भर्खरै :

साउन ९ गतेदेखि १२ गतेसम्म विशेष पोलियो खोप अभियान सञ्चालन हुने

साउन ९ गतेदेखि १२ गतेसम्म विशेष पोलियो खोप अभियान सञ्चालन हुने

भक्तपुर, ६ साउन । साउन ९ गतेदेखि १२ गतेसम्म जन्मिएदेखि ५ वर्षमुनिका बालबालिकाको लागि विशेष पोलियो खोप अभियान सञ्चालनबारे महिला स्वास्थ्य स्वयम्सेविकाहरूलाई अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल सरकारअन्तर्गत सञ्चालन हुने विशेष खोप अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न स्वास्थ्य स्वयम्सेविकाले सचेततापूर्वक काम गर्न मार्गनिर्देश गर्नुभयो ।
उहाँले विपद् तथा महामारीदेखि डराउन नहुने बताउँदै सबै नागरिकहरूलाई निरोगी बनाउने उद्देश्यले यो खोप अभियान सञ्चालन गरिएको बताउनुभयो ।
जनसङ्ख्या बढी भएको ठाउँमा महामारी छिट्टै फैलिने हुँदा संवेदनशील भएर काम गर्नुपर्नेमा जोड दिँदै उहाँले भक्तपुर नपाले सञ्चालन गरिरहेको घरदैलो नर्सिङ सेवाले नसर्ने रोगबारे तथ्याङ्क सङ्कलनमा विशेष टेवा पुगेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले देशैभरिका बिरामीहरूको सेवा गरिरहेको बताउँदै उहाँले गरिब जनतालाई सुलभरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउनु ख्वप अस्पताल सञ्चालनको उद्देश्य रहेको बताउनुभयो ।
भक्तपुर नपा स्वास्थ्य संयोजक डा. रत्नसुन्दर लासिवाले पोलियो खोप अभियान सञ्चालनको उद्देश्यमाथि प्रस्ट पार्दै वाग्मती खोलाको सङ्गममा रहेको टुकुचा खोलामा पोलियोको भाइरस देखा परेको हुँदा यसलाई पूर्णरूपमा निर्मूल पार्न नेपाल सरकारले विशेष अभियानको रूपमा सञ्चालन गरेको बताउनुभयो । उहाँले पाँच वर्षमुनिका बालबालिकाहरूको लागि घरघरमै गएर खोप अभियान सञ्चालन गरिने बताउँदै महिला स्वास्थ्य स्वयम्सेविकाहरूलाई थप संवेदनशील भई काम गर्न प्रेरित गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *