भर्खरै :

नयाँ पुस्तालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे जानकारी गराउनुपर्ने

नयाँ पुस्तालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे जानकारी गराउनुपर्ने

भक्तपुर, १२ साउन । शुभ–लाभ बचत तथा ऋण सहकारी संस्था लि.को आव २०८०/८१ को वार्षिक समीक्षा शनिबार सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन मन्तव्यमा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले नयाँ पुस्ता सुसंस्कृत भए देश सभ्य हुने उल्लेख गर्दै सहकारी संस्थाले शिक्षित, सुसंस्कृत र देशभक्त नयाँ पुस्ता तयार पार्न योगदान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रमुख अतिथि सुवालले मनमा इच्छा भएकालाई उमेर बढे पनि पढाइ चालु हुने उल्लेख गर्दै सर्वहारावर्गका महान् गुरु माक्र्सले ३ वटा विषयमा पीएचडी गर्नुभएको, द्वन्द्वात्मक भौतिकवादी दर्शन संसारलाई दिनुभएको र कामदारवर्गको पक्षमा सङ्घर्ष गर्नुभएबाट नेपाली जनताले प्रेरणा लिनु जरुरी रहेको बताउनुभयो ।
उहाँले बालबालिकालाई विद्यालय तहदेखि पाठ्यपुस्तकसँगै सङ्गीत, नृत्य, गायन, खेलकुद, चित्रकला, हस्तलेखन, विदेशी भाषाको प्रशिक्षण, वादविवादलगायतका अतिरिक्त क्रियाकलापमा संलग्न गराउनुपर्नेमा जोड दिनुभयो । नयाँ पुस्तालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे पनि जानकारी गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सांसद सुवालले सहकारीको स्थापना साना किसानहरूलाई कृषि उत्पादनमा सहयोग गर्न भएको उल्लेख गर्दै कृषिप्रधान देश नेपालमा दाल, चामल, तरकारीसमेत भारतबाट आयात गर्नुपर्ने अवस्था सरकारहरूले सिर्जना गरेको हुँदा सहकारी संस्था सचेत हुनुपर्ने बताउनुभयो ।
उहाँले नेपाल मजदुर किसान पार्टीद्वारा प्रकाशित सहकारीबारे जानकारीमूलक पुस्तक ‘चिनियाँ जनकम्युन’ अध्ययन गर्न सहकारी संस्थाका साथीहरूलाई सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, “सहकारीले बचत सङ्कलन र ऋण दिनेमात्र नभई संस्था आफै उत्पादनमुखी कार्यमा लाग्नु जरुरी छ । सहकारीमा संलग्न सबैले देशको वित्तीय र मौद्रिक नीति, मुद्रास्फीति, कुल गाहस्र्थ उत्पादनलगायत अर्थशास्त्रसँग सम्बन्धित विषयमा पनि जानकारी राख्नु पर्दछ ।”
“नेपालको सार्वजनिक ऋण २४ खर्ब रुपैयाँ नाघ्यो । अहिले सरकारलाई ऋणको ब्याज तिर्न ऋण नै लिनुपर्ने अवस्था छ । सरकारी अर्थतन्त्र कमजोर हुँदा जनतालाई दुःख भयो”, उहाँले थप्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “पुँजीपतिहरूले चन्दा नदिने बताएपछि अमेरिकामा बाइडेनले राष्ट्रपतिको उम्मेदवारी फिर्ता लिए । अमेरिका, बेलायत, भारतजस्ता पुँजीवादी देशमा उद्योगी–व्यापारीले राजनीतिमा निर्णायक भूमि निर्वाह गर्दै छन् । उद्योगी–व्यापारीहरूले नेपालका काङ्ग्रेस र एमालेलाई पनि संयुक्त सरकार गठन गराएको खुलासा भयो ।”
“०४६ सालपछि नेपालको उद्योगधन्दा बेच्ने, युवालाई विदेश पठाउने, विदेशी पुँजीको सेवा गर्ने नेपाली काङ्ग्रेस नै हो । एमाले पुँजीवादी चुनाव जितेर सरकारमा जाने जर्मनीका बर्नस्टिनको संशोधनवादी बाटोमा हिँड्दै छ । माओवादी भारतको ‘ट्रोजन हर्स’ साबित भयो । यसकारण, सम्पूर्ण नेपाली जनता सचेत हुनु जरुरी छ”, सांसद सुवालले स्पष्ट गर्नुभयो ।
अमेरिकाका छैटौँ राष्ट्रपति मुनरोको ल्याटिन अमेरिकालाई करेसाबारी ठान्ने नीतिको प्रसङ्ग जोड्दै भारतको दक्षिण एसियामा प्रभाव क्षेत्र हुनु स्वाभाविक ठान्ने रास्वपा सरकारमा उपप्रधान र मन्त्री बनेर नेका, एमाले, माओवादीकै पदचिह्नमा हिँड्दै छ ।
उहाँले थप्नुभयो, “राजतन्त्रकै बेला नेपालको नदीनाला भारतको हातमा दिने काम भयो भने लिम्पियाधुरा नभएको नक्सा पनि बन्यो ।”
नेपाल मजदुर किसान पार्टी भजिसका उपाध्यक्ष न्हुछेभक्त फोजुले सहकारीको आय–व्यय पारदर्शी हुनुपर्ने बताउँदै सहकारीले रोजगारी सिर्जना हुने कार्यक्रम ल्याउनु जरुरी रहेको आवश्यकता औँल्याउनुभयो ।
उहाँले सहकारीका सदस्यहरूलाई देशको नियम–कानुनबारे सुसूचित गराउन कानुनी साक्षरता कार्यक्रम सञ्चालन गर्नुका साथै सदस्यहरूको स्वास्थ्यको निम्ति नियमित स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष मिनबहादुर बाटाले जनताको बचत दुरुपयोग नगरी सही सदुपयोग गर्दै धैर्यता र संयमताका साथ सहकारीको क्षमता विकास गर्दै जानुपर्ने सुझाव दिनुभयो ।
जिल्ला बचत सहकारी सङ्घ भक्तपुरका कृष्णगोविन्द लाखाजुले कर्मचारीहरूको जिम्मेवारी बाँडफाँटबारे प्रशिक्षण दिनुभयो ।
शुभ–लाभ सहकारीका अध्यक्ष सूर्यबहादुर फाँेजुको सभापतित्वमा सम्पन्न उक्त समीक्षा कार्यक्रममा सचिव लक्ष्मीनारायण लिगलले संस्थाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष श्रीप्रसाद त्यातले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा लेखा सुपरिवेक्षण समिति, युवा उपसमिति, कृषि उपसमिति, महिला उपसमिति, शिक्षा उपसमिति र ऋण उपसमितिले आ–आफ्नो प्रतिवेदन पेस गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *