जेनजी आन्दोलन र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन
- चैत्र ३०, २०८२
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा २०८२ भदौ २७ गते गठन भएको निर्वाचन सरकारले २०८२ असोज ५ गतेको दिन २०८२ भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ को क्रममा काठमाडौँलगायत देशको जिल्ला जिल्लामा भएको भौतिक एवम् मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगले सम्बन्धित व्यक्तिसँग लिएको बयानको सार सङ्क्षेपले सो घटनाबारे केही अनुमान गर्न सहज हुने देखिन्छ । राष्ट्रपतिदेखि केही उच्च पदाधिकारीहरूसँग लिएको बयानको सार सङ्क्षेप यहाँ प्रकाशित गरिएको छ ।
यो प्रतिवेदनमा भदौ २३ गतेको हत्याको मात्र छानबिन र दोषीलाई कारबाहीको सिफारिस भयो र भदौ २४ गतेको देशभरि आगजनीको छानबिन गरिए पनि कारबाहीको सिफारिस नभएकोमा र सो प्रतिवेदन निर्वाचनअगाडि सार्वजनिक नगरिएकोमा आलोचना भइरहेको छ । यसकारण, यससम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको तयारी प्रतिवेदन सार्वजनिक हुनुपर्ने आवाज पनि उठिरहेको छ । यो प्रतिवेदन पनि निर्वाचन अगाडि नै सार्वजनिक हुनुपर्ने थियो ।
राष्ट्रपति रामचन्द्र पौडेल – तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा स्वीकृतिका लागि दिउँसो करिब २ः४५ बजेको समयमा पत्र आएको र करिब २ः५० बजे प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि करिब ३ः०० बजे हामी राष्ट्रपति निवासबाट नेपाली सेनाको सुरक्षित स्थानमा गएका थियौँ ।
संविधानका कारण मुलुकमा समस्या आएको होइन । कार्यकारी भूमिकामा रहने पदाधिकारीमाथि उठेका प्रश्नहरूको समयमा सुधार गर्ने दायित्व प्राप्त व्यक्ति तथा संस्थाले पूरा गर्न नसकेको कारण समस्या आएको हुन सक्दछ ।
समयमै राजनीतिक निकास निकाल्न सकेको भए सायद त्यस दिन कम क्षति हुन्थ्यो कि भन्ने परिकल्पना गर्न सकिन्छ ।
तत्कालीन प्रम केपी शर्मा ओली – भदौ २३ र २४ गते देशमा अकल्पनीय र बर्बरतापूर्ण घटना घट्यो । आन्दोलनको फाइदा घुसपैठ समूहलाई भएको थियो । जेनजीहरूले आफ्ना मागहरू अपहरण भयो, हाम्रो उद्देश्य यस्तो थिएन भनेकै छन् ।
भदौ २२ गते राति छलफलमा सुरक्षा निकायबाट ६–७ हजार जेनजी आई शान्तिपूर्ण हुने भनिएको हो ।
भदौ २४ गते मैले राजीनामा दिएको छु । म बाधक भएको कारणले त्यो आन्दोलन भएको भए मेरो राजीनामा पछि सबै ठीक हुनुपर्ने तर भएन छ ?
नेकाका शेरबहादुर देउवा – भदौ २४ गते बिहान १० बजे प्रदर्शनकारीहरू मेरा निजी निवासमा भेला भई नाराबाजीसहित हामी माथि हातपात भयो । हामी राति १०ः०० बजेतिर सुरक्षित स्थानमा पुग्यौँ ।
यो नितान्त षड्यन्त्र हो, तर कसले ग¥यो थाहा भएन । तोडफोड, लुटपाट, आगजनी गर्ने जो कोहीलाई कारबाही गर्नुपर्छ ।
माओवादीका पुष्पकमल दाहाल – भदौ २४ गते बिहान सिंहदरबार सर्वदलीय बैठकमा सहभागी भएँ र परिस्ष्थिति जटिल बन्दै गएपछि अपराह्न सुरक्षा निकासको सुरक्षामा बसेँ । भदौ २४ गते उक्त आन्दोलनको स्वरूप बदलिएको र गलत तत्वहरूले उपयोग गरेको निष्कर्षमा पुगेको छु ।
युवाहरूले भदौ २३ गते नै आन्दोलनमा घुसपैठ भएको भन्दै घर फर्कन आग्रह गरेका थिए । भदौ २४ गतेको घटनामा आन्तरिक तथा बाह्य घुसपैठको सम्भावना देखिन्छ ।
तत्कालीन सभामुख देवराज घिमिरे (एमाले) – भदौ २३ गते केही प्रदर्शनकारी संसद् भवन परिसरभित्र प्रवेश गर्न सफल हुनुको कारण सुरक्षाकर्मीको अनुमानभन्दा धेरै सङ्ख्यामा र फरक स्वरूपमा आन्दोलनकारी उत्रिनु, सुरक्षा तयारी पर्याप्त नहुनु र सुरक्षा निकायबिच प्रभावकारी समन्वय नहुनु हो भन्ने मेरो बुझाइ छ ।
राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल (माओवादी) – भदौ २३ गते दिउँसो १ः१५ बजे राष्ट्रियसभाको बैठक बोलाइएको थियो । अवस्था जटिल भएपछि बैठक स्थगित गराएँ । संसद् भवन नेपाल सरकारले निषेधित क्षेत्र घोषणा गरेको संवेदनशील क्षेत्र भएकाले यस्तो अवस्था उत्पन्न हुन्छ भन्ने कल्पना नै गरिएको थिएन । भदौ २४ गते प्रतिकूल परिस्थिति सिर्जना भएपछि म परिवारसहित सुरक्षा निकायकै घेराभित्र रहेको थिएँ ।
तत्कालीन गृहमन्त्री रमेश लेखक
(नेका) – भदौ २२ गते साँझ बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको थियो । सबै सुरक्षा निकायबाट भदौ २३ गते सम्भावित हिंसाबारे सूचना प्राप्त भएको थिएन । राजनीतिक समूहको प्रदर्शन नभएकोले नेतृत्वविहीन हुनसक्ने जोखिमप्रति सतर्क रहन निर्देशन दिएको थिएँ । भदौ २३ गते बानेश्वरतर्फ प्रदर्शन हिँसात्मक हुँदै गएको जानकारी पाउनासाथ मैले प्रम, रक्षामन्त्री, प्रधानसेनापतिलाई जानकारी गराएँ । भदौ २४ गतेको घटनालाई युवाको मागभन्दा पृथक ढङ्गले हेर्नुपर्छ र आपराधिक कार्यमा संलग्न जो कोहीलाई कानुनबमोजिम कारबाही हुनुपर्छ ।
रास्वपाका रवि लामिछाने – भदौ २३ गतेसम्म (नख्खु) कारागारको अवस्था सामान्य नै थियो । भदौ २४ गते दिउँसो १२ः३० बजे कारागारका नाइकेहरूले मलाई बाहिर असामान्य भएको र परिवारको जिम्मा लगाई बाहिर पठाउनुपर्ने जानकारी गराए ।
वास्तवमा मलाई कारागार प्रशासनकै निर्देशनमा भिडको जिम्मा लगाइयो र बाहिर पठाइयो । भदौ २८ गते म पुनः नख्खु कारागार फर्किएँ ।
कामनपाका तत्कालीन मेयर बालेन्द्र साह – भदौ २३ गतेको शान्तिपूर्ण ¥यालीमा मेरो समर्थन थियो तर आन्दोलनमा थिएन । महानगर प्रहरीले पानी वितरण गरेको हो । भदौ २३ गतेको घटना सरकारको अत्यधिक बल प्रयोग र आतङ्कवादी शैलीकै नतिजा हुनसक्छ । भदौ २४ गतेको घटना दुःखद थियो । राष्ट्रपति र सेनापतिको आग्रहमा आन्दोलन शान्त पार्ने मेरो भूमिका रहेको थियो । तत्कालीन सरकारले अपराध र आतङ्कवादी क्रियाकलाप गरेको हो । सम्पूर्ण क्षतिको जिम्मा तत्कालीन सरकार र सहभागी दलले लिनुपर्छ । फेसबुकमा अभिव्यक्ति दिएकोमा ‘जलाइदिन्छु’ शब्द भएको थिएन ।
तत्कालीन मुख्य सचिव एकनारायण अर्याल – भदौ २३ गते राति १० बजे बालुवाटारमा प्रमको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को ३९ औँ बैठक बस्यो । बैठकमा डिस्कोर्ड, रेडिटलगायत सामाजिक सञ्जालबाट हिंसा, आगजनी हुने ठोस गुप्तचर सूचना प्रस्तुत भएन ।
सेवाप्रवाह कमजोर हुनु, कर्मचारीतन्त्रलाई राजनीतीकरणको नाममा सरकारी पक्षधर बनाइनुले जनआक्रोश बढेर भदौ २३ र २४ गतेको घटना घटेको हुन सक्छ भन्ने मेरो बुझाइ छ ।
तत्कालीन गृहसचिव गोकर्णमणी दुवाडी – भदौ २३ गते करिब ११–१२ बजेतिर प्रदर्शनकारी सुरक्षा घेरा तोडी संसद् भवनभित्र प्रवेश गरेको जानकारी पाएँ । कफ्र्यु आदेशपछि काठमाडौँका प्रमुख जिल्ला अधिकारीले नेपाली सेनाको सहयोग माग गर्दै समन्वयका लागि अनुरोध गरेकाले तत्कालै प्रधानसेनापतिलाई दुईपटक फोन गरी सहयोगका लागि आग्रह गरेँ ।
भदौ २४ गते प्रमको राजीनामापछि सुरक्षा निकायका प्रमुखहरू सैनिक मुख्यालय भद्रकालीमा बसेर समन्वयमा जुट्यौँ । भदौ २३ र २४ गतेको घटना आर्थिक सामाजिक अवस्था र सेवाप्रवाहको प्रभावकारीतासँग जोडेर हेर्नुपर्दछ भन्ने मेरो धारणा छ ।
काठमाडौँका तत्कालीन प्रजिअ छविलाल रिजाल – भदौ २३ गते मैले घुँडाभन्दा तल लक्षित गरी रबरको गोली चलाउने मौखिक आदेश दिएको भए पनि अन्तिम बल अर्थात सिधै गोली चलाउने आदेश दिएको थिएन । तर, सोही तनावपूर्ण अवस्थामा प्रहरीको रेडियो सेवाबाट पहिले प्रहरी महानिरीक्षक र त्यसपछि काठमाडौँ उपत्यका प्रहरी कार्यालयका निमित्त प्रमुखले ‘आवश्यकताअनुसार अवस्था नियन्त्रणमा लिन फायर खोल्नु’ भन्ने आदेश दिएको मैले सुनेको थिएँ । यो मुलुकमा लामो समयदेखि रहेका अन्याय र असमानताको परिणाम हो । फिल्डमा खटिएका सशस्त्र प्रहरी बल र अन्य सुरक्षाकर्मीबाट अपेक्षित सहयोग खुलेर नपाएको गुनासो पनि नेपाल प्रहरीका अधिकृतहरूबाट मैले सुनेको छु ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्मा – भदौ २४ गते देशका ३४ कारागारमा समान प्रकृतिका घटना भए । २८ कारागारबाट १४,५५४ जना कैदीबन्दी फरार भए । आन्दोलनको क्रममा पनि लामिछानेलाई छोड्ने पत्रबारे जेलरले धम्कीमा दस्तखत गरेको जानकारी मात्र विभागलाई प्राप्त भयो । अझै ४,८४१ जना फेरि फरार छन् ।
कारागार कार्यालय नख्खु ललितपुरका प्रशासक (जेलर) सत्यराज जोशी – भदौ २४ गते दिउँसो करिब १३ः४० बजे हजारौँको संस्थामा प्रदर्शनकारीहरूले ‘रवि लामिछानेलाई छोड’ भन्ने नारासहित ढुङ्गामुढा गर्दै आक्रमण सुरू गरे । रवि लामिछानेले ‘भिडलाई सम्झाउने प्रयास गर्छु’ भनी माइक माग्नुभयो तर भिडले उहाँलाई कारागारबाट बाहिर लग्यो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रजिअ मुक्तिराम रिजाल – भदौ २२ गते केही सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाइएको विरोधमा शान्तिपूर्ण प्रदर्शन गर्ने भनी सुदन गुरूङ, पुरूषोत्तम यादव र आकृति मल्लले निवेदन दिएका थिए । भदौ २३ गते बिहान ११ बजेतिर बानेश्वरको व्यारिकेड तोडेर प्रदर्शन अगाडि बढेको सीसीटीभीमा देखेको थिएँ । प्रदर्शन नियन्त्रण गर्न सुरक्षाकर्मी अपुग भएकाले नेपाली सेनाबाट थप सहयोग माग गरिएको थियो । प्रदर्शनकारीहरूबाट सो आदेशको पालना नहुँदा स्थिति नियन्त्रण बाहिर गई क्षति हुन पुगेको थियो । दिनको १ बजेतिर जिल्ला प्रशासनको कमान्डसहित म गृहमन्त्रालय हुँदै नेपाली सेनाको सिंहदरबारस्थित निलबाराही गणमा पुगेका थिए ।
प्रधानसेनापति अशोकराज सिग्देल – भदौ २४ गते बिहान प्रम निवासमा भएको छलफलमा पहिलो, एमालेका पदाधिकारीको सुझावअनुसार थप मानवीय क्षति रोक्न राजनीतिक समाधानतर्फ जान राजीनामा उपयुक्त हुनसक्ने । दोस्रो, संवैधानिक रूपमा सिफारिस भएमा नेपाली सेना परिस्थिति नियन्त्रणका लागि पूर्णरूपमा तयार रहेको सुझाव दिएको । तर, प्रधानमन्त्रीले राजीनामा दिएपछि अवस्था झन अराजक भयो ।
भदौ २४ गते बिहान ५ बजेदेखि कफ्र्यु लगाउन नेपाली सेनाले सुझाव दिएको भएपनि काठमाडौँमा बिहान ८ः३० बजेबाट मात्र कफ्र्यु घोषणा भयो ।
सुदन गुरूङ ‘हामी नेपाली’ संस्था – म लगायत संस्थाका स्वयम्सेवकहरू भदौ २३ गते बिहान ७ बजे माइतिघर मण्डलामा जम्मा भएका थियौँ । बानेश्वरमा प्रहरीले कफ्र्युको जानकारी माइकले दिइरहे पनि प्रदर्शनकारी धेरै हुँदा सुन्ने अवस्था थिएन ।
भदौ २४ गते प्रहरी महानिरीक्षक समेतले फोन गरी प्रधानकार्यालय जोगाई दिनुप¥यो भनेकोले डिस्कर्ड प्लेटफर्मको घोषणामार्फत हामी जम्मा भई जोगाएका थियौँ । हामी नेपाल संस्थाका स्वयम्सेवकहरूको नम्बरहरू नेपाली सेनालाई दिई संयुक्त रूपमा रातभरि काठमाडौँ उपत्यकामा खटेका थियो ।
रक्षा वम (उज्वल थापा फाउन्डेसन) – सामाजिक सञ्जालहरूमा भदौ २३ गते प्रदर्शन गर्ने प्रचार भइरहेका थिए । बिहान ८ बजेतिर म माइतिघर गएँ । सुदन गुरूङको समूह व्यवस्थापनको कार्य गरिरहेको थियो । प्रदर्शन लगभग ११ः३० बजेतिर बानेश्वर पुग्यो । म केही पछाडि थिएँ । सुरक्षाकर्मीले फायर गरेको आवाज आउन थाल्यो । लगभग १–२ बजेतिरको समय हामी अनामनगरमा सुरक्षित भयौँ । बेलुकासम्म बानेश्वर क्षेत्र रणभूमिजस्तै भयो ।
भदौ २४ गते प्रदर्शनमा मादक पदार्थ सेवन गरेका व्यक्तिहरू प्रशस्त भेटिन्थे । राजावादी भनेर परिचय दिइ हिँड्ने व्यक्तिहरूसमेत देखिन्थ्यो । मलाई लाग्छ प्रदर्शनमा सबै राजनीतिक दलहरूको तर्फबाट सहभागिता थियो । बानेश्वरमा एकजना मादक पदार्थ सेवन गरेका व्यक्ति हातमा बन्दुक लिएर उच्छृङ्खल प्रवृत्तिले प्रस्तुत भइरहेका थिए ।
Leave a Reply