भर्खरै :

कम्युनिस्टहरू आमूल परिवर्तनका पक्षपाती हुन्छन्

नेपालको कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाएर देशमा आमूल परिवर्तन गर्न माक्र्सवाद र लेनिनवादलाई मार्गनिर्देशक सिद्धान्त मानी स्थापना भएका कम्युनिस्ट पार्टीहरू सत्ता नपाएर रोई कराइरहेका छन् । सत्ता नपाएर आवेश र भावनामा डुबेर भावविह्वल भएका या मनमा चोट परेर बोल्दाबोल्दै बोली रोक्न पुगेका सत्ता प्यारो कम्युनिस्ट पार्टीका नेताहरूले समाजवादी मोर्चाको हवाला दिएर के देशमा कम्युनिस्ट आन्दोलन अघि बढाउँछन् ? मोर्चामा रहेका दलका सबै नेताहरू के आमूल परिवर्तनको निम्ति वर्गसङ्घर्ष गर्न अघि बढ्छन् ? कम्युनिस्टहरूको सिद्धान्त र विचार छोड्दै, क्रान्तिकारी बाटोलाई लात मार्दै संसदीय बाटो या पुँजीवादी बाटोमा फसेका ती कम्युनिस्ट नेताहरूमा कम्युनिस्ट पार्टीको उद्देश्य पूरा गर्ने लक्षण देखिएको छैन । कम्युनिस्ट पार्टीभित्रै हुर्केका केशरजङ्ग रायमाझीजस्ता नेताहरूले कम्युनिस्ट पार्टीलाई नै गलत बाटोमा लागेर धोका दिएजस्तै अहिले पनि पुँजीपति सरकारभित्र छिरेर, पुँजीवादी बाटो अँगालेका कम्युनिस्टहरू नै कम्युनिस्टविरोधी क्रियाकलाप गर्र्दै छन् । कम्युनिस्ट पार्टी भन्दै उनीहरू कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार तोडमरोड गर्दै कम्युनिस्ट पार्टीकै बदनाम गर्दै छन् । उनीहरूकै कारण नेपालका कम्युनिस्ट पार्टीले बाटो बिराए भन्दै अरु सच्चा कम्युनिस्ट पार्टीलाई उही दृष्टिले हेर्न थालेका छन् । तर, सबै पार्टीलाई पनि एउटै दृष्टिले हेर्नु दृष्टिदोषबाहेक अरु होइन ।
ठुला भनिने एमाले, माओवादी केन्द्रजस्ता पार्टीहरूले कम्युनिस्ट गतिविधि गरिरहेका छैनन् । ती कम्युनिस्ट पार्टीभित्र पहिलेका पञ्च, प्रतिक्रियावादी, जमिनदार, जालीफटाहाहरू छिरेका छन्; छिरेर ठुलो दल बनेका छन् । ती नेताहरू न माक्र्स र लेनिनको विचार जनतासमक्ष पु¥याउन अघि सरेका छन् न त समाजवादी प्रचार अभियानमा नै जुटेका छन् । कम्युनिस्ट पार्टीको भजन गाएर, कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारको खोल ओढेर के जनता कम्युनिस्ट पार्टीबाट सुसूचित हुन्छन्; सिद्धान्तनिष्ठ हुन्छन् ? के पुँजीवादी सरकारले बहुमत जनताको हित गर्छ ? बहुमत जनताको पक्षमा ऐन–कानुन बनाउँछ ? के पुँजीवादी संसदीय व्यवस्थाबाटै देशमा आमूल परिवर्तन सम्भव हुन्छ ? ती दलका नेताहरूले पुँजीवादी सरकारमा गएपछि कम्युनिस्ट पार्टी भुले, कम्युनिस्ट विचार छोडे । बरु तिनीहरूले कम्युनिस्टको सिद्धान्त र विचारअनुसार समाजवादी प्रचार अभियानमा लागेर जनतालाई सुसूचित पार्दै आएका दलहरूलाई नै कम्युनिस्ट पार्टी होइनन्; वर्गसङ्घर्षमा विश्वास गर्नेहरू कसरी कम्युनिस्ट हुन्छन् ? भनी प्रश्न ठड्याउँदै छन् । अहिले सबै अधिकार प्राप्त भएको हुँदा वर्गसङ्घर्ष आवश्यक छैन, यही पुँजीवादी व्यवस्थाबाट समाजवाद ल्याउन सकिन्छ भनी उनीहरू जनतामाझ भ्रम फैलाउँदै छन्, झूटको खेती गर्दै छन् ।
कम्युनिस्टहरूले कम्युनिस्ट पार्टीको स्थापनाको बेलामा मात्र माक्र्स, लेनिन, समाजवादको चर्चा परिचर्चा गर्ने होइन, जुनसुकै बेलामा समाजवादी प्रचार अभियान गरिरहनुपर्छ । समाजवादी प्रचार अभियान थालनी नगर्दा र जनतामाझ पुगेर सैद्धान्तिक र वैचारिक ज्ञान दिएर सङ्गठित नगरेकै कारण कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलन पछि परेको हो । देश र जनताको निम्ति सङ्घर्षरत कम्युनिस्ट पार्टीका नेताहरू सत्तामा रहँदा किन दम्भ गर्छन्; गौरवको अनुभूति गर्छन् र सत्तामा नहुँदा किन गर्जन्छन्, निन्याउरो मुख लाउँछन् र नुन खाएको कुखुरोझैँ लत्रन्छन् ? सत्तामा रहँदा लडाइँमा विजय प्राप्त गरेको अनुभूति गर्ने र नहुँदा हारेको अनुभूति गर्ने कम्युनिस्ट पार्टीका नेताहरूले के क्रान्ति गर्लान् ? क्रान्ति गर्न अघि सर्लान् ? परिवर्तनको निम्ति क्रान्ति अहिल्यै गर्नुपर्छ; हुनुपर्छ भन्ने होइन तर क्रान्तिको निम्ति पूर्वाधार तयार गर्न जनतालाई सचेत र सङ्गठित गर्दै लानुपर्छ ।
कम्युनिस्ट पार्टीप्रति जनताको प्रभाव र विश्वास बढ्दै छ । जनता कम्युनिस्ट पार्टीप्रति नै विश्वास गर्छन् । तर, आफूलाई कम्युनिस्ट भनिने दलहरू कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारबाट विचलित हुँदै छन् । यो नै कम्युनिस्ट पार्टी र आन्दोलनको निम्ति विडम्बनाको विषय बनेको छ । बहुदलीय जनवाद पुँजीवादी विचार हो । बहुदलीय जनवाद संशोधनवाद हो । संशोधनवाद पुँजीवादकै एक हाँगा हो । पुँजीवादी संसद्बाटै समाजवाद स्थापना गर्ने विचार पनि पुँजीवाद नै हो । देश, काल र परिस्थिति तयार नहुँदै क्रान्तिको आह्वान गर्ने दल वामपन्थी अवसरवाद हो । वामपन्थी अवसरवाद र संशोधनवाद कम्युनिस्टविरोधी विचार हो । कम्युनिस्ट पार्टीको लाइन छोडेर, कम्युनिस्ट पार्टीकै बदनाम गरेर राजनीति गर्ने पुँजीवादको पक्षपोषण गर्ने, विदेशी शक्ति राष्ट्रहरूको पछि लाग्ने कम्युनिस्ट पार्टीका नेताहरूले वास्तवमा देशमा आमूल परिवर्तन चाहेका छैनन् । ती कम्युनिस्ट पार्टीभित्र सामन्त, जमिनदार, जालीफटाहा, ठेकेदार, कमिसनखोर, कालाबजारिया, गैरसरकारी संस्थाका नेताहरूको बोलवाला छ । त्यस्तो दलका नेताहरूले बहुमत जनताको पक्षमा क्रान्ति गर्दैनन्, क्रान्ति गर्न तयार गर्दैनन् । के कम्युनिस्ट पार्टी भनेको देखाउने दाँत हो ? कम्युनिस्ट पार्टीको लक्ष्य पूरा गर्न कम्युनिस्ट पार्टी अघि बढ्नुपर्दैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *