भर्खरै :

गाजामा पोलियो र अन्य प्रकोपको सम्भावनाप्रति डब्लुएचओ अत्यन्त चिन्तित

गाजामा पोलियो र अन्य प्रकोपको सम्भावनाप्रति डब्लुएचओ अत्यन्त चिन्तित

जेनेभा, ८ साउन (एएफपी) । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का एक शीर्ष अधिकारीले मङ्गलबार युद्धग्रस्त गाजाको ढलमा सम्भावित पोलियोभाइरस फेला परेपछि सम्भावित प्रकोपलाई लिएर अत्यन्त चिन्तित भएको बताउनुभएको छ । उहाँले पोलियो जस्तो सरुवा रोगले चोटपटकभन्दा बढी मृत्यु हुनसक्ने चेतावनी दिनुभयो ।
ग्लोबल पोलियो प्रयोगशाला नेटवर्कले जुन २३ मा गाजापट्टीमा ढलबाट सङ्कलन गरिएका छ वटा वातावरणीय नमुनामा खोपबाट व्युत्पन्न टाइप–२ पोलियोभाइरस फेला पारेको राष्ट्रसङ्घीय ऐजेन्सी डब्लुएचओले गत साता बताएको थियो ।
कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रहरूमा डब्लुएचओका स्वास्थ्य आपत्कालीन प्रमुख अयादिल सपरबेकोभले भन्नुभयो, “हामीले अहिलेसम्म मानव नमुना सङ्कलन गरेका छैनौँ, त्यसैले कोही भाइरसबाट सङ्क्रमित भएको छ वा छैन भन्ने अस्पष्ट छ ।”
तर उहाँले जेरुसेलमबाट भिडियो–लिङ्कमार्फत जेनेभामा पत्रकारहरूसँग भन्नुभयो, “म अत्यन्त चिन्तित छु ।”
पोलियो मानिसहरूलाई सम्भावितरूपमा अशक्त बनाउने र विशेषगरी पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई असर गर्ने घातक भाइरल रोग हो । पोलियोविरुद्धको एक प्रकारको खोपमा थोरैमात्रामा कमजोर तर जीवित पोलियो हुन्छ र यो कहिलेकाहीँ प्रकोपको कारण बन्न सक्छ ।
मौखिक पोलियो खोप (ओपिभी) आन्द्रामा प्रतिकृति बनाउँछ र मल–दूषित पानीको माध्यमबाट अन्यसम्म पुग्न सक्छ । यसको अर्थ खोप लगाएका बालबालिकालाई यसले हानि पु¥याउँदैन तर सरसफाइ र खोपको स्तर कम भएको स्थानमा यसले सङ्क्रमित गर्न सक्छ ।
महामारी विज्ञान अध्ययन तथा जोखिम मूल्याङ्कन जारी रहँदा सपरबेकोभले गाजामा कुनै पनि रोग फैलिने सम्भावनाप्रति गहिरोरूपमा चिन्तित रहेको बताउनुभयो । इजराइलभित्र अक्टोबर ७ मा हमासको घातक आक्रमणपछि नौ महिनाभन्दा लामो युद्धपछि गाजाले विशाल मानवीय सङ्कटको सामना गरिरहेको छ ।
“म गाजामा भइरहेका प्रकोपहरूबाट अत्यन्त चिन्तित छु”, गत वर्षको अन्त्यमा हेपाटाइटिस ए फैलिएको पुष्टिलाई औँल्याउँदै उहाँले भन्नुभयो, “र अब हामीलाई पोलियो हुनसक्छ ।”
“अपाङ्ग स्वास्थ्य प्रणाली, पानी र सरसफाइको कमीका साथै स्वास्थ्य सेवामा जनताको पहुँचको अभावले यो धेरै खराब अवस्था बन्नेछ”, उहाँले चेतावनी दिँदै भन्नुभयो, “हामीमा चोटपटकसम्बन्धी रोगहरूको तुलनामा विभिन्न प्रकारका सरुवा रोगबाट धेरै मानिस मरेका हुनसक्छन् ।”
सपरबेकोभले मङ्गलबार गाजामा डरलाग्दो अवस्थाको वर्णन गर्नुभयो । उहाँका अनुसार गाजामा ३६ अस्पतालमध्ये १६ वटाले मात्र आंशिकरूमा काम गरिरहेका छन् । डब्लुएचओले लामो समयदेखि गम्भीर रूपमा बिरामी र घाइतेहरूका लागि गाजाबाट चिकित्सा निकासीको तत्काल आवश्यकतामा जोड दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *