भर्खरै :

नेपालीको श्रम शोषण गरी सस्तो ज्यामी बनाउने साम्राज्यवादी नीतिको विरोध गर्न जरुरी

नेपालीको श्रम शोषण गरी सस्तो ज्यामी बनाउने साम्राज्यवादी नीतिको विरोध गर्न जरुरी

भक्तपुर, ११ साउन । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय र शारदा क्याम्पस माविमा कक्षा ११ मा अध्ययनको लागि भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले कलेजको प्रकाशन ‘ख्वप जर्नल भाग ६’ अनावरण गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको बताउँदै विद्यार्थीहरूलाई प्रगतिशील राजनीति गर्न विद्यालय तहदेखि नै प्रेरित गर्नुपर्छ भन्नुभयो ।
पुँजीवादी व्यवस्थालाई टिकाइराख्न वा स्थायित्व दिन वर्तमान शिक्षा व्यवस्थाले सहयोग गरिरहेको उल्लेख गर्दै उहाँले शिक्षा क्षेत्रमा भइरहेको व्यापक निजीकरण र व्यापारीकरण यसका ज्वलन्त उदाहरण हुन् भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले युवा विद्यार्थीहरू अध्ययन र रोजगारीको सिलसिलामा विदेशिने क्रम बढ्दै गइरहेकोमा चिन्ता व्यक्त गर्दै सरकारले युवाहरूलाई स्वदेशमै रोजगारीको बन्दोबस्त नगरेसम्म युवाहरूको विदेशिने क्रम रोक्न नसकिने बताउनुभयो ।
साम्राज्यवादी देशहरूले नेपालीको श्रम शोषण गरी सस्तो ज्यामी बनाइरहेको उल्लेख गर्दै उहाँले सरकार स्वयम्ले साम्राज्यवादी देश र म्यानपावर कम्पनीहरूको दलाली काम गरिरहेकोमा आपत्ति जनाउनुभयो ।
विद्यार्थीहरू विदेशिने क्रम बढेसँगै नेपालका कलेजहरू बन्द हुने अवस्थामा पुगेको स्पष्ट पार्दै उहाँले विद्यार्थीहरूलाई नेपालमै उच्च शिक्षा हासिल गरी देशकै लागि सेवा गर्न शिक्षकहरूमार्फत मार्गनिर्देशन भइरहनुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति, कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०५६ सालमा स्थापना भएको ख्वप माविको जगमा हाल ८ वटा शैक्षिक संस्थाहरू स्थापना भएको बताउँदै यी संस्थाहरू जनताको सेवामा समर्पित भई सञ्चालन भइरहेका छन् भन्नुभयो ।
प्रमुख प्रजापतिले ख्वप सर्कलमा भर्ना हुन आएका विद्यार्थीहरूलाई योग्य र सक्षम बनाउने काममा कलेजले निरन्तर पहल गरिरहने बताउँदै विद्यार्थीहरूलाई शिक्षकसँग नजिक भएर अध्ययन गर्न सुझाव दिनुभयो ।
उहाँले ख्वप सर्कलभित्रै अन्य धेरै विषय लिई उच्च शिक्षा अध्ययन गर्ने व्यवस्था पनि कलेजले गर्दै आइरहेको चर्चा गर्दै ख्वप विश्वविद्यालय सञ्चालनको लागि नगरपालिकाले निरन्तर पहल गर्दै जाने बताउनुभयो ।
नेमकिपा वाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूले विद्यार्थीहरूको विश्वास जित्न सफल भइरहेको बताउनुभयो ।
उहाँले विद्यार्थीहरूको उज्ज्वल भविष्यको लागि कलेजले निरन्तर मेहनत गर्दै जाने विश्वास व्यक्त गर्दै विद्यार्थीहरूले आफ्नो कमजोरी र बलियो पक्ष पहिचान गरी आगामी बाटो तय गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर राजनैतिक, ऐतिहासिक, सामाजिक र सांस्कृतिकरूपमा सम्पन्न नगर भएको र अब यसले शैक्षिक क्षेत्रमा पनि फड्को मारिरहेको उहाँले बताउनुभयो ।
कलेज सञ्चालक समितिका उपाध्यक्ष एवम् उपप्रमुख रजनी जोशीले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिँदै ख्वप सर्कलको उद्देश्य प्राप्तिमा नयाँ विद्यार्थीहरू जोडिन आएकोमा खुसी व्यक्त गर्नुभयो ।
उहाँले कलेज स्थापनाको उद्देश्य पूरा गर्न शिक्षक, विद्यार्थी र अभिभावकको संयुक्त प्रयास जरुरी रहेको उल्लेख गर्दै शिक्षाकै माध्यमबाट समाजलाई बुद्धिजीवीकरण गर्न मद्दत पुग्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले जीवनको नयाँ सुरुवात ख्वप मा.वि.बाट गरेकोमा विद्यार्थीहरूलाई बधाई एवम् शुभकामना दिँदै ख्वप सर्कल एउटा पृथक उद्देश्य लिएर अगाडि बढेको शैक्षिक संस्था भएको बताउनुभयो ।
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले ख्वप कलेजमा अध्ययन गर्न आउने विद्यार्थीहरूलाई अझ सफल बनाउन कलेज परिवार निरन्तर प्रयासरत रहने उल्लेख गर्दै ख्वप कलेजप्रति अपनत्व कायम गरी विद्यार्थीहरूले आफ्नो आगामी यात्रालाई अझ सहज बनाउन सकिने बताउनुभयो ।
एसईईमा प्राप्त अङ्कलाई अझ उच्च राख्न मेहनतका साथ अध्ययन गर्न मार्गनिर्देश गर्दै उहाँले भक्तपुर नपाले ख्वप विश्वविद्यालय सञ्चालन गर्न लिएको उद्देश्य एक दिन पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले विद्यार्थी जीवनमा जति व्यापक दृष्टिकोणले अध्ययन गरिन्छ त्यसले विद्यार्थीको व्यक्तित्व विकासमा कालान्तरसम्म सहयोगी भूमिका खेलिरहने बताउनुभयो ।
आफ्नो उद्देश्य प्राप्ति गर्न विद्यार्थीहरूले कहिल्यै पछि हट्न नहुने सुझाव दिँदै उहाँले अग्रजको मार्गनिर्देशनमा अगाडि बढ्न विद्यार्थीहरूलाई सजिलो हुने बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माकले अभिमुखीकरण कार्यक्रमलाई विद्यार्थीहरूले मार्गनिर्देशनको रूपमा ग्रहण गरी विद्यालय तहमा मेहनत गरेअनुरूप उनीहरूको भविष्य पनि निर्धारण हुने बताउनुभयो ।
कार्यक्रममा ख्वप मावि र शारदा क्याम्पसका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले २०८१ मा ख्वप मावि र शारदा कलेजमा ५६ जिल्लाका १ हजार ६८० जना विद्यार्थीहरू भर्ना भएको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।
उक्त कार्यक्रममा प्रहरी निरीक्षक सानु श्रेष्ठले विद्यार्थीहरूलाई लागूऔषध दुव्र्यसन, साइबर अपराध र यौनजन्य अपराधलगायतका कुलतबाट टाढा राख्न अभिभावक र कलेजले आवश्यक सचेतना कार्यक्रमहरू आयोजना गर्नुपर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा प्रा.डा. सिद्धिविर कर्माचार्यले रु. २ लाख ४४ हजार ४४४ रकम विद्यालयको सहिद स्मृति छात्रवृत्ति अक्षय कोषमा जम्मा गर्न सो चेक विद्यालय सञ्चालक समितिका अध्यक्ष एवं नगर प्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *