भर्खरै :

शाननानका प्रतिनिधिमण्डलसँग भक्तपुरको आर्थिक तथा वाणिज्य मामिलासम्बन्धी बैठक

शाननानका प्रतिनिधिमण्डलसँग भक्तपुरको आर्थिक तथा वाणिज्य मामिलासम्बन्धी बैठक

भक्तपुर ८ साउन । भक्तपुर नगरपालिकाको निमन्त्रणामा मित्र राष्ट्र जनगणतन्त्र चीनको सीचाङ स्वशासित क्षेत्र, शाननान सहरका कार्यकारी उपप्रमुख मु योङवनलगायतका प्रतिनिधिमण्डलसँग भक्तपुरको आर्थिक तथा वाणिज्य मामिलासम्बन्धी बैठक मङ्गलबार सम्पन्न भयो ।
बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर पर्यटकीय केन्द्रको रूपमा विकास भइरहेको सांस्कृतिक सहर भएको बताउँदै भक्तपुरलाई केन्द्रमा राखी भक्तपुर नपाले विभिन्न आर्थिक गतिविधिहरू सञ्चालन गरिरहेको बताउनुभयो ।
पर्यटनसँग सम्बन्धित हस्तकला उद्योग, घरेलु उद्योगलगायत अन्य उद्योगलाई भक्तपुर नपाले प्राथमिकतामा राख्दै आएको बताउँदै उहाँले जुजु धौ, भादगाउँले टोपी, हाकु पटासी, टाइचिन च्युरा, माटोको भाँडा, काष्ठकला, धातुकला आदि वस्तुहरूको उत्पादनका साथै विदेशमा निर्यातसमेत भइरहेको अवगत गराउनुभयो ।
भक्तपुर कृषकहरूको बाहुल्यता भएको सहर हो भन्दै उहाँले यहाँका नागरिकहरू कृषि पेसाबाट क्रमशः अन्य पेसातिर आकर्षित हुँदै गइरहेको बताउनुभयो ।
भक्तपुर नगरभित्र अवस्थित औद्योगिक क्षेत्रलाई उपयुक्त ठाउँमा स्थानान्तरण गर्ने पहल भइरहेको बताउँदै उहाँले भक्तपुर नपाले आत्मनिर्भरतालाई जोड दिँदै आएको बताउनुभयो ।
बैठकमा उपप्रमुख मु योङवनले भक्तपुर र शाननानबिच आर्थिक तथा व्यापारिक सम्बन्ध स्थापनाको लागि धेरै सम्भाव्यता देखेको बताउँदै नेपाली सामानको एउटा व्यापार भण्डार स्थापना गरी दुई सहरबिच व्यापारिक सम्बन्ध स्थापना गर्न सकिने बताउनुभयो ।
उहाँले चीनको इन्टरनेट व्यापार अहिले धेरै प्रचलित र प्रख्यात रहेको बताउँदै नेपाल चीनबिचको आर्थिक व्यापारमा परिपूरक सम्बन्ध विकास गर्न सकिनेतर्फ जोड दिनुभयो ।
शाननानको व्यापार विभाग ब्युरोका प्रमुख लीले शाननान सहरको विदेश व्यापारसँग सम्बन्धित विषयगत जानकारी दिँदै चीनमा अहिले अनलाइनमार्फत हुने व्यापार निकै प्रचलनमा रहेको बताउनुभयो ।
व्यापारको विकासले दुई देशबिच भौतिक विकासमा पनि टेवा पुग्ने बताउँदै उहाँले शाननानका सबै सहर र गाउँहरूमा बाटोघाटो र हुलाकको उचित व्यवस्था रहेको बताउनुभयो ।
भक्तपुर नपाको आर्थिक समितिका संयोजक हरिप्रसाद बासुकलाले भक्तपुरको पर्यटन उद्योगको विकासको लागि औद्योगिक क्षेत्रलाई स्थानीय सीपमा आधारित हस्तकला औद्योगिक क्षेत्रमा परिणत गर्ने योजना रहेको उल्लेख गर्दै भक्तपुर नपामा ८ हजार ८ सय ८८ वटा व्यवसायहरू दर्ता रहेको र ती व्यवसायहरूलाई दर्ता र नवीकरणको लागि कर टोली खटाई कर सङ्कलन गर्ने व्यवस्थामा जोड दिँदै आएको बताउनुभयो ।
बैठकमा भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रोशनी धौबन्जा र भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले पनि बोल्नुभएको थियो ।
बैठकमा भक्तपुर नपा आर्थिक समितिका पदाधिकारी, भक्तपुर उद्योग वाणिज्य सङ्घ, नेपाल चेम्बर अफ कमर्स, भक्तपुर, भक्तपुर घरेलु तथा साना उद्योग सङ्घ, भक्तपुर पर्यटन विकास समिति, भक्तपुर होटल व्यवसायी सङ्घ, भक्तपुर इँटा व्यवसायी सङ्घ, भक्तपुर युवा व्यवसायी सङ्घ, भक्तपुर ट्रक व्यवसायी सङ्घ, भक्तपुर सहकारी समाज, भक्तपुर कृषक समूहका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *