भर्खरै :

प्रमुख सुनिल प्रजापतिसँग शान–नान सहरका कार्यकारी उपप्रमुख मु योङ वनको भेट

प्रमुख सुनिल प्रजापतिसँग शान–नान सहरका कार्यकारी उपप्रमुख मु योङ वनको भेट

भक्तपुर, ७ साउन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भक्तपुर नगरपालिकाको भगिनी सहर मित्र राष्ट्र जनगणतन्त्र चीनको सीचाङ (तिब्बत) स्वशासित क्षेत्र, शान–नान सहरका कार्यकारी उपप्रमुख मु योङ वनले सोमबार भेट गर्नुभयो ।
भक्तपुर नगरपालिकाको निमन्त्रणामा चारदिने नेपाल भ्रमणमा आउनुभएका शान–नान सहरका कार्यकारी उपप्रमुख मु योङ वन नेतृत्वको प्रतिनिधिमण्डल टोलीलाई स्वागत गर्दै नगर प्रमुख प्रजापतिले दुई नगरपालिकाबिचको सम्बन्ध थप सुदृढ बनाउन यो भ्रमणले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “भक्तपुर नगर र शान–नान नगर सांस्कृतिक सम्पदाको दृष्टिमा मिल्दोजुल्दो पर्यटकीय नगरहरू हुन् । नेपाल भ्रमणमा आउने पर्यटकहरूमध्ये ‘चिनियाँ पर्यटकहरूको सङ्ख्या क्रमशः बढ्दै छ । गत आ.व. २०८०/८१ मा २ लाख ४५ हजारभन्दा बढी विदेशी पर्यटकहरूले भक्तपुरको अवलोकन भ्रमण गरेकोमा ४० हजार ४ सय चिनियाँ पर्यटकहरू रहेको तथ्याङ्क छ ।”
नेपाल मजदुर किसान पार्टी वैज्ञानिक समाजवादमा विश्वास गर्ने कम्युनिस्ट पार्टी भएको बताउँदै उहाँले माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई नेपाल मजदुर किसान पार्टीले आफ्नो मार्गनिर्देशक सिद्धान्तको रूपमा अँगाल्दै आएको बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “‘नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले आजभन्दा २० वर्षअघि ‘सय वर्षपछिको भक्तपुर’ पुस्तक लेखेर भक्तपुरको भविष्यको रूपरेखा कोर्नुभएको थियो । हामी यसको आधारमा भक्तपुरलाई एक सुन्दर, सफा र सम्पदा संरक्षित पर्यटकीय नगरको रूपमा विकास गर्न खोज्दै छौँ ।”
वि.सं. २०७२ को गोरखा भूकम्प र २०८० मा भएको जाजरकोट भूकम्प र सन् २०१९ बाट विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाको सङ्कटको समयमा चीन सरकार र भगिनी सहर शान–नानको तर्फबाट भएको सहयोगको लागि धन्यवादज्ञापन गर्दै उहाँले सङ्कटको समयमा साथ दिनेहरू मात्रै असल मित्र हुने बताउनुभयो । “सङ्कटको समयमा शान–नान नगरपालिकाले गरेको सहयोगलाई हामीले कहिल्यै बिर्सनेछैनाँै”, प्रमुख प्रजापतिले भन्नुभयो ।
भेटमा शान–नान नगरका उपप्रमुख मु योङ वनले भक्तपुर भ्रमणको निमन्त्रणाको लागि धन्यवादज्ञापन गर्दै चार दिनको नेपाल भ्रमण उपलब्धिमूलक रहने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर र शान–नानबिचको सम्बन्धलाई थप प्रगाढ, सुदृढ र बलियो बनाउन प्रयास गरिने बताउँदै उहाँले आगामी दिनमा पनि भक्तपुरको विकास र समृद्धिमा शान–नान सहरको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भक्तपुरको इतिहास, कला र संस्कृति सदियौँ पुरानो रहेको उल्लेख गर्दै उहाँले भक्तपुरको सांस्कृतिक सम्पदा संरक्षणमा भक्तपुर नपाले उल्लेखनीय कार्य गरेको बताउनुभयो ।
चीन सरकारको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ आधुनिक रेशम मार्गले उक्त मार्गसँग जोडिएका राष्ट्र र नागरिकहरूको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
उपप्रमुख यो वनले शान–नान सहरको सङ्क्षिप्त परिचय प्रस्तुत गर्दैै शान–नान सहर चीनको स्वशासित क्षेत्र तिब्बतको केन्द्र ल्हासाबाट नजिकको सहर भएको बताउनुभयो । तिब्बति सभ्यताको स्रोत नै सान्नान क्षेत्र हो भन्दै उहाँले तिब्बतको पहिलो कम्युनिस्ट पार्टी समिति पनि सान्नान सहरबाट नै सुरू भएको बताउनुभयो ।
सान–नान सहरलाई सांस्कृतिकसँगै आर्थिकरूपले समेत विकास गर्ने कोसिस गरिरहेको बताउँदै उहाँले सान–नानको उच्च हिमाली भेगका जडिबुटी, हस्तकला आदि क्षेत्रमा विकास गर्ने प्रयास भइरहेको जानकारी गराउनुभयो ।
भेटपश्चात् प्रमुख प्रजापति र उपप्रमुख योङ वनबिच उपहार आदानप्रदान भएको थियो ।
भेटमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, वडा नं.७ का वडाध्यक्ष उकेश कवां, वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, कार्यपालिका सदस्य रोशनमैंया सुवाललगायतको उपस्थिति थियो भने चिनियाँ प्रतिनिधिमण्डलको तर्फबाट शान–नान नपाको वाणिज्य ब्युरोका निर्देशक ली हाओ लु, स्वास्थ्य आयोगका उपनिर्देशक नीयन चा, विदेश मामिला कार्यालयका प्रमुख सचिव ऊचीन छ्यूचन, फाच कृषि प्रविधि तथा व्यवस्थापन कम्पनी लिमिटेडका अध्यक्ष लुओ शाङ छरेन र शान–नान शाखा सीचाङ व्यापार प्रदर्शनी कम्पनीका ची चोङको उपस्थिति रहेको थियो ।
आजभन्दा ८ वर्षअघि २०७३ साउन ३० गते भक्तपुर नगरपालिका र चीनको शान–नान नगरपालिकाबिच भगिनी सम्बन्ध कायम भएको थियो । दुई पालिकाबिच सांस्कृतिक, आर्थिक, शैक्षिक, पर्यटनलगायतका विषयमा सहयोग आदानप्रदान गर्ने उक्त सहमतिको उद्देश्य रहेको थियो । सहमतिपछि दुई नगरपालिकाबिच भ्रमणको आदानप्रदान हुँदै आएको थियो भने शान–नान सहरका उपप्रमुखको नेतृत्वमा भक्तपुर भ्रमणमा आएको प्रतिनिधिमण्डल टोली यसैको सिलसिला हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *