राजनीतिक रूपमा सचेत हुन पार्टी प्रकाशनहरू अध्ययन गर्न आवश्यक
- जेष्ठ २०, २०८३
जनगणतन्त्र चीनको सीचाङ (तिब्बत) स्वशासित क्षेत्र, शान–नान सहरका कार्यकारी उपप्रमुख मु योङवनलगायत प्रतिनिधिमण्डलका सम्पूर्ण सदस्यहरूलाई भक्तपुर नगरपालिका र यहाँका सम्पूर्ण नगरवासीको तर्फबाट हार्दिक स्वागत गर्दछौँ ।
आजभन्दा ८ वर्षअघि २०७३ साउन ३० गते भक्तपुर नगरपालिका र चीनको शान–नान नगरपालिकाबिच भगिनी सम्बन्ध कायम भएको थियो । दुई पालिकाबिच सांस्कृतिक, आर्थिक, शैक्षिक, पर्यटनलगायत विषयमा सहयोग आदानप्रदान गर्ने सहमतिको उद्देश्य थियो । सहमतिपछि दुई नगरपालिकाबिच भ्रमणको आदानप्रदान हुँदै आएको छ । शान–नानका उपप्रमुखको नेतृत्वमा आएको यो भ्रमण टोली पनि त्यसैको सिलसिला हो ।
भक्तपुर नगर र शान–नान नगर सांस्कृतिक सम्पदाको दृष्टिमा मिल्दोजुल्दो छ । यी दुवै नगर पर्यटकीय नगरहरू हुन् । नेपाल भ्रमणमा आउने पर्यटकहरूमध्ये करिब २५ प्रतिशत विदेशी पर्यटकहरूले भक्तपुर भ्रमण गर्ने गर्छन् । नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकहरूको सङ्ख्या पनि क्रमशः बढ्दै छ । गत आ.व. २०८०÷८१ मा २ लाख ४५ हजारभन्दा विदेशी पर्यटकहरूले भक्तपुरको भ्रमण गरेकोमा ४० हजार ४ सय चिनियाँ पर्यटकहरूले भक्तपुर भ्रमण गरेको तथ्याङ्क छ । त्यसलाई ध्यान दिएर भक्तपुर नगरपालिकाले यहाँका युवाहरूलाई लक्षित गरी चिनियाँ भाषाको नियमित प्रशिक्षण दिइरहेको छ ।
भक्तपुर भ्रमण गर्ने विदेशी पर्यटकहरूसित केही पर्यटन शुल्क उठाउने गरेका छौँ । सार्क देश र चिनियाँ नागरिकलाई रु. ५००।— र अन्य गैरसार्क देशका नागरिकका लागि १५ डलर वा १८०० नेपाली रूपैयाँ लिने गरेका छौँ । नगरपालिकाको आयस्रोतमध्ये पर्यटन पनि एउटा प्रमुख स्रोत रहेको छ । पर्यटनबाट उठेको रकमबाट यहाँका कला संस्कृति संरक्षण, सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार तथा शिक्षा, स्वास्थ्य उपचार, सरसफाइ र विकास निर्माणमा खर्च गर्दै आएका छौँ ।
भक्तपुर नगरपालिका देशका ७५३ पालिकामध्ये एक हो । क्षेत्रफलको आधारमा देशका साना नगरमध्ये एक भक्तपुर नगरपालिका ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वको दृष्टिले यो नगर देशकै सबैभन्दा महत्वपूर्ण नगर पनि हो । यहाँ प्राचीन सम्पदाहरू जीवन्त देख्न सकिन्छ । यहाँका मूर्त तथा अमूर्त सम्पदाहरूको आधारमा कतिपय विद्वान्हरूले भक्तपुर नगरलाई सांस्कृतिक नगर, कला संस्कृति संरक्षित नगर र जीवित सङ्ग्रहालयको उपमा पनि दिनुभएको छ ।
नेपालमा सङ्घीय लोकतान्त्रिक व्यवस्था स्थापना भएपछि भएको दुई पटकको स्थानीय निर्वाचनहरूमा दुवै पटक यस नगरपालिकामा नेपाल मजदुर किसान पार्टीका शत प्रतिशत उम्मेदवारहरूले जित हासिल गरेको थियो । हामी दोस्रो कार्यकालको लागि निर्वाचित भएर नगरवासीहरूको सेवामा कार्यरत छौँ ।
नेपाल मजदुर किसान पार्टी वैज्ञानिक समाजवादमा विश्वास गर्ने कम्युनिस्ट पार्टी हो । नेपाल मजदुर किसान पार्टीको नेतृत्व नेपालका वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले गरिरहनुभएको छ । माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारलाई नेपाल मजदुर किसान पार्टीले आफ्नो मार्गनिर्देशक सिद्धान्तको रूपमा मान्दै आएको छ ।
नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिहरू संसद्, प्रदेश र स्थानीय तहहरूमा निर्वाचित भएर जनताको सेवा गरिरहेका छन् । हामी स्थानीय जनतासँग नजिक बसेर जनताको इच्छा आकाङ्क्षा पूरा गर्न निरन्तर लागिरहेका छौँ ।
राजनैतिक विभाजनअनुसार भक्तपुर १० वटा वडामा विभाजित छ । प्रत्येक वडामा १ जना वडाध्यक्षसहित ५ जनाको वडा समिति हुने गर्दछ । त्यसमध्ये १ जना दलितको निम्ति आरक्षणको व्यवस्था गरिएको छ । सबै वडाहरूमा दलित समुदायको प्रतिनिधित्व नभएको कारण अहिले ४५ जनाको नगरसभा छ । नगरसभाले नगरपालिकाको लागि आवश्यक कानुनहरू निर्माण गर्छ । यसरी कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासमेतको अधिकार स्थानीय सरकारले प्रयोग गर्छ । भक्तपुर नगरपालिकाले तिनै अधिकारको प्रयोग गरी जनताको हितमा काम गरिरहेको छ ।
भक्तपुर प्राचीन नगर हो । यहाँ काष्ठकला, वास्तुकला, धातुकला र प्रस्तरकलाका अनुपम उदाहरणहरू देख्न सकिन्छ । लिच्छविकालीन र मल्लकालीन ती सम्पदाहरूलाई हामीले जस्ताको तस्तै संरक्षण गर्ने प्रयास गर्दै छौँ । २०७२ सालको भूकम्पले हाम्रा धेरै सम्पदाहरू क्षतिग्रस्त भयो । स्थानीय जनताको साथ र सहयोगमा हामीले यो बितेको ७/८ वर्षमा १५० वटाभन्दा बढी सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार ग¥यौँ । ती सम्पदाहरू पुनःनिर्माण र जीर्णोद्धारमा कुनै पनि विदेशीको सहयोग छैन । आत्मनिर्भरतालाई नै हामीले जोड दिइरहेका छौँ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले आजभन्दा २० वर्ष अघि ‘सय वर्षपछिको भक्तपुर’ पुस्तक लेखेर भक्तपुरको भविष्यको रूपरेखा कोर्नुभएको थियो । हामी यसको आधारमा भक्तपुरलाई एक सुन्दर, सफा र सम्पदा संरक्षित नगरको रूपमा विकास गर्न खोज्दै छौँ ।
२०७२ को गोरखा भूकम्प र २०८० मा भएको जाजरकोट भूकम्पको बेला पनि चिनियाँ सरकारले नेपाली जनताको उद्धारको लागि राहत सामग्री सहयोगस्वरूप प्रदान गरेको थियो । त्यसको लागि भक्तपुरका जनताको तर्फबाट चिनियाँ कम्युनिस्ट पार्टी र त्यहाँको सरकारलाई धेरै धन्यवाद दिन चाहन्छौँ ।
त्यसैगरी, सन् २०१९ बाट विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना सङ्कटको बेला चिनियाँ सरकारले कोरोना भाइरसविरुद्ध खोप उत्पादन गरी चिनियाँ नागरिकको साथै विश्वका नागरिकहरूको जीवन रक्षाको लागि महत्वपूर्ण योगदान गर्यो । त्यसको लागि पनि हामी आभार प्रकट गर्दर्छौँ ।
त्यस्तो सङ्कटको बेला शान–नान नगरले भक्तपुरलाई आइसीयू बेड, अक्सिजन कन्सनट्रेटर, अक्सिजन सिलिन्डर, भेन्टिलेटर, अपरेसन टेबललगायत थुप्रै स्वास्थ्य उपकरणहरू सहयोग गर्नुभयो । त्यसको लागि शान–नानका मेयर, उपमेयरलगायत त्यहाँका तमाम जनप्रतिनिधि र जनतालाई भक्तपुर नगरपालिकाको तर्फबाट विशेष धन्यवाद ज्ञापन गर्दछौँ । सङ्कटमा साथ दिनेहरू मात्रै असल मित्र हुन्छ भन्ने हामीले बुझेका छौँ । शान–नान नगरपालिकाले गरेको त्यो गुणलाई हामीले कहिल्यै बिर्सने छैनौँ । शान–नानबाट प्राप्त स्वास्थ्य उपकरणहरू अहिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा प्रयोग भइरहेको छ ।
नेपालका धेरै विद्यार्थीहरू चीनमा अध्ययन गर्न गइरहेका छन् । नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति दिएर उच्च शिक्षा पढ्ने अवसर दिएकोमा पनि भक्तपुरका जनताको तर्फबाट चीन सरकार र त्यहाँका जनताप्रति आभार प्रकट गर्दछौँ ।
चिनियाँ कम्युनिस्ट पार्टीको तर्फबाट नेपाल मजदुर किसान पार्टीलाई स्वास्थ्य सामग्रीहरू प्राप्त भएको थियो । ती सामग्रीहरू पार्टी सचिव प्रेम सुवाल स्वयं देशका विभिन्न अस्पतालहरूमा पुगेर हस्तान्तरण गर्नुभएको पनि यो अवसरमा जानकारी दिन चाहन्छौँ ।
शिशुस्याहार केन्द्र, विद्यालयहरू र कलेजहरू सञ्चालन गरी शिक्षा क्षेत्रमा पनि भक्तपुर नगरपालिकाले काम गरिरहेको छ भने ख्वप विश्वविद्यालय स्थापनाको लागि पनि तयारी गरिरहेको छ ।
वडा वडामा स्वास्थ्य केन्द्रहरू र १०० बेडको अस्पताल सञ्चालन गरी जनताको लागि स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएका छौँ । खेलकुद, कृषि, घरेलु उद्योगहरूलाई पनि प्रोत्साहन गरिरहेका छौँ ।
चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरू, सरकारका उच्चपदस्थ पदाधिकारीहरू, विश्वविद्यालयका प्राध्यापकहरूको बरोबर भक्तपुरमा हुने भ्रमणले हाम्रो हाम्रो मित्रता थप बलियो हुँदै गइरहेको छ । दुई नगरपालिकाबिचको सम्बन्ध थप सुदृढ बनाउन यस भ्रमणले सहयोग गर्ने अपेक्षा गर्दछौँ ।
(भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भक्तपुर नगरपालिकाको भगिनी सहर मित्रराष्ट्र जनगणतन्त्र चीनको सिचाङ (तिब्बत) स्वशासित क्षेत्र शाननान सहरका कार्यकारी उपप्रमुख मु योङवनसँगको भेटघाटमा सोमबार व्यक्त विचार–सं.)
Leave a Reply