भर्खरै :

विधेयकको सिद्धान्त निर्माण गर्दा दलका प्रतिनिधिहरूसँग सुझाव लिने प्रावधान राख्नु उपयुक्त

विधेयकको सिद्धान्त निर्माण गर्दा दलका प्रतिनिधिहरूसँग सुझाव लिने प्रावधान राख्नु उपयुक्त

संसद्मा एक सदस्यले विधेयक दर्ता गर्न पाउने कानुनी व्यवस्था हुनु जरुरी छ । संविधानको मूल मर्मअनुसार विधेयक बनाउने उल्लेख हुनुपर्छ । संविधानको मर्म समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्नु हो । सरकारको नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना र क्षेत्रगत नीति सबै समाजवादउन्मुख अर्थतन्त्रअनुसार हुनुपर्ने यो विधयेकमा उल्लेख गर्नु जरुरी छ ।
समाजवादउन्मुख अर्थतन्त्र भन्नाले सबै जनताको हातमा देशको स्रोत र साधन बराबरी पुग्ने व्यवस्था हो । तत्कालीन सोभियत सङ्घमा सार्वजनिक भोजनालयमा पाउरोटी र चीज निःशुल्क उपलब्ध हुन्थ्यो । पुँजीवादी अर्थतन्त्रमा देशको स्रोत साधन मुट्ठीभरका व्यक्तिको हातमा हुन्छ । संविधानविपरीत यस्तो विधेयक ल्याउन नपाइने विधेयकमा उल्लेख गर्नु जरुरी छ ।
सरकारको नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना र क्षेत्रगत नीतिमा कृषि, शिक्षा, जलस्रोत, स्वास्थ्यलाई प्राथमिकता दिने स्पष्ट उल्लेख हुनुपर्छ । सरकार परिवर्तनसँगै यी प्राथमिकतामा परिवर्तन नहुने व्यवस्था जरुरी छ ।
विधेयकको सिद्धान्त निर्माण गर्दा राजनीतिक दलका प्रतिनिधिहरूसँग सुझाव लिने प्रावधान राख्नु उपयुक्त हुनेछ ।
आर्थिक विधेयकमा मजदुर, किसान र गरिबहरूको सुझाव लिने तर विदेशी पुँजीका दलालहरूलाई प्रवेश नदिने विषय स्पष्ट हुनु आवश्यक छ । आर्थिक विधेयकको राजस्व प्रस्तावमा बाहिरिएका घटना यसअघि पनि संसद्मा उठिसकेको हो । आर्थिक विधेयकमा प्रगतिशील कर उठाउने, नेपालीको सम्पत्तिको सीमाङ्कन गर्ने, विदेशमा सम्पत्ति राख्न नपाउने प्रावधान जरुरी छ ।
विनियोजन विधेयकमा बजेट शीर्षकको रकम संसद्मा कुन सदस्यले उठाएको हो, स्पष्ट लेख्ने प्रावधान आवश्यक छ । नेपालमा भ्युटावरको अनावश्यक बजेट भएको मत बाहिरियो । कुन संसद् सदस्यले संसद्मा भ्युटावरको विषय उठाएको हो, बजेट शीर्षकमा लेख्नुपथ्र्यो ।
कृषि, शिक्षा र घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिएर बजेट ल्याउनुपर्दछ । नीति र बजेट संसद्मा प्राप्त सुझावअनुसार देश र जनताको हितमा संशोधन हुनसक्ने विषय पनि लेख्नु जरुरी छ ।
अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूमा सरकारले हस्ताक्षर गर्नुपहिले नै संसद्मा ल्याउनुपर्ने प्रावधान यो विधेयकमा हुनु जरुरी छ । त्यसो नभए बग्गी पछाडिको घोडाजस्तै हुनेछ ।
विधेयक निर्माणको बेला बिचौलिया र स्वार्थ समूहलाई समावेश गर्न नपाउने विषय पनि विधेयकमा उल्लेख हुनुपर्दछ ।
गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कारण नेपालको विधायन र विधेयक निर्माण प्रभावकारी भएन । राज्यका तीनओटै अङ्गमा गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको प्रभाव बढेको छ । विधेयकमा गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको प्रभावमा विधेयक नबनाउने प्रत्याभूति हुनु जरुरी छ ।
पूर्वाधार नभएका विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक पारित गरियो तर पूर्वाधार भएको ख्वप विश्वविद्यालय विधेयक र तीलगङ्गा आँखा विश्वविद्यालय पारित भएन । पूर्वाधार नभएको विश्वविद्यालयको विधेयक ल्याउन नपाइने व्यवस्था विधेयकमा राख्नु जरुरी छ ।
चलिरहेको अधिवेशन टुङ्ग्याई एक हप्ता नपुग्दै सरकारको अनुकूल अध्यादेश जारी गर्न नपाइने विषय पनि यो विधेयकमा उल्लेख हुनु जरुरी छ ।
एउटा राष्ट्रपति र सभामुखको कार्यकालमा संसद्बाट पारित भएको विधेयक अर्को राष्ट्रपति र सभामुखको नयाँ कार्यकालमा प्रमाणीकरण गर्न नहुने स्पष्ट लेख्नुपर्छ । २०७९ जेठमा नागरिकता विधेयक यसरी नै प्रमाणीकरण गरिएको बेठीक हो ।
नागरिकता, एमसीसी, विद्युत् सार्क ग्रीड, सौर्य गठबन्धनलगायतका विधेयक र सम्झौतामा जनमत लिनुपर्ने थियो । यी विषय हामीले संसद्मा उठे पनि बेवास्ता गरियो । बेवास्ता गर्न नपाइने व्यवस्था विधेयकमा उल्लेख हुनु जरुरी छ ।
प्रधानमन्त्री, मन्त्री र राजनीतिक दलका नेताहरू संसद् बैठकमा नियमित उपस्थित बैठकलाई प्रभावकारी बनाउने, प्रधानमन्त्रीसँगको प्रश्न–उत्तर प्रभावकारी बनाउन राजनैतिक दलका प्रतिनिधि सांसदहरूबाट प्रश्न सोध्ने व्यवस्था गर्नु जरुरी छ ।
(नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले २०८१ साउन ७ गते प्रतिनिधिसभाको बैठकमा विधायनसम्बन्धी विधेयक, २०८० को सैद्धान्तिक छलफलमा राख्नुभएको विचारको सार–सं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *