए भने त्यसपछि उनको ओरालो लाग्ने क्रम सुरु भयो । अहिले ६३ मतमा पुगेर उनी सत्ताबाट बाहिरिनुपर्यो ।
कुनै बेला एकजना राजनीतिशास्त्रका प्राध्यापकले भनेका थिए, “राजनीतिमा धर्म हुँदैन, राजनीतिमा विश्वास हुँदैन, राजनीतिमा चितुवाको दा¥हा हुन्छ, गिद्धको चुचो हुन्छ ।” आजको देशका राजनीतिक अवस्थाले त्यो कुरालाई पुनःसम्झना गरायो ।
अरूलाई धोका दिनेहरूले कुनै दिन धोका पाउँछन् र अरूलाई दुःख दिनेहरूले कुनै दिन दुःख पाउँछन् भन्ने कुरा कसैले पनि बिर्सनुहुँदैन । तर, प्रचण्डले यस कुरालाई ख्याल गरेनन् । नेका र एमाले कहिल्यै मिल्न सक्दैनन् भन्नेमा उनी ढुक्क थिए । उनमा यतिसम्म उन्माद चल्यो कि प्रचण्डलाई कसैले केही गर्न सक्दैन सम्म सोच्न पुगे र सार्वजनिक समारोहमै भने, “हामीलाई हटाउन सजिलो छैन । हामीसँग जादुवाला नम्बर छ । जादुले अनेक गरेर मिलाइ हाल्छ । सबै परिस्थिति र तरिका मिल्यो भने पुरै अवधि बसिन्छ ।” असार ८ गते बोलेको २० दिनपछि उनको जादुवाला नम्बरले काम गरेन । पोकापन्तुरो बोेकेर बालुवाटारबाट बाहिरिन उनी बाध्य भए । “अहङ्कार पतन हुनु अवश्यम्भावी छ” भन्ने कुरा प्रचण्डको सत्ता बहिर्गमनबाट पुष्टि हुन्छ ।
प्रचण्डले अन्तिमसम्म पनि नेका र एमालेबिच खेल्ने प्रयास जारी राखे । संविधानको धारा ७६ (३) अनुसार संसद्को सबभन्दा ठूलो दलले सरकारको नेतृत्व गर्ने अवस्थामा पु¥याउन उनले निकै कोसिस गरे तर त्यो सम्भव भएन । अल्पमतमा परेपछि शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा बहुमत पु¥याई दाबी गर्न सूचना दिए पछि त्यो अध्याय समाप्त भयो । नेका ८८ र एमालेका ७७ सांसदहरूको समर्थनसहित ओलीलाई प्रधानमन्त्री बनाउन शेरबहादुर देउवासहितको संयुक्त हस्ताक्षरसहित राष्ट्रपति समक्ष निवेदन पेस गरियो र ओली बहुमतको प्रधानमन्त्री नियुक्त भए ।
प्रचण्ड सरकारबाट मात्र हट्ने हो कि उनको र माओवादी पार्टीकै अवसान हुने हो भन्नेबारे यतिखेर चर्चाको विषय छ । नेका र एमालेले माओवादीबाट पटक पटक धोका पाएको कारण गठबन्धन सरकार माओवादीप्रति निकै कठोर बन्ने सम्भावना पनि देखिन्छ । माओवादीले सिद्धान्त छाडेपछि जनताबिच जाने उसको एजेन्डा लगभग सकिएको छ । संसद्मा पनि राम्रो भूमिका निर्वाह गर्न माओवादी असफल भयो । एकीकृत समाजवादीप्रति पनि एमालेको त्यही नीति हुनेछ । ती दुई पार्टीलाई समाप्त पार्न अब एमालेले ध्यान केन्द्रित गर्ने सम्भावना छ किनभने अरू वामपन्थी दलहरूलाई सिध्याउन एमाले पहिलेदेखि नै लागिरहेकै थियो ।
अब ठुल ठुला दलहरू मिलेर सरकार बनाएपछि प्रतिपक्ष कमजोर हुनेछ । सरकारले स्वेच्छाचारी काम गरेमा पनि नियन्त्रण गर्ने संसद्मा अरू कोही हुँदैन । यही मात्र जनताको अहिलेको चिन्ताको विषय हो ।

समाजवादी मोर्चा ब्युँताइने !
आफू पदबाट हट्ने सुनिश्चित भएपछि प्रचण्डले पुनः समाजवादी मोर्चालाई ब्युँताउने कुरा गर्दै छन् । नेकासँग सरकार बनाएकै बेला काङ्ग्रेसलाई दबाबमा पारी लामो समयसम्म सरकारको नेतृत्वमा बसिरहन प्रचण्डले आफ्नै अगुवाइमा समाजवादी मोर्चा गठन गरेका थिए । मोर्चामा माओवादी, एकीकृत समाजवादी, जसपा र नेपाल कम्युनिस्ट पार्टी (विप्लव) संलग्न छन् । नेका र एमालेको गठबन्धन सरकारलाई जसपा उपेन्द्र यादव र अशोक राईको पार्टीले समर्थन गरिसकेको हुँदा अब तीनवटा पार्टी मात्रै मोर्चामा बाँकी रहनेछन् ।
माओवादी अब संसद्मा प्रमुख प्रतिपक्ष दलका रूपमा रहने निश्चित छ । नेका र एमालेको सहमतिमा पछि सम्म कुनै परिवर्तन नभए माओवादी र एकीकृत समाजवादीलाई २०८४ को निर्वाचन निकै महँगो पर्ने सम्भावना छ । २०५६ सालको निर्वाचनमा वामदेव गौतमको नेतृत्वको पार्टी नेकपा मालेको अवस्थामा पु¥याउन एमालेले कुनै कसर बाँकी राख्ने छैन । एमाले नेपालमा अरू वामपन्थी पार्टीको अस्तित्व स्वीकार्ने पक्षमा छैन ।
एक पटक समाजवादी मोर्चाको गठनबारे विप्लव पक्षका केन्द्रीय सदस्यले मोर्चा विप्लवकै पहलमा बनेको दाबी गरे । उनले विदेशीशक्तिविरुद्ध सबैलाई समेटेर लाने प्रयास स्वरूप समाजवादी मोर्चा गठन गर्न सफल भएको, प्रचण्ड र माधव नेपालहरूलाई समेत विप्लवले एकै ठाउँमा ल्याउन सकेको बताए ।
त्यसक्रममा समाजवादी विचार नै नभएकाहरूको मोर्चाको नाम किन समाजवादी मोर्चा राखियो भन्ने जिज्ञासा पनि राखियो । के प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव कम्युनिस्ट वा समाजवादी हुन् ? यिनीहरूलाई समाजवादी मान्ने हो भने देशका सबै पार्टीहरूलाई समाजवादी भनिदिए भयो । यो समाजवादी मोर्चा ‘जसको सिङ छैन उसको नाम तिखे’ भनेजस्तै मात्र हो । रातो लुगा लगाउँदैमा कोही क्रान्तिकारी हुन्छ भन्ने सत्य होइन ।
अब समाजवादी मोर्चाको बलमा प्रचण्डले सडक आन्दोलन, सदन अवरोध गर्न सक्छन् । जनताको हितमा त्यस्ता गतिविधिहरू गरेर नेका र एमालेको सरकारलाई स्वेच्छाचारी हुनबाट रोक्ने कोसिस गरियो भने कम्युनिस्ट भनेर होइन कि एक संसद्वादी पार्टीको रूपमा माओवादीले गुमेको विश्वास फेरि केही हदसम्म प्राप्त गर्न सक्ने सम्भावना भने बाँकी नै छ ।
एकीकृत समाजवादी एमाले विभाजन भएर बनेको हुँदा तत्काल एमालेसँग मिल्ने सम्भावना कम छ । एमाले नेताहरूले माधव नेपाल र झलनाथबाहेकलाई पार्टीमा भित्याउने क्रम सुरु गरिसकेका छन् । प्रेम आले, किसन श्रेष्ठहरू एकीकृत समाजवादी छोड्ने तयारीमा छन् । उनीहरू महाधिवेशनमा पनि भाग नलिई भारत भ्रमणमा गएको र अहिले केन्द्रीय सदस्यमा पनि नरहेको सार्वजनिक भएको छ । ५ जना सांसदहरू एकीकृत समाजवादी छाड्न तयार भएर बसेको सम्बन्धित पक्षको भनाइ छ ।
उपेन्द्र यादवले माओवादी एमाले गठबन्धन सरकारमा छँदै नेकासँग मिलेर प्रधानमन्त्रीको चाहना राखेपछि यादव विदेश भ्रमणमा रहेकै बेला एमालेको पहलमा पार्टी फुटाएको कुरा सार्वजनिक भएको थियो । अहिले राष्ट्रिय पार्टी नबनेको माधव नेपालको पार्टीलाई एमालेले नफुटाउला भन्न सकिन्न । एकीकृत समाजवादी अन्ततः माओवादीसित पार्टी एकता गर्न विवश हुनेछ । त्यसको सङ्केत प्रचण्डले एकीकृत समाजवादीको महाधिवेशन उद्घाटन कार्यक्रममै व्यक्त गरिसकेका छन् । उनले भनेका थिए, “हामी पार्टी एकतासम्मको क्रममा छौँ ।” त्यो भित्रभित्र पार्टी एकताबारे छलफल चलिरहेको सङ्केत थियो ।
नेपाल कम्युनिस्ट पार्टी (विप्लव) सँग पनि माओवादीसँग मिल्नुको विकल्प देखिँदैन । विप्लव प्रचण्डलाई संशोधनवादी, पुँजीवादी र संसद्वादीको आरोप लगाएर सशस्त्र सङ्घर्षमा गएका थिए । तर, केपी ओली प्रधानमन्त्रीकालमा उनी शान्तिपूर्ण आन्दोलनमा आउन सहमत भए । उनको पार्टीले गएको स्थानीय निर्वाचनमा भाग लियो । चुनावमा भाग लिने विषयमा बुटवलमा बसेको केन्द्रीय समितिमा विवाद हुँदा धर्मेन्द्र बास्तोलाको बहुमत पार्टीले निर्वाचन बहिष्कारको पक्ष लिएपछि विप्लव अल्पमतमा परे । उनी निर्वाचनमा जाँदा पश्चिमका पालिकाहरूमा केही वडामा मात्रै जित्न सकेपछि उनीसँग न सशस्त्र सङ्घर्षको बाटो बाँकी छ न त निर्वाचनमा लडेर जित्न सक्ने नै कुनै आधार छन् ।

अबको माओवादीको बाटो !
माओवादीले कम्युनिस्ट सिद्धान्त त्यागेर पुँजीवादको फोहर पोखरीमा पार्टीलाई डुबाएपछि पार्टीका धेरै इमानदार नेता कार्यकर्ताहरूले माओवादी पार्टी छोडे । अहिले प्रचण्ड नजिक बसेर फाइदा लिन पाएकाहरूमात्रै पार्टीमा सक्रिय देखिन्छन् । सशस्त्र सङ्घर्षमा आफ्नो ज्यान फाल्नेहरू, घाइते परिवार, लडाकुहरू सबै नै सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउन नसकेमा पार्टीप्रति असन्तुष्ट छन् । कम्युनिस्ट पार्टीको नाउँमा पटक पटक चुनाव जितेर जनताको लागि दीर्घकालीन हितमा केही काम नगरेकोमा सर्वसाधारण जनता नेका, एमाले र माओवादीबिच केही भेद देख्दैनन् । माओवादीप्रति जनविश्वास घट्ने क्रममा छ । संसद्मा पहिलो र दोस्रो ठूलो दल नेका र एमालेले पटकपटक प्रचण्डबाट धोका पाइसकेको हुँदा अब फेरि धोका पाउन चाहँदैनन् ।
२०८४ सालको निर्वाचनमा नेका वा एमालेसँग संयुक्त चुनाव लडेर फेरि सरकारको नेतृत्वमा पुग्ने प्रचण्डको सपना अहिलेको परिस्थितिमा कुनै फेरबदल नभए पूरा हुने सम्भावना देखिँदैन । प्रचण्ड अब चुनाव लडेर जित्ने निर्वाचन क्षेत्र भेटाउन पनि मुस्किल पर्नेछ । गत निर्वाचनमा बाबुरामले आफ्नो ठाउँ छोडेर निर्वाचन लड्न दिएको कारण उनी गोर्खाबाट जित्न सफल भएका हुन् । अहिले बाबुराम पनि प्रचण्डको चर्को आलोचना गर्दै छन् । माओवादीभित्र खान पाएका र नपाएका नेता र कार्यकर्ताहरूबिच ठूलो खाडल छ । प्रचण्डले सरकारको नेतृत्व गरिरहँदा त्यो खाडल पुर्ने कोसिस नगरेको उनकै कार्यकर्ताहरूको आरोप छ ।
पार्टी पङ्क्ति, सर्वसाधारण जनता, सहिद र घाइते परिवार, अन्य वैचारिकरूपमा नजिक पार्टीहरू सबैबाट माओवादी एक्लिएको छ । प्रतिपक्षमा बसेर गम्भीर समीक्षा गरी गल्तीलाई आत्मआलोचना गरी सुधार गरिएन भने प्रचण्डसँगै माओवादी पार्टीको पनि अवसान हुन बेर छैन । उनका विरुद्धका थुप्रै मुद्दाहरू अदालतमा विचाराधीन छन्, नक्कली लडाकुहरू खडा गरी राज्यबाट अरबौँ रुपैयाँ बुझेका काण्डहरू त बाँकी नै छन् । माओवादी कमजोर अवस्थामा यी सबै काण्डहरू बाहिर आउनेछन् । का. रोहितले भन्नुभएजस्तै “जो आगोसँग खेल्छ ऊ आगोमै मर्छ जो पानीसँग खेल्छ ऊ पानीमै मर्छ ।” धोका र विश्वासघातबाट बनेको सरकार धोका र विश्वासघातमै अन्त्य भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *