भर्खरै :

जेनजी आन्दोलनको छानबिन आयोगमा बयानको सार सङ्क्षेप – २

जेनजी आन्दोलनको छानबिन आयोगमा बयानको सार सङ्क्षेप – २

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे सरोकारवालाहरूसँग छानबिन आयोगले लिएको बयानको सार –
राष्ट्रपति कार्यालय, शीतल निवास सुरक्षाको कमान्डर सहायक रथी मनोज वैदवार – करिब १२ः३० बजे सम्माननीय राष्ट्रपतिज्यूले सबै सल्लाहकारहरूसहित मलाई बोलाई समग्र परिस्थितिबारे छलफल गर्नुभयो । करिब २ बजे राष्ट्रपतिज्यूले मलाई पुनः बोलाई परिस्थितिबारे जानकारी लिनुभयो । करिब ३ः१५ बजे राष्ट्रपतिज्यू र परिवारलाई सवारीमार्फत सुरक्षित स्थानमा सकुशल पु¥याइयो ।
करिब ३ः३० बजे १ नम्बर गेटको दायाँबायाँ रहेको होचो पर्खालबाट ठुलो सङ्ख्यामा प्रदर्शनकारीहरू शीतल निवासभित्र प्रवेश गरे । शीतल निवासभित्र नेपाली सेनाको तर्फबाट २२४ जना फौज तैनाथ थिए ।
प्रम निवास, बालुवाटारको सुरक्षा कमान्डर प्रमुख सेनानी दिवाकर खड्काको बयान कागज व्यहोरा – करिब १४ः३० बजेसम्म प्रधानमन्त्री निवासको बाहिरी घेरामा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आन्दोलनकारीहरूलाई रोक्ने प्रयास गरिरहेका थिए । तर, भीडको आकार र आक्रोश बढ्दै गएकाले स्थिति थप संवेदनशील बन्दै गएको जानकारी प्राप्त भयो । चेन अफ कमान्डमार्फत सुरक्षा जोखिमको मूल्याङ्कन गर्दै २ः५५ बजे प्रधानमन्त्रीज्यूको जीवन र सुरक्षालाई उच्च प्राथमिकतामा राखी उहाँलाई नेपाली सेनाको हवाई साधन प्रयोग गरी सुरक्षित स्थानतर्फ उदार गर्ने निर्णय कार्यान्वयन गरियो ।
प्रमुख सेनानी गणेश खड्का (जिल्ला सुरक्षा समिति काठमाडौँको सदस्य) को बयान कागज – भदौ २३ गते माइतिघर मण्डलामा शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी पत्र हामी नेपाल नामक संस्थाका सुदन गुरूङ तथा अङ्कित मल्ल, सबल गौतम र पुुरूषोत्तम यादवलगायतले जिल्ला प्रशासन कार्यालयमा पठाएका थिए । करिब ८ हजार जनासम्म सहभागी हुनसक्ने अनुमान जिल्ला सुरक्षा समितिमा प्रस्तुत गरिएको थियो ।
सेनानी सन्तोष ढुङ्गेलको नेतृत्वमा करिब १२ः४५ बजे सिंहदरबारस्थित गणबाट संसद् भवनतर्फ फौज मुभ गराइएको थियो । बीआईसीसीतर्फ बढ्दा प्रदर्शनकारीहरू ट्रकको चक्का मुनि ढले, सवारी साधन अवरोध गर्नेजस्ता गतिविधि भएकाले करिब दुई हजार फौज रोकिएको थियो ।
प्रमुख सेनानी नरेश खड्का (नरसिंह दल गण सिंहदरबारका गणपतिको रूपमा) – भदौ २४ गते दिउँसो करिब १२ः४५ बजेतिर पश्चिम, दक्षिण र पूर्वी गेटमा हजारौँको सङख्यामा भीड पुगेको अवस्था थियो । उनीहरूले ढुङ्गामुढा प्रहार गर्नुका साथै गेटमा आगजनी गर्ने प्रयास गरेका थिए । सबै गेटबाट एकैचोटि उत्तेजित भीड भित्र छिरेपछि स्थिति असामान्य बनेको थियो ।
सेनानी सन्तोष ढुङ्गेल (संसद् भवन थप सुरक्षार्थ खटिएका टोली) – टोलीसहित गण सिंहदरबार–हनुमानस्थान थापागाउँ हुँदै बीआइसीसी जाने क्रममा प्रदर्शनकारीहरूले सवारी साधन रोक्दा ४५ मिनेट ढिलाइ भयो ।
करिब ११ः३० बजेतिर करिब १० हजारको हाराहारीमा पुगेको भीडले ढुङ्गा, इँटा, सिसाका बोटल र मोलोतोभ ककटेल (शिशी) प्रयोग गरी दक्षिण र पश्चिम पेरिमिटरमा आक्रमण गर्न थाल्यो । दिनभरिमा करिब चार पटकसम्म भीडले संसद् भवनमा प्रवेश गर्ने प्रयास गरेका, जसलाई अश्रुग्यास प्रयोग गरी बाहिर धकेल्ने प्रयास गरिरहेको थियो । करिब १ः५७ बजे ठुलो हुलसहित प्रदर्शनकारीहरूले नेपाल प्रहरी र सशस्त्र प्रहरीको घेरा तोड्दै संसद् भवनतर्फ आक्रमण गरे । ‘खुनको बदला खुन’ जस्ता नारा लगाउँदै सेना तथा प्रहरीका सवारी साधनमा आगजनी गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *