भर्खरै :

भियतनामी कम्युनिस्ट पार्टीका नेता ट्रोङको अन्त्येष्टि शुक्रबार गरिने, श्रद्धाञ्जलीका लागि हजारौँ शुभचिन्तकको उपस्थिति

भियतनामी कम्युनिस्ट पार्टीका नेता ट्रोङको अन्त्येष्टि शुक्रबार गरिने, श्रद्धाञ्जलीका लागि हजारौँ शुभचिन्तकको उपस्थिति

हनोई, भियतनाम, २५ जुलाई (एएफपी) । भियतनामको राजधानी हनोईमा बिहीबार भियतनामी कम्युनिस्ट पार्टीका नेता गुयेन फु ट्रोङको अन्त्येष्टिका लागि उच्च अधिकारीसहित हजारौँ नागरिक भेला भएका छन् ।
गत साता राजधानी हनोईको एक सैनिक अस्पतालमा वृद्धावस्थाका कारण देखिएका गम्भीर रोगका कारण निधन भएका ८० वर्षीय उहाँ दशकौँपछि भियतनामले पाएको सबैभन्दा शक्तिशाली नेता हुनुुहुन्थ्यो ।
भियतनामका धेरै वरिष्ठ नेताहरूको अन्तिम विश्रामस्थल माई डिच समाधिस्थलमा शुक्रबार अपराह्न ३ः०० बजे ट्रोङको अन्त्येष्टि गरिनेछ भने बिहीबारदेखि नै सर्वसाधारणका लागि श्रद्धाञ्जलीका लागि राखिएको छ ।
सन् २०११ देखि पार्टीको नेतृत्व गर्दै आएका ट्रोङ सन् १९८६ मा देशको अर्थतन्त्रको उदारीकरणपछि लगातार तीनपटक पार्टीको नेतृत्व सम्हाल्ने पहिलो नेता हुनुहुन्छ ।
उहालाई पार्टी, प्रहरी, सशस्त्र बल र व्यवसायमा फैलिएको भ्रष्टाचारविरोधी उच्च प्रोफाइल अभियानका लागि भियतनामी जनताले सम्मान गर्ने गरेका छन् भने कतिपय विश्लेषकहरूले यसलाई राजनीतिक कलहसँग पनि जोडिएको बताउने गरेका छन् ।
मध्य हनोईस्थित राष्ट्रिय अन्त्येष्टि गृहमा नेताको ठुलो चित्र र दर्जनौँ पदकमुनि झन्डा ढाकिएको ट्रोङकोे कफिन राखिएको छ भने कफिन वरपर पहेँलो फूलको गुच्छा र धूप बालिएको छ ।
कालो र सेतो हेडब्यान्ड लगाएका ट्रोङको परिवारले शोकसन्तप्त शुभचिन्तक तथा आपन्तजनहरूलाई अभिवादन गर्दै अन्त्येष्टिमा कुनै पनि परम्परागत नगद खाम वा फूलहरू नदिन अनुरोध गरेका छन् ।
“शोक अवधिभर देशभरका सबै झन्डा आधा झुकेका छन् भने मनोरञ्जन र खेलकुदका कार्यक्रमस्थगित गरिएको छ । महासचिवको निधनले पार्टी, राज्य, जनता र परिवारका लागि अपूरणीय क्षति भएको छ,” पोलिटब्युरो सदस्य लुओङ कुओङले भन्नुभयो ।
ट्रोङको मृत्युको घोषणा हुनुभन्दा एक दिनअघि सत्ताको बागडोर सम्हालेका राष्ट्रपति तो लामसहित देशका शीर्ष पार्टी पदाधिकारीले उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
उहाँलाई श्रद्धाञ्जली अर्पण गर्न हनोइ पुगेका दक्षिण कोरियाका प्रधानमन्त्री हान डक–सो र क्युवाका सभामुख एस्टेबान लाजो हर्नान्डेजलगायत विदेशी अधिकारीसमेतले उहाँप्रति सम्मान व्यक्त गरेका छन् ।
यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले भियतनाम र वासिङ्टनबिचको गहिरो सम्बन्धका हिमायतीको रूपमा ट्रोङको प्रशंसा गर्नुभएको थियो भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भियतनामी ट्रोङलाई ‘रुसको साँचो मित्र’ को रूपमा प्रशंसा गर्नुभएको थियो ।
सिंगापुरको आइएसईएएस–युसोफ इशक इन्स्टिच्युटका सिनियर फेलो ले होङ हिपले भन्नुभयो, “ट्रोङको नेतृत्वमा भियतनामले सबै प्रमुख शक्तिराष्ट्रसँग सन्तुलित विदेश नीति कायम गर्न सफल भएको छ ।”
“यसका कारण भियतनामले महत्वपूर्ण आर्थिक विकास हासिल गर्न सफल भएको छ र अब सन् २०३० सम्ममा उच्च मध्यम आय भएको अर्थतन्त्र बन्ने बाटोमा छ,” उहाँले एएफपीसँग भन्नुभयो ।
ट्रोङको खराब स्वास्थ्यका कारण सन् २०२६ को पार्टी महाधिवेशनसम्म उनी सत्तामा रहन नसक्ने अनुमान गरिएको थियो । उहाँको रोगको विवरण सार्वजनिक गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *